पूर्वका तारा: भवानी घिमिरे

- भीमनाथ कोइराला

बारीमा मकैका बोटहरू मौलाएर बढेको सानो जङ्गलजस्तो थियो-हाम्रादेखि पल्लोघर । इँटाभट्टा वालाले भाडामा लिएका थिए । भट्टा भने त्यस घरबाट अलिपर आग्नेय कोणमा थियो । मजदुरहरूको कार्यक्षेत्र त्यही भए पनि अर्थमन्त्रालय भुक्तानी तथा कोष तहबिल शाखाझैँ थियो त्यो घर । पछि त्यो इँटाभट्टा भद्रपुरका प्रख्यात साहित्यकार तथा पत्रकार एसएल शर्माले पनि साझेदारीमा केही दिन सञ्चालन गर्नुभयो । मैले उहाँलाई एकपटक हजुरले भट्टाको कारोवार रहरले कि करले ? भनेर प्रश्न गर्दा "म चुनाव हारेको मान्छे भट्टीमा जानुपथ्र्यो, नौतिकताले भट्टातिर तानिएँ" भन्ने अभिव्यक्तिले अहिले मलाई सुमधुर याद आउँछ अतीतको पाना पल्टिएझैं ।

चर्को आवाजमा बजिरहेको रेडियो लाइन जाँदा जसरी अचानक शान्ति स्थापित हुन्छ । त्यस्तै, पल्लोघरको होहल्ला पनि अचानक शान्त भयो । कठालो समाइएका हातहरू फतक्क गलेझैं लत्रिए । असामान्यरूपले विकराल हुन प्रायः निश्चित भएको वातावरण यसरी अचानक किन निमेषभरमा परिवर्तन भयो ? झण्डै सन्ध्याको बेला टाढाको आकृति ठम्याउन गाह्रो पथ्र्यो । झगडा भइरहेका ठाउँमा प्रहरी, सेना आउँदा साम्य भएझैँ यौटा सर्वसाधारणको आगमनले यो अवस्था भएको रहेछ । त्यस व्यक्तिको व्यक्तिमा के त्यस्तो शक्ति निहीत रहेछ ? हामी चकित भयौँ । पछि थाहा भयो- उहाँ हुनुहुँदोरहेछ-भवानी घिमिरे केवल उहाँको उपस्थितिमा 'तैँ चूप-मैँ चूप' सबै झगडियाहरू ।

जनमत सङ्ग्रह पञ्चायती शासनका लागि जीवनमरणको पहिलो धक्का थियो । विभिन्न काकताली र प्रपञ्चद्वारा त्यही व्यवस्थाले जनअनुमोदन पाए पनि वाक तथा प्रकाशनजस्ता प्रजातान्त्रिक गुणहरूको व्यवहारिक प्रयोजन बढेर गयो । यद्यपि कति माथि व्यवस्था विरोधी भनेर मुद्दा मामिला नचलेको पनि होइन । दर्जनौं व्यक्तिहरू तत्कालीन एकसदनात्मक व्यवस्थापिकाका लागि निर्वाचित हुन चाहन्थे । निर्वाचन हो- विजय, पराजय त हुन्थ्यो नै । उम्मेदवारहरूमध्ये राजभक्त, व्यवस्थावादीका नामले कोटा सङ्ख्याका आधारमा सरकारी उम्मेदवार भनी प्रचार हुन्थ्यो र उसको विजय सुनिश्चित हुन्थ्यो पनि ।

झापाको धुलावारी निवासी नरेन्द्र खनाल चुनाव चिहृन छाता लिएर उत्रिनु भएको थियो । त्यस्तै, तोपगाछीतिरका चन्द्र प्र. याङ्या माछा चिहृनमा भोट माग्दै हुनुहुन्थ्यो । कुन संयोगले हो दर्जनौँमा उहाँहरू दुई जनामाथि सरकारी उम्मेदवार भन्ने लेवल लाग्न पुग्यो । जातिगत तथा माइपारिका सशक्त उम्मेदवार याङ्याजी र यता पैसाको समेत ठूलो लगानी अर्पण गरिरहेका खनालजीको विजय एक किसिम सुनिश्चित थियो । आठ-दस दिन पनि राम्रो बितेको थियो थिएन, भद्रपुरबाट ठूलै आकारमा भित्ते पोस्टर टाँसिन आरम्भ भयो-पोस्टरमा ठूला अक्षरमा लेखिएको थियो 'नडराउ सरकारी उम्मेदवार छाता र माछा हराऊ' । माहौल रमाइलो बन्दै गयो । निर्वाचनमा उत्रिएका उम्मेदवारहरूको बर्खिलाप यसरी अभियानकैरूपमा पोस्टर टाँसिने कार्यले टाँस्नेलाई व्यवस्था विरोधीको लेवल लगाई कारवाही पनि हुने सम्भावना त्यतिकै थियो । अन्ततोगत्वा छाता र माछासमेत चुनाव हार्न पुगे । शायद अभियानको सशक्तताका कारणले हो वा केले हो ? प्रहरी र मिल्ट्री क्याम्पका जवानहरूले गोपाल चन्द्रसिंह राजवंशीलाई एकलौटी मत दिएकोले सहीरूपमा सरकारी उम्मेदवारको पहिचान हुन सकेन कि ? वा सरकारी उम्मेदवार फेरियो कि ? भन्ने सन्देहास्पद चर्चा पछिसम्म चलिरहृयो । सरकारी उम्मेदवारका विरुद्धमा जेहाद् छोड्ने शिखर पुरुष उनै भवानी घिमिरे हुनुहुन्थ्यो । कवि शिरोमणि लेखनाथ पौडेल, नाटककार बालकृष्ण सम, राष्ट्रकवि माधव घिमिरेजस्ता शिखर पुरुषहरूमाथि त स्तुतिवादी निरङ्कुशताका प्रशंसक भन्ने आक्षेप र आलोचना पढ्न, सुन्न पाइन्छ तर भवानी घिमिरे यो आक्षेपबाट कोसौँ कोस टाढा रहिरहनु भयो ।

भद्रपुरका केही उत्साही युवाहरूको समूह २०३९ सालतिर कञ्चनजङ्घा युवा क्लबको तदर्थरूपमा क्रियाशील थियो । संस्था स्थापनाका लागि प्रमुख आधारभूत तìवहरूमध्ये अर्थ सङ्कलन, संस्था दर्ता गराउने काम कठिन थियो नै । यसमा पनि सितिमिति दर्ता हुँदैन थियो । दर्ता देखैजाला, पहिले अर्थ सङ्कलन गरौँ भन्ने मनसायले देउसी खेल्ने सरल उपाय अपनाइयो । यस कार्यक्रमको आयोजनाका लागि अग्रपङ्क्तिमा सक्रिय युवाहरू क्रमशः मुकुन्द ढुङ्गाना, भरत भूर्तेल, शैलेन्द्र दाहाल, हरिकृष्ण कार्की, प्रदीप रिजाल, अच्युत भूर्तेल, हरि न्यौपाने, विजय रिजाल, नरेश भूर्तेल, भगवान पौडेल, कुश पौडेल, रमेश मैनाली, वसन्त श्रेष्ठ, मनोज रिजाल, महेश पौडेल, जेपी शर्मा, नरसिंह साहेवाला, राजेश ढुङ्गानालगायतका अरू केही युवाहरू र म आफू सक्रिय थियौँ । अर्थ सङ्कलनको लक्ष्य यस्तै तीन-चार हजार थियो । अहिले नौ हजार तलब हुनेेको शायदै ३५५ जति थियो होला त्यतिबेला । अहिलेको तुलनामा पैसाको क्रयशक्ति मजबुत थियो । चार/पाँच रुपियाँमा एक किलो चामल त्यो बेला पाइनुपर्छ । देउसीको आरम्भ अञ्चलाधीश मदन गिरीकहाँबाट गर्ने योजना गर्‍यौँ ।

लक्ष्मी पूजाको सन्ध्या । देउसीको समूहलाई 'तपाईंहरू राजा मान्ने कि नमान्ने ?' भन्ने प्रश्नको उत्तरमा मुकुन्द ढुङ्गानाजीको 'मान्ने' भन्ने उत्तरले अञ्चलाधीशलाई खुसी तुल्यायो । कार्यक्रम साह्रै राम्रो भयो । महेश पौडेलको उत्कृष्ट मेन्डोलिन बादनÙ मनोज रिजालको उत्कृष्ट गायनÙ रमेश मैनाली तथा पवन गिरीको नृत्यले ठूलो प्रशंसा पायो । अञ्चलाधीश एक्लैले तीन किस्तामा भुक्तानी दिने गरी १० हजार रुपियाँ दिने घोषणा गरे । पछि यस्तै दुई हजार/बाईस सय जतिमात्र भुक्तानी संस्थाले पायो । पछि अञ्चलाधीश पदमुक्त भएर घोषणा त्यसै सेलायो । बजारतिर राम्रै गरी अर्थ सङ्कलन भयो देउसीहो-अझ अरू दिनुहोस् भन्ने टीमको अभिलाषा त हुन्छ नै । अब भवानी बाबुकहाँ जाने भन्ने घोषणाटोली सञ्चालकहरूले गरे, साथसाथै के पनि घोषणा भयो भने अन्यत्रजस्तो होइन, शालीनताका साथ कार्यक्रम प्रस्तुत गर्ने र पैसा यतिउति नभन्ने भन्ने पूर्वयोजना भयो । भानुसदन पुगियो । उहाँलाई नजिकबाट मैले शायद पहिलोपल्ट देखेँ । कार्यक्रम अघि बढ्यो । गीत, सङ्गीतका अतिरिक्त उहाँले कवितावाचन पनि गर्नु, गराउनु भयो । शायद उहाँहरू पनि विर्तामोडतिर देउसी खेलेर आउनुभएको कुरा हामीलाई बताउनु भयो । साथमा गोपीकृष्ण खनाल, मदन ढकाल पनि हुनुहुँदोरहेछ । उहाँहरूले पनि कविता सुनाउनु भयो ।

".........पछाडि फर्किएर हेर्दा घिच्रामा खुकुरीको प्रहार छ" उहाँको यो चर्चित र सशक्त कविता मैले त्यतिखेरै सुनेँ पहिलोपल्ट । सारै घत लाग्यो । मलगायत समूहका सबैजना धेरै पछिसम्म हाउभाउ कटाक्ष र अभिनयका माध्यमबाट समेत यो कविता प्रस्तुत गर्थें । अब यहाँनिर प्रश्नहरू उठ्छन्, दाताहरूमध्ये उहाँ कहाँ मात्र किन पैसा मागिएन ? अन्यत्रभन्दा शालीनता र अनुशासन किन प्रदर्शन गरियो ? अञ्चलाधीश सीडीओभन्दा पनि उच्चकोटीको सम्मान भाव किन उहाँप्रति व्यक्त भयो ? सबै प्रश्नको यौटै र संयुक्त उत्तर उहाँ यस परिवेशको सिङ्गो र सर्वमान्य व्यक्तित्व । पछि क्रमिकरूपले चाल पाउँदै गएँ मैले ।

साहित्यिक क्षेत्रमा र अन्य क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने सूर्यविक्रम ज्ञवालीको निधनले नेपाली वाङ्मय जगत्मा ठूलो रिक्तता महसुस गरियो सबैतिरबाट । उहाँको अवशानभन्दा केहीअघि नेपाली व्याकरण तथा भाषा साहित्यको क्षेत्रमा उत्तिकै गहनतम योगदानकर्ता पारसमणि प्रधानको पनि त्यही वर्ष निधन भयो । लेखनाथ वाचनालय तथा पुस्तकालय चन्द्रगढीको आयोजनामा २०४२ साल मङ्सिरमा उहाँहरूको स्मृतिमा श्रद्धाञ्जलिसभाको आयोजना गरियो । श्रोताका हैसियतमा म पनि त्यहाँ गएँ पछिपछि । शायद संस्थाका अध्यक्ष निलमणि नेपालको अध्यक्षतामा त्यो कार्यक्रम अघि बढ्दै थियो । वक्ताहरूले क्रमिकरूपमा बोल्दै जानुभो । जसमा मलाई हेक्का रहेसम्म स्व. घनश्याम खनाल, चूडामणि रेग्मी, द्रोण उपाध्याय, होम सुवेदी, चिन्तामणि दाहाल आदि विद्वत्वर्गले आफ्ना विषयगत अवधारणा व्यक्त गर्नुभयो । अहिलेसम्मको कार्यक्रम समीक्षा गर्दा कार्यक्रममा त्यति दम भएजस्तो मैले देखिनँ । अर्थात् औपचारिकताका लागि भएको कार्यक्रमको झल्को मात्र दिएको जस्तो मात्र देखेँ मैले ।

त्यस कार्यक्रममा किन हो प्रमुख अतिथि वा के हो ? भवानी घिमिरेको आगमन भएन वा किन ढिलो भो ? भन्नेमा कानेखुसी हुँदै पनि थियो । अकस्मात उहाँको आगमन भयो, सबैले उहाँलाई उच्च मर्यादा दर्शाए । बोलिरहेका वक्ताले पनि उहाँको आगमनका कारण आफ्नो भाषण छोट्याए र उद्घोषकले । प्रमुख अतिथि भवानी घिमिरेज्यूबाट .....' भन्दै मञ्चमा निम्त्याइयो । यौटा साँघुरो दोकान घरको कोठा । वक्ता र श्रोताहरू थोरै थिए । सडकको पेटीमा मान्छेहरू पुलुक्कपुलुक्क हेर्दै आ-आफ्ना गन्तव्यतर्फ लम्किइरहेका थिए । कार्यक्रम भइरहेको कोठाभित्रको उपस्थिति निकै कम थियो । यतिकैमा विलम्ब भएकोमा क्षमा याचनाका अभिव्यक्ति दिँदै भवानी घिमिरे प्रवेश गर्नुभयो । बोलिरहनु हुने मेची क्याम्पसका कुनै प्राध्यापक 'प्रमुख अतिथि एवं भानुका सम्पादक, वरिष्ठ साहित्यकार भवानी घिमिरेज्यूको आगमनका कारण आˆना अभिव्यक्तिको अन्त्य गर्दछु ।' भन्दै आफ्ना अभिव्यक्ति टुङ्ग्याउनु भयो ।

नेपाली साहित्यिक फाँटमा झापा उर्वर भूमि हो त्यसमा पनि जिल्ला सदरमुकाम तथा मेची क्याम्पसलगायतका उच्चकोटिका शैक्षिक निकायसमेत भएका कारण वौद्धिक तथा साहित्यिक योगदान अन्यत्रभन्दा यहाँ बढी हुने गर्छ ।

कवि भवानी घिमिरे यहाँ कविताको कोसेली लिएर आउनुभएको थिएन । कार्यक्रम पनि त्यो खाले थिएन । स्व. सूर्यविक्रम ज्ञवाली र स्व. पारसमणि प्रधानको स्मृतिमा आयोजित कार्यक्रम थियो त्यो । विषय प्रवेश गर्दै जब उहाँले प्रवचन सुरु गर्नुभयो श्रोता सहभागिता बढेर गयो । कोठाभित्र नभई बाहिर पेटी सडकको छेउ पनि घ्यार्रघ्यार्र गाडीहरूको आवाजलाई वास्ता नगरी मन्त्रमुग्ध भई सबैजना सुन्न लागे । उहाँले भन्दै हुनुहुन्थ्यो-'पारसमणि प्रधान उच्चकोटीका अध्यावशायी हुनुहुन्थ्यो । उहाँकी बुहारी भान्छा कोठामा तरकारी पकाउँदै ससुराले दिएका सामग्री टाइप गर्थिन् । समय सदुपयोगका लागि यस्तै आफू पनि नम्बर वान अध्यावशायी.......'।

बीचमा टक्क रोकिँदा चूडामणि सरले भन्नुभो 'टीकाराम सरजस्तै ?'

'होइन ? उहाँसँग म तुलना गर्दिन र तुलना गर्न चाहन्न पनि.....।' ओजपूर्ण आवाजबाट चूडामणि सरको प्रश्नलाई उहाँले इन्कार गर्नुभयो । मलाई अलिअलि थाहा थियो, चूडामणि रेग्मी र स्व. भवानी घिमिरेका बीचमा कुन्नि के कारणले हो ? हलुका विमति थियो । मलाई आजसम्म पनि कारण थाहा भएन । स्व. घनश्याम खनालले कार्यक्रम समापनपछि प्रतिक्रिया व्यक्त गर्दै भन्नुभो-'यौटा टेपरेकर्डर भएको भए म भवानी बाबुका अभिव्यक्तिको सुरक्षित अभिलेख गर्ने थिएँ । के गर्नु सम्भव भएन ।'

पुस ५, २०६६ को प्रतिदिन पत्रिका पढेर कवयित्री राधिका रायको स्व. भवानी घिमिरेका बारेमा लेख्नुभएको लेख पढेर मलाई निकै जानकारी भयो । भद्रपुरमा भानुनगर, भानुचोक, भानुस्मृति भवन, भानुभक्तको प्रतिमा स्थापनालगायतका उपलब्धिमा उहाँको विशिष्ठ योगदान रहेको रहेछ ।

भद्रपुरमा भानुभक्तको शालिक छ । त्यहाँ आसपासमा अद्यापि गोरु, राँगा पालकहरूको बहुलता छ । बडाबडा राइस मिल भएका जमानामा गोरु तथा राँगा, गाडाको अवश्यमेव प्रचुरता हुने नै भयो त्यस पेसालाई बहलबानी भनिन्छ र भवानी घिमिरेको घर परिसरलाई पहलवान टोल भनिने गरेको रहेछ ।

लालमाटी बहलवान टोल तत्कालीन समयका भद्रपुरका चर्चित भाग रहेछन् । गोरु र राँगाको पर्यायका रूपबाट यस स्थानलाई माथि उठाउने ध्येयले उहाँले नै त्यो ठाउँलाई 'भानु नगर' भनी नाम संशोधन गरिदिनु भएछ । कति नयाँ पुस्तालाई त यो कुरा थाहा होला वा नहोला पनि ।

नेपाली साहित्यिक वाङ्मयको उत्थानका लागि स्व. भवानी घिमिरेभन्दा धेरै ठूलाठूला महारथीहरूका सामु उहाँको योगदान तुलनात्मक रूपले दाँजिन नसक्ला तर मोफसलमा रहेर नेपाली भाषा र साहित्यको विकासमा नेपालभित्र र नेपालबाहिरका ठाउँहरूमा पुगेर सशक्तरूपमा पुर्‍याउनुभएको योगदानलाई नेपाली भाषा र साहित्यिक पत्रकारिताले कदापि विर्सिने छैन ।
मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु