खाडल

- एस्पी कोइराला

अरुनैसँग जोड्नुपर्छ नाता– सैयौं आफन्तहरुले विशेषणको तानाबाना बुने, कैयौं शुभेच्छुकहरुले स्वर खापेर सिफारिशको माला उने ।

छोरीमा लागि योग्य केटा खोज्ने कुरा चल्यो । अनेकौं प्रस्तावहरु जोखिए, दर्जनौं विकल्पहरु तौलिए । सब व्यर्थ । निराशाको बादल हटाउँदै उकदिन श्रीमतीले आल्हादित मुद्रामा सुनाइन् इन्टरनेटमा एउटा प्रस्ताव फेला परेको छ, हाम्रो सर्वैसम्मति छ, हजुरको अन्तिम निर्णय चाहियो ।

आफन्तहरुको गोलमेच इजलाशबीच इन्टरनेटबाट निकालिएको प्रिन्ट आउट केलाइयो । थप जानकारीहरु इमेलबाट मगाइयो ।

केटो अमेरिकामा बस्छ । के काम गर्छ,कति पढेको भन्नेचाहिं खुलेन । सबैले एकैस्वरले राय दिए– विदेशमाबस्ने भनेपछि पढाइ–सढाइ काम–साम हेर्नुपर्दैन । पिनाकधारी पण्डितले स्क्रिनमा आँखा जोतेर पुख्र्यौली सम्पति विवरण बरबराए– ‘चारवटा बङ्गलाहरु । काठमाडौंमा, चोभारमा गलैंचा कारखाना, धुलिखेलमा पाँचतारे होटल, शिवपुरीमा जमिन, परासीमा मौजा... ।’ रुपको कुरा उठ्यो । कम्प्युटरमा हेर्दा– ग्याँचे, ध्वाँसे, पूर्व–पश्चिम देखाउने कम्पासतुल्य दाँत । ‘उमेर नि ?’ अर्धाङ्गिनीले इमेलमार्फत् जिज्ञासा पोखी । उताबाट स्पष्टीकरण आयो – केटीभन्दा बाइस वर्षले मात्रै जेठो । ‘रुपले, उमेरले खान दिंदैन, लाउन दिदैन ।’ सभाबाट सामूहिक निष्कर्ष तेस्र्याइयो ।

सर्भेक्षणको सर्वसम्मत राय प्रकटियो– यदि लियोनार्डो भिन्ची बाँचेका भए मोनालिसाको विवाह उबाहेक अरुसँग हुन्नथ्यो । सङ्कलित मतहरुबाट निर्बिरोध निष्कर्ष निस्कियो– ‘यत्तिको सुयोग्य बर पाइँदैन, विवाह पक्का गरौं ।’
‘असम्भव’ – फैसला सुनाएँ मैले, सोचाइको पुस्तौनी खाडलको धर्मसङ्कटको धरापमा धस्सिएर ।

सन्नाटा सर्वत्र सलबलायो । एकछिनपछि एउटा आवाज फोनमा बोल्यो– ‘डाक्टरसाप, पागलखानामा एकसिट खाली होला ? बुबालाई...’
महिला स्वर । एकदमै परिचित । उर्मिला अर्थात् छोरी ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 26 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु