‘अन्तर्मनको यात्रा’ देशप्रेमको महागाथा हो

- डा.कुमारप्रसाद कोइराला

नेपालको इतिहासमा २०६० को दशक इतिहास स्तम्भका रूपमा स्थापित भइसकेको छ, जब कि दशक बितिसकेकै छैन । खास गरी यस दशकमा नेपाली सामाजमा र नेपाली राजनीतिमा युगान्तकारी परिवर्तनहरू देखिए । यही दशकमा नेपाली भाषामा विविध विषयका अनेक उल्लेख्य कृतिहरू प्रकाशित भए । तीमध्ये जगदीशको अन्तर्मनको यात्रा एक हो । मलाई लाग्छ यस सात वर्षको अवधिमा यति धेरै पढिएको कृति यही एउटा हो । यसले मदन पुरस्कार वा उत्तम शान्ति पुरस्कार पायो भनेर धेरै पढ्ने कृतिमा यसलाई राखेको होइन, यसको प्रकाशन चौस¨ी सालको अन्त्यमा भएको र अहिले छैस¨ी सालमा दुई वर्षको अन्तरालमा दसौँ संस्करणसम्ममा बिस हजारप्रति प्रकाशित भइसके भन्ने आधारमा पनि यसलाई धेरै पढिएको कृति भनिएको होइन । वास्तवमा त्यो किन भनिएको हो भने यसको पठन प्रायः जुनसुकै वर्ग र पेसाका नेपालीले पनि गरेको थाहा पाइन्छ । यो कृति यति लोकप्रिय किन भयो म त्यसको ठोकुवा त गर्न सक्तिनँ, तर लोकप्रिय हुनाका कारणहरूको अनुमान चाहिँ गर्न सक्छु । यहाँ मैले यो कृति लोकप्रिय हुनाका आफूलाई लागेका केही कारणहरूको उल्लेख गर्ने प्रयास गरेको छु ।

पहिलो कुरा यस कृतिमा अनेक विषयहरू समेटिएका छन्, त्यसैले जुनसुकै विषय मनपराउने पाठकले पनि यसलाई मनपराएको देखिन्छ । सर्वप्रथम म यस कृतिमा रहेका यिनै वैषयिक विविधताका बारेमा चर्चा गर्न चाहन्छु । अन्तर्मनको यात्रा पढ्दै जाँदा मलाई यो कृति जगदीशको आत्मजीवनी हो जस्तो लाग्यो । किनभने यसमा जगदीशका जन्मदेखि साठी वर्ष पुगुन्जेलसम्मका घटना वृत्तान्तहरू समेटिएका छन् । तिनलाई बाल्यवस्था, युवावस्था र प्रौढावस्था भनेर तिन खण्डमा विभाजित गरेर हेर्न सकिन्छ । यसमा उनको पुख्र्यौली छ । जन्म भएको ठाउँ छोडेर जागिरे पितासँग जलेश्वर पुगेको, बाल जगदीशले जलेश्वरमा पहिलो पटक साइकल देखेको, रेडियो सुनेको, घडी हेरेको, गोरुगाडा, कारमोटर चढेको, तराईमा पाइने नयाँ परिकारको स्वाद लिएको, त्यहाँ खेलिने खेल खेलेको, नौटङ्की र सर्कस हेरेको आदि बाल्यकालीन संस्मरणहरू छन् । त्यस्तै सल्यान पुगरे गौँथली मारेको, पश्चाताप गरेको, वेश्यागामी न्यायाधीशसँग यात्रा गरेको, नयाँ साथी बनाएको, बर्दियाको गुलेरियामा केही दिन बस्ता काङ्ग्रेस बनेको र सदस्यता वितरण गरेको, भारतको काशी पुगेको र सिनेमा हेरेको, चरित्रवान् सूर्यविक्रम ज्ञवालीको व्यक्तित्वबाट प्रभावित भएको आदि अनुभवहरू आएका छन् । यी सबै बाल्यकालीन अनुभव हुन् । यी संस्मरण पढेर सबै पाठकहरू आफ्नै बाल्यावस्थातिर फर्कन्छन् । त्यसैले यी सबैका अनुभव जस्ता भएकाछन् ।

युवावस्थाका अनुभवहरू उनी एसएलसी दिएर जन्मभूमि मन्थली पुगेपछि सुरु हुन्छन् । उनले गाउँमा गएर स्कुलमा पढाएको, पौडी खेल्न जाँदा तामाकोसीमा डुबेर झन्नै मरेको, गाईबस्तु चराउँदै वनजङ्गल चहारेको, सिकार खेलेको, प्राकृतिक सुन्दरता देखेर अभिभूत भएको, काठमाडौँ गएर आइएससी पढ्न थालेको, पढाइ बिचमै छाडेर जनकपुरतिर लागेको, भौतिक जगत्सँगको सम्बन्ध बौद्धिक हुँदै गएको, आफू बाँचेको परिवेशसँग परिचित हुँदै गएको, राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीतिक गतिविधिले प्रभाव पार्न थालेको, साहित्यिक रुचि बढ्दै गएको, वैचारिक रूपमा आफूलाई ठिक लागेका कुरा अरूलाई सम्प्रेषित गर्न नसकेको, वैचारिकता र साहित्यक रुचि समानताका आधारमा नयाँ साथी बनाएर भारतमा निर्वासित नेपाली कम्युनिस्ट नेतासँग भेट गरेको, सत्ता प्राप्ति र नेपाली समाज रूपान्तरण खातिर ‘कम्युनिस्ट समाज’ खोलेर छापामार युद्ध गर्न सिन्धुलीतिर लागेको, बाटामा बिरामी भएर फर्केको, छापामार युद्धप्रति मोहभङ्ग भएको, थोरो, टल्सट्वाय, महात्मा गान्धी आदिको अहिंसावादी अराज्यवादी दर्शनबाट प्रभावित भएर राजनीति छोडेर साहित्यिक पथ रोजेको, राष्ट्रव्यापी साहित्य सेमिनारमा भाग लिने अवसर प्राप्त भएको, साहित्यकारहरू सँगको परिचय बढेको, पञ्च र कम्युनिस्ट दुवै हुननसकी काठमाडौँ आएको, साहित्य लेखनलाई पेसा बनाउन खोजेको, त्यसबाट जीविकोपार्जन हुन नसक्ने देखी पहिले पत्रिकामा र त्यसपछि उच्चशिक्षाका लागि भारतको पटना गएको, भारतीय साहित्यकार, राजनीतिज्ञ र नेपाली राजनीतिज्ञ तथा साहित्यकार वि.पी. कोइरालासँग भेट भएको, साहित्यिक वार्ता गरेको, काठमाडौँ फर्केर फेरि आफ्नै गोडामा उभिने क्रममा परिवार नियोजन सङ्घमा कार्य गर्न थालेको, जाँचबुझ केन्द्रमा र सिआरएस प्रोजेक्टमा काम गरेको, अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घको जागिरे भएर लन्डन सरुवा भएको, तलब धेरै पाएपनि यन्त्रवत् जीवनचर्या, व्यस्तता सहरी त्रास, अपरिचय, नेपाली समाजसँग विच्छिन्न हुने डर आदिले पुनः देश फर्केको, वल्र्ड नेवर्समा जागिरे भई विभिन्न देश विदेशमा विकासका कार्यहरू गरेको, जागिर छोडी, समाज सेवामा लाग्ने निर्णय गरी तामाकोसी सेवा समिति खोलेर जन्मभूमिको विकास गर्न लागिपरेको, काङ्ग्रेसको राजनीतिमा होमिएको, राजनीतिक विकृतिले वाक्क भएर पुनः समाजसेवातर्फ फर्केको, दश बर्से द्वन्द्व र युद्ध कालमा पनि जिल्लामा विकास र समाज रूपान्तरणका कार्यमा लागिरहेको, यस्तै समुदायमा आधारित विकासका कार्य गरे वापत अमेरिकाको ओक्लोहोमा सिटी मेमोरियल फाउन्डेसनले दिएको ‘दि रिफ्लेक्सन अफ होप अवार्ड’ पुरस्कार ग्रहण गर्न अमेरिका जाँदा दुसाध्य क्यान्सर रोग माइलोमा लागेर थला परेको आदि घटना र प्रसङ्गहरू आएका छन् । यी अनुभवले जीवनका व्यापक र गम्भीर परिवेश ओगटेका छन् । यी भावनाप्रधानभन्दा यथार्थप्रधान छन् । यी ठोस छन्, एकप्रकारले आदर्श र अनुकरणीय पनि छन्, मार्गदर्शक छन् । यिनले उच्च मानवीय मूल्य, उच्च मानवीय त्याग र समर्पण देखाएका छन्, त्यसैले यी महत्वपूर्ण भएका छन् प्रेरणाप्रद भएका छन् । यी अनुभव मूलतः जगदीशले जीवनमा वरण गरेका तिनवटा व्यवसाय साहित्य सिर्जना, गैर सरकारी अन्तरर्राष्ट्रिय राष्ट्रिय संस्थामा गरिने नोकरी र समाज सेवासँग सम्बन्धित छन् । यिनबाट उनको पेसागत प्रतिबद्धता, कार्यप्रतिको लगनशीलता र कर्तव्यनिष्ठता झल्कन्छ । त्यस्तै उनको व्यक्तित्वमा रहेको निर्भीकता, देशप्रतिको अगाध आस्था पनि प्रकट भएको देखिन्छ । यी अनुभवले वर्तमान नेपालको राजनीतिक पथभ्रष्टता र मूल्यहीनतालाई पनि व्यञ्जित गरेका छन् । यसबाट युवा पाठक मात्र होइन प्रौढ पाठक पनि अत्यन्त प्रभावित हुन सक्ने देखिन्छ ।

२०६३ सालमा कडा रोग माइलोमा नामक क्यान्सर लागेपछिका जगदीशका अनुभव चाहिँ प्रौढावस्थाका हुन् । यस अवस्थामा उनी बढी दार्शनिक, बढी चिन्तनशील, बढी संवेदनशील बढी व्यावहारिक भएका देखिन्छन् । यस अवस्थामा पुगेपछि उनले जीवनलाई नजिकैबाट बुझेका छन् । वास्तवमा विना मृत्युबोध जीवनबोध पनि हुँदैन भन्ने विचार यिनै अनुभवबाट प्रकट भएको पाइन्छ । जीवनलाई भित्र फर्केर हेर्न उनलाई मृत्युबोधले सिकाएको छ । नत्र उनी जीवनलाई बाहिरतिर फर्केर हेरिरहेका देखिन्छन् । माइलोमाले थला परेपछि उनी आफन्त र पराई थाहा पाउँछन्, स्वदेश वा जन्मभूमि उनलाई स्वर्गभन्दा प्रिय लाग्न थाल्छन् । रोग निको होला कि भन्ने विश्वासले जे जस्ता उपचार पद्धति पनि अपनाउँछन्, स्वस्थ शरीर हुँदा मात्र चाडपर्व रमाइला हुँदा रहेछन् भनेर थाहा पाउँछन् । धर्म, अर्थ, काम मोक्ष, परिवार, सन्तति आदिका बारे चिन्तन गर्न थाल्दछन् । यी सबैबाट उनी जीवनद्रष्टा र उनका अभिव्यक्तिहरू जीवनमन्त्र जस्ता भएका छन् । वास्तवमा यी सबै कारणले यो कृति जगदीशको आत्मानुभवको उपनिषद् जस्तो हुन पुगेको छ ।

यो कृति नेपालको राजनीतिक इतिहास हो । यसमा खासगरी पञ्चायती व्यवस्थाभन्दा पहिलेको राजनीतिक अवस्थालाई पृष्ठभूमिमा राखिएको छ । त्यसपछि पञ्चायतीकाल (२०१७–२०४५), बहुदलीयकाल (२०४६–२०६०) र वर्तमान अवस्थाको गणतान्त्रिक व्यवस्थाको विश्लेषण गरिएको छ । गोर्खाली सेना र अङग्रेज सेनाबिच सिन्धुली गढीमा भएको युद्ध र २००७ साले क्रान्तिका प्रसङ्गहरूले नेपाली राजनीतिक विश्लेषणका लागि पृष्ठभूमिको काम गरेका छन् । पहिलो घटनाले नेपालको विदेशसँगको सम्बन्ध व्यञ्जित गरेको छ भने दोस्राले नेपालको राजनीतिक परिवर्तनको रूप देखाएको छ । अर्को कुरा यी दुवै घटनामा जगदीशको पुर्खा संलग्न रहेको देखिन्छ । २०१७ सालपछिको राजनीतिक अवस्थालाई विशेष महत्वका साथ चर्चा गरिएको छ । त्यति बेला नेपाली राजनीतिका तिन धार थिए— पञ्चायती वा राजवादी, प्रजातन्त्रवादी र कम्युनिस्ट । पञ्चायत कालमा नागरिक अधिकार कुण्ठित थिए । सम्पूर्ण अधिकार राजामा निहित थियो । उनका अगाडि सरकार अकिञ्चन थियो । राजका नाममा जे गरे पनि हुन्थ्यो । नेपाल रेडियोबाट ढालको विज्ञान गराउन पनि राजाबाटै अनुमति लिनुपरेको प्रसङ्ग ल्याएर लेखकले अधिनायकवादी व्यवस्थाको निरङ्कुशतालाई व्यञ्जित गरेका छन् । त्यस्तै जाँचबुझ केन्द्रमा काम गर्दाको अनुभवबाट पनि तत्कालीन राजतन्त्रीय व्यवस्था व्यञ्जित भएको छ । जगदीशले बहुदलीय शासन कालको विश्लेषण जरामा पुगेर गरेका छन् । बहुदलीय व्यवस्थालाई विकृत र मूल्यहीन कसरी बनाइयो, नामले प्रजातन्त्रवादी र साम्यवादी हुने काम चाहिँ अधिनायकवादीले झैँ गर्ने दलका नेताहरू, निहित स्वार्थको हिलो आहालमा आकण्ठ डुबेका बहुदलीय नेताहरूका घृणित कार्यहरू, देशको दुरवस्था, सीमान्त वर्गका पीडा, विकासको अत्यन्त मन्द गति, प्रजातान्त्रिक अधिकारको अकथनीय दुरुपयोग, सामान्य जनतामा छाएको निराशा, कर्मचारीमा बढेको चरम भ्रष्टता, उद्योगी, व्यापारीहरूको कालो बजारी, देशप्रेमको भावनामा ठूलो ह्रास आदि कारणले गर्दा नै बहुदलीय कालमा पनि देश उँभो लाग्न नसकेको कुरा स्पष्ट पारिएको छ । बहुदलीय व्यवस्थाले जन्माएका विकृतिका कारणले नै माओवादीजस्तो हिंसामा विश्वास गर्ने पार्टी नवशक्तिका रूपमा प्रकट भएको, माओवादी छापामार र सरकारी सेनाबिचको दोहोरो भिडन्तमा धेरै निर्दोष नेपालीले ज्यान गुमाउनु परेको, एक दशक लामो द्वन्द्व र युद्धको चपेटामा परेर देश विश्व समुदायबिच असफल राष्ट्रका रूपमा प्रकट हुन थालेको, राजनीतिक अनिश्चितता र अस्थिरताको फाइदा उठाएर राजतन्त्र पुनः निरङ्कुश भएको, त्यसलाई फाल्न नेपाली जनताले ठुलो सङ्घर्ष गरेको, नेपालमा गणतन्त्र आएको, तर यसले अझै निश्चित राजनतिक गति लिइनसकेको तथ्यलाई पनि अत्यन्त सटीक ढङ्गले विश्लेषण गरिएको छ । यसका साथै नेपालको राजनीति विदेशीकै इसारामा चल्ने गरेको र त्यसो हुन्जेल नेपालको राजनीतिक भविष्य अनिश्चित रहेको कुरालाई पनि लेखकले ठोकुवा गरिदिएका छन् । हुनत यो कृति नेपालको रजानीतिक इतिहास लेख्ने उद्देश्यले लेखिएको होइन र यो विशुद्ध वस्तुपरक लेखन पनि होइन, तापनि यसले तथ्यविश्लेषणमा देखाएको तटस्थता र त्यसबाट बोध हुने यथार्थ भने अत्यन्त तीक्ष्ण र प्रभावकारी बनेको छ । यति सही किसिमले राजनीतिक विश्लेषण गरिएको कृति तत्काल अर्को पाउन गाह्रो छ । त्यस्तै यसलाई जगदीशको आफ्नै राजनीतिक यात्राको संस्मरण पनि भन्न सकिन्छ ।

यो कृति नेपालको सामाजिक इतिहास पनि हो । यसले कतिपय सन्दर्भमा नेपाली समाजको समाजशास्त्रीय दृष्टिले विवेचना गरेको छ । जगदीश घिमिरे समाजशास्त्री पनि भएकाले यस कृतिको ‘जरा’ भन्ने शीर्षकमा नेपाली जातिको वैज्ञानिक र वस्तुगत विवेचन गरिएको छ । उनका विचारमा सबै नेपाली मानव जाति हुन् । मानव जाति कोही दैव र कोही दानव हुँदैन, छुत अछुत हुँदैन, सबै बराबर हुन् । विश्वमा कुनै पनि जाति अर्को जातिको रगत नमिसिएको छैन । मान्छेलाई भूगोल, जात जाति, शिक्षा, शारीरिक बनोट आदिका आधारमा विभेद गर्नु हुन्न । मान्छेलाई विवेक, विचार र व्यवहारका आधारमा चिन्नुपर्छ । सुरुमा सबै एउटै थिए, बराबर थिए, पछि सानाठुला भए, धनी गरिब भए, भेदभाव बढ्यो । यी सबै अस्थायी र बाह्य आवरणका कुरा हुन् । यी आधारमा मान्छेलाई भेदभाव गर्नु हुँदैन । यस्तै उदारवादी मानवतावाद यस कृतिमा उद्घाटित भएको छ । जगदीशले नेपाली समाजको अध्ययन गर्दा व्यष्टि र समष्टि दुवै तहबाट गरेका छन् । उनको अध्ययन ग्रामीण समाजमा केन्द्रित छ, तापनि सहरिया समाजको अध्ययन पनि उनले गरेका छन् । राजनीतिक कार्यकर्ता र नेता, कर्मचारी र उद्योगपतिका चारित्रिक विशेषता उनले राम्ररी ठम्याएका छन् । समग्रमा हेर्दा जगदीशले नेपाली समाजका राम्रा पक्षकोभन्दा नराम्रा पक्षको खोजी बढी गरेको देखिन्छ ।

यो कृति सामुदायिक विकासका विषयमा लेखिएको हो, ग्रामीण विकासका विषयमा लेखिएको हो अनि सहकारी संस्थाका विषयमा पनि लेखिएको कृति हो । जगदीश अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको उच्चपदको जागिर छोडेर आफ्नै जन्मथलो रामेछाप जिल्लाको विकास गर्न तामाकोसी सेवा समिति नामक गैससको स्थापना (२०३९) गरी ग्रामीण समाजको दिगो विकास र उत्थानमा लागेको देखिन्छ । उनले खोलेको संस्थाको उद्देश्य थियो अशक्तलाई सशक्त बन्न टेवा दिने । दुई हजार रुपियाको कोषबाट सुरु भएको यस संस्थाले रामेछापमा जे जति विकास निर्माणका कार्य गरेको छ, मलाई लाग्छ त्यति गर्ने नेपालमा कुनै अर्को गैसस छैन । यो पङ्क्तिकारले पनि तामाकोसी सेवा समितिले गरेका कार्यको अवलोकन गर्ने अवसर २०६५ सालमा रामेछाप साहित्य महोत्सवको अवसरमा प्राप्त गरेको थियो । खाने पानी, चर्पी, स्वास्थ्य, शिक्षा, कृषि आदि क्षेत्रमा यसले गरेका कार्यहरू सम्पूर्ण नेपाली योजनाकारहरूका लागि अनुकरणीय र प्रेरणावादी देखिन्छन् । जगदीशले गरे जस्तै पचहत्तरै जिल्लामा ग्रामीण विकासका कार्य गरे नेपाली र नेपालको अनुहार दशवर्ष भित्रमा फेरिने कुरामा सन्देह गर्नुपर्ने छैन । पचहत्तरवटा नेपाली सपूत जगदीश जस्ता भए नेपालबाटै विश्वले सिक्ने थियो गाउँको विकास कसरी गर्न सकिन्छ भनेर । जगदीश तामाकोसी सेवा समितिमा मात्र सीमिति छैनन्, काठमाडौँको कृषि वन प्रतिष्ठान, एन्जीओ फेडरेसन, तिलगङ्गा आँखा केन्द्रका पनि अध्यक्ष छन् । उनले रामेछापमा २०४० सालमा स्वास्थ्य चौकी स्थापना गरे । आज त्यो तामाकोसी सहकारी अस्पतालका रूपमा प्रसिद्ध छ । त्यो स्वनिर्भर छ, त्यसको २०६५÷०६६ को बजेट सत्तरी लाखभन्दा बढी देखिन्छ । त्यस्तै २०५२ मा स्थापित मन्थली सहकारीसँग अहिले बिस करोडभन्दा बढीको सम्पत्ति छ । अहिले रामेछापमा मात्र सयभन्दा बढी सहकारी संस्थाहरू सक्रिय छन् । यी सबैका प्रेरणास्रोत जगदीश नै हुन् । यी सबै हेर्दा के देखिन्छ भने यो कृति सामुदायिक विकास, ग्रामीण विकास र सहकारी संस्थासँग मात्र होइन ती सबैको सुसञ्चालन गर्न आवश्यक पर्ने कुशल व्यवस्थापनका विषयमा पनि लेखिएको जस्तो देखिन्छ । जगदीश वास्तवमा कुशल व्यवस्थापक वा प्रबन्धकका रूपमा पनि यहाँ चिनिएका छन् । उनमा व्यवस्थापन सम्बन्धी पर्याप्त सैद्धान्तिक र व्यवहारिक ज्ञान रहेको देखिन्छ । त्यसैले उनी संलग्न भएका संस्था राम्ररी चलेका देखिन्छन् ।

यो कृति एकातिर जगदिसेली साहित्यको रचनागर्भ हो भने अर्कातिर नेपाली साहित्यिक इतिहासको एक झलक पनि हो । यसमा जगदीश राजनीति छोडेर किन साहित्य लेखनतर्फ लागे, उनका साहित्य लेखनका प्रेरणा स्रोत के कस्ता थिए, उनले के कस्ता साहित्यिक कृतिको रचना किन र कहिले गरे, उनका साहित्यको वैचारिक धरातल के हो, जगदीशका जीवनमा साहित्यको महत्व के कस्तो छ आदि बारे राम्ररी उल्लेख भएको छ । त्यसैले यो जगदिसेली साहित्यको रचनागर्भ जस्तो देखिन्छ । त्यस्तै यसलाई जगदिशको साहित्यिक यात्राको संस्मरण पनि भन्न सकिन्छ । यो जगदीशको साहित्यिक यात्रा संस्मरण मात्र नभएर नेपाली साहित्येतिहासको एक झलक पनि हो । हुनत यसमा नेपाली साहित्यको कालक्रमिक इतिहास छैन, तापनि २०२० पछिको खासगरी पञ्चायत कालीन नेपाली साहित्य कस्तो थियो, त्यतिवेला के कस्ता राष्ट्रव्यापी साहित्यिक गोष्ठीहरू भएका थिए, के कस्ता साहित्यिक पत्रिका निस्कन्थे काठमाडौँको साहित्यिक वातावरण कस्तो थियो, के कस्ता साहित्यकारहरूले के कस्ता कृति लेखेका थिए, के कस्ता साहित्यकारले नेपाली साहित्यको विकासमा के कसरी योगदान पु¥याइरहेका थिए आदि बारे कृतिले स्पष्ट पारेको छ ।

यो कृति माइलोमा क्यान्सरको उपचार विधिका विषयमा लेखिएको हो । जगदीशलाई त्यो रोग नलागेको भए सम्भवतः यो कृति यसरी लेखिने थिएन । उनको संस्थाले नेपाली माओवादीले सुरु गरेको दश वर्ष लामो छापामार युद्धका बेलामा पनि सामुदायिक विकास गरिरहेको देखेर अमेरिकाको एक संस्थाले उनलाई पुरस्कृत ग¥यो र उनी पुरस्कार लिन अमेरिका पुगे, तर नियतिले उनलाई अर्कै पुरस्कार दिएको कुरा उनले अमेरिकै पुगेर थाहा पाए । त्यसको उपचार गराउने क्रममा हस्पिटलको शय्यामा अशक्त भएर लडेपछि उनले यो कृति लेखेको देखिन्छ अथवा घिमिरेलाई माइलोमाले नै यो कृति लेख्न लगाएको थाहा पाइन्छ । त्यसैले यसमा माइलोमा कस्तो रोग हो, त्यसको उपचार कसरी र कहाँ कहाँ गरिन्छ, त्यसको अत्याधुनिक उपचार पद्धति कस्तो छ, उपचार गर्दा बिरामीले कस्ता कष्ट खेप्नु पर्छ, यसको उपचार कति खर्चिलो हुन्छ, यो रोग लागेको मान्छेको आयु कति हुन्छ आदि कुरा आएका छन् ।

यो कृति दार्शनिक विषयमा लेखिएको छ । यसमा जगदीशको जीवन दर्शन व्यक्त भएको छ । यसमा उनले जाति, राजनीति, समाज, सेवा, राष्ट्र आदि विषयमा दार्शनिक विमर्श प्रस्तुत गरेका छन् । त्यसैले यसलाई दर्शन विषयक कृति भनिएको हो । यसमा पूर्वीय पाश्चात्य दर्शनका विमर्श छन् । कृति अध्यात्मवादी दर्शनभन्दा भौतिकवादी दर्शनतिर उन्मुख देखिन्छ । उनैले भनेका छन् उनी अहिंसावादी अराज्यवादी दार्शनिक हुन् भनेर । यसमा जातीय दर्शन छ । सामाजिक दर्शन छ, राजनीतिक दर्शन छ र यी सबैभन्दा माथि यसमा राष्ट्रवादी दर्शन छ । यसमा जगदिसेली राष्ट्रवादी दर्शनको सूक्ष्मता, प्रगाढता र व्यापकता व्यञ्जित भएको देखिन्छ । यसैभित्र उनको उदारवादी मानवतावादी दर्शन पनि खोज्न सकिन्छ ।

यो कृति चरित्रविज्ञान पनि हो । यसले मानवीय चरित्रको व्याख्या गरेको छ । खास गरी नेपाली चरित्रको व्याख्या गरेको छ । यसका धेरै शीर्षकमा त्यससम्बन्धी चर्चा प्रसङ्गानुसार आएका छन्, तर ‘भाव स्वभाव स्ववास्ताविकता’ भन्ने शीर्षकलाई नेपालीहरूको चरित्रविज्ञान भनिदिए हुन्छ । त्यसमा उल्लेख भए अनुसार मानव स्वभावमा वृत्ति र व्यवसायको गहन भूमिका हुन्छ । राजनीतिज्ञ शक्तिपूजक हुन्छन् । उद्योग व्यवसायी धनपूजक हुन्छन् र कर्मचारीहरू पदपूजक हुन्छन् । यी तिनै प्रकारका चारित्रिक परिवेशभित्र अन्य व्यक्तिका चरित्रहरू अटाएका हुन्छन् ।

यहाँ मैले केही प्रमुख विषयका सम्बन्धमा मात्र चर्चा गर्न सकेँ । अरू कतिपय विषय पनि यहाँ छन् । जेहोस् यसमा आत्मजीवनी, इतिहास, राजनीति, समाजसेवा, दर्शन, साहित्य, औषधीविज्ञान चरित्रविज्ञान आदि अनेक विषयहरू सलाद जस्तै मिसिएर रहेका छन् र कृति विविध रङ र स्वादका सलाद रहेको बटुको जस्तो भएको छ । यस्तो विषयगत विविधतायुक्त कृतिबाट पाठकहरू पठनको बहुस्वाद प्राप्त गर्दछन्, त्यसैले यो कृति यति लोकप्रिय भएको हो जस्तो लाग्छ ।

अब म यहाँ यो कृति लोकप्रिय हुनाका अरू केही कारणहरू पनि प्रस्तुत गर्न चाहन्छु । तीमध्ये पहिलो हो यो कृति वस्तुपरक लेखन र सिर्जनात्मक लेखनको सम्मिश्रणबाट निर्मित हुनु । यसलाई वस्तुपरक लेखन र सिर्जनात्मक लेखनको फ्युजन भन्न सकिन्छ । वस्तुपरक लेखन मानक हुन्छ, व्यवहारिक र ज्ञानमूलक हुन्छ । सिर्जनात्मक लेखन विशिष्ट हुन्छ, अनुभवात्मक कल्पनामूलक हुन्छ । यो कृति यी दुवै प्रकारका लेखन विशेषताले युक्त छ । त्यसैले यो अपरम्परित, सर्वथा नवीन र अत्यन्त प्रभावशाली बनेको छ । एकातिर वस्तुपरक लेखनका विशेषताले गर्दा यो कृति जगदीशको जीवन जस्तो, जगदीशले गरेका कार्यको विवरण जस्तो, नेपाली इतिहास जस्तो, राजनीति जस्तो, ग्रामीण विकासको विश्लेषण जस्तो, दर्शन जस्तो जगदीशको ज्ञानकोश जस्तो देखिन्छ भने अर्कातिर सिर्जनात्मक लेखन भएकाले यो जगदीशको साहित्यको रचनागर्भ जस्तो, नेपाली साहित्येतिहास जस्तो, समालोचना जस्तो, निबन्ध जस्तो, संस्मरण जस्तो, आख्यान जस्तो, काव्य जस्तो, अनुभवकोश जस्तो पनि देखिन्छ । त्यसैले यसलाई जगदीशको अनुभवकोश र ज्ञानकोशको अभिलेख भन्न सकिन्छ । यी भिन्न लेखनको विरोधाभासपूर्ण सम्बन्ध र तनाउबाट नै यसको सिर्जन सौन्दर्य प्रकट भएको छ । यस कृतिको सर्वाधिक शक्तिशाली पक्ष नै यही हो ।

वस्तुपरक लेखन मनपराउने पाठकले त्यस पक्षकै चर्चा बढी गर्न सक्छन् । म सिर्जनात्मक लेखन मनपराउने भएकाले यस पक्षमा थप कुरा राख्न चाहन्छु । विवेच्य कृतिका शीर्षकहरूलाई छुट्टाछुट्टै प्रस्तुत गर्ने हो भने ती सबै स्वतन्त्र र निर्बन्ध निबन्ध जस्ता लाग्दछन् । जगदीशका विचार, भाव, जगदीशका जीवनमा घटेका घटना, जगदीशले भेटेका वा चिनेका व्यक्ति, जगदीश पुगेका र घुमेका ठाउँ आदि कुरा निबन्धका विषय भएका छन् । उनले ती सबै विषयका बारेमा पाठकलाई कतै सूचना दिएका, कतै विषयसँग पाठकलाई सहमत गराएका, कतै विषय सम्बन्धी अनुभव पाठकहरूलाई सुनाएका र कतै घटनालाई पाठक समक्ष प्रस्तुत पनि गरेका छन् । जगदीश आफ्ना निबन्धमा कतै जिज्ञासु व्यक्तिका रूपमा, कतै वैचारिक दोधारमा परेको दोधारे व्यक्तिका रूपमा, कतै बौद्धिक व्यक्तिका रूपमा अगाडि आएका छन् । त्यस्तै उनले पाठकलाई कतै श्रोता, कतै समर्थक, कतै विचारक र कतै अनुयायीको भूमिका प्रदान गरेका छन् । उनका निबन्धको टोन वा स्वर कतै गम्भीर, कतै निश्चयात्मक र कतै व्यङ्ग्यात्मक पनि भएको छ । उनका निबन्धको शैली रोचक र आकर्षक छ । यस्तो निबन्ध शक्तिले नै यसलाई बढी प्रभावशाली बनाएको हो ।

यो कृति एक गतिलो आख्यान पनि हो । यसमा प्रशस्तै आख्यानात्मकता छ । यस कृतिमा भएका विषयलाई आख्यानात्मक ढङ्गमा प्रस्तुत गरिएको छ । यसमा प्रयुक्त घटनाहरू जगदीशका जीवनमा जसरी घटेका छन् र उनले जीवनमा जेजस्ता कार्यहरू गरेका छन् वा अरूका जीवनमा घटेका वा अरूले गरेका घटना वा कार्य कृतिमा घटेकै क्रममा वा गरेकै क्रममा कालक्रमिक रूपमा आएका छैनन् । कुन घटनालाई कुन क्रममा राख्ने, कुन कार्यलाई अगाडि पछाडि पार्ने भनेर पहिले योजना बनाई तिनलाई आख्यानात्मक पाराले क्रमबद्ध गरिएको छ । यसो गर्न जगदीशले आख्यानलेखन शिल्पको प्रयोग गरेका छन् । घटना वा कार्यलाई कार्यकारणको शृङ्खलामा हाली, कुनैलाई सूच्य रूपमा, कुनैलाई दृश्यरूपमा राखिएको छ । पूर्वदीप्ति र पश्चदीप्तिको प्रयोग गरेर, चेतन प्रवाहको प्रयोग गरेर प्रस्तुत गरिएको छ । त्यस्तै आख्यायक (जगदीश) ले आफ्नै दृष्टिपरिधि वा परिप्रेक्ष्यबाट घटना र कार्य भएको कथन गरेको छ । यस्ता युक्तिले गर्दा यो कृति उत्कृष्ट आख्यान भएको छ । विभिन्न शीर्षकहरूलाई कथा र ती सबैको समग्रलाई उपन्यास भन्न सकिन्छ । यस्तो आख्यान शक्तिले गर्दा यो कृति अझ लोकप्रिय भएको हो ।

यसमा गद्य र पद्य दुवै खाले भाषाशैलीको प्रयोग गरिएको छ । गद्य शैलीलाई लयात्मक बनाएर काव्यात्मक बनाइएको छ । जगदीश जब कुनै महत्वपूर्ण भाव वा विचार प्रकट गर्न आँट्छन्, तब कि त अरूले लेखेका गद्य र पद्यका सूक्तिहरूको सहारा लिन्छन् कि त गद्यलाई सादृश्यमूलक, प्रतीकात्मक बिम्बात्मक पार्दछन् । मिथकको प्रयोग गरेर, प्राक्सन्दर्भको प्रयोग गरेर, दृष्टान्तको प्रयोग गरेर शैलीलाई व्यङ्ग्यात्मक पार्दछन् । यसरी यो कृति एकातिर चम्पु काव्य जस्तो र अर्कातिर सूक्ति काव्य जस्तो हुन पुगेको छ । यस्तो काव्यात्मक शक्तिले गर्दा यो कृति अझ कलात्मक, अझ शक्तिशाली र अझ पठनीय बनेको छ । यसरी यस कृतिले साहित्यक विधालाई मिश्रण गरेको छ । यसलाई विधा भञ्जन पनि भनिन्छ । यसलाई क्वाँटी कृति पनि भन्न सकिन्छ । यसमा अन्तस्पाठीयता छ । यहाँ विभिन्न विषयका पाठलाई मिसाइएको छ, किनभने कुनै पनि पाठ एक अर्कासँग नमिसिई निरपेक्ष रूपमा आउनै सक्तैन । त्यसैले यसमा अरूले भनेका धेरै कुरा आएका छन् र तिनमा जगदीशले भनेका कुरा पनि मिसिएका छन् । यसको श्रेष्ठता के मा छ त ? म जगदीशले उद्धृत गरेको महान् साहित्यकार चेखवको भनाइ राख्न चाहन्छु ः There is nothing new in art except talent. वास्तवमा कलामा प्रतिभा बाहेक केही नयाँ हुँदैन । यस कृतिमा जगदीशको प्रतिभा मात्र छ र यो कृति त्यसैले उत्कृष्ट भएको छ ।

म अब यहाँ एउटा प्रश्न राखेर यो लेख अन्त्य गर्न चाहन्छु । जगदीशले यो कृति आफ्नो रोगको चिन्ताले लेखे कि देशको चिन्ताले लेखे ? मलाई लाग्छ जगदीशले यो कृति देशको चिन्ताले लेखे । किनभने कृति पढ्दा जगदीश रोगी हुन् भन्ने कुरा कृतिले बिर्साइदिन्छ । रोगलाई कृतिले कतै पनि अग्रभूमिका ल्याएको छैन । यो कृति लेख्नुपर्ने कारण रोग बनेको छ, तर त्यसले प्राथमिकता पाएको छैन । म अब मर्ने भएँ भनेर डरले यो कृति लेखिएको होइन । कृतिले बरु जगदीश कति भाषासाहित्य प्रेमी रहेछन् कति समाजसेवी रहेछन्, कति राष्ट्र वा मातृभूमिप्रेमी रहनेछन् भन्ने कुरा अग्रभूमिमा ल्याएको छ । जगदीश जब आफ्ना अनुभवको पोयो फुकाउँछन्, तब त्यहाँ प्रसङ्ग मिल्ना साथ देशको चिन्ताको पोयो मिसाइहाल्छन् । जगदीश यस कृतिमा जीवनीकार, साहित्यकार, समाजसेवी, राजनीतिक विश्लेषक, इतिहासकार, व्यवस्थापक, कोशकार वा सूक्ति सङ्कलक, बौद्धिक, सामाजिक सङ्घसंस्थाका कुशल सञ्चालक जुन सुकै रूपमा किन नचिनिऊन्, ती सबैभित्र सधैँ एक अटल देशप्रेमी रहेकै देखिन्छ । उनी राष्ट्रप्रेमका खातिर जे जस्तो त्याग र बलिदान पनि गर्न सक्ने देखिन्छन् । राष्ट्रका अगाडि उनको रोग केही पनि होइन, बाचुन्जेल राष्ट्रको सेवा, भाषा साहित्यको सेवा कति गर्न सकियो, त्यो चाहिँ उनका लागि प्रमुख महत्वको कुरा भएको देखिन्छ । रोग लागोस् कि नलागोस्, जीवन अनित्य छ, त्यसले एकपटक अन्त्य हुनै पर्छ । रोगको उपचारले जीवनमा केही वर्र्ष थपिएलान्, तर राष्ट्रको रोगको उपचार गर्न सके राष्ट्र सधैँ बाँचिरहन्छ, नेपालीहरू बाँचिरहन्छन् भन्ने स्वर कृतिभरि अन्तः प्रवाहका रूपमा प्रवाहित भएको देखिन्छ । त्यसैले यस कृतिलाई राष्ट्रप्रेमको महागाथा भनिएको हो । राष्ट्रप्रेम भएका कृतिहरू प्रशस्त छन्, तर यसैलाई सर्वोपरि बनाएर लेखिएका कृति थोरै छन् । ती थोरैमध्ये एक यो कृति हो । यस कृतिभित्र जे जति विषयहरू आएका छन्, ती सबैको मूल कारण जगदीशमा रहेको भाषा साहित्य प्रेम र राष्ट्र प्रेमको अदम्य भावना नै हो । जगदीशलाई यी यावत् कुराहरू लेख्न लगाउने काम राष्ट्रप्रेमले नै गरायो । त्यसैले यो कृति राष्ट्रभक्तिको गाथा मात्र होइन महागाथा हो । यो सम्पूर्ण कृतिमा जगदीशले त्यही महागाथाको गायन गरेका छन् । उनलाई राष्ट्र प्रेमका महागाथिक भन्न सकिन्छ ।

वर्तमान युगमा भएको सञ्चार र यातायातको द्रुत विकासले विश्व साँघुरिएर सानो गाउँ जस्तो भएको छ । देशका राजनीतिक सीमाहरू खुकुला हुन थालेका छन् । आजको मान्छे खास देशको नागरिकभन्दा विश्वनागरिक हुन खोजिरहेको जस्तो देखिन्छ । एकातिर यस्तो स्थिति छ भने अर्कातिर नेपालमा अहिले ठुलो राजनीतिक सङ्कट देखिएको छ । राजनीतिक अस्थिरता र अनिश्चितताले गर्दा यतिन्जेल दबिएर रहेका आवाजहरू गुन्जिन थालेका छन्, विखण्डन र विभाजनका स्वरहरू मुखरित भइरहेका छन् । यस्तो बेलामा जगदीशले यस्तो कृति लेखेका छन् । मलाई लाग्छ उनले यो कृति विनाकारण लेखेनन् । यसले नेपालीलाई नेपालराष्ट्रबारे पुनः गम्भीर भएर सोच्न बाध्य पार्ने छ र त्यो बाध्य पार्ने कारण अरू कुनै नभएर त्यही राष्ट्रवाद वा राष्ट्रप्रेम हुनेछ ।

रचना द्धैमासिकबाट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 24 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु