सपनामा एक्लो मान्छे

- घनश्याम शर्मा

एकाबिहानै उसले आँगनमा उभिएर छर्लङ्ग उघ्रिएको आकाशतिर हेर्दै लामो हाई काढी । कति स्निग्ध र सफा आकाश । सिङ्गो आकाशलाई चारैतिरबाट नियालेर हेरी उसले । पूर्व, पश्चिम, उत्तर दक्षिण चारै दिशा जता हेर्दा पनि उस्तै सफा र कञ्चन । आँगनको डीलमा रोपिएको गुलाफको बोटमा हेरी एउटा फूल फक्रनै आँटेको । शरद्यामको चिसो सिरेटो खसेर कोपिला खुम्चिएको होला, यस्तै अनुमान गरी उसले । उसका आँखा अगाडिको यो गुलाबको बोट दस वर्ष पहिले पनि यसै गरी फुल्ने गथ्र्यो, पन्ध्र वर्ष अघि पनि उसरी नै फुल्थ्यो, ओहो ! उसले गन्दै थिई बीस वर्ष भएछ । झण्डै दुई दशक लामो समय । उसको जीवन त्यही गुलाबको झ्याँङ् जस्तै कक्रक्क भएको हो कि ! आँगनको डिलबाट पर क्षितिजसम्म आँखा घुमाई । राती देखेको सपनाको सम्झना गर्ने कोसिश गरी:

दिनभरको घरायसी कामको थकाईबाट चुर भएकी ऊ विस्तारै भरेङ उक्लिंदै थिई । उसको टाउको रिङाएको थियो । भाउन्न छुट्ला जस्तो भएको थियो । भरेङबाट उक्लन असमर्थ ऊ तल झर्नु र माथि उक्लिनुको दोसाँधमा थिई । अचानक उसलाई पछाडिबाट कसैले धकेलेको महसूस भयो । ऊ सजिलै माथ्लो तलामा पुगी । पछाडिबाट उसलाई धकेल्ने दिवश थियो । उसैको लोग्ने । दिवशले उसलाई विस्तारै छेउमा बस्न भन्यो । आफ्ना कोमल हातले उसलाई स्पर्श ग¥यो । एउटा छुट्टै अनुभूति भयो उसलाई । धेरै दिनपछि लोग्नेले माया गरेको क्षण ! उसका निम्ति अत्यन्त खुशीको क्षण ! उसलाई लाग्यो यो समय छिट्टै नघर्कियोस् । यो क्षणलाई बाँधेर राखिरहन मन लाग्यो । उसले पनि लोग्नेको काखमा टाउको अड्याई । ऊ धेरै बेर रोईरही । उसको बोली फुटेन । उसले लोग्नेलाई धेरै कुरा सुनाउन खोजी । भन्न खोजी भन्न सकिन, गला अबरुद्ध भयो । बजाउँदा बजाउँदै तार चुँडिएको सारङ्गीको धून जस्तो । सारङ्गी छ , धून छैन । धून बिनाको सारङ्गी, लोग्ने बिनाको जीवन । अवरुद्ध कण्ठले लोेग्नेका आँखामा एकपटक नियाली रही । विचरा लोग्ने दुब्लाएको थियो । दाह्री, जुँघा नकाटेको थुप्रै दिन भयो होला । हात खुट्टाका नङ कति लामा लामा । उसको आँखामा हेरेर ऊ केवल मुस्काई मात्र रह्यो । कुनै संवाद गरेन । एकै शब्द बोलेन ।

उसले धेरैबेर लोग्नेलाई झकझकाई रही । लोग्ने एकनास हाँसी मात्र रह्यो । ऊ रोई मात्र रही । उसले एक पटक पनि नरोऊ भनेन ।

“तिमी लाटो भयौ ? किन बोल्दैनौ ?”

यसले धेरै बेर झकझकाइ–पुराना मैंला फाटेका, टालेका लुगामा देखिएको उसको लोग्ने अचानक गायब भयो ।

ऊ झसङ्ग भई । एउटा मिठो सपना यसरी अन्त्य भयो ।

उसलाई लाग्यो यस्ता मीठा सपना बोकेर आइदिने रातहरु नआइदिएको भए कति जाति हुन्थ्यो । यसरी धेरै पटक धेरै रातहरु उसको लोग्नेलाई बोकेर ल्याउने गर्दछन् । कति रातहरुलाई सराप्नुहोला ! कति बिहानहरुलाई धिक्कार्नु होला वा आफ्नै जीवनलाई ।

सिङ्गोरातको अवसानसँगै मृत सपनाका लाशहरुको भारी बोकेर हिडीरहनु पर्ने उराठिला दिनहरुको कल्पनाले उसलाई आहत बनाउँछ । छटपटाहटमा दिनहरु बित्ने गर्छन् । छोराहरु दुई जना ठूलै भैसके । जेठो पोहोर बाटै कलेज जान थालिसक्यो । कान्छो अर्को वर्ष एस.एल.सी. दिनेवाला छ । छोराहरु स्कूल र कलेज गएपछि दिनहरु बोझिला बन्दै जान्छन् । आफन्तकोमा पनि कति दिन मात्रै गइरहने होला । के ठान्दा हुन् । हेर लोग्ने अमेरिकामा छ टन्न पैसा पठाईहाल्छ होला त के भो डुलेरै खान पनि त पुगेकै छ ।

कति भन्दा हुन् लोग्ने उता ढाड भाँची भाँची रातदिन काम गर्दौ हो यता स्वास्नीलाई भने चैन छ, विचरो अभागी र’ छ । पन्ध्र वर्ष देखुन् स्वास्नी र छोराहरुको मुखै देख्न नपाउनु । के पैसा भन्दै बसिरा,को होला नि ! खुरुक्क आफ्नै देश फकिर्नु नि ! स्वास्नी बालबच्चाहरुसँग बस्नु !
जति मानिस उति नै कुरा । जति थरि आफन्त र नातेदार उति धेरै प्रतिक्रिया ।

“हैन हो नानी ज्वाईसाब कहिले फिर्ने हो ?”
“बाफ रे ज्वाई साबले त के पैसा त कति कति ! किन आउनु हुन्थ्यो ” ।

“हेर है तिम्रो जवानी त यसै गयो नि ! आखिर पैसाले नै पो के गर्नु छ । धन सम्पत्ति दोस्रो हो हेर ! किन यसरी तड्पिएर बस्छ्यौ खुरुक्क बोलाउ लोग्नेलाई ।”

यस्ता सुझाव पनि कति संगीनीहरुले नदिएका होइनन् ।

“हेर अमेरिका त आम्मा मा .................................त्यहाँ बसेका लोग्ने मानिसहरु के फर्किन्थे ” कसैले यस्तो प्रतिक्रिया सुनाउँदा भने उसको मनमा पहिरो जान्थ्यो । डाँडा उर्लेर बगेको पहिरो सबैले देख्दा हुन् । मान्छेको मनमा, मस्तिष्कमा, ह्रदयमा चोट परेर गएको भीषण पहिरोलाई नियाल्ने क्षमता कतिले पो राख्छन् होला । आवाजविहिन मौन, पहिरो ह्रदयको कुना हल्लाएर खस्किदिने, बगिदिने चिराचिरा पार्दै । ह्रदयको पहिरो जान वर्षात् कुर्नुपर्दैन , आकाशमा कालो बादलको डढेलो लागेर दुनियाँ वर्षर्नु पर्दैन । आफन्तहरुका केही चोटिला बचन वाणले ठूलो भूकम्प ल्याइदिन्छ ।

दुई दशक अघिको कुरा थियो लोग्ने स्वास्नी जहाज चढेर काठमाडौं आइपुगेको । सपनाको राजधानी ! गाउँतिरबाट एकभारी सपना जहाजमा बोकेर काठमाडौं ओरालेका थिए । तिनै सपनालाई गोडमेल गदर्,ै मलजल गर्दै फुलाउनु थियो, फष्टाउनु थियो । उसलाई हिजै जस्तो लाग्छ । एकभारी सपनालाई एउटा डेरामा थन्काएर लामो सास फेरेको ।

राजधानीका थुप्रै गल्लीहरु चहा¥यो उसको लोग्नेले । स्वास्नीले धेरै विश्वास दिलाई ऊ पनि लोग्नेको होस्टेमा हैंसे मिलाउने छे । धन, सम्पत्ति, घर, घडेरी, मोटरसाइकल अन्ततः गाडी अनि महङ्गा बोर्डिङ्ग स्कूलमा छोराछोरीको शिक्षा दीक्षा हुनेछ । हुनेछन्, धेरै कुराहरु । जीवन सुन्दर हुनेछ । सुखी परिवार हुनेछ उसको । सुखको परिभाषा उसका निम्ति त्यतीखेर यही वा यस्तै यस्तै थियो । सम्पन्नतालाई उसले सुख ठानेको थियो होला । स्वास्नीले मीठो खान पाउनु र राम्रो लाउन पाउनुलाई सुख ठानेकी थिई होली संभवतः ।
आमा बाबुसँग मागेर ल्याएको एक लाख रुपैयाले उसले किराना पसलको शुरुवात ग¥यो । राजधानीका सडकहरुमा अभावको भारी टाउकोमा बोकेर कुदिंरहेका मानिसहरुको लाममा उ पनि सहभागी हुन पुग्यो । हरेक मानिसका संघर्षका कथा रोचकपूर्ण लाग्थे उसलाई ।

तिनै संघर्षशील मानिसहरुको हुलको अंश ठान्यो उसले आफूलाई पनि । किराना पसलमा तरकारी थप्यो । तरकारीमा फाइदा निकै देख्यो, उसले तर दुःखको सुमेरु त्यती नै अग्लो थियो, चढ्नै मुश्किल । बिहान चारबजे टुकुचा खोलाबाट साइकलमा तरकारी बोकेर ल्याँउदा काठमाडौंको चिसो सिरेटो र हुस्सुले उसका गालामा हिर्काउने थप्पडको बोझ फाइदा भन्दा गहुँरङ्गो थियो । स्वास्नीले पनि साथ दिइरही । जीवनरुपी रथ घिस्रिरह्यो ।

एक रात लोग्नेले उसलाई भन्यो –
“ हाम्रो जीवनमा कुनै चमत्कारिक आर्थिक उन्नती होला जस्तो मलाई लाग्दैन । वर्षाैंको हिसाब किताब जम्मै काठमाडौंको महङ्गीलाई फाइदाका रुपमा बुझाइयो, धन्न साँउँसम्म जोगिएको छ । यत्रो दुःख गर्दा पनि पेट पाल्ने र यी दुइटा छोराको औषधी मूलोमै ठिक्क हुन थाल्यो । यिनीहरुको स्कूल खर्च कसरी पु¥याउने होला ? यो महङ्गीमा के गरी बाँच्ने होला ?”

यसो भनिरहँदा यसले लोग्नेको अनुहारका रेखाहरु पढीरही । छोराहरु निद्राले छिटोछिटो श्वास फेर्दै काठमाडौंको प्रदुषित हावालाई कलिलो फोक्सोसम्मै तानिरहेका थिए । लोग्ने घरी स्वास्नी र छोराहरुको अनुहारमा एक टक हेरिरहन्थ्यो त घरी भित्तामा भविष्यको गोरेटो खोजिरहन्थ्यो ।

उनीहरुको जीवन अत्यन्त दुरुह बन्दै थियो । चिसोले कठ्याङिग्रएका हातले परिश्रम गरिरहेका यी जोडीको निरन्तरको घोटाई र मेहनत अनुकरणीय लाग्दथ्यो । जति नै गर्दा पनि जीवनको क्षितिज उघ्रिने संभावना दिन प्रतिदिन क्षीण हुँदै थियो । जीवनमा उज्यालोको संभावना घट्दै जाँदा यी जोडी जीवन निर्वाहका अनेकन मोडेलहरु अपनाउँदै गर्न थाले ।

यसो गर्दा पो होला कि ! उसो गर्दा पो होला कि ? प्रयासका ढोकाहरु ढकढकाउन छाडेनन् अपितु अभाव र गरिबीको सगरमाथा हरेक वर्ष चुलिंदै गयो । शहरीया जनजीवनमा अभ्यस्त यी दम्पत्ति र यिनका सन्तान गाँउतिर फर्किनै सकेनन् । गाँउको परिवर्तनले यिनलाई छोएन । शहरको परिवर्तनबाट विमुख हुन यिनीहरु सकेनन् । गाँउहरुलाई सहरहरुले दोहन गरिरहे । सहरहरु ठूला सहरको दोहनको चपेटामा परिरहे । मुलुकमा गरिवी उल्लेख्य रुपमा घट्न सकेन । जीवनस्तर, जीवन प्रत्यासाका सूचकहरु बढ्ने संकेत देखिन छाडे । मानवश्रमको ओइरो विदेशतिर लाग्यो । मानिसहरु खाडीतिर हान्निन थाले । विदेश सबैका निम्ति एक मात्र रोजगारीको गन्तव्य ठानिन थाल्यो । देशका हराभरा खेतपाखाहरु बन्जरमा रुपान्तरण भएका अधवैंसे मानिसका आँखाहरुले अपलक हेरिरहनु बाहेक केही गर्न नसक्ने भए ।

हरेक दिन बिहानदेखि बेलुकीसम्म नै निराशा र कुण्ठाका भारीहरु बोक्ने बानी परेपछि उसले पनि अरुले जस्तै आफू पनि पीडाको पोखरीमा डुबिरहेको पायो । यस्तो पीडाको पोखरीबाट जीवन बाँच्ने उपायको खोजीमा रक्सी र भट्टीलाई रोज्न पुग्यो ।

ह्वास्स गन्हाएको लोग्नेको मुखछेउ कानमा उसले साउती गरेकी थिई ।

”यस्तो नगर्नु यसले ज्यान जान्छ,बरु जाउँ गाँउतिरै । छोराहरु गाँउको स्कूलमा पढ्छन् अरुले पनि त पढेकै छ छन् नि गाँउमा । हजुरले पनि त गाउँकै स्कूलबाट एस. एल.सी. पास गर्नुभो । यत्रो वि. कम. सम्म पढेको मानिसले यस्तो गर्न सुहाँउछ र ? हिड्नु भोली नै गाँउ जानुपर्छ ।”
स्वास्नीको यस्तो कुरा सुनेपछि उसले अट्टहास हाँसेको थियो ।

“ए ! अब म गाउँ जानु ! बरु मर्छु म यतै किमार्थ म गाउँ जान्न । के मुखले गाउँ फकिर्नु । गाँउबाट मानिसहरु सहर पस्छन् । म वर्षांै काठमाडौं बसेको मानिस अब गाउँ जानु ! गरी खान नसकेको हुतिहारा भन्दैनन् मलाई सबैले !”

यसो भनिरहँदा ऊ आफूभित्रको पुरुषत्व जागृत गरिरहेको लाग्थ्यो । स्वास्नी मात्र सहयोगीको भूमिकामा थिई । प्रमुख निर्णयकर्ता त ऊ स्वयं नै थियो । उसको दिनचर्याले कमाएको आम्दानीको ठूलो अंश रक्सी लगायतका कुलतमा खर्चिन थालेको थियो ।

उसले विस्तारै किराना पसल घटाउँदै गयो र एकदिन किराना पसल बेचेर फेन्सी पसल थाल्यो । यसबाट केही सन्तोषको सास फेर्न थाल्यो उसले । किराना पसल भन्दा अलि कम दुःख थियो उनीहरुलाई ।

“तिमी पसल सम्हाल, म टे«किङ अफिसमा एकाउन्टेन्टको काम पाएको छु, गर्छु ।”

उसले एकदिन श्रीमतीलाई यस्तो प्रस्ताव ग¥यो । उसले लोग्नेलाई एकोहोरो हेरीरही । यो मानिस मेरो निम्ति जस्तो सुकै दुःख गर्न तयार छ । उसलाई आफ्नो लोग्नेसँग एक प्रकारको गर्व लाग्यो । उसले हाँसेर स्वीकृति दिई । उसले ठानी जीवनका उज्याला पक्षहरु पनि यतै कतै वरिपरि त हुँदा रहेछन् । ती स्वर्णिम उज्याला दिनहरुलाई आत्मसाथ पो गर्न सक्नु पर्दोरहेछ त ! उसले आफूलाई धन्य ठानी । लोग्नेको जागिर ! आफ्नो पसल । दुई जनाको कमाईले केही त गर्न सकिएला नि ! हो रहेछ, आंैसी पछि पूर्णे त अश्वय नै आउँदो रहेछ ।

आज पुनःऊ ती दिनहरुको संझना गर्छे । बेला–बेलामा चार भन्याङ्गतिरबाट काठमाडौं खाल्डोलाई नियाल्छे । बाफ रे ! यो घना कंक्रिटको जङ्गल । कत्रो सघन मानव बस्ती ! एकै धक्का भूइँचालोले ..................... बाफ रे ! ऊ यस्तो अनिष्ट कल्पना पनि गर्छे बेला बेला ।

यो बस्ती यति विघ्न बाक्लो थिएन । हावा यति प्रदुषित थिएन, पानीको यति विघ्न काकाकुल थिएन । गाडीहरुको यत्रो बाक्लो ताँती कमिलाको जस्तो सडकमा गुड्दैन थियो । हेर्दा हेर्दै दुई दशकको परिवर्तन । आफ्नो जीवन छाम्छे , ऐनामा अनुहार हेर्दै ,गालामा चाउरी उम्रिन थालेछन् । हाँस्छे थुक्क................झनै अनुहार चाउरिले बटारिन थाल्यो ।
एक दिन त्यो साँझ उसलाई हिजै जस्तो लाग्छ । लोग्नेले भनेको थियो ।
“हेर यो मुलुकमा केही होला जस्तो छैन । व्यवस्था परिवर्तन भएको पनि देखियो । पञ्चायत व्यवस्था धरायसी भयो, बहुदलीय व्यवस्था स्थापना भयो तर पनि आम मानिसको आधारभूत जीवनचक्रमा कुनै परिवर्तन आउन सकेन । म त अब अमेरिका तिर कोसिस गर्छु । जसो तसो अमेरिका घुस्न पाएँ भने विस्तारै तिमीहरुलाई पनि बोलाउँछु अनि त ..............”
उसले वाक्य पूरा गर्न नपाउँदै स्वास्नी मज्जाले हाँसेकी थिई भित्रैदेखि, मनै देखि । अमेरिकी जीवनको चित्र उसका आँखा अगाडि काल्पनिक रुपमा आएको थियो ।

उसले कुनै सोच विचारै नगरेर खुशीले गद्गद् हुँदै लोग्नेको कुरामा समर्थन जनाएकी थिई ।

लोग्ने गाउँबाट सहर पसेको थियो । गाउँलाई छाडेर काठमाडौं राजेको थियो । अब उसलाई काठमाडौंमा पनि रोग, भोक र गरिबी बाहेक केही पनि देखिन छाडेको थियो । उसका आँखा निरन्तर एउटा अदृश्य सुख र सम्पन्नताको खोजीमा लालायित थिए ।

उसले सुनेको थियो अमेरिका सुखको सहर हो अमेरिकी जनजीवन बैधव्य र सम्पन्नताको अनुपम नमूना हो । यो स्वर्ग हो । यहाँ मानिस जिउँदै स्वर्ग पुगेको अनुभूत गर्छन्, आफूलाई । स्वतन्त्रता र सम्पन्नताको जीवन बाँच्ने मानिसहरुको स्थल हो अमेरिका आदि आदि...............................
यस्तो जीवनशैली मन नपराउने को हुनसक्छ ? उसले आफैसँग प्रश्न गरेको थियो । अहँ उसले कसैलाई भेट्टाएन जसले उसलाई अमेरिका जान पाए जानुहुन्न भनोस् ।

भोली भिसाको निम्ति उसलाई अन्र्तवार्ता दिनु थियो । अफिसको कामको सिलासिलामा उसलाई जानुपर्ने कारण देखाइएको थियो । सोही बमोजिमको कागजपत्रहरु उसले तैयार गरेको थियो ।

उसले प्रश्नकर्ताको हरेक प्रश्नहरुको जवाफ सन्तुलित भएर दिएको थियो । प्रश्नकर्तालाई भरमगदुर सन्तुष्ट पार्ने यत्न उसले ग¥यो । फलतः उसलाई भिसा लिन बोलाइयो ।

उसलाई सम्झना छ, त्यो रात उसको लोग्नेको अनुहारमा कस्तो कान्ति छाएको थियो । यो चारजनाको परिवार मध्यरातसम्म सुखद भविष्यका सपनाहरुसँग एकाकार भइरहे । लोग्नेले सर्वप्रथम जाँदा लाग्ने ऋण तिर्ने, तत्पश्चात घडेरी किन्ने र घर बनाउने योजना बनायो । उसले भनी –
“होइन म त हजुरलाई कहाँ छाड्छु र ! पर्दैन । नेपालमा घर घडेरी । हामी त उतै आउने । ”

छोराहरु सानै थिए । बोलेनन् । आफ्नै धुनमा खेलीरहे । उसले लोग्नेलाई पटक पटक आग्रह गरेकी थिई–
“छिटो कागज बनाएर पठाइदिनु हामी पनि आई हाल्छौं ।”

यो सब संझिदै गर्दा उसलाई खलखल्ती पसिना आयो । ऊ भित्र कोठामा पसी । भित्तामा झुण्डाइएको चार जनाको संयुक्त तस्वीर हेरी । लोग्ने उतिखेर कस्तो ख्याउटे थियो । बीचमा दुईटा छोरा, दायाँतिर लोग्ने बाँयातिर आफू । उसले लगाएको रातो सारी, चोलो, रातो चूरा, रातो टिका निधारको । यो सब देखेर उसलाई झनै रीस उठ्यो । आफ्नो विगतले आफैलाई निरन्तर कोतर्दै र चिथर्दै आइरहेको लाग्यो । यो सब के का निम्ति थियो । उसले निधार छामी निधार तातो थियो ।

लोग्ने फ्लोरिडामा बस्छ । ‘माइमी बीच’ मा खिचेको लोग्नेको खाइलाग्दो फोटो टि.भी.को छेउमा राखेकीछे । नीलो समुद्री किनार नियालीरहेको हँसिलो गोरो, कुइरे अनुहारको लोग्नेको तस्वीर देखेर उसलाइ कता कता रीस र घृणा मिसिएको विचार उत्पन्न भयो ।

छि......हेर एक्लै समुद्रको त्यो नीलो लहरलाई हेर्दै के संझेर हाँसेको होला ? एकपटक के के कागज पठाइदिएको थियो तिमीहरु यही पेस गर्नु एम्बेसीमा भिसा दिई हाल्छ अनि आउनु भनेर ई.........दियो भिसा गोरेले.........................उसले फोटोलाई लाप्पा ख्वाई..............................................................................।
अन्तिम पटक अर्थात तेश्रो पटक पोहोर नै त पुनःउसले अमेरिकी दूतावासको पेटी नापेकी थिई । दुई पटकसम्म उसलाई गोरेले निकै होच्चाएर भनेको संझना छ –
“तिम्रो लोग्ने हाम्रो देशको गैरकानूनी नागरिक हो । यस्ता गैरकानूनी मानिसहरुलाई हाम्रो सरकारले पाल्नु पर्ने बाध्यता छैन । त्यसकारण तिम्रो लोग्नेलाई बरु आफ्नै देशमा बोलाऊ । तिमीहरुलाई किमार्थ हाम्रो मुलुकमा टेक्न अनुमति दिइने छैन ।”

उसले धेरै अनुनय विनय गरेकी थिई । दोभाषे नेपाली दाजु भाई मार्फत रोएकी थिई । उसले भनेकी थिइ–
“के अमेरिका साँच्चै झ्यालखाना हो, जहाँ भित्रिएको मानिसलाई आफन्तले भेट्ने अनुमति पाउन सक्दैनन् ? के अमेरिकी राज्य र सरकारले मानवता दया र माया जस्ता कुराहरुलाई बुझ्नुपर्दैन भन्ने मान्यता राख्दछ ? के माया संवेदनाको कुनै मूल्य हुँदैन ? मानिसका अनुभूति र संवेगहरुलाई पढ्न नसक्ने मानिसहरु कसरी प्रवेशाज्ञा अधिकारी हुनसक्छन् ?”

ऊ रोएकी थिई । छाँद हालेर ! छोराहरुको अनुहार बाबुले बिर्सिसक्यो होला भन्दै अनुनय, विनय गरेकी थिइ ! अहँ त्यो मानिस ढुङ्गाको मुटु बोकेर त्यहाँ बसेको थियो । उसले लगातार “ नो................. नो................. नो.................” मात्रै भनिरह्यो । अन्तमा उसलाई पुलिस लगाएर घोक्राएर निकालिएको थियो ।

ऊ बाहिरिएपछि बेहोस जस्तै भएकी थिई । उसका आँखा अघिल्तिर अन्धकारै अन्धकार छाएको थियो । भिसा सेक्सन अघिल्तिरका ठूला ठूला रुख उसैको जीउमा ढले जस्तै लागेको थियो उसलाई । त्यो अजंङ्गको पर्खाल ढलेर उसैलाई किच्न आँटेको अनुभव उसले गरेकी थिई । छोराहरुले आमालाई सान्त्वनाका शब्दहरु बाहेक केही दिन सकेनन् । दुईटै छोराहरुको सहारा लिएर सडक पार गरेकी थिई । सडक पार गर्दा पनि उसलाई ठूलै नदी पार गरेको जस्तो भान भएको थियो । ओठ मुख सुकिसक्यो, तालु रिङ्गाइरह्यो । पुनः आज तेश्रो पटक उ आफू मरेको ठानी उसले । जीवनका दुई दशक कति अत्यास लाग्दा भए हुनन् उसले सोची रही ।

यसरी हरेक पटक भिसाको निम्ति गरिरहेको असफल प्रयत्न पछि ऊ महिनौं ओछ्यानमा लडीरही । उसलाई कतै जान मन लागेन अर्थात उसले चाहिन पनि । समयको यति लामो कालखण्ड उसले कसरी विताई होली के उसको लोग्नेले कहिल्यै सोच्यो होला ? कति रातहरु कहाली लाग्दा भएर बिते होलान् ? कति दिनहरु उराठिला भए होलान् ? विरामी पर्दाका क्षणहरु कति कठीन भए होलान् ? छोराहरुले कति पटक चित्त दुखाए होलान् आमाको ? आफन्तहरुको घोचपेच र शब्दवाणहरुले कति पटक घाइते बनायो होला ? आधी जीवनको बाटो सकिएर उत्तरार्ध टेक्न थाल्दा पनि लाग्ेनेले घर फर्किन नखोजेको त्रासद क्षणको कल्पना कति निरसिलो लाग्दो हो ।

लोग्ने कति विरामी भयो होला, कामको थकाई पछि उसलाई पे्रमपूर्वक खाना कसले दियो होला ? कति घुक्र्याउँथ्यो सानो सानो कुरामा, कहिले काँही उसको घुर्की सुनिदिने कसले होला त्यहाँ । अपलक कोठाको भित्तामा अडिएका उसका आँखा आफै रसाउन थाले । छाती भक्कानिएर आयो । उसले लोग्नेको तस्वीर बोकी छातीमा टाँसेर डाँको छाडेर रुन थाली । झ्यालबाहिर हावा उसरी नै बहिरह्यो । गुलाबको त्यो बोट बुढो भएको थियो । गुलाब भने उस्तै रातो फुलिरहेकै थियो । पुतलीले गुलाबको पराग उसरी नै चुच्चोले सेचन गरिहेकै थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु