पण्डितजी

- राजेन्द्र शर्मा

अंश लिएर छुट्टिसकेको माइलो छोरोले आफ्नो बारीमा कोदाको नल काटेको देखेपछि ब्रम्हाण्ड तातेर आयो पण्डितजीको । कराउँदै पुग्नुभो आफैं उस्का हातको नल खोस्न बारीमा । एक मुठी नल खोस्दै धकेल्नुभो छोरोलाई र हप्काउन थाल्नुभो उहाँ ।

'किन काटिस् अर्काको बारीमा सोध न पुछ, यो नल ?'
'बस्तुभाउ भोका थिए, काटेँ नि एक दुई मुठा ।'
'अझ बोल्दैछस् ?' हातको हँसिया खोस्न अघि बढ्नुभो पण्डितजी ।

हँसिया बोकेको हात पिठ्यूँतिर लुकाउँदै छोराले आफ्नो जिउ बचाउन खोज्यो । झ्वाँकमा पण्डितजीले लात बजार्नुभो छोरो माथि । कसो कसो गर्दा छोराको देब्रेहात पण्डितजीको घिच्रामा पुग्यो । कामको चापले उमेर मै छिप्पिएको माइलो, हेर्दा निकै दुब्लो देखिए पनि वलिष्ठ थिए उसका पाखुरा । अलिकति के घोक्र्याएको थियो उसले पण्डितजी लड्नुभो पल्लो बारको आडमा ।

'मारो, मलाई कुटेर मारो' भन्दै कराउन थाल्नुभो उहाँ ।

पण्डितजी एकछिन कराउनुभो । माइलो जन्मेदेखिका आफ्ना जीवनले भोगेका अपसगुनहरु फलाक्नुभो । रुँदै कराँउदै एकछिनमा जानुभो घरतिर । एकटक लगाएर छोराले हे¥यो बाबुलाई निकैबेर केही नबोली, अनि बटुल्यो छरिएका नलहरु र अँगालोमा उठाएर लग्यो खोल्मातिर । ओइराइदियो सबै नल एउटा गाईलाई ।

बाबु वा छोरो कुनै एकजनाले चाहेर हो अथवा दुवैले नचाहे पनि त्यो घटना अकस्मात घटेको जस्तो देखिन्थ्यो । पूर्व नियोजित कुनै प्रसंग त्यहाँ भएजसतो लाग्दैनथ्यो । कुरो आखिर एक दुई मुठा कोदाको नलको न थियो । संयम वा धैर्यको अलिकति अभाव सिवाय केही देखिँदैनथ्यो त्यहाँ ।

केहीदिन पछि छोराले एउटा खैरो रंगको कुकुरको छाउरो पाल्न ल्यायो । छाउराको नाम राखेछ 'पण्डित' । बस् सुरुभो अब हरेक दिन बिहानै उठ्यो अनि थाल्यो बोलाउन कुकुरलाई खुब चिच्याएर । उसको जप तप सबै भयो त्यही कुकुर । गाउँले सबैले सुन्नेगरी कराउँथ्यो ऊ कुकुरलाई बोलाउन । मेहनत गरी गरी, कतै उच्चारण पो बिग्रिने हो कि भन्ने ठूलो भयका साथ बोलाउँथ्यो माइलो कुकुरलाई । बिहान सुन्न नपाउनेहरुले चित्त दुखाउनै नपर्ने, किनकि उ आफ्नो कुकुरलाई दिउँसो पनि त्यसरी नै बोलाउँथ्यो । के साँझ के राति ? उसको यो क्रमबाट छिमेकी कोहीपनि अनभिज्ञ थिएनन् । उ कराइरहन्थ्यो ....

चेइ पण्डित चेइ चेइ. . . . ।
चेइ पण्डित चेइ चेइ. . . . ।

समय गतिमान हुन्छ, उ कसैलाई पर्खदैन । रहँदा बस्दा पण्डितजीको देहावसान भयो । माइलोले पनि बाबुको क्रिया विधिविधानपूर्वक अरु भाइहरुसंगै बसेर ग¥यो । जीवित हुँदा गर्न नसकिएको सारा प्रशंसा मरणोप्रान्त भयो । पछि विकसित भएको सम्बन्ध बिर्सिएर रगतको नाता अनुसार कै ब्यवहार देखियो । छिमेकीहरु छक्क परे त्यो अपरम्पार लिला देखेर ।

अझै पनि झस्कन्छन् पण्डितजीका छिमेकीहरु नयाँ कुकुर पाल्न ल्याएपछि आफ्ना कुकुरको नाम राख्ने बेलामा सँधै । कतै आफ्नै वंशावलीमा परेका नामसंग पो जुध्ने हो कि ? वा कुनै छिमेकीको प्यारो नाम पो पर्ने हो कि ? भनेर । बाबु छोराको त्यो झगडाले एउटा राम्रो पाठ सिकाएर गयो । तर, कुकुरको न्वारन गर्न भने निकै हम्मेपर्न थाल्यो त्यो गाउँमा ।

विजयपुर, धरान

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु