ट्याक्सी नम्बर २२८०

- हरिहर खनाल

झण्डै दु्ई महिना पहिले लामो विदेश बसाइपछि ऊ घर आइपुगेको थियो । त्यति बेला उसको मन असाध्यै प्रफुल्ल भएको थियो । अमेरिकामा उसको लागि सबै कुरा सुलभ थियो । बाह्र वर्षसम्म त्यहाँ बस्ता ऊ पूर्ण रूपमा त्यहाँको वातावरणसित भिजेर घुलमिल भएको थियो । उसको जीवन एक किसिमले भन्दा नयाँ गोरेटोमा प्रवेश गरेको थियो । तर त्यहाँ सबै सुखसुविधा भएर पनि उसको मन समयसमयमा बाबु आमा, घर परिवार र स्वजनहरूलाई सम्झेर निकै उद्धेलित हुन्थ्यो । त्यसैले होला, त्यहाँको नागरिक भैसकेपछि पनि समयसमयमा उसलाई उसको जन्मथलो , उसको मातृभूमि र उसका आफन्तहरूको सम्झनाले घरिघरि सताउँथ्यो र त्यो दुःखद स्मृतिबाट उन्मुक्ति पाउन बेला मौकामा नेपाल आउने र बाबुआमा, इष्टमित्र र आफन्तहरूसित केही समय बसेपछि फेरि नयाँ घरतिर फर्कने गर्दथ्यो ।

नयाँ घर भन्नु उसका लागि एक प्रकारको भनाइ मात्र थियो त्यो । अति सामान्य विवादमा पनि बैमनश्य उत्पन्न भएर पारिवारिक बिघटन हुनु त्यहाँका लागि सामान्य कुरा मानिन्थ्यो । त्यसैले होला, अमेरिका बसाइका क«ममा उच्च शिक्षा हासिल गरिसकेपछि र बन्दब्यापारतिर हात हालिसकेपछि पनि ऊ पारिवारिक डुङ्गामा भने सवार भैसकेको थिएन । नेपालमा नै आएर एउटी सुशील कन्यासित घरजम बसाउने उसको आन्तरिक इच्छा थियो । यसपालिको उसको भ्रमण त्यही इच्छा परिपूर्ति गर्नका निम्ति तय भएको थियो ।

पहिले पहिले झैँ नै यस पटक पनि उसलाई लिन उसका जन्मदाता बाबुआमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलसम्म गएका थिए । निर्धारित समयमा नै उसको हबाइजहाज बिमानस्थलमा अवतरण ग¥यो । उसको प्रतीक्षामा बसिरहेका उसका बाबुआमासित पनि समयमा नै उसको भेट भयो । उसले देख्यो, बृद्ध अवस्थाको सँघारठेलोबाट अगाडितिर बढ्दै गरेका उसका मातापिताका आँखा भरिएर टिलपिल भएका छन् । सायद ती उनीहरूका खुसीका आँसु थिए । उसले टाउको निहुराएर तिनीहरू दुवैलाई अभिवादन ग¥यो । खुसीले प्रफुल्ल भएका बूढाबूढी दुवैका मुखबाट एकैचोटि एउटै स्वर निस्क्यो– भग्यमानी भएस् !

०००

घर पुगेको केही समयपछि ऊ उसकी हुनेवाला दुलहीलाई भेट्न सहरतिर लाग्यो । प्रत्यक्ष भेटघाट नभएको भए पनि तिनीहरू यस अघि नै एक अर्कासित परिचित थिए । विगत चार महिनामा तिनीहरूले च्याटमा वार्ता गरेका थिए । तिनीहरू दुवै एकअर्काका स्वर पहिचान गर्न सक्ने भैसकेका थिए ।

सहरको कुनै एक निश्चित स्थानमा पुगेपछि उसले फेरि मोबाइलको स्वीच थिचेर उसलाई फोन ग¥यो । सडकमा आँखा विछ््याएर पेटीमा उभिइरहेकी उसको मोबाइल भाइब्रेशन भएपछि उसले रिसिभर थिच्दै मधुरो स्वरमा – हेलो भनी ।

सडकको पल्लो किनारमा उभिएर –हेलो भन्दैगरेको एकजना नवागन्तुक युवकको स्वर उसले सुनी ।

“सके मेरो कल्पनाको राजकुमार त्यै पो हो कि ?” उसको मनमा शङ्काको एउटा पातलो तरेली फैलियो । ऊ विस्तारै त्यतै लागि । अलिकति लजाउँदै आपूmतिर आइरहेकी एउटी सुन्दरी युवतीलाई देखेपछि उसले पनि मनमनै भन्यो–“मेरो मनकी रानी यही त होइन कतै ?”

“आर् यु उषा ?”
अलिकति लजाउँदै आपूmतिर आउँदै गरेकी युवतीलाई सम्बोधन गर्दै उसले सोध्यो ।

“एस् ।” डर र लाजले रातो भएको उसको मुखबाट त्यसभन्दा बढी कुनै शव्द निस्केन । त्यो गरुडको छायाँमा परेजस्तै भई । त्यसपछि केही बेर तिनीहरूले एक अर्कालाई मन्द मुस्कानसहित हेराहेर गरेर खुसी साटासाट गरे ।
० ० ०
त्यो त सबै झण्डै दुई महिना पहिलेको कुरा थियो । यति बेला भने तिनीहरूको विवाह भएको पनि एक महिना भैसकेको थियो । तिनीहरूले नेपाली परम्परा र विधिविधानअनुसार धुमधामसित विवाह गरे । टोल छिमेक, इष्टमित्र साथी भाई ती युगलजोडी देखी सबै दङ्ग थिए, सबै फुरुङ्ग थिए ।

विवाह भएको झण्डै एक हप्तापछि तिनीहरू हनिमुन मनाउनका लागि घरबाट बाहिर गए र सौराहा, लुम्बिनी, पाल्पा, पोखरा हँुदै दश–आठ दिनपछि घर फर्के । दुई महिना दुई दिनजस्तै भएर बित्यो । हेर्दाहेर्दै फर्कने दिन पनि आइपुग्यो ।

ऊ यसपालि एक्लै जाँदै छ । विवाह दर्ता आदि कागजपत्र लिएर ऊ त्यहाँबाट उसकी नवविवाहिता दुलहीलाई लानका लागि निवेदनको कार्यक्रम अगाडि बढाउने योजनामा छ । कानुनी प्रकृयामा तीनचार महिना त्यसै बित्नसक्छ । तर त्यसमा उसले चिन्ता गर्नुपर्ने कुनै कारण छैन । निश्चित प्रकृयापछि उसको काम भैहाल्छ । त्यस कुरामा ऊ ढुक्क छ । तर उसकी दुलहीलाई छोडेर जानुपर्दा उसको मनमा असाध्यै नरमाइलो लागेको छ । त्यसो भए पनि उसले त्यो भाव प्रकट गर्नु हुँदैन भन्ने कुरामा ऊ निक्कै सतर्क
छ । उसकी दुलहीको पनि त्यही हालत छ ।

०००

आज ऊ सदाको भन्दा अलि चाँडै उठ््यो, नुवाइधुवाइ ग¥यो, दुलहीले पकाएर आमाले दिएको भात मीठो मानी मानी खायो र हिँड्नका लागि ठीकठाक प¥यो । उसका बुवा–आमा, उसकी दुलही र उसलाई आफ्नै भाइलाई झैँ माया गर्ने एउटा वित्तिय संस्थाकी शाखा प्रबन्धक उसलाई बिदाइ गर्न जाँदै छन् । नौ बज्दानबज्दै उसकी दिदी उनको निजी कार लिएर उसकहाँ पुगिन् । सानु गाडी, सबै सामान अटेन । थप, मान्छेहरूका लागि पनि ठाउँ पुगेन । त्यै बेलामा एउटा ट््याक्सी घर अगाडि आइपुग्यो ।

छोरो हिँड्ने बेला भयो । बाबु–आमाको मन भारी भैरहेको थियो । उसकी दुलहीको पनि त्यस्तै अवस्था थियो । तर साइतको बेला भनेर होला, तिनीहरू कसैले पनि त्यस्तो भाव प्रकट गरेनन् । दुलही उसका यावत् चिजहरू मिलाएर प्याकिङ् गर्नमा व्यस्त थिइ । आमाले मूल ढोकामा पूर्ण कलशमा पूजा गरेर टीका लगाइदिएपछि बुबाले फोटो खिच्ने तयारी गरे । त्यसपछि गाडीमा सामान राख्ने काममा सबैले मद्धत गरे । पासपोर्ट, अन्य डकुमेन्टहरू, क्यामरा र ल्यापटप सबै उसले पछाडि भिर्न मिल्ने झोलामा राखेको थियो । ठूलो सुटकेश ट््याक्सीको छतमा राखिसकेपछि उसले ह्याण्डक्यारी र रुकस्याक झोला त्यसको डिक्कीमा राख्यो । त्यसपछि अगाडिको सिटमा बुवा, पछाडि आमा अनि कारमा ऊ, उसकी दुलही र दिदी बसे । तिनीहरू ठीक पौने दश बजे घरबाट रमाना भए ।

छोरो घर आउँदा हर्षले आँखा टल्पलाएका तिनीहरूको मन आज भने बादल लागेर घुम्मिएको दिनजस्तै भएको थियो । घरदेखि एयरपोर्टसम्म पुग्ने क्रममा ट््याक्सी ड्राइभरले कैयौँ ठाउँमा ओभरटेक गर्दै गाडी कुँदायो र अपेक्षा गरिएको समयभन्दा केही अगाडि नै तिनीहरू एयरपोर्ट पुगे । कार भने निकै पछि छलिएको थियो ।

छतको सुटकेश निकालेर भुइँमा राखिसकेपछि बुवाले ट्याक्सीभाडा तिरे । पैसा हातमा परेपछि ट्याक्सी ड्राइभर त्यहाँबाट हिँड्यो ।

पाँचसात मिनेटसम्म पनि कार नआइपुगेपछि “ कि कुनै सामान छुटेर घरतिरै त फर्केनन् ?” भनेर आमाले शङ्का गरिन् । तर त्यो शङ्का मात्रै थियो । पछि आउने मानिसहरूसित ढोकाको साँचो पनि थिएन । त्यो बुबा आमाले नै लिएका थिए ।

“पछाडि भिर्ने ब्याग त हाले तिनीहरूले ?” आमाको अनुहारमा शङ्काको बादल मँडारिइरहेको थियो । त्यै बेला परतिरबाट उनीहरू आइरहेको निलो कार देखियो । बाबु–आमा दुवैको मन किञ्चित उज्यालो भयो । कारबाट ओर्लेपछि देखियो, ऊ रित्तै थियो ।

“पछाडि भिर्ने ब्याग खै त ?” आपूmतिर आउँदै गरेको छोरालाई सम्बोधन गर्दै बाबुचाहिँले सोधे ।

“ट्याक्सीमा छ । ” सहज भावमा उसले उत्तर दियो । तर ट्याक्सी त्यहाँबाट धेरै पहिले गैसकेको थियो ।
“सामान डिक्कीमा छ भनेर मलाइ किन नभनेको ?” आत्तिएको स्वरमा बुवाले भने ।

“ब्यागहरू भिक्नु भएन ?” उसले छक्क परेको भावमा सोध्यो ।
०००
चिनेको पनि होइन । नम्बरसम्म थाहा छैन । काठमाडौँको महासागरमा कता हरायो होला त्यो ? सारा चिज त्यसैमा छ । सबैको अनुहार औँसीको रातजस्तै कालो भयो । त्यहाँ बिषादको छायाँ मडारिन थाल्यो । सारा कार्यक्रम चौपट हुने भयो । साथमा केही नगद छ, अरू केही पनि छैन । के गर्ने अब ? अरूलाई त्यहीँ पर्खाएर ऊ, उसकी दुलही र बुबा कार लिएर ट्याक्सीको खोजीमा बाहिरतिर दौडे ।

“पुलिसलाई सोधौँ ।” आत्तिएको स्वरमा बुबाले भने । तर के भनेर सोध्ने ? त्यसको जवाफ कसैसित पनि थिएन । सेतो रङ्गको ट्याक्सी । त्यत्ति हो थाहा भएको । त्यस बाहेक केही थहा छैन । सारा चौपट भयो । सबैभन्दा ठूलो समस्या पासपोर्टको थियो । चेक इन् गर्ने समय छोटिँदै गैरहेको थियो । साडे दश भैसकेको थियो । एक पाँचको फ्लाइट छ । अब के गर्ने ? कसैको दिमागमा कुनै कुरा सुझिरहेको थिएन । ऊ र दुलही अल्लि पर गएर कतै त्यो ट्याक्सी देखिइहाल्छ कि भन्ने झिनो आशामा यताउता हेर्दै थिए । त्यै समयमा बुबाको मोबाइलमा घण्टी बज्यो । हत्तरपत्त बुबाले त्यो रिसिभ गरे ।

“हेलो बुवा, सामान पाइयो । आउनुस् , फर्कनुस् ।” उताबाट उसकी दिदी बोलिरहेकी थिइन् । उसको अनुहार एक्कासी उज्यालो भयो ।

“बाबु, बाबु । यता आइज । सामान पाइयो ।” अल्लि पर हतास स्थितिमा हिँड्दै गरेको छोरालाई
चर्को स्वरमा बोलाउँदै बुबाले डाके । तिनीहरू सबैको अनुहारमा उज्यालो छरियो ।
०००
“खै सय रुपिया दिनुस् त । गौशाला पुगेपछि सम्झिएँ ।” सामानको झोेला पेटीमा राखिसकेपछि ट्याक्सीवालाले भन्यो । ठीक त्यही बेला ऊ, उसकी दुलही र उसका बुवा त्यहाँ पुगे ।

हराएको सर्वस्व फिर्ता पाएकोमा मख्ख पर्दै उसले एउटा हजार र अर्को पाँच सयको नोट झिक्यो र त्यसको हातमा पन्द्र सय रुपियाँ थमाइदियो । त्यो उसको अपेक्षा भन्दा निकै बढी रकम थियो । अप्रत्यासित रूपमा भएको अतिरिक्त कमाइलाई पट्याएर उज्यालो अनुहार बनाउँदै उसले गोजीमा घुसा¥यो । त्यति नै बेला आमाचाहिँले भनिन् ः“आफैले डिक्कीमा राखेको सामान त्यो डाइबरले नबुजाइ किन गएको?” कुरो त ठीकै थियो त्यो । तर अब शङ्खट टरिसकेको थियो ।

“एक चोटी मैले मेरो ट्याक्सीमा छुटेको साडे नौ लाख रुपियाँ भेट्टाएर फिर्ता ल्याइदिएको छु ।” भर्खरै पैसा राखेको पाकेटमा एक पटक बाहिरबाट छाम्दै उज्यालो अनुहार बनाएर त्यसले उसको इमानदारिता पुष्टी गर्ने प्रयत्न ग¥यो । त्यहाँ उपस्थित अधिकाङ्श मानिसहरू मुक्त कन्ठले त्यसको प्रशम्सा गरिरहेका थिए ।

“लौ त है हजूरहरू, जानु प¥यो अब । ” दाहिने हात उठाएर उनीहरूलाई सलाम गर्दै ऊ सिटमा बस्यो र ट्याक्सी स्टार्ट ग¥यो । ट्याक्सी गुड्दै गर्दा बुवाचाहिँले त्यसको पछाडिपट्टिको कालो प्लेटमा हेरे । त्यहाँ लेखिएको थियोः बा.१ च. २२८०.
०००

अब स्थिति अन्तै मोडियो । पोर्टरले सामान राखेको ट्रली लबीतिर धकेल्दै लगेपछि उसले उसलाई बिदा गर्न त्यहाँ पुगेका उसका आमा बुवा, दुलही र दिदीका अनुहारतिर हे¥यो । सबैका आँखा डब्डबाइरहेका थिए र तिनीहरू कोही पनि एक शव्द पनि निकाल्न सकिरहेका थिएनन् । आँसुले भरिएका आफन्तका आँखातिर उसले निमेशभर हे¥यो । उसका आँखा पनि भरिएर आए । आँखाका डिलबाट खस्नै लागेका आँसुका थोपालाई जवरजस्थी रोकेर उसले अनुहारमा हल्का मुस्कान छर्र्ने प्रयत्न गर्दै बिदाइका हात हल्लायो र प्रस्थानकक्षभित्र छि¥यो ।
धापासी, काठमाडौँ ।

गरिमा मासिक २०६७ भाद्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 13 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु