औचित्य

- हेमन्त परदेशी

एउटा गोलमेच सम्मेलनमा सहभागी बनिरहेको प्रतिनिधि ऊ सम्मेलनको उद्धेश्य अनुरुप प्रस्तुत गरिएको एजेण्डामाथि छलफल र बहस गरिरहेकोहुन्छ।तर ऊजस्तै सम्मेलनमा सहभागी अधिकांश प्रतिनिधिहरु भने चुपचाप मौनता साँधिरहेका छन् । मानौ उनीहरु प्रस्तुत एजेण्डामाथि नै अनभिज्ञ छन् अथवा बुझेर पनि बुझ पचाउनुपर्ने बाध्यताका भोटेताल्चा झुन्डिएकोछ उनीहरुको मुखमा । यद्यपि छलफल र बहस गर्नु ऊ आफ्नो अधिकार र दायीत्व ठान्छ र प्रस्तावित एजेण्डामाथि अझ जोडदार बहस गर्न थाल्छ । कुनै शिर्षकमा संशोधन पेस गर्छ । चित्त नबुझेको बिषयमा ‘नोट अफ डिसेन्ट’ लेख्छ । तर अझै पनि उसका सहप्रतिनिधिहरु चुपचाप बस्नमै आनन्द मानिरहेका छन् । अचानक उसको कानमा नेपथ्यमा गुनगुनाएको र खासखुस गरेको अस्पष्ट आवाजहरु ठोकिन पुग्छन्।
"सायद त्यहाँ कुनै ठुलै उच्च संयन्त्र हुनुपर्छ l" मनमनै अन्दाज लगाउँछ ऊ।
नभन्दै केहीबेरमै संपूर्ण सहभागीहरु मध्यान्हको चर्को घाममा घार बाहिर निक्लेका मौरीहरू झैँ सल्बलाउन थाल्छन् र एकाएक समर्थनका ताली बजाउँछन् ।

ऊ झनै अचम्मित बन्छ । शंसोधन र संपादनको कुरा त परै राखौँ कुनै खुल्ला छलफल र बहस बिनै यौटा रेडिमेड दस्ताबेज पारित गर्दै टुंगिएको त्यो गोलमेच सम्मेलनमा आफ्नो सहभागीताको असली औचित्य बुझेर ऊ चुपचाप बाहिरिन्छ घोसेमुन्टो लाएर l

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु