कडुवा

- रविन्द्र रिजाल

“बिउ रोपेपछि खेती पसाउन के बेर लाग्दो रहेछ र !” गम्बुटको हिलो आँगनको छपनीमा बजारेर पिँढी मा उक्लियो सागर।

खाटको गलैँचा को धुलो टकटक्याएर भित्ता मा आढेस लाएर ढल्कियो। अलि अलि रहेको भित्ताको कमेरो थोरै भए पनि इस्टकोटमा टाँसिन छोडेको थिएन ।

शान्ताले १ गिलाँस चिसो मोही अगाडि राखेर बिस्तारै सोधिन् “हजुर?”

“मुले गराको धान .... हर्लक्कै बढेछ नी, ३ साता मात्र भो हलो बिसाएको, कत्ति छिटो गाँजिएर पो आएको छ” सागरले शान्तालाई सरसर्ती नियाल्दै भन्यो। र मोही एकै घुँटमा रित्यायो।

“मुल भएकोले होला ... फेरी मल पनि बढि नै राख्नु भो यसपाला” ।

“अँ ... होला। मोही कस्ले ल्याइदियो त ? सार्है मीठो रहेछ , कस्को घरको हो ?”

"अरू नि ल्याऊँ?"

"भो भो पर्दैन, बस आउ।"

“डिम्री का बुटा मुनी प्रमोद काका को । स्वास्थ्य चौकी गएर आउँदा पसेकी थिएँ, दिएर पठाउनु भो” । शान्ता पनि छेउ मै बसिन्।

“ओहो, त्यसरी नहिँड्नु न ! फेरी बाटो चिप्लो छ, ओभाइसकेको छैन । कस्तो हुस्सु भएछु म पनि, बिर्सि हालेछु। भोलि सँगै जानु हुन्थ्यो नी त ”

“आज महिनाको पहिलो आइतबार मात्र त आउँछन् शहर का डाक्टर, अनि ?”

“ए ऽऽ अनि के भने त, बच्चाको, तिम्रो स्थिति ?”

“राम्रै छ रे ! शहरमा भएको भए त छोरा छोरी के हुन्छ पहिलै हेर्न मिल्थ्यो रे”

“आऽऽऽ जे भए पनि हामीलाई के ? छोरा भए नि छोरी भए नि सुख सँग पालिन्छ ”

फेरी स्टिलको गिलासको पिँधमा लागेको बाक्लो तह हेर्दै भन्यो, “अब अर्को महिना त हाम्रो भैँसी पनि ब्याउँछ। रोपाइँको बेला, त्यस माथि तिमीलाई पनि पौष्टिक आहार चाहिने..... भैँसी थाकेर दुख पाइयो।”

यत्तीकै मा गुइँठे तुलसीको मोठ बाट जोगिँदै आँगनमा पस्यो । “नमस्कार मालिक !”

“नमस्कार .... के छ ? तँ त हराइस् त खेत रोपेपछि .. आज के कति कामले आइस् नि ?”

“हाम्रो चाड भनेको वर्षा सकिए पछि त हो नि हजुर, यतै थिएँ तै । म त हजुरको भैँसी ब्याउने बेला भो भन्ने लागेर आएको मालिक । कडुवा भयो भने त हुर्काउनु हुन्न होला । आफ्नो हली लाइ नै सम्झिनु होला नि फेरी”

“ए ! ल ल , खबर गरौँला नि तँलाइ।”

“हवस् मालिक म त हिँडे, माथि मितकाँ भोज राख्या छन् रे तेतै हिँडेको”

“ ल ल जा ! धेरै खाएर नमातेस् नी ।”

गुइँठे हाँस्दै कर्सा तिर लाग्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 6 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु