एकचिट्ठी दशैँ

- लक्ष्मण गाम्नागे

प्रिय केटा हो !
धेरै धेरै माया छ । घरमा दशैंंको छाँयाँ छ । इज्जोत आब्रुक बायाँ छ, अभाव र मुहुँगी दाँयाँ छ । यो बूढो काया मर्दै बाँच्तै जसरी तसरी घिस्रिँदैछ । एक पछि अर्को रोग जिऊभित्र घुस्रिँदैछ । आमा पनि उसरी नै लगातार खोक्तैछे । नसकी नसकी घाँसको भारी बोक्तैछे ।

तम केटाहरू त्याँ शहराँ के गर्र्दैछौ ? जिउँदै छौ कि दिनैपिच्छे मर्र्दैछौ ? जिउँदै छौ भने घर आओ, मरिसक्यौ भने जतासुकै जाओ । घरमा न भाले छ न खसी । छानामा फलेका घिरौंंला र फर्सी जति पनि देखिन्छन् आँगनमै बसीबसी । तिमेर्ले खर्च नबोकी आयौ भने दसैंको मौकामा सिन्काका खुट्टा हालेर लौका काटौँला, कुभिण्डाको खैपी चाटौँला, बाबु छोरा सिकुवामा बसेर नयाँ नेपालका गफ अघाउँजी छाँटौँला । खर्च ल्यायौ भने ङ्याङ्ग्रो भए पनि एउटा च्याङ्ग्रो किनौँला, नसके तित्रै भए पनि छिनौँला, गरम मसला पिनौँला, जुँगा चिल्ला पारेर गाउँतिर फूर्ति देखाउन हिनौँला । कत्तिका मर्द रहेछौ तिमेरू, यही दसैँमा चिनौँला ।

प्रिय केटा हो, मेरो बुढेसकालका फेटा हो !
मेरो इज्जोत अब तिमेर्का बगलीमा अडिएको छ । थाहा पाइराख, एकआँखे अचार्जको बाँकी आँखो हाम्रै बारीमा ठडिएको छ । के गर्नु, उहिले गल्ती गरिहालियो, बेलैमा परियार न्योजन गरेको भए तिमेरू बुङ्गुरका बथानजस्तो आठआठजनाको डुङ्गुर भुरै हुने थिएनौ, कुरै सकिन्थ्यो । नशा काटेपछि दशा लाग्छ भनेर जरिङ्गेका जुम्रे जोतिषीले भने । पुवाँलेका पहेँले पुरेतले त झन् छोरो नजन्माए सिधै नर्कको बास हुन्छ भनेर तर्साए । वर्षैपिच्छे न्वारान गराएर मेरो पुख्र्यौली सम्पत्ति हत्याउने तिनको सुर रैछ । म बेसुर मोरो, झाँक्री बूढाको छोरो, बाबुभन्दा के कम भनेर फूर्ति लाउँदालाउँदै अहिंले एकफाँको सुर्ति खाने सम्पति पनि बाँकी रहेन । तिमेरू केटाहरू तहाँ काठमाँडूमा पैसा कमाउँदैछौ कि खान नपाएर आफैं कामिरहेका छौ, पत्तो छैन । घरमा लत्तो कपडोको अत्तोपत्तो छैन । बुइनीहरू दाजुहरू घर आउँछन्, यो ल्याउँछन् र त्यो ल्याउँछन् भनेर औंला भाँचेका भाँचेकै छन् । आमाचैं पनि तिमेर्कै आशामा बाँचेकी बाँचेकै छन् । म भने केही थाहा नपाए र्झैं गरिरहेको छु । तिमेर्की आमाको बाह्र ठाउँ टालेको चोलो हेरेर भित्रभित्रै मरिरहेको छु । मान्छेहरू मालमत्ता किन्न हाटतिर जाँदैछन्, म चाहिँ तलतल घाटतिर झरिरहेको छु ।

प्यारा छोराहरू, ढिँडाका काल मोराहरू !
गाउँभरि मान्छेहरूले खसीबोका आँगनमा पगाहा लाइसके । केटाकेटीहरूले मासु खान मुख बाइसके । नहुनेहरूका घरमा पनि भाले बास्न थालिसके । कतिले खोरमा सुङ्गुर हालिसके । तल्लाघरेले घरैमा मास्टर ल्याएर लुगा सिलाए । माथ्लाघरेले पनि कसरी हो बेबस्था मिलाए । तिमेर्का बुइनीहरू कहिले तल्लाघर जान्छन् र नयाँ लुगाको वास्ना कति मिठो भन्दै आउँछन्, कहिले माथ्लाघर जान्छन् र घोर्ले खसीको सिङ् क्या तिखो भन्दै आउँछन् । शहर गएकाहरू ठूल्ठूला झोला बोकेर फर्किंदैछन्, विदेश भएकाहरू पैसा पठाएर घर परिवारमा शितल छर्किंदैछन् । अलपत्रे खत्रीको छोरो छत्रे बडेमानको कुम्लो र ठूलो टिनको बाक्सा भरियालाई बोकाएर, कम्मरको एकातिर चेस्माको खोल, कम्मरको अर्कातिर मुबाइल फुन झुण्ड्याएर टाउकामाथि कालो चेस्मा अड्याएर आजै मात्र घर आइपुग्यो । घाँटीमा बडेमाको सुनौलो सिक्री बाँधेर गाउँ नै गनाउने स्यान्ट कि फ्यान्ट दलेर आएछ अरबबाट । छोराले ल्याइदेका छालाका जुत्ता लगाएर खोच्याउँदै अलपत्रे आइरथ्यो । ‘कति पैसा ल्यायो त छत्रेले’ भनेर सोधेको अलकत्रा जस्तो अनुहार बनायो । लुगाफाटो चाहिँ हङकङबाट ल्याको भन्थ्यो रे । केरकार गर्दा काठमाँडूको हङकङ बजार भनेछ । पैसो चैं यरपोटमा चोरी भयो भनेछ । जे होस् त्यसका बाबुले मलाई पनि एक खिली फेटेचुरोट चाहिँ खुवायो । ‘साहुको रिन जस्ताको तस्तै रह्यो दाइ’ भनेर मलाई पनि बज्जेले एकछिन रुवायो ।

तम मोराहरू भने न चिट्ठी पठाउँछौ, न केही खबर गर्छौ, न घरतिर झर्छौ न पैसै पठाएर मर्छौ । याँ अन्तरी बुइनी र मैले दसैंको योजना बनाउँदै च्यात्तै गर्दागर्दै बिचरीको एउटा रफ कापी नै सिद्धिएछ । नून किन्ने पैसा लगेर अर्को कापी ल्याइछ, फेरि हिसाब ग¥याग¥यै छे । तल बजारमा गाडी आएर रोकियो कि ‘दाजुहरू आए होलान्, पुष्टकारी ल्याए होलान्’ भन्दै बजार झ¥याझ¥यै छे ।

आउँछौ भने केटा हो, तुरुन्त आओ, आउँदैनौ भने याँबाट कुम्लो कुटुरो बोकेर हामी चारैजाना तेतै आउँर्छौं टडक चढेर । हातपाउ सबै जोडेर बिन्तीभाऊ गर्दा सकेसम्म सित्तैमा नभए पनि उधारोमा कसो नलगिदेला त टडकवाला टीके टम्रेलले । हामी आउँ कि तिमेरू आउँछौ तुरुन्त खबर गर्नू । यदि तिमेरू दुईदुई भाइ जतनतिघ्रेहरू कमाइधमाइ गरेर घरको आपतविपद टार्न सक्तौन भने त्याँ किन थेच्चिरनु प¥यो ! गाउँमै बसेर पनि केही गर्न सकिंदैन भन्ने छैन । याँ बसेर गर्ने काम थुप्रा छन् । जस्तै, मैले यहीँ बसीबसी तिमेरू तेह्रजनालाई जन्माएको हो कि होइन ? पानजना मास छर्न गए पनि तिमेरू आठजनाको सास हाम्ले नै जोगाएको हो कि होइन ?

हेर ठिटा हो, पैसो कमाउनेले गाउँमै बसेर पनि बिटाका बिटा कमाएका छन् । अलिकति सीप र आँट, दुईचार अच्छेर पढाई र अलिकति ढाँट भएकाहरूले गाउँमै अरब र मलेसिया मात्रै होइन दुनियाँलाई तीनतिर्लोक चौध भुवन देखाएका छन् । अरब नभए पनि लाख रुप्याँ त बसीबसी खेलाएका छन् । ह्वारह्वारी पैसा कमाएर थानाका निस्पेक्टरलाई पनि थरथरी कमाएका छन् । कमानेको कान्छो छोरो मानेले मसाने भँडारीकी छोरी मैनासँग मिलेर गाउँ घुमीघुमी कम्ती कमाएन । गाउँका ठिटीहरूलाई बम्बै लगेर जम्मै पैसा सोहोरेर कति हो कति । बजारमा अचेल पक्की घर बनाएर सबैलाई हप्की र दप्की गर्ने भएको छ । माने मोरो घाँटीमा लँगौटी झुण्ड्याएर हातमा छालाको बाक्सा बोकेर मटरमा हिन्छ । फू गर्दा पारी फापरबारी पुग्ली जस्ती आशमायालाई समेत सास हालेर उसले रक्सोल कि कता लगेर जागिरमा लगायो अरे । मैनाको त झन् कुरै छैन, अर्कै भइसकी । उतै काठमाँडूमा ठूलै नेतासँग पोइलै गइसकी । चोलाकान्तको छोरो चिरेले गाउँकै स्कूलमा मास्टरी थाल्याथ्यो, पछि एउटी मिसलाई किस गर्ने भएर इस्कुले भुराहरूले कालोमोसो दलेर गाउँबाट निकालेका थे । अचेल त फएल भएका केटाकेटीलाई मारकसिट, साठिपिकेट बनाएर बेच्ने गर्न थालेपछि ऊ पनि काँबाट काँ पुगिसक्यो । अहिले ऊ त्यै इस्कूलको सञ्चालक समिति भाछ । बजारका जग्गा हजारमा किनेर लाखमा बेच्ने काम पनि गर्छ । अहिले भटभटेमा हिन्छ, अब कुन दिन तेल्ले पनि गाडी किन्छ ।

सिरे जस्तो अल्लारे र बिग्रेर सकिन लागेको केटाले गाउँमा कत्रो इज्जोत कमाइसक्यो । तीनदिने तालिम लिएर स्वास्थे कार्जेकर्ता भएर गाउँमा हिन्दाहिन्दै बिहे नै नगरी चारपाँनजना भुराभुरीको बाबु भइसक्यो । बजाराँ दबाई दोकान खोलेर कानमा चेस्मा अड्काएर, घाँटीमा पनि केजातिको त्यान्द्रो लट्काएर डाक्टर भइसक्यो । हेड्सरको जत्रो भुँडी बनाएर अस्तिसम्म गाउँमा बिरामी जाँच्न हिन्थ्यो, अचेल त गाउँमा अर्को सानो डाक्टर राखेर ठूलो बजारमा सरिसक्यो । त्यसले पनि अब दुःखको बैतर्नी तरिसक्यो ।

पोरपरार तिमेरूलाई माउवादी भन्दै भाटाले भकुरेर पुलिसलाई जिम्मा लाउने दले अचेल ठूलो माउवादी भाछ । निर्दल बउदलका बेला बउदलेलाई कुटायो, पछि काँग्रेस भएर मालेलाई मुङ्ग्य्रायो, राजाका पालामा राजाको मान्छे भएर रिस उठेका जतिलाई माउवादी भन्दै थुनायो । अचेल गाउँको माउवादी नाइके भएर ऐलेका मानन्नेको सबभन्दा नजिकको मान्छे उई भाछ । जिल्लैभरिका केटाहरूलाई पुलिसमा जागिर खुवाउँछु भनेर लाखौंलाख लुँड्याको छ । त्यै पैसाले माङ्लबारेमा तीनतले मुन्डाको घर बनायो । अहिले जिल्ला आउने नेताहरू उसको घरमा नबसी कोही जाँदैनन् अरे । उसका घरमा बसेर तिनेर्ले खाएको बिएरको डकारले बजारै गनाउँछ भन्छन् ।

एस्तो पर्गति छ गाउँमा बज्जे केटा हो ! तम लाटाहरू भने जागिर खोज्दै बाटाघाटामा भौँतारिराका छौ भन्ने सुन्छु । त्यो लोकसेवा कि ठोकसेवा भन्नेमा फाराम भर्न थालेको पनि पाँच बर्ख त भो होला । तेसमा खर्च गरेको पैसा जम्मा पारेर वेपार गरेको भए के के भइसक्थ्यौ । विदेशै जान खोजेका भा पनि त्यै पैसाले गइसक्थ्यौ । आफूलाई कत्ति न पढेलेखेका, इमानी भन्दै भलाद्मी पल्टेर लडिराख्यौ । त्यै गन्धे काठमाँडूमा सडिराख्यौ । तिमेर्को त्यै भेडोपनले गर्दा घरमा धानको एक गेडो पनि बाँकी रहेन । चारोडी दिदीहरूलाई हुर्काएर, बढाएर अन्माउँदा, छोरै नभई हुँदैन भनेर हरिवंशे पुरान लगाईलगाई तिमेरू दुइटालाई एकैपल्ट जन्माउँदा, गाँडमाथि पिलो भनेझैं अर्की दुईदुइटी बुइनी थपिँदा, कहिले आमाको गानाको ओखती कहिले आफ्नै गोलाको ओखती गर्दागर्दै मेरा सबै हाड करङ् मकाएर ढल्ने बेला भो । घुँडाका पाङ्ग्रा एकआपसमा ठोक्किएर आगो बल्ने बेला भो । चिन्तैचिन्ताले खुइलिएर मेरो यो तालु पनि बारीमा पाकेर लडेको फर्सी जस्तो भो । तिमेर्की आमाको ज्यान पनि थाकेर लडेको जर्सी जस्तो भो ।

अब चैं म नसक्ने भएँ । तिमेरूसँग वार कि पार नगरी नबस्ने भएँ । यता टाल्यो उता ह्वाङ्ग हुन्छ, उता टाल्यो यता छ्याङ्ग हुन्छ । एकआँखेले खेत त खायो खायो बारीमा पनि आँखो लायो । ‘रिन दिन्छु, छोराहरूलाई इराक पठाऊ अन्तरे’ पो भन्छ । रिस त उठ्छ नि, तर यस्तो अपाङ्गलाई केही भन्नु हुँदैन भन्छन् । अपाङ्ग सङ्को जिल्ला अध्यच्छे नै उही भाछ । अपाङ्ग भएर के गर्नु, अपराधी छ । हिजो आज त गाउँमा यो जात र ऊ जात भनेर बसिसक्नु छैन । बाहुन जति सबै जाली अरे, अरु जति दलित अरे, दुख्ख पाका अरे । यो गाउँभरिकै हरितन्नम् म झुत्रे बाहुन कसरी जाली भएँ, कुरो बुझे मरिजाउँ । क्षेत्री बाहुन जातको हुँदैमा सबै शोषकै हुन्छन् त ठिटा हो ? दलित हुँदैमा सबै गरिब र पिडित नै हुन्छन् त केटा हो ? एस्ता कुरा तिमेर्का नेताहरूलाई सोधेर तेसको जवाफ मलाई पठाओ । खालि यो जात र ऊ जात भनेर घरघरमै, छिमेकछिमेकमै रिसिबी बढाइद्या छन्, अनि हार्दैनन् त पापीहरू चुनावमा । बाह्रचोटीसम्म चुनाव गर्दा पनि एउटा पर्धान्मन्त्री छान्न सकेनन् अरे होइन ? छिः छिः छिः छिः, लाजको पसारो ! तेस्ता हुतिहाराहरूले हामी गरिबका लागि केही गर्लान् भनेर के आश गर्नु ! तिमेरूको पनि बुद्धि छ भने खुरुक्क गाउँ फर्क । यो बूढो बाबु र मर्न लागेकी बूढी आमासँग धेरै नतर्क ।

केही गर केटा हो केही गर, यो अलिअलि भाको पाखो बारी बेचेर विदेश गर नमर । दलालहरूको भर हुँदैन । तिनेर्लालाई इज्जोतको डर हुँदैन । विदेश पठाए नै भने पनि कुन दिन कुन् अपराधीले रुद्रघण्टी स्यार्याक्क पार्छ कि बन्दुकले ठ्याँस्स मार्छ । यो अनपढ बाउले भनेको तिमेर्लाई कति घुस्तो हो, सम्झेर झनक्क रिस पनि उठ्तो हो । तर, पछि थाहा पाउला, सबैतिरका ढोका थुनिएपछि रुँदै घर आउला । यो बडा दसैंले तिमेर्लाई गाउँ फर्किने बुद्धि देओस् । तिमेर्का नेताहरूलाई यसैगरी जतिपल्ट चुनावमा उठे पनि हारिरहने कुबुद्धि देओस् । म बूढाको येही छ शुभकामना । धन्नेवाद !

गौरादह–४ झापा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु