‘मेरी सानी भतिजी प्रतिमा’ कथाको युगीन सन्देश

- नरनाथ लुइँटेल

विकलको परिचय र प्रतिबद्धता
आधुनिक नेपाली कथालेखनको आरम्भिक चरणमै देखापरेका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन काठमाडौँस्थित गोकर्ण, आरूबारीमा भएको हो । नेपाली साहित्यमा रमेश विकलको नामले सुपरिचित उनको न्वारनको नाम भने रामेश्वरप्रसाद चालिसे रहेको छ । बी.ए. बी.एड.सम्मको औपचारिक शिक्षा प्राप्त गरेका विकल भन्सारमा नौसिन्दा, प्रचार विभागको सम्पादक, शिक्षा सामग्री उत्पादन केन्दको सम्पादक, परीक्षा नियन्त्रण कार्यालयको शाखाअधिकृत, शिक्षा परियोजनाको सम्पादक, त्रि.वि.वि.को उपप्राध्यापक जस्ता सरकारी सेवामा संलग्न रहेको देखिन्छ । विभिन्न साहित्यिक सङ्घसंस्थामा क्रियाशील विकल प्रज्ञा प्रतिष्ठानको सदस्यसमेत रहिसकेका थिए । प्रगतिशील लेखकसङ्घका अध्यक्ष एवम् सल्लाहकार, नेपाल लेखक सङ्घको सचिव र बालसाहित्य समाजको अध्यक्षता गरिसकेका विकल पछिल्लो समयसम्म साहित्य सदन रामहिटी र भैरव पुरस्कार गुठी जोरपाटीको अध्यक्ष पदमा आशीन थिए ।

२००६ सालको ‘शारदा’ पत्रिकामा प्रकाशित ‘गरिब’ शीर्षकको कथा नै रमेश विकलको पहिलो प्रकाशित रचना हो । कथालेखनबाट साहित्यिकयात्रा आरम्भ गरेका विकलको लेखनी कथामा मात्र सीमित छैन । विकलले नेपाली साहित्यलाई उत्कृष्ट औपन्यासिक कृतिहरू पनि दिएका छन् । उल्लेख्य निबन्ध र यात्रा संस्मरणहरू लेखेका छन् । दर्जनौँ बालसाहित्यिक रचनाहरूहरू र नाटक पनि दिएका छन् । यसरी विकलको कलम बहुविधामा छरिएको देखिए पनि मूलतः सर्वाधिक सफलता भने कथा विधामा नै रहेको देखिन्छ । मदन पुरस्कार (२०१८), महेन्द्र प्रज्ञा पुरस्कार (२०३८), युद्धप्रसाद स्मृति पुरस्कार आदिद्वारा पुरस्कृत विकललाई विभिन्न साहित्यिक सङ्घसंस्थाहरूले अभिनन्दन एवम् सम्मान गरेका छन् । २०६५ पुस ३ गते विकलको देहान्त भएको हो ।

विकलका प्रकाशित कृतिहरू
बहुविधामा कलम चलाई आएका विकलका प्रकाशित कृतिहरूको सूची निकै लामो छ । कथाकृतिहरूमा उनको पहिलो प्रकाशित कथाकृति ‘विरानो देशमा’ रहेको छ । यो कथासङ्ग्रह २०१६ सालमा प्रकाशित भएको थियो । ‘नयाँ सडकको गीत (२०१८), ‘आज फेरि अर्को तन्ना फेरिन्छ’ (२०२४), ‘एउटा बूढो भ्वाइलेन आशावरीको धूनमा’ (२०२५), ‘उर्मिला भाउजू’ (२०४३), ‘शव, सालिक र सहस्र बुद्ध’ (२०४३) उनका अन्य प्रकाशित कथाकृतिहरू हुन् । उनका दर्जनौँ फुटकर कथाहरू माधुपर्क, गरिमा, रचना, समकालीन साहित्यजस्ता विभिन्न साहित्यिक पत्रपत्रिकामा छरिएर रहेका छन् । सामाजिक यथार्थवादी नेपाली उपन्यासमा उल्लेख्य महत्व राख्ने विकलको ‘अविरल बग्दछ इन्द्रावती’ (२०४०) चर्चित औपन्यासिक कृति हो । यस उपन्यासको कथानक प्रयोग गरी उपन्यासकै नाममा ठूलो पर्दाको चलचित्रसमेत निर्माण भएको छ । ‘सुनौली’ (२०३१) र ‘सागर उर्लिन्छ सगरमाथा छुन’ (२०५३) उनका अन्य औपन्यासिक कृति प्रकाशित छन् । यात्रा संस्मरणमा आधारित ‘सात सूर्य एक फन्को’ (२०३५), ‘नीलगिरिको छायामा’ (२०५०) नियात्रा निबन्धसङ्ग्रह प्रकाशित भएका देखिन्छन् भने ‘सरदार भक्ति थापा’, ‘मिल्किएको मणि’ जस्ता नाट्यकृति र ‘सात थुँगा’ एवम् ‘सप्तरङ्ग’ जस्ता एकाङ्कीसङ्ग्रह पनि प्रकाशित छन् । विकलको अर्को महत्वपूर्ण क्षेत्र बालसाहित्य लेखन पनि हो । उनका ‘तेह्र रमाइला कथा’, ‘पञ्चतन्त्रका कथा’, ‘एक्काइस रमाइला कथा’, ‘अगेनाका डिलमा’, ‘हिँउँदे छुट्टी’, ‘बाह्र महिनाका गीत’ आदि विकलका बालसाहित्यिक कृतिहरू प्रकाशित भएका छन् । वयोवृद्ध उमेरमा पनि उनको कलम लेखनमै क्रियाशील थियो । देहान्त हुनुभन्दा केही हप्ता अघिसम्म पनि उनका रचना साहित्यिक पत्रपत्रिकामा पढ्न पाइँदै थियो ।

विकलका कथागत प्रवृत्ति
रमेश विकल मूलतः प्रगतिवादी जीवनदृष्टिका कथाकार हुन् । उनको समग्र कथालेखन माक्र्सवादी दर्शनमा आधारित छ । यही दर्शन तथा दृष्टिकोणलाई आत्मसात् गरी नेपाली समाजको निम्नवर्गीय पीडालाई यथार्थवादी ढङ्गले अभिव्यक्त गर्न विकल औधी सिपालु देखिन्छन् । नेपाली समाजमा विद्यमान अन्धविश्वास र कुपरम्पराप्रति तीव्र विरोध, सामाजिक विभेद, वर्गीय उत्पीडन र राजनैतिक अन्यायप्रति विकलका कथाले सशक्त प्रतिकार गरेका छन् ।

विकल आफ्ना कथा मार्फत् उच्च तथा धनाढ्य वर्गको शोषण दमनयुक्त वर्गीय प्रवृत्तिप्रति घृणा व्यक्त गर्दै निम्न एवम् गरिब वर्गको पक्षपोषण गरी असमान सामाजिक परिवेशलाई फेर्नुपर्ने चाहना व्यक्त गर्दछन् । विकलका कथामा करुणाजन्य स्थितिको सिर्जना गरी आशावादी र परिवर्तन उन्मुख चेतना प्रवाह गरिएको पाइन्छ । परम्परागत प्रचलनले नेपाली समाजमा नारीहरूमाथि प्रताडना दिएको छ । यो अन्यायी र अमानवीय प्रवृत्तिप्रति विकल एकदमै असहमत देखिन्छन् । उनका कथामा नारीप्रति समभाव राख्न प्रगतिशील आग्रह गरिएको पाइन्छ । उनका कतिपय कथामा व्यक्ति मानसिकताका विविध रूपको मनोवैज्ञानिक विश्लेषण पनि गरिएको छ ।

शोषितपीडित वर्गप्रति सहानुभूति र सद्भाव, प्रगतिवादी दृष्टिकोण, कारूणिक पक्षको चित्रण, भाषिक सरलता, भावमा मानवतावाद, उद्देश्यमा सामाजिक सुधार नै कथाकार रमेश विकलका कथामा पाइने प्रमुख विशेषता हुन् । वर्र्गीय पृष्ठभूमिमा आधारित हुँदै चरित्रकेन्द्रित भएर रैखिक शैलीमा कथाको संरचना निर्माण गर्नतिर विकलको विशेष रुचि रहेको देखिन्छ ।

‘मेरी सानी भतिजी प्रतिमा’ कथाको मूलमर्म
विकलका प्राय सबै कथा पाठकहरूको मनोविज्ञानलाई झ्याप्पै समातेर मनोसंवेदनाका तन्तुलाई तरङ्गित बनाइदिने खालका छन् । ‘एउटा बूढो भ्वाइलेन आशावरीको धूनमा’ कथासङ्ग्रहमा सङ्गृहीत ‘मेरी सानी भतिजी’ कथामा छोराको तुलनामा छोरीलाई अमानवीय प्रताडना दिने सामाजिक दुष्टवृत्तिलाई मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ । नेपाली समाजमा महिलाहरूमाथि गरिने विभेदको मूलजरो घरपरिवार नै हो । आमाबाबु आफ्नै सन्तति छोरा र छोरीप्रति अमानवीय विभेद गर्दछन् । यसको मूख्य कारण भनेको नेपाली समाजमा व्याप्त अन्धविश्वास, रुढिग्रस्त मानसिकता र धार्मिक ढोंग नै हो । मरेपछि पुगिने स्वर्गको लालसामा आप्mनै सन्तति छोरीहरूप्रति नेपाली समाज कति क्रूर बनेको छ भन्ने नाङ्गो यथार्थलाई विकलको यस कथाले प्रभावकारी किसिमले प्रस्तुत गरेको छ ।

कथाकी प्रतिमा ती नेपाली बालिकाहरूकी प्रतिनिधि पात्र एवम् चरित्र हुन् जो आमाको लाडप्यारमा हुर्किन नपाई दोस्रो सन्तान छोरा जन्मिएपछि असमयमै ओइल्याउन र जिङ्ग्र्याउन विवश बनेका छन् । छोराको उपस्थितिमा छोरीप्रति हेलाहोचो र बेवास्ता मात्र होइन अमानवीय उत्पीडन भोग्नुपर्ने प्रतिमाको कहालीलाग्दो यथार्थले जो कोही पाठकलाई कारुणाद्र बनाइदिन्छ । यसरी छोरा र छोरीमा गरिने भेदभाव र कलिलो बालमष्तिष्कमा पर्ने असरको सामाजिक अन्यायमाथि दृष्टि दिँदै हरेक नेपाली आमा आफ्ना सन्तति छोरीप्रति त्यो हदसम्म क्रूर नबनिदिऊन् भनी कलात्मक आग्रह गर्नु कथाकारको मूल उद्देश्य रहेको देखिन्छ ।

सरल भाषामा आवश्यक र उपयुक्त एवम् प्रभावकारी संवाद र शिल्प प्रयोग गरी रचना गरिएको प्रस्तुत कथाले नेपाली समाजमा व्याप्त एउटा अत्यन्तै अँध्यारो पक्षको चित्रण गरेको छ । कथाका पात्रहरू प्रतिनिधिमूलक छन् ।

विज्ञानको अभूतपूर्व विकासले विश्वलाई चकित बनाइरहेको बेला, भेलेन्तेना तेरेस्कोभा जस्ता नारीले अन्तरिक्षको यात्रा गरिसकेको बेला र जुनको तावेइजस्ता नारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राखिसकेको बेलामा पनि नेपाली समाज भने छोरा पाएमा मात्र स्वर्ग तरिन्छ भन्ने रूग्ण मानसिकता काखी च्यापेर छोरीहरूप्रति अमानवीय अत्याचार गरिरहेको छ । त्यही अमानवीय अत्याचारको शिकार भएका लाखौँ छोरीहरूकी प्रतिनिधि हो कथाकी पात्र प्रतिमा । त्यसै गरी छोरा पाउनासाथ छोरीमाथि निृशंस अत्याचार गर्न तम्सिने लाखौँ नेपाली आमाहरूको प्रतिनिधित्व गरेकी छन् प्रतिमाकी आमाले ।

कथाको अङ्कल भने निम्नमध्यम वर्गीय नेपाली बुद्धिजीवीको प्रतिनिधि पात्रका रूपमा प्रस्तुत भएको छ । आफ्नी भतिजी प्रतिमामाथि आमाको अर्थात् भाउजूको व्यवहार गलत हो भन्ने बुझेको छ । उसको प्रगतिशील चरित्र पढेलेखेका नेपाली बुद्धिजीवीहरूसँग ठ्याक्कै मिल्दछ– जो विचारले प्रगतिशील छन् तर व्यवहारमा लागू गर्न पटक्कै सक्दैनन् । ऊ प्रतिमाको व्यथित जीवनदशाप्रति संवेदनशील छ, माया गर्छ, भाउजूलाई सम्झाउन पनि खोज्छ तर समग्रमा प्रतिमाले भोगिरहेको अन्यायलाई न्यायमा फेर्न सक्दैन । प्रतिमामाथि भइरहेको विभेदको मूल समस्या समाधान गर्न सक्दैन । मलाई छोराको उपस्थितिमा छोरीलाई अत्याचार गर्ने ममी नभएको ठाउँमा लैजानुहोस् भन्ने भतिजी प्रतिमाको करूण आग्रहलाई पूरा गर्न सक्दैन । किंकर्तव्यविमूड बनी प्रतिमालाई विल्कुल त्यही अवस्थामा छोडेर ऊ जागिर खान भरतपुरतिर लाग्दछ ।

अर्को बालपात्र अशोकले पनि आमाको लाडप्यारमा लाडिएर र पुल्पुलिएर जण्ड बनी आप्mना दिदी र बहिनीहरूप्रति प्रताडना दिने पुरुष मानसिकताको प्रतिनिधित्व गरेको छ । दिदी प्रतिमाले छुँदै नछोए पनि कोकोहोलो आवाजमा घरै उचालिने गरी रोएर आमाको ध्यान खिच्दछ र प्रतिमाले पिटेको सफेद झुट बोल्छ । अनि आमा प्रतिमामाथि खनिन्छिन्– प्रतिमालाई भुत्ल्याउँछिन्, भकुर्छिन् । अशोकको यो परपीडक प्रवृत्ति धेरै नेपाली पुरुषहरूमा पाइन्छ ।

कथामा कथाकार विकलले उपयुक्त परिवेशको आयोजन गरेका छन् । एउटा परिवारको दृश्यचित्र प्रस्तुत गरी परिवारको परिवेशलाई सिङ्गै समाजसँग एकाकार गराएका छन् । कथाको कथानकमार्फत् हाम्रो सामाजिक जीवनमा देखापरेका विभेदपूर्ण व्यवहारलाई कल्पना होइन यथार्थकै अङ्कनबाट प्रस्तुत गरिएको छ ।

यसरी समाजमा व्याप्त छोरा र छोरी बीच गरिने अमानवीय, अवैज्ञानिक, अव्यवहारिक भेदभावले समाजको समानुपातिक विकासमा अवरोध खडा गरेको छ । यस्तो अमानवीय भेदभावको अन्त्य गरी नारी र पुरुष अर्थात् छोरा र छोरी बीच समान दृष्टिकोण निर्माण गर्ने नयाँ सामाजिक परिपाटी निर्माणको युगीन सन्देश विवेच्य कथामार्फत् प्रस्तुत गरिएको छ ।

निष्कर्षमा सन्देश, भाव सम्प्रेषण, परिवेश आयोजना, कथानक, पात्र तथा चरित्र चित्रणको विशिष्टताले विकलका उत्कृष्टतम् कथाको स्रेणीमा यस कथालाई पनि गणनायोग्य बनाएको छ ।

सन्दर्भसामग्री
१. दाहाल, दुर्गाप्रसाद, साधारण नेपाली (२०६१), के.पी पुस्तक भण्डार, डिल्लीबजार, काठमाडौँ ।
२. प्रधान, कृष्णचन्द्रसिंह, एउटा बूढो भ्वाइलेन आशावरीको धूनमा, साझा प्रकाशन (चौथो सं. २०५२), पुलचोक
ललितपुर ।
३. बराल, कृष्णहरि र अन्य, साधारण नेपाली व्याकरण, अभिव्यक्ति र अभ्यास (२०६१), हजुरको प्रकाशन, प्रदर्शनीमार्ग,
काठमाडौँ ।
४. राई, रामकुमार र अन्य, अनिवार्य नेपाली व्याकरण र रचना (स्नातक तहको पाठ्यपुस्तक– २०५७), सूचना प्रकाशन,
वनस्थली काठमाडौँ ।
५. ज्ञवाली, रामप्रसाद र अन्य, अनिवार्य नेपाली (स्नातक तहको पाठ्यपुस्तक– २०५६), भुँडीपुराण प्रकाशन, काठमाडौँ ।
६. ज्ञवाली, रामप्रसाद र अन्य, ऐच्छिक नेपाली (नेपाली गद्य, भाषा र साहित्य २०५८), भुँडीपुराण प्रकाशन, काठमाडौँ ।

कलङ्की, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु