जुनेली रातको छायाँमा

- घनश्याम शर्मा

कोजाग्रत पूर्णिमाको दिन । कोजाग्रत पूर्णिमाले हिन्दुहरूको महान चाड विजया दशमीको समाप्तिलाई जनाउँछ भने यम पञ्चकको शुरुवातको संकेत पनि हो । आज कार्यालयमा सार्वजनिक विदा भएका कारण जानुपर्दैन । यो पनि एउटा अवस्था केही फरक लाग्ने गर्छ । भरखर यो निवासको बाहिरपट्टिको चौरमा करिब एक घण्टा बसें । शरद् यामको पूर्ण शरदचन्द्रलाई धेरैबेर नियालेपछि मनमा केही तरङ्गहरु , विचारहरू उत्पन्न भए । मनको भित्रि तह सलबलाउन थालेपछि आफु अक्षरमा अभिव्यक्त हुन मन लाग्छ र यतिखेर पनि यस्तै भयो ।

काला औंसीका रातहरू डरलाग्दा हुन्छन् । अझ गाउँघरतिर औंसीका दिनमा सूर्यास्त हुने बित्तिकै अँधेरो, डाँडा र पाखा, खेत, आली, कान्ला, नाघ्दै घरभित्रैसम्म प्रवेश नहुँदै हामी घरभित्र छिरिसकेका हुन्थ्यौं स–साना केटाकेटी छँदाका बेलामा । कालो रंग, काला कुराहरूसँग डर लाग्थ्यो । काला रातहरू अझै डरलाग्दा लाग्थे । धेरै भयावह प्रतिक बोकेका हुन्छन् काला बस्तुहरूले ।

जून सेतो हुन्छ । सेतो जूनको छायाँ शीतलताको प्रतिविम्ब यसरी यो आँगनमा खसेको छ, हेटौंडामा छु म यतिखेर, एक्लै यो सरकारी आवासमा । अगाडि र पछाडि उत्तर दक्षिण दुईटा बरण्डा छन् यसका । दक्षिण मोहडा पारेर बनाईएको लाग्छ तर अचेल उत्तरतिरबाट प्रयोग हुँदै आएको एकतले सिमेन्टका च्यादरले छाएको पुरानो शैलीको यो जीर्ण भन्न पनि नमिल्ने पुरानो घर छ । सानो भान्छा , स्नानागार र लघुसंका , दीर्घसंका कक्ष , दुईटा कोठा, म जस्तो एक्लै बस्ने मान्छेका निम्ति पर्याप्त, कहिलेकाहीँ केटाकेटीहरू आउँदा पनि गुजारा हुनसक्ने ।

ठूला ठूला फ्रेम भएका सीसाका झ्यालहरू छन् । दुईटा कोठामा दुईटा झ्याल कति धेरै सरकारी कर्मचारीहरूले प्रयोग गरेको यो आवाशगृह होला थाह छैन । म बस्नु अघि भने बलराम साह बस्थे , तराइँवासी थिए । उनकी श्रीमति अत्यन्त धार्मिक विचारकी थिईन् संभवतः उनैले रोपेको तुलसीको मठमा यसपटक मैले तुलसी रोपेको छु । दक्षिणपट्टिको आँगनमा पनि तुलसीका विरुवाहरू उम्रेका छन् यसले एक प्रकारको आनन्दानुभूति प्रदान गर्ने गर्छ ।

हेटौंडाको आकाशमा जुन छतिवनको डाँडाबाट विस्तारैमाथि माथि उदाउने गर्छ । आज दिउँसो तीन बजेतिर केहीबेर पानी परेकाले आकाश सफा स्नीग्ध छ । सफा आकाशमा छरिएको जुनको उजेलो हेरेर कहिले पो अघाइन्छ र ! आँगनमा ल्पास्टिकको कुर्सि राखेर पूर्वाभिमुख भएर बसेँ । देवकोटाले पागल कवितामा उल्लेख गरेको जूनलाई सम्झें । दामन सिमभंज्याङका ओसिला पाखाहरूमा पोखिएको जूनको उजेलोको कल्पना गरेँ, एकछिन । सेताम्मे हिउँले छपक्क छोपेको सीम भंज्याङ, दामन, झीरघारीमा जूनेली रातको चहकले चम्किएका हिउँका अग्ला अग्ला ढिस्का र सेताम्मे टल्किएका पाखाहरू संझे, दुईबर्ष अघि त्यहाँ पुगेको बेला आफू निकै हराएको महसुस गरेको थिएँ ।

यो आवासको आँगनको पूर्वपट्टि झ्याङ्ग परेको सीताफलको (सरिफा) रुख छ । त्यस मुन्तिर गत वर्षात अगावै रोपेको बाक्लो चाइनिज दूवो छ । रुखका छिद्रबाट जुन बाक्लो दूवोमा टाटेपाटे भएर पोखिएको छ , भर्खरै दुध पीउन सिकेको बच्चाले आफै दूध पिउँछु भन्दै जिद्धि गरेर समातेको तातो दुधको गिलास कलिला ओंठ पोलेपछि ह्वात्तै जिउमा नै पोखाएपछि बनेका सेता टाटा जस्तै जूनका टाटा । चिसो सिरेटो चलेको छ । हावाविनाको जीवनको परिकल्पना गर्न सकिन्न । राप्तीको सुसाई सुनिन्छ । कुलेखानी पहिलो र दोश्रोबाट बिजुली उत्पादन भएर भैंसे नजिकको खोलामा मिसिएपछि राप्तीले एउटा आकार ग्रहण गर्छ । पूर्व पश्चिम राजमार्गलाई छेडेर निस्केकाले पूल बनाइएको छ । त्यसपछि पूर्वि राप्ती बुढी राप्ती हुँदै चितवनतिर हान्ँिनदै बग्छ ।

रात छ, अझ त्यो पनि जुनेली रात छ । कवि मित्र साम्ब ढकाललाई जूनेली रातको विम्वलाई टिपेर एउटा कविता लेख्न आग्रह गर्ने विचारमा छु । उनका कविताहरू हृदयस्पर्सी हुन्छन् । मनका भित्री पत्रैपत्र चुँडालेर पस्न खोज्ने खालका लाग्छन् ।

रातको दश बजिसकेको छ । हेटौंडा नगरी जुनेली रातको तन्नामा लम्पसार जीऊ फैलाएर सुतिसकेको छ । रातको अन्धकारमा पनि गाडी चलाउन अभ्यस्त ड्राइभरहरूले बस र ट्रक हाँकीरहेको आवाज बेला बेला आउँछ । मनको एकाग्रता भङ्ग भइदिन्छ, मनका तारहरू एक अर्कामा ठोकिन्छन् । र, एउटा नमीठो धून जस्तो सिर्जना हुन्छ आफैँ । कोजाग्रात पूर्णिमालाई विशेष रूपमा मैले सम्झिनुपर्ने थुप्रै कारणहरू छन् । पूर्ण चन्द्र देखिएको रात सबैका लागि यसै पनि विशेष हो । मैले बारम्बार जुनेली रातलाई स्पर्स गर्न खोजीरहेको सम्झना हुन्छ । जूनेली रातको छायाँमा बसेर धेरै पटक धेरैबेरसम्म बेतुकका बात मारिरहेका क्षणहरूको संझना छ । प्रसङ्गहिन र श्रृङ्खलाविहीन कुराहरू गर्नुपनि एक प्रकारको स्वान्त सुखाय क्षण मानिन्छ । म धेरै पटक यसो गर्छु । जूनेली रात हुनु, हाम्रो परिवार दुई फरक फरक ठाउँमा हुनु एक प्रकारको पिडादायी क्षण हुन्छ हाम्रा लागि ।

मेरा अगाडि कोठाको सुन्तला रंग लगाएको भित्तो छ । भित्तामा दुईटा टेबुल जोडेर राखिएका छन् । म पश्चिमाभिमुख भएर लेखिरहेछु टेबुलमा । घडीको आवाज एकनास टिक टिक....

यतिखेर रात घर्किँदैछ । जून करिब करिब यो घरकै छानामाथि आइपुग्ने बेला हुन्छ विस्तारै । मनमा जूनेली रातका विगतका स्मृतिहरू तँछाड मछाड गर्दै अभिव्यक्त हुन उत्फुल्ल भइरहेछन् । आँगनको चौरबाट घाँसे किराहरूको किरकिर आवाजले मनलाई तरङ्गित बनाईरहेको छ । तरङ्गहरू एक पछि अर्काे क्रमैसँग उठ्छन् सेतो जून जसरी सालघारी डाँडाको च्यापबाट अर्धकदमा उठेर डाँडाको टुप्पोबाट छरिँदै पोखियो ।

अछामको तिमिल्सैन मेरो मामाघर हो । पिताका औंलामा समातेर सैनका गह्रामा धेरैपटक कोजाग्रत पूर्णिमाको जूनलाई मेरा निश्चल बाल आँखाहरूले हेरेका छन् । त्यहाँ ठूलो मेला लाग्छ, आजको दिनमा । दर्जनौं जवान राँगाहरूलाई वर्दादेवी भगवतीको नाममा बली चढाइन्छ ।

निर्ममतापूर्वक यातना सहित बली चढाईने, काटिने त्यो दृश्य किन किन मलाई अथवा म जस्ता धेरै अछामवासीलाई रोमाञ्चक लाग्ने गर्छ । बच्चै देखुन् त्यसरी नै सामाजिकीकरण भएकाले हुनसक्छ , संस्कृतिको यस्तो अनौठो पासविक बिम्बले पनि मनोरञ्जन प्रदान गर्नु आश्चर्य लाग्छ संझिदा आफैलाई । घण्टौसम्म पिताको काँधमा बोकिएर राँगाहरू दौडाइएको, खुँडा, खुकुरी, हँसिया आदिले निर्ममतापूर्वक काटेको दृश्य हेरिरहेको सम्झना छ । म डरले काँप्थे एक प्रकारको आतङ्कको सिर्जना हुने गथ्र्याे मनमा, मेरो बालमनोविज्ञानलाई बुझेर पिताले भन्नुहुन्थ्यो– “डराउनु पर्दैन, मानिसहरूले भाकल गरेर देवीलाई खुशी पारेका हुन् । राँगाको रगत देवीको नाममा चढ्छ । देवी खुशी हुन्छिन् ।”

मैले जसरी सुनेँ, वहाँलाई पनि त्यसरी नै सुनाइएको होला, म यस्तै ठान्थें । सैनका ठूला ठूला गह्राहरूमा बान्नीको डाँडा छेडेर कोजाग्रत पूर्णिमाको जून मुस्कुराउन थालेपछि उपस्थित दर्शकहरू न्याउले , देउडा खेल्न शुरु गर्थे । संस्कृतिको यो अनुपम सूदूरपश्चिमेली संस्कृति छिप्पिँदै गईरहेको जुनेली रातसँगै उत्कर्षमा पुग्ने गर्छ ।

अत्यन्त रमणीय, मनमोहक यो स्थानबाट जूनेली रातमा देखिने दृश्य झनै मनका कुना कुना हल्लाईदिने खालका लाग्थे मलाई । जूनेली रात पश्चिम सर्दै जाँदा मंगलसेन र ठूलासैनको लामो घेरा जस्तो डाँडो जसले पूर्विक्षेत्र भैसोलेलाई छुट्याएको छ, टल्किन थाल्थ्यो । यसरी म ओखरेको डाँडालाई हेर्दैछु । कुलेखानी , पालुङ , चित्लाङको डाँडाहरूमा जूनेली रातको छायाँ सर्दै गएको देखिरहेछु ।

गोला माँडुका बरपिपलका दुईवटा रुख टाढाबाट हेर्दा चारवटा देखिन्थे । जूनले पारेको छायाँले यस्तो अनूभूति हुन्थ्यो । यस घरको आँगनमा पश्चिमतिर एउटा बूढो आँपको रुख छ, आँपका पातहरूमा जून पोखिएर टल्किएका छन् । यी रुखका छायाँहरू विस्तारै सर्दै जान्छन् । उत्तरतिर ठूलो कम्पाउण्ड सहितको हेभि इक्विपमेन्ट डिभिजनको कार्यालय छ, त्यसको पनि पूर्वपट्टि जिल्ला प्रहरी कार्यालय छ । ती दुवै कार्यालयका पालो पहरा गर्ने मान्छेहरूले भरखरै एघार वटा घण्टी हानेका छन् । झ्यालबाट छिरेको जूनको उजेलो जस्तै कानमा एघार पटक तीखो आवाज छिरेको छ समयको । हामीलाई समयको संकेत अरुले नै सुनाईदिनु पर्ने । समय बितेको हामी पत्तो पाउँदैनौं, जब पत्तो पाउँछौं तब समय त हामीबाट धेरै टाढा धेरै पर पुगिसकेको हुन्छ र हामी समयलाई पछ्याउन असमर्थ बनिसकेका हुन्छौं ।

अछाम डोटेगाउँको घरको पूर्वपट्टिको बार्दलीबाट बेडुगडातिर बाँसका झाङमा चियाउन लागेको जूनलाई केटाकेटी उमेर देखिनै मैले पछ्याएको छु । मंगलसेनको डाँडामा अवस्थित ढुङ्गा माटोले बनेका घरका बार्दलीबाट रामारोशनको टाकुरा चढ्दै गरेको जूनलाई चारवर्षका धेरै जूनेली रातहरूमा हेर्दै मनभरि जूनेली गङ्गा प्रवाह गराएको छु मैले । सिलगढीबाटदेखिने जूनेली रातको दृश्यले मनमा यस्तो अमिट छाप बसालेको छ, जसलाई म कहिले पो बिर्सुंला र ? नागबेली बगेको सेती नदीको दृश्य दिपायलको पिपल्लाबजार नजिकैको सेतीपुलमा बसेर धेरै पटक हेरेको छु मैले । अविरल अविश्रान्त सेतीको बगरमा चन्द्रमाको उजेलो मनलाई उत्ताप दिने मोहक दृश्य ।

भोजपुर डाँडागाउँको रातोमाटोले लपक्क पोतेको घर, काठको भरेङ र सल्लाका काठको सिलिङ र भुईँ भएको कोठाबाट ट्याम्केका डाँडातिर फर्किएको झ्यालको सिरानीमा टाउको राखेर बुट्टेदार झ्यालबाट धेरै रातहरू सेतो जूनलाई ओछ्यानमै ओराल्ने प्रयास पनि गरेको छुँ । खाँदबारीबाट पाथीभरामा उदाउँदै गरेको जून, सुन्तलेको डाँडातिर विस्तारै लम्केको धेरैपटक हेरेको छु । मध्यरातमा जूनको उजेलो पछ्याउँदै घुर्विसेको जङ्गलमा भाई सुवास र मोहन राईहरुसँग बाटो बिराएर गाई वस्तुका पाईला पछ्याउँदै घना जङ्गलभित्र पुगेपछि पुनः सोही बाटो फर्केर जून अस्ताएर सूर्याेदय भैदिओस् भन्ने प्रतिक्षाका साथ कुरेको नमीठो अनुभूति सँगालिएको छ ।

घनकुटा हिलेको गजुर होटेलबाट म्याङलुङतिर उक्लिँदै गरेको जूनको दर्शन गर्दै विहानको सूर्याेदयको प्रतिक्षामा रात गुजारेको छु । लेगुवाघाट बाटो छेउको बरको रुखको छानामुनीको तुलसी श्रेष्ठको होटेलमा बास बस्दा बरका हाँगाबाट ओछ्यानमा चियाईरहेको जूनलाई स्पर्स गरेको छु । बरको छायामुनी एउटा जूनेली रात यसरी पनि बितेको छ ।

जीवनको यो यात्रासम्म आइपुग्दा धेरै जुनेली रातहरू आँखाभरि कहिल्यै ओझेल नहुने गरि टाक्सिएका छन् । हाम्रो जीवन पनि यस्तै पूर्ण चन्द्र झैं सदैव उज्यालो हुने भए जीउँनुको आनन्द कस्तो हुँदो हो जूनेली रात ओढेर सुतेको हेटौंडालाई सोध्न मन लागेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 26 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु