पीपलको बोटमुनिः नगेन्द्रराज शर्मा

- दिव्य गिरी

नेपाली साहित्यमा साहित्यिक पत्रकारको नामबाट सुपरिचित साहित्यकार नगेन्द्रराज शर्मा मूलतः उपन्यासकार एवम् कथाकार हुनुहुन्छ । विगत.... वर्षदेखि निरन्तररुपमा अभिव्यक्ति प्रकाशित गर्दै आउनु भएका सम्पादक नगेन्द्रराज शर्मा अव अभिव्यक्तिको पर्याय बनिसक्नु भएको छ । अर्थात अभिव्यक्ति भनेपछि नगेन्द्रराज शर्मा र नगेन्द्रराज शर्मा भनेपछि अभिव्यक्ति भन्ने यौटा अमिट छाप बसिसकेको छ नेपाली साहित्यिक फाँट र साहित्यिक पत्रिकाको क्षेत्रमा । यसरी आफ्नो सम्पूर्ण जीवननै साहित्यिक पत्रकारितामा समर्पण गर्नु भएका शर्माज्यूका दुई उपन्यास – महापुरुष र दिवास्वप्न अनि दुई कथासङ्ग्रह – पिपलको बोटमुनि र एकान्तका आफन्तहरू प्रकाशित भएका छन् । एकान्तका आफन्तहरू वि.सं.२०५५ सालमा साहित्यिकार एवम् समालोचक रमेश गोर्खालीको सम्पादकत्वमा प्रकाशित भएको हो भने पीपलको बोटमुनि वि.सं.२०३९ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको हो । रामेछापको मन्थलीमा विक्रम सम्वत् १९९४ चैत्रमा जन्मनु भएका नगेन्द्रराज शर्माज्यूको कर्मथलो भने काठमाडौं रहेको छ । यस लेखमा पीपलको बोटमुनि कथासङ्ग्रहको बारेमा केही विवेचना गर्ने कोशिस गरेको छु ।

विशेषतः लेखक जुन परिवेशमा बाँचेको हुन्छ उसले त्यस परिवेशलाई आफ्नो लेखनको विषय बनाएर कथा, उपन्यास, नाटक, कविता आदिमा प्रयोग गर्दछ । त्यसले गर्दा कथा, उपन्यास, नाटक, कविता आदि बढी यथार्थपरक बन्न पुग्छन् । पाठकहरूको मन छुने र उनीहरूलाई प्रभाव पार्न सक्ने साहित्यले नै बढी सफलता प्राप्त गरेको हुन्छ । त्यो यस कारण कि लेखकको अनुभव र अनुभूति नै पाठकको पनि अनुभव र अनुभूति भैदिन्छ । यस अर्थमा लेखक पाठकको प्रिय बन्न हुनुपुग्छ ।

प्रस्तुत कथासङ्ग्रह पीपलको बोटमुनिका कथाकार नगेन्द्रराज शर्माले पनि आफु र आफ्ना वरिपरि घटेका घटनाहरूलाई कथाको रुप दिनु भएको छ । जुन कथामा सत्यता, यथार्थता र वास्तविकताको तस्बिर स्पष्ट पाइन्छ । कथा पढ्दै जाँदा त्यसको पात्र स्वयम् पाठक आफुनै हो कि भन्ने आभाष हुन्छ । कथाका पात्रहरूका भोगाई समाजकै जीवित पात्रहरूले भोगेको भोगाईसँग मेल खाएका छन् । हाम्रो समाज र सामाजिक वातावरण पनि उस्तैउस्तै छन् जुन कथामा वर्णन गरिएका छन् । यौटा कथाले यौटा जीवन र जगतलाई समातेर अघि बढेको छ जुन जीवन र जगतलाई हामीले भोगेका, देखेका छौं । अझ भनौं त्यो जीवन र जगतलाई हामी आफैले भोग्नु पर्ने बाध्यताबाट गुज्रिरहेका छौं । त्यसैले यस कथामा कथाकारले खडा गरेका पात्रहरू अरु कोही नभएर हामी स्वयम् पाठकहरू हौं । कथामा बर्णन गरिएको समाज हाम्रै समाज हो । त्यसै कारण पनि उहाँका कथाहरू सबै हाम्रो जीवन र जगतको यथार्थ तस्बिर बन्न पुगेको छ ।

कुनै पनि लेखकले समाजलाई नजिकैबाट नियालीरहेको, अनुभव गरिरहेको र आफु स्वयम् पनि त्यही समाज र सामाजिक वातावरणभित्र बाँचिरहेको हुन्छ । त्यसैले उसले साहित्य सिर्जना गर्दा आफ्नो अनुभव र अनुभूतिलाई पात्रहरूको माध्यमबाट यथार्थ रुपमा व्यक्त गर्ने प्रयास गर्दछ । हामी बाँचेको समाज मुख्तः चार कुरा – राजनीति, आर्थिक, प्रशासनिक र न्यायिक क्षेत्रबाट प्रभावित भैरहेको हुन्छ । यी सबै हाम्रो जीवनसँग अतिनै सम्बन्धित रहेका हुन्छन् र यिनका हरेक गतिविधिले हाम्रो जीवनलाई कुनै न कुनै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित पारिरहेको हुन्छ । हाम्रो समाज अन्याय, अत्याचार र शोषणजस्ता सामाजिक विकृतिहरूबाट अहिलेसम्म पनि मुक्त हुन सकेको छैन । विशेषगरी समाजका कमजोर, गरिब र अशिक्षित वर्ग सबैभन्दा बढी पीडित, शोषित र दुखी हुन्छन् । यस कथासङ्ग्रहका कथाकारले विशेषगरी आर्थिकरुपले विपन्न र पीडित महिला वर्गलाई कथामा बढी प्राथमिकता दिएको पाइन्छ, ता कि समाजको यथार्थ रुप देख्न सकियोस् ।

कथासङ्ग्रहमा नारी पात्रलाई खडा गरेर लेखिएको प्रथम कथा हो–रिसेप्सनिष्ट, जुन कथामा आफ्नो कार्यालयमा काम गर्दा दुःख र पीडा मात्र भोग्न वाध्य यौटी नारीको कथा व्यथालाई कथाको रुपमा प्रस्तुत गरिएको छ । कार्यालयको कामभन्दा पनि बढी हाकिमलाई रिझाउन नसक्दा उसले भोग्नु परेको मानसिक तनावनै कथाको मुख्य विषय रहेको छ । यथार्थमा हाम्रो जस्तो देशमा चाकडी, चुक्ली र चाप्लुसी अर्थात “चाचुचा” को भरमा हाकिम बन्न पुगेका हाकिमहरु स्वयम् पनि सधैं चाकडी, चुक्ली र चाप्लुसी नै खोज्छन् अनि हाकिम भएपछि आफुलाई महान सम्झन्छन् । यस्तै प्रबृत्तिको हाकिम सानो तहकी यौटी कार्यालय सहायकलाई जतिबेला पनि अपजस दिन्छ, हप्की–दप्की गर्छ र उसलाई मानसिक तनाव मात्र दिईरहन्छ । आफुले इमान्दारीता पूर्वक काम गर्दागर्दै पनि हाकिमलाई रिझाउन नसक्दा विचलित भएर हरबखत रोईरहनु पर्ने अवस्थाबाट गुज्रिएकी यौटी महिला जागीरेको कथा हो रिसेप्सनिष्ट । वास्तवमा हाम्रो समाजमा जहाँ पनि नारीलाई आफ्नो इच्छापूर्तिको खेलौनाको रुपमा मात्र हेरिन्छ अझै पनि । चाहे त्यो घर, कार्यालय वा अन्य कुनै व्यापार व्यवसायमा कार्यरत महिला हुन् उनीहरु प्रायः सधैं शोषित र पीडित भएका हुन्छन् । यो हाम्रो परम्परा र संस्कारको सामाजिक रोग नै हो । कथाकारले यौटी नारीप्रति गरिएको दुव्र्यवहार र नारीले त्यसबाट पाएको मानसिक पीडालाई जीवन्त रुप दिएका छन् कथामा । त्यसैले पनि कथा रोचक र मार्मिक छ ।

दोस्रो कथा छ आरोहण–अवरोहण । यस कथाका मुख्य पात्रहरू सबैको हात–खुट्टाका औंलाहरू हिउँले खाएर ठुटा भएका छन् र उनीहरु अस्पतालमा उपचार गराउन बसेका छन् । गरिबीको कारण बढी पैसा पाइन्छ भन्ने आशले पर्वतारोहीहरूको सामान बोकेर हिमाल चढ्न गएका ती भरियाहरूको हात–खुट्टाका औंलाहरू हिउँले खाएर अपाङ्ग भएपछि दयनीय अवस्था छ उनीहरूको । नाइके भनाउँदो दार्जीलिङ्को सरदार तिनीहरूले पाउने पैसा सबै गुटमुट्याएर भाग्छ भने विदेशी गोराहरू पनि आ–आफ्नो देशतर्फ लाग्छन् र भरियाहरू अलपत्रमा पर्छन् । अस्पतालको ओछ्यानमा सुतेर तिनीहरू बाँकी जीवन विताउन बाध्य हुन्छन् । यो कथा हिजोको हो, आजको हो र भोलिको पनि । एकातिर गरिब नेपालीहरू भोको पेट भर्न, नाङ्गो आङ् ढाक्न र चुहिने घरको छानो छाउन आफ्नो जीवनको वास्तै नगरी जोखिमपूर्ण काम गर्न पनि तयार हुन्छन् भने अर्कोतिर त्यस्ता गरिबहरूको रगत र पसिनाको कमाई कुम्ल्याएर भाग्ने दलालहरू पनि छन् । आफ्नो औंला हिउँले खानु, दलाल पैसा लिएर भाग्नु र स्वास्नी पनि पोइल जानु जस्तो घटनाले वाक्क दिक्क भएर जीवन देखिनै विरक्त भएको कथाको यौटा पात्र माने अर्थात मानबहादुरको यी वाक्य वास्तवमा अत्यन्त मार्मिक छन् – “अब अस्पतालबाट निकालिदियो भने काँ जानु ? ... घर के जानु ? ... काम गरेर... खान पाउँदैन... काम गर्न आफु सक्तैन...बरू तिहीं बेसक्याम्पमै भुतुक्क मर्न पा’ भा’ नि हुने ।” यस प्रकार कथाकारले यस कथामा शारीरिक रुपले असक्त हुनपुगेका गरिब भरियाको जीवनप्रतिको चाहलाई प्रष्ट रुपमा प्रस्तुत गर्नु भएको छ । यो कथामा यथार्थता बढी झल्किन्छ । हाम्रोजस्तो गरिब देशका जनताहरू गरिबीको कारण अनपढ छन् र यस्तै अनपढहरूको रोजगारी भनेकै अरुको भारि बोक्नु हो । बर्षिनै विदेशीहरू हाम्रो देशका उच्च हिमालहरू आरोहण गर्न आउँछन् र तिनीहरूको भारि बोक्ने नेपालीहरूको हिमाल चढ्ने क्रममा कतिको हात–खुट्टाका औंलाहरू हिउँले डढ्छन् त कति हिउँले पुरिएर मर्छन । यो क्रम निरन्तर चलिरहन्छ । अनि यो कथाका पात्रहरू जस्तै असँख्य गरिबहरूले अपाङ्गको जीवन विताउन बाध्नु हुनुपर्दछ । कथाकारले गंभीर विषयलाई पनि यस कथामा निकै रोचकतापूर्वक प्रस्तुत गर्नु भएको छ ।

सङ्ग्रहको तेस्रो कथा – ऊ हो । यो यौटा नगरवधुको कथा हो, जो आफ्ना ग्राहकलाई यौवन, पहिरन र मीठो बोलिबचनले मख्ख पार्छे । प्रत्येक दिन नयाँ–नयाँ ग्राहक अर्थात कथाकारको भाषामा दाजुहरू बनाउँछे अनि शरीर बेचेर आफ्नो जीवन गुजार्छे । विगतमा ऊ सानी छँदा कुनै घरमा घाँस काट्थी वा भैंसी चराउँथी । किनकि उसको आफन्त भन्ने कोहि छैन, एक्लै छे यो शहरमा । जब शरीरमा जवानी चढ्यो उसका चाहना र आवश्यकताहरू पनि बढे । उसका चाहना र आवश्यकताहरू पूरा गर्न पैसाको आवश्यकता पर्छ । अनि त्यही पैसाको लागि ऊ शहर–बजारमा शरीर बेच्न विवश हुन्छे । यो उसको वाध्यता हो । त्यसको लागि उसले ग्राहकहरूलाई आकर्षित पार्न सजिलो नाता लगाउँछे दाजुको । त्यसो भए पछि दाजु भनाउँदाहरू पनि उसले आफुलाई मन परेको सर–सामान सित्तैमा लिँदा पनि केहि भन्न नसक्ने अवस्थामा पुग्छन् । हाम्रो समाजमा अवला नारी अर्थात गरिब, अशिक्षित र एक्ली नारीको यथार्थ कथा हो जसलाई कथाकारले रोचकढंगबाट प्रस्तुत गरेर जीवन्त वनाउनु भएको छ ।

चौथो कथा हो – एउटा उत्तर–एक अपरिचत कथाकारलाई, यो कथा “ऊ” कथाकी पात्रले कथाकारले “ऊ” कथामा भने–लेखेका कुराहरूको खण्डन हो । “ऊ” कथामा कथाकारले ऊप्रति जुन आक्षेप लगाएका छन्, जसलाई यौटी नगरबधुको रुपमा प्रस्तुत गरेका छन् र दाजु भनाउँदाहरूलाई आफु पछिपछि लगाएर हिँड्छे भन्ने आरोप लगाएका छन् तिनै कुराहरूको प्रतिवाद छ यस कथामा । कथाकी ऊ पात्रले भनेकी छ – “म यौवन बेचेर हिँडेको रहरले हैन करले हो ।” जब जड्याँहा बाबुको कारण उसकी आमा उसलाई र भाईलाई छोडेर बेपत्ता भई तब ऊ पेट पाल्नको निम्ति शहरमा घाँस काटेर र भैंसी चराएर बसी । समयले उसको उमेर बढ्दै र यौवन हल्कँदै आएपछि ऊ शहरमा बिक्न योग्य भई–नगरबधुको रुपमा । उसको यौवन र जवानी देखेर शहरका युवकहरू लोभिएर र्याल चुहाउँदै उसको पछिपछि लागे । आफ्नो कालो धन खर्च गरेर उनीहरू तरुनी आईमाईको शरीर भोग्न लालायित भए । यसमा उसको कुनै दोष छैन । दोष छ त उसको गरिबी, उसको विवशता र आवश्यकता । कथाकारले हाम्रोजस्तो समाजमा घट्ने र घटिरहने घट्नाक्रमलाई यथार्थरुप दिनु भएको छ यस कथाको माध्यमबाट । उनले इमान्दारीतापूर्वक कथाकी नायिका ऊ पात्रको चरित्रलाई जुन प्रकारले प्रस्तुत गरेका छन् त्यो रोचक छ । यस कथाकी ऊ पात्रको जवाफलाई पढ्दा र “ऊ” कथाकी नायिकालाई तुलनात्मक दृष्टिकोणबाट हेर्दा यी दुवै कथामा कताकता सत्यता वा सामञ्जस्यता धेरै नजिक छ कि भन्ने लाग्दछ । “ऊ” कथामा उल्लेख गरिएको केशव नामको पात्र छ, जो आफ्नो पैसामा होइन अरुको पैसामा मात्र मोज गर्छ भन्ने कथाकारको आक्षेपलाई ऊ पात्रले डटेर प्रतिवाद गरेकी छ र शर्मा नामको पात्रलाई लोभीको संज्ञा दिएकी छ । यसो हेर्दा कथाकार स्वयम् पनि शर्मा नै हुन र उसको शरीर पनि मोटो छ अर्थात हुलियाले शर्मा भनेकै स्वयम् कथाकारलाई इङ्ति गर्दछ । यो कथाकी पात्र ऊ लाई केशवले आपूmलाई आक्षेप लगाएकोमा गुनासो गर्न पुगे होलान् र उसले केशबलाई उदार स्वभावको भनेर प्रशंसा गर्दै उल्टै कथाकारलाइ नै लोभी भनेकी पनि हुनसक्छ । वास्तवमा यी दुवै कथा पढ्दा यसका पात्रहरू यथार्थ वास्तविक जीवनका सजिब पात्र हुन् र ती पात्रहरूसँग कथाकार स्वयम् पनि परिचित छन् । हाम्रो समाजमा कथामा वर्णन गरिएका जस्ता पात्रहरू धेरै नै छन् । सायद तिनै पात्रहरूको जीवन लिलालाई कथाकारले कथाको रुप दिनु भएको हो ।

ओभर टाइम–यौटा निम्नस्तरको कर्मचारीको दारुनिक गाथा समेटिएको कथा सङ्ग्रहको पाँचौमा पर्दछ । यस कथाको परिवेश काठमाडौं शहरको कुनै यौटा त्यस्तो चोकमा डेरा गरेर बस्ने साधारण कर्मचारीको हो जहाँ वरिपरि अधिकृत स्तरका कर्मचारीहरू बसे तापनि त्यहाँको साझा चोक भने सधैं दुर्गन्ध र फोहरको थुप्रोले भरिएको हुन्छ । उनीहरू कसैले पनि त्यो साझा चोकलाई वास्ता गर्दैनन् । त्यस्तै ठाउँमा यौटा निम्नस्तरको कर्मचारी वाध्यतावश डेरा गरेर बस्न पुग्छ आफ्नी भुँडीबोकेकी अर्धाङ्गिनी र अरु तीन–चार लालाबालाका साथ । यस कथाको मुख्य पात्र र उसकी अर्धाङ्गिनीले कसरी जीवन गुजारेका छन् र उनीहरूको हालत कतिसम्म निम्नस्तरको छ भन्ने कुरा कथाकारले चलचित्रमा देखाएझैँ वर्णन गरेका छन् । अभावको खाडलमा बसेर जीवन बिताउन कति कष्टकर हुन्छ भन्ने कुरा यस कथाले बताउँछ । ऊ यतिसम्म अभावमा बाँचेको छ कि विरामी छोराको निम्ति खोकीको औषधी किन्ने पैसा समेत ऊसँग हुँदैन । गरिबी यहाँसम्म छ कि जाडो थेग्न सक्ने यौटा गतिलो सिरक छैन, उसकी श्रीमतीको निम्ति ओढ्ने र बाक्लो चोलो छैन, ऊसँग जाडोमा गलामा बेर्ने गलबन्दी छैन र छोराछोरीको निम्ति लगाउने लुगाफाटो छैन । काठमाडौंमा पुष–माघको जाडो छल्न टाल्दाटाल्दा ल्याङ्फ्याँङ् भैसकेको थोत्रो सिरकमुनि सबै परिवारले रातभर शरणलिनु परेको छ । यौटा कर्मचारीले भोग्नु परेको यस्तो दुर्दशा, दुःख र कष्ट हेरिनसक्नु छ । उसले यसबाट पार पाउने कुनै उपाय पनि छैन । निश्चित तर थोरै आम्दानीले जीवन गुजारा चलाउनु परेको कर्मचारीको यौटा आश भनेकै कहिले काहीँ कार्यालयमा बिहान बेलुकाको अतिरिक्त समय अर्थात ओभर टाइम काम गरेर प्राप्त गर्ने रकम हो । तर त्यो ओभर टाइमको पनि कुनै टुङ्गो छैन । यस कथालाई हामीले काल्पनिकभन्दा पनि बढी बास्तविक कथाको रुपमा लिनु पर्ने हुन्छ । गरिब मान्छे चाहे त्यो कर्मचारी होस् कि ज्याला मजदुरी गरेर बाँच्ने कुनै व्यक्ति होस, जोसँग पनि यो कथाको व्यथा मेल खान्छ । किनकि गरिबको दुःख, पीडा भनेकै उसको सामान्यभन्दा सामान्य आवश्यकता पनि पूरा गर्न नसक्नुको अवस्था हो, जो यस कथाले बोलेको छ ।

कथाको छैठौं नम्बरमा रहेको कथा छ – दशैं । यौटा गरिबको घरमा दशैं सधैं दशा बनेर आउँछ भन्ने उदाहरणको रुपमा प्रस्तुत गरिएको कथा ज्यादै मार्मिक छ । यहाँ हुनेलाई सधैं दशैं छ भने नहुनेलाई दशैं पनि दशा बनेको छ । कथाको पात्र उसलाई यो वर्ष पनि चाँडैनै दशैं आए जस्तो लाग्छ र दशैं कसरी टार्ने भन्ने सूर्ताले ठुंगिरहेको बेला पहाडको घरबाट उसकी आमा मरेको खबर लिएर मान्छे आइपुग्छ । त्यो खबरले दशैं विना खर्चवर्च बितेर जाने भए पनि आमाको मृत्युको खवरले ऊ भित्रभित्रै मर्माहत हुन्छ । तर ऊ यस्तो अवस्थामा रुन पनि सक्दैन र हाँस्न पनि । यस्तो अप्ठेरो अवस्थाबाट गुज्रिनु परेको कथाको पात्रझैँ हाम्रो समाजमा यस्ता धेरै घर परिवार छन् जो दशैंलाई खुशीसँग बिताउन सक्दैनन् र दशैं आएपछि आपूmमाथि यौटा पहाडनै आएर बसेको ठान्न पुग्छन् । आर्थिकरुपले विपन्न वर्ग सधैं दशैंमा अरुको खुसी हेरेर कल्पिन्छन्, लोभिन्छन् र मनमनै भन्छन् – गरिबलाई दशैं कहिले पनि नआए नि हुन्छ । हो, यस्तो गरिबको कथा–व्यथा छ दशैं कथामा ।

सीता स्वयम्वर – कथाको सातौं स्थान प्राप्त गरेको कथामा यौटा हत्यारा कसरी सजायँबाट मुक्त हुन्छ र त्यसमा क–कस्को हात हुन्छ भन्ने कुरालाई कथाको रुप दिइएको छ । यहाँको प्रशासन, पुलिस र अदालत अनि समाजका दहिच्यूरे प्रवृत्तीका मानिसहरू पैसामा विक्छन् र वास्तविक पीडितले कहिले न्याय पाउँदैन । सबै पैसा र बलियाको पछिपछि लागेर अपराधीको पक्षमा उभिन्छन् भन्ने यथार्थलाई कथामा निकै गंभीरतापूर्वक प्रस्तुत गरिएको छ । यो प्रचलन उहिलेदेखि अहिलेसम्म पनि हाम्रो समाजमा ज्यूँका त्यूँ रहेको छ । सबैले देखेको, सुनेको र भोगेको विषयलाई कथाकारले कथामा उल्लेख गरेका छन् । गरिबले न्याय नपाउनाको प्रमुख कारण भनेकै यहाँको भ्रष्टचारी प्रशासन, पुलिस र न्यायालय हो भन्ने कुरा प्रष्टसँग कथामा उल्लेख छ ।

आठौं कथाको शिर्षक छ – राम–लक्ष्मण । यो कथामा दुई दाजुभाई गाउँघर छोडेर शहर पसेपछिको कथा–व्यथा छ । यस कथाका पात्रहरूको नाम सबै हाम्रो धार्मिकग्रन्थ रामायणका पात्रहरूबाट लिइएको छ – राम, लक्ष्मण, सुग्रिव, सीता, लव, कुश आदि । तर यिनीहरूको जीवन रामायणको जस्तो सुखद छैन त्योभन्दा धेरै निम्न स्तरको छ । दशैं–तिहारजस्तो महान राष्ट्रिय चाडपर्वमा पनि यिनीहरूले सुखसँग जीवन विताउन पाउँदैनन् र सधैं श्रीमतीले पकाई पस्कि दिएको खाना खाने आदत भएका राम–लक्ष्मणलाई श्रीमती माइततिर हिँडेपछि एक छाक भात खानको निम्ति पनि भौंतारिएर हिँड्नु पर्ने परिस्थिति आउँछ । आर्थिक अभाव नै ठूलो समस्याको रुपमा रहेको छ कथामा । त्यसैले मिठो खान पाउने भव्य होटलमा जाने औकात नहुँदा दुवै दाजुभाई साधारण रेष्टुराँमा गएर सुखा रोटी र पालुँगाको तरकारी खान वाध्य हुन्छन् । सानो छंदा दुवै दाजुभाईमा जुन आत्मियता र घनिष्ठता थियो त्यो ठूलो भएपछि अर्थात आ–आफ्नो घरगृहस्थी बसालेपछि दाजुभाईमा त्यो आत्मियता र घनिष्ठतामा ग्रहण लागेको जस्तो अवस्था सिर्जना भएको हुनाले चाहेर पनि आपसमा खुसीयाली बाँड्न नसकेको यथार्थता छ कथामा । समय, व्यवहार र परिस्थितिले मानिसलाई कुन अवस्थाबाट कस्तो अवस्थामा पुर्याउँछ भन्ने कुराको यौटा ज्ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ कथालाई । कथाकारले सानोभन्दा सानो विषयलाई लिएर यौटा रोचक कथाको सिर्जना गर्नु भएको छ । यस कथामा पनि अन्य कथाहारुमा जस्तै जीवन धान्नको लागि सबैभन्दा मुख्य कुरो आर्थिक सम्पन्नता नै हो र त्यसको अभावमा धेरै दुःख, कष्ट, पीडा सहनु पर्ने वाध्यता हाम्रो घर समाजमा जहिँ पनि छन् भन्ने कुरालाई कथाको माध्यमबाट स्पष्ट पार्नु भएको छ ।

एक संस्मरणः मरिनको किनारा शिर्षक पाएको यो कथा सङ्ग्रहको नवौं कथा हो । कथा पढ्दा अनौठो र आश्चर्य जस्तो लाग्ने यो कथामा हाम्रो देशको यौटा विशेष जात–माझीहरूको गाउँघर, परिवार, परम्परा र संस्कारको ज्ज्वलन्त उदाहरण दिइएको छ । कथाका पात्रहरू गरिब छन्, अशिक्षित छन् तर पनि सहजरुपमा जीवनयापन गरिरहेका छन् । उनीहरू यस्तो परिवेशमा बाँचेका छन् कि उनीहरूलाई लाज–शरम भनेको के हो भन्ने नै थाहा छैन । जस्तोसुकै असामान्य कुराले पनि उनीहरूलाई असर पार्दैन । जीवनमा जे जस्ता घटनाहरू घट्छन तिनीहरूलाई अत्यन्त सहजढंगबाट आत्मसात गर्ने आदत छ उनीहरूको । गरिब छन् तर पनि सबै नातागोता इष्टमित्रहरूलाई भोज ख्वाउने चलन भएका माझीहरू मरेको राँगोलाई समेत भोज अर्थात उनीहरूको भाषामा सितन बनाउँछन् । उनीहरू यति अनभित्र छन् कि रोग के हो, कसरी लाग्छ र त्यसको उपचार कसरी गर्ने भन्ने कुनै ज्ञान हुँदैन । मरिसकेको राँगो खान हुँन्छ कि हुन्न भन्ने पनि थाहा छैन र त्यसैलाई भोज अर्थात सितन बनाएर नातागोता इष्टमित्रलाई बोलाएर ख्वाउँछन् । भोज खानु–ख्वाउनु त्यो उनीहरूको संस्कार हो । गरिब देशको गरिबको कथा हो यो, जसलाई कथाकारले रोचक ढङ्गबाट कथा बुनेर आफ्नो कथाकारिताको खुबी देखाउनु भएको छ ।

छोराको आश गर्दागर्दै छैठौं पटक पनि जुम्ल्याहा छोरी जन्मेको घटना समेटिएको दशौं कथा हो–शीत युद्ध । हाम्रो समाजमा छोरीलाईभन्दा ज्यादा महत्व दिइन्छ छोरालाई । सदिऔंदेखिको यो सामाजिक धारणमा अहिलेसम्म पनि उल्लेख्य परिवर्तन आउन सकेको छैन । छोरा जन्मे खुशी र छोरी जन्मे दुःखी हुने घर परिवार अहिले पनि छँदैछन् । तर यस कथामा छोरीहरू धेरै पाएर पनि छोराको आश नगर्ने यौटा आदर्शपात्र छन् सुशील । तर उनकी श्रीमती भने अब एक चानस भन्दै छोरा नै पाउने अभिलाषमा झुण्डिरहेकी हुन्छे र लोग्नेलाई उक्साईरहन्छे । उसको छोरा पाउने चाहनाले कायल हुन्छ सुशील तर पनि स्वास्नीको दृढ इच्छाको विपरित जान सक्दैन ऊ । उसले स्वास्नीलाई छोरा हुने बाबु–आमाहरू पनि खुशी छैनन् भनेर उदाहरण दिँदै सम्झाउँछ । तर पनि उसकी स्वास्नी उसको त्यो सत्यतालाई स्वीकार्दिन र छोरा पाउने ढिपी छोड्दिन । अन्ततः छैठौं पटक उसले दुई जुम्ल्याहा छोरी पाएपछि भने उसलाई तत्काल मर्न मन लाग्छ । यो कथा हाम्रोजस्तो पितृसत्तात्मक समाजमा जहिँतहिँ घटिरहने घटना हो । हाम्रो सामाजिक संस्कार र परम्परा नै त्यस्तो छ कि छोरा नभए नरकको वास हुन्छ भन्ने । मृत्युपश्चात छोराले दागवत्ती दिनु पर्ने र काज–किरिया गर्नु पर्ने अनि वार्षिकरुपमा पिण्डदान पनि । वंश परम्परालाई निरन्तरता दिनको निम्ति छोराको अति आवश्यक छ भन्ने व्यक्ति, परिवार र समाज अझै पनि छ । छोरा नभए समाजमा अपमानित र अपहेलित होइन्छ भन्ने मानिसहरू धेरै छन् । त्यसैको पृष्ठभूमिमा यो कथाका पात्र विशेष गरी नारी पात्र छोरा पाउने आशामा नै आँखिर निराशा भोग्न पुग्छे । यस कथामा कथाकारले यौटा सामान्य परिवारको कथा लेखेर सम्पूर्णमा समाजकै चित्र उतार्नु भएको छ ।

रोचक शिर्षक दिइएको एघारौं कथा राहु–केतु । कथा पनि अत्यन्त रोचक छ । लाग्छ यसका पात्रहरू कथाकार स्वयम् आफैका मित्रहरू हुन् जो सधैंजसो साथीको नाताले उनलाई सताउँछन्–कहिले खानपिनमा त कहिले रुपैया–पैसा सरसापटी मागेर । जीवनमा यस्ता मानिसहरू पनि हुन्छन् जो अरुको आश मात्र गर्छन्, अरुले ख्वाएमा ‘चुक पनि तीन पाथी खान्छन्’ भन्ने भनाईसँग हुबहु मिल्छ । यस कथामा त्यस्तै पात्रहरू छन् जो कथासङ्ग्रहका अन्य कथाका पात्रहरू जस्तै आर्थिकरुपले विपन्न छन् । यदी सम्पन्न भइदिएका भए उनीहरू अरुको आश गरेर लाज पचाईपचाई पछिपछि लाग्दैनथे सायद । मानिस जब अभावमा बाँच्न बाध्य हुन्छ उसले धेरै कुराहरूबाट आफुलाई अलग राख्छ–लाज, घीन, सरम आदि । यस्तो सामाजिक प्रतिष्ठा उस्कोलागि गौण भईदिन्छ । कथाकार स्वयम् आफुले पनि जागिरे जीवन विताएको कारण जागीरे जीवनका धेरै अनुभव र अनुभतिलाई कथाहरूमा व्यक्त गर्नु भएको छ । यौटा निम्न आय भएको कर्मचारीले घर–परिवार चलाउन कति दुःख कष्ट भोग्नु पर्दछ र उ कतिको मानसिक तनाव खपेर बाँचिरहेको हुन्छ भन्ने कुरा कथाकारले कथामा इमान्दारिता पूर्वक राखेका छन् । आफु बाँचेको परिवेश, साथीभाईको सङ्गत र आफैले व्यहोर्नु परेका अप्ठेरा विसङ्गतीलाई कथाकारले कथाको विषय बनाएर रोचकता दिनु भएको छ ।

सङ्ग्रहको बाह«ौं कथा हो – दिनचर्या । यो कथा पनि यौटा जागिरेको जीवनगाथा हो । जागिर खाएको मान्छेले जागिरको साथसाथै हाकिमको हप्किदप्कि खानु पर्दछ र स्वास्नीको र्झिकफर्कि पनि । यौटा सामान्य जागिरदारको दिनचर्या कसरी बित्छ र उसको घर–परिवार कसरी चलिरहेको हुन्छ, यौटा पुलिसले अवैध भट्टीपसलमा सित्तैमा खाइरहेको हुन्छ, यौटा भट्टीपसले ग्राहकको सुख–सुविधाभन्दा पनि व्यापारलाई बढी महत्व दिन्छ र सरकारी गुप्तचर सेवाको कर्मचारी अरुको कुरालाई नै गुप्तखवर बनाएर जागिर खान्छ भन्ने घटनालाई कथाकारले यस कथामा समेटेरे बहु–आयामिक रुप दिनु भएको छ कथालाई । धेरै विषयलाई यौटै कथामा समेटेर उहाँले कथालाई निकै रोचक बनाउनु भएको छ । अर्थात अति यथार्थ घट्नाक्रमलाई यौटै कथामा क्रमबद्धता दिएर कथालाई वास्तवमै रोचक र चाखलाग्दो बनाउनु भएको छ । यस कथामा भएका वास्तविक विसङ्गतीहरु अहिले पनि यथावत छन् हाम्रा अड्डा अदालतमा, भट्टी पसलमा र छरछिमेकमा । कथाकारले कथाका पात्रहरूलाई यसरी प्रस्तुत गर्नु भएको छ कि तिनीहरूलाई हामी सधैं देख्छौं, भेट्छौं र उनीहरूसँगै आफु पनि हुन्छौं । कथाकारको सवभन्दा बलियो पक्ष भनेकै सामान्यभन्दा सामान्य विषयलाई पनि रोचक ढङ्गबाट प्रस्तुत गर्नु र रमाइलो कथा र्सिजना गर्नु । कथा पढ्दा यस्तो लाग्छ त्यो कथाको पात्र स्वयम् पाठक हो । पाठककै अनुभव र अनुभूति कथामा वर्णनन् गरेजस्तो ।

तेह«ौं कथामा पर्छ–कोखाको घाउ । यो कथामा त्यस्तो दम्पत्तीको वर्णन गरिएको छ जो सन्तान भएर पनि एक्लाएक्लै छन् र धन भएर पनि कङ्गालजस्ता । यिनीहरू साह«ै कञ्जुस स्भावका लोभी छन् र पैसा भनेपछि भुतुक्कै हुन्छन् । अर्थात ‘गु’ मा परेको पैसा पनि दाँतले टिप्लानजस्ता । आफ्नो छोरो सिकिस्त विरामी हुँदा पनि अस्पतालमा हेर्न जाने इच्छा गर्दैनन् यस कारण कि कतै छोराले उपचारको निम्ति पैसा माग्ला कि भनेर । एकातिर छोरालाई कोखाको घाउ पनि भन्ने अर्कोतिर त्यही छोरो विरामी पर्दा औषधोपचार गर्न खेत बेचेको पैसा पनि उसको अंशभागमा पर्ने खेत लेखाएर मात्र दिने सोच बनाउँछ उसको आफ्नै बाउ । कञ्जुसाई र मानिस द्रव्यपिचास भएको योभन्दा अर्को उदाहरण हुनै सक्तैन । त्यसैगरी लोग्ने मानिस उमेरले बुढो भए पनि तरुनीको चाह गर्न छोड्दैन र आफुलाई सधैं जवान जस्तो बनाइरहन्छ अनेकन उपाय गरेर भन्ने पनि यस कथामा छ । साँच्चै हो, कोखामा आएको घाउले जति दुःख र पीडा दिन्छ त्यति नै दुःख र पीडा दिन्छन् आफैले जन्माएका सन्तानले । यही वास्तविकालाई आधार बनाएर कथाकारले कथा लेख्नु भएको छ । सबै मानिसहरू सन्तानबाट सुख चाहन्छन् तर त्यो सुख प्राप्त गर्न असमर्थ हुन्छन् कहिले आफ्नै कारणले कहिले आफ्नै सन्तानका कारणले । यो यौटा ध्रुवसत्यलाई कथाकारले कथाकोरुप दिनु भएको छ र सङ्ग्रहमा रहेका कथाहरूमा यो पनि उत्कृष्ट कथामा पर्दछ ।

यौटा वियोगान्तक कथाको शिर्षक छ – सुब्बा बाजेको सदगति । कथासङ्ग्रहको चौधौं कथा हो यो । यौटा सिधासादा कर्मचारीले कसरी दण्डित हुनुपर्दछ र उसका सपनाहरू कसरी शिशा फुटेझैँ चकनाचूर हुन्छन् भन्ने ज्ज्वलन्त उदाहरण हो यो कथा । कथामा सुब्बा बाजेको व्यथालाई बेलिबिस्तार पूर्वक वर्णन गरिएको छ । जागिरेलाई सधैं प्रमोशनको चाहना हुन्छ, सपना हुन्छ र त ऊ त्यही चाहना र सपनाको परिधिभित्र आँखामा पट्टी बाँधेको घोडाझैँ दिनरात फन्फनी घुमिरहन्छ, जागिरमा अल्झिरहन्छ । घर परिवार, छोराछोरी र आफ्नै पनि जीवनप्रति गर्नु पर्ने कर्तव्यलाई थाती राखेर ऊ कार्यालयको काममा बडो इमान्दार, मेहनती, अनुशासित र विनम्रभावले प्रस्तुत भइरहेको हुन्छ । समर्पित भइरहेको हुन्छ । तर हाम्रो समाजमा त्यस्ता कर्मचारीको कदर हुँदैन । कदर त हुन्छ तर “चाचुचा” अर्थात चाकडी, चुक्ली र चाप्लुसी घस्ने कर्मचारीको । अनि उसैले मात्रै प्रमोशन, पुरस्कार र विदेश जाने जस्ता सुअवसरहरू पनि पाउँछ । हाम्रोजस्तो देशको कार्यालयमा सदिऔंदेखिको यो यौटा यस्तो रोग भनौं वा महारोग नै भनौं जहितहिँ व्याप्त छ । यसलाई हटाउन कसैले सकेको छैन । सकोस् पनि कसरी जब कि स्वयम् हाकिम बनेर आउनेले पनि त्यही “चाचुचा”को सुत्रलाई भर्याङ्ग बनाएको हुन्छ । वास्तविकता यो छ कि पार्टी, नेता वा आफन्त इष्टमित्रबाट आशिर्वाद पाएपछि हाकिम बनेको व्यक्तिले अरुबाट पनि त्यहि “चाचुचा”को आश गरेको हुन्छ । यो क्रम रहेसम्म “चाचुचा” हटने छैन । यस प्रकार कथाकारले यौटा कर्मचारीको पीडालाई इमान्दारीपूर्वक व्यक्त गर्नु भएको छ कथाको माध्यमबाट । हाम्रो जस्तो “चाचुचा” प्रथाले जरो गाडेको प्रशासनिकतन्त्रमा यो कथा ज्ज्वलन्त उदाहरण बनेको छ । साना तहमा कार्यरत कर्मचारीले भोग्नु परेको र भोगिरहेका कथा–व्यथालाई चित्रित गरिएको कथा मार्मिक र रोचक छ ।

कथासङ्ग्रहको शिर्षककै कथा यस कथासङ्ग्रहको अन्तिम र पन्ध्रौं कथा हो–पिपलको बोटमुनि । कथाको पात्र छ यौटा साहित्यकार जो अरुको साहित्य चोरेर लेख्छ अनि आफुलाई महान ठान्छ । यस्ता प्रकृतिका साहित्यकारहरु पनि नभएका होइनन हाम्रो लेखकीय संसारमा । कथाको परिवेश राजधानीस्थित नयाँ सडकमा रहेको पीपलबोट हो, जो अद्यापी नयाँ सडकको पर्याय बनेर रहेको छ र जहाँ अहिलेसम्म पनि साँझतिर राजधानीका अनि राजधानी बाहिरबाट आएका साहित्यकारहरूको भेटघाट हुने गर्दछ । साहित्यकारहरु मात्र होइन नेता, पत्रकार र अन्य व्यापार व्यवसायका मानिसहरु पनि भेटघाट हुने ठाउँ हो पीपलबोट । हो, त्यही पीपलबोटमा यौटा पत्रकारले यौटा लेखकसँग भेट भएपछिको घटनाक्रमसँग सम्बन्धित विषय हो यो कथा । विषय ज्यादै उपयुक्त र वास्तविक छ । साँच्चै भन्नुपर्दा यो कथा कुनै सत्य घटनामा आधारित पनि हुनसक्छ । हाम्रो समाजमा आफु मात्र ठूलो र अरु भने भुसुना हुन भन्ने मानसिकतामा बाँचेका थुप्रै मानिसहरु छन् । तिनै मानिसहरु मध्येको यौटा मान्छे हो – कथाको लेखक पात्र । यो कथासङ्ग्रहकै उत्कृष्ट कथा मध्येमा पर्दछ ।

यस प्रकार कथाकार नगेन्द्रराज शर्माले पीपलको बोटमुनि कथासङ्ग्रहमा समावेश गर्नु भएका १५ वटै कथाहरुको मुख्य विशेषता भनेकै आर्थिक विपन्नताबाट गुज्रिरहेका सामान्य मानिसहरूको विवशता, वाध्यता र मानवीय पीडालाई उजागर गर्नु भएको छ । कथाकारले बडो इमान्दारीताका साथ यथार्थता र सत्यतालाई काल्पनिकताको औपचारिकरुप दिनु भएको छ । यो उहाँको कथा लेख्ने विशेष खुबी, क्षमता र लेखकीय विशेषता मान्नु पर्दछ । उहाँको सबै कथाहरु, कथाका पात्रहरु र परिवेश हामीले नै देखे भोगेको हुन् । कथाको शैली र प्रस्तुतीकरणको सरलता नै कथाको प्रमुख विशेषता हो । कथामा सामान्य पृष्ठभूमिको शुरुवात गरेर कथालाई सरल रुपमा प्रस्तुत गरेको हुनाले कथा ज्यादै रोचक भएको छ । कुनै कथा पनि पढ्न शुरु गरेपछि त्यस कथाप्रति अरु जिज्ञाशा आउँछ र कथा पढेरै मात्र पाठकले विश्राम लिन्छ । कथामा हुनु पर्ने कौतुहल र प्रबल उत्सुकताले पाठक कथातिर आकृष्ट भैरहेको हुन्छ । कथाकारको कथा प्रस्तुत गर्ने तरिका, त्यसको विषयवस्तु र पात्रहरुको छनोट ज्यादै यथार्थपरक छन् । यौटा यौटा कथाले कुनै न कुनै सन्देश दिएको पाइन्छ । गुरुप्रसाद मैनालीका कथाहरूमा जसरी नेपाली समाजको चित्रण गरिएको छ त्यस्तै चित्रण पाइन्छ नगेन्द्रराज शर्माका कथाहरूमा पनि ।

समष्टिमा हेर्दा यस कथासङ्ग्रहका कथाहरुलाई निम्न भागमा विभक्त गरी कथाको वास्तविक मूल्याङ्कन गर्नु उपयुक्त ठानेको छु ।

(१) सामाजिकः साहित्य समाजको दर्पण हो भन्ने उक्तिलाई आत्मसात गर्दै भन्नुपर्दा यस कथासङ्ग्रहमा रहेका कथाहरुमा सबैभन्दा बढी सामाजिक स्थिति, संस्कार, परम्परा, प्रथा र परिवेशलाई हुबहु उतारिएको पाइन्छ । हाम्रो समाज अहिले पनि अन्धविश्वासको पछि लाग्न छोडेको छैन । त्यसरी अन्धविश्वासलाई नै पछ्याउनु पर्ने मुख्य कारण हो गरिबी र अशिक्षा । यी दुई कारणहरूलाई आरोहण–अबरोहण, दशैं, राम–लक्ष्मण, एक संस्मरण–मरिनको किनारा, शीत युद्ध, राहु–केतु, कोखाको घाउ आदि कथामा कथाकारले प्रष्ट पारेका छन् । हाम्रो समाजमा पाइने विकृति र विसङ्तीको मूल जरो भनेकै गरिबी र अशिक्षा हो । कथामा बर्णित गरिएका घटना र पात्रहरू अरु कोही होइनन् हाम्रै घर–परिवार, छरछिमेक, गाउँ–शहरका मानिसहरू हुन् । तिनै घटना र पात्रहरू मार्फत कथाकारले समाजको चित्रलाई कथामा दुरुस्त उतार्नु भएको छ । कथाका पात्रहरूले जीवनमा जेजस्तो भोगेका छन् तिनै भोगाईलाई टपक्क टिपेर कथा लेखिएको पाइन्छ । त्यसैले पनि कथामा जीवन छ, जगत छ, अनि कथा जीवन्त बनेको छ ।

(२) आर्थिकः आर्थिक विपन्नता हाम्रो समाजको सबैभन्दा ठूलो अभिशाप हो । जहाँ गरिबी हुन्छ त्यहाँ दरिद्रता हुन्छ अनि जहाँ जरिद्रता हुन्छ त्यहाँ जीवन कष्टकर बन्छ । कथासङ्ग्रहमा आर्थिक समस्यालेग्रस्त व्यक्ति र परिवारका छुट्टाछुट्टै कथा–व्यथा समेटिएका कथाहरु धेरै छन् । आरोहण–अवरोहण, ओभर टाइम, दशैं, राम–लक्ष्मण, एक संस्मरण–मरिनको किनारा, राहु–केतु, कोखाको घाउ, सुब्बा बाजेको सदगती आदि कथामा आर्थिक अभावको कारणबाट व्यक्ति कसरी गुज्रिरहेको हुन्छ र उसको घर–परिवार कसरी बाँचिरहेको हुन्छ भन्ने सत्यलाई कथा मार्फत व्यक्त गरिएको छ । यी कथाहरूले पाठकलाई जुन सन्देश दिन्छ त्यो निकै मार्मिक छ । कथाकारले बडो सहजढंगबाट यी कथाहरू लेख्नु भएको छ । यस्तो लाग्छ कतै ज्यूँदा पात्रहरुलाई उहाँले कथामा लगेर राख्नु भएको त छैन ? ।

(३) प्रशासनिकः व्यक्तिले जागीरे जीवनमा के कस्ता हण्डर र दुःख–कष्ट सहनु पर्छ भन्ने कुरा यस सङ्ग्रहका केही कथाहरुमा पाइन्छ । रिसेप्सनिष्ट, ओभर टाइम, दशैं, दिनचर्या, सुब्बा बाजेको सदगती शिर्षकका कथाहरुबाट त्यो कुरा छर्लङ्ग हुन्छ । जागीर खाएपछि हाकिमको हप्की–दप्की खानु, सोझो र इमान्दार तरिकाबाट जागीर खाँदा कहिले प्रमोशन नहुनु र जागीरे भए पनि सधैंजसो आर्थिक सङ्कटबाट पार नपाउनु जस्ता जागीरेका पीडालाई कथाको विषय बनाइएको छ । कथाहरु निकै रोचक र मर्मस्पर्षी त छँदैछन् साथसाथै यी कथाहरु वास्तविक जीवनमा पनि मेल खान पुग्छन् । कथामा व्यक्त गरिएका वास्तविकता अहिले पनि अधिकाँश जागिरेको जीवनसँग जोडिएकै छ ।

(४) भ्रष्टाचारः हाम्रो देशको प्रशासन कतिसम्मको भ्रष्ट र रक्षक नै भक्षक हुन्छ भन्ने कुराको यथार्थता छ सीता स्वयम्बर कथामा । यहाँ निमुखा गरिबले कहिँ कतै पनि न्याय पाउँदैनन् । पुलिस, प्रशासन र न्यायालय समेत पैसामा बिक्छन् भन्ने वास्तविक तथ्य सीता स्वयम्बरमा छर्लङ्ग पारिएको छ ।

(५) विविधः कथासङ्ग्रहमा समावेश गरिएका कथाहरूमा नारीका दुःख–दर्दलाई बढी प्राथमिकतासाथ समेटिएको छ । रिसेप्सनिष्ट कथा यसको उदाहरण हो । यौटी नारीले जागीर खाएपछि कसरी प्रताडित हुनु पर्दछ र उसले कसरी जागीर खाइरहेकी छ भन्ने कुरा कथामा रोचक ढंगबाट प्रस्तुत गरिएको छ । सानो तहमा जागीरे हुन पुगेका महिलाहरू धेरैजसो कार्यालयमा अपहेलित भएका घटनाहरुको प्रतिनिधित्व गर्छ यस कथाले । त्यसैगरी “ऊ” शिर्षककी पात्र कसरी शरीर बेच्न वाध्य हुन्छे र त्यसका पछाडि के कस्ता कारणहरू छन् भन्ने कुरालाई कथाकारे स्पष्ट पारेका छन् । “एउटा उत्तर एक अपरिचित कथाकारलाई” शिर्षकको कथामा “ऊ” पात्रको वाध्यता र विवशतालाई खुलस्त पारिएको छ । वास्तवमा यी दुई कथालाई तुलनात्मक हिसावले हेर्दा दुबै कथाका पात्रहरु कतै सक्कली पात्र नै हुन् कि भन्ने पनि लाग्छ । किनकि “ऊ” कथामा व्यक्त गरिएको कुरालाई खण्डन गरिएको छ “एउटा उत्तर एक अपरिचित कथाकारलाई” कथामा । किनकि जब “ऊ” कथाकी पात्रले कथा पढ्छे अनि ऊ कथाकारसँग गुनासो गर्न पुग्छे र उसको चित्तलाई सान्त्वना दिन कथाकार अर्को कथा “एउटा उत्तर एक अपरिचित कथाकारलाई” शिर्षकमा कथा लेखिदिन्छन् । त्यसैले पनि यी दुवै कथा सत्य घटनामा आधारित कथा पनि हुनसक्छन् । त्यसैगरी सीता स्वयम्बरमा पनि नारी पात्रले भोग्नु परेको दुःख, पीडा र अन्यायलाई व्यक्त गरिएको छ ।

पीपलको बोटमुनि कथासङ्ग्रहका कथाहरुलाई गहिरिएर अध्ययन गर्दा यसमा समावेश भएका कथाहरु विषयवस्तुका हिसावमा सामान्य जस्ता देखिए पनि कथा पढ्दा रोचक र मार्मिक लाग्छन् । अनि लाग्छ यी कथाहरु हाम्रो जीवन र हामीले भोगेका भोगाईहरुको लिखत हो । जो विशिष्ट छ । सम्प्रेषणीयगुणले भरिपूर्ण छ । प्रभावशाली छ ।

अन्त्यमा कथाकार र कथाको बारेमा लेखिएको कथासङ्ग्रहको प्रकाशकीयको एक अंस उधृद गर्नु उपयुक्त ठान्दछु –
“कथाहरु प्रायः ससाना छन् । सरल भाषा, सुबोध्य भनाई, सामान्य जीवन र सहज चित्रणमा यसका कथा सृष्टि भएका छन् । अनौपचारिक बसाउठी, भेटघाट र कुराकानीमा घटित भएका स्मृतिहरूलाई टिपी, उनेर कथा बनाइएका यी कथाहरू दिनचर्याभित्रका असंगति भएर ब्यक्तिएका छन् । रिपोटको शैलीमा यथार्थ चित्रित हुँदैगएबाट त्यस्तो स्थिति झल्काउने कुनै छायांकन जस्तो, सत्यको कुनै हल्का प्रतीति जस्तो, घटिरहने जीवनका अमिल्दा तारतम्यहरूको कुनै वृत्त–चित्र जस्तो एकपछि अर्को आउँछन् र जान्छन् । कतै कुनै आडम्बर छैन, कृत्रीम लाग्ने बनावट छैन । रिङटा लाग्ने उकालो छैन ।”

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 18 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु