मेरो गाडी

- बिर्ख छेत्री "क्रान्ति"

मान सरोवरको ताल नाघ्दै,
सिन्धुघाटीको भञ्ज्याङ्ग काट्दै,
नाइल नदीको पूल तर्दै,
२१ औं शताब्दीको,
मेरै टोलतिर उडिरहेको छ
मेरो गाडी ।

मेरो टोलमाः
युरियाको ड्याङ्गमाथिः
लाइ लागेका सिस्नुको झोल खाएर म अर्गानिक डकारिरहेको छु ।
रातो कमिलाले खाएका मानेका गानाका नाबो गुबाहरु पिएर,
अर्गानिक फार्म चलाउने गुमोज बुनिरहेको छु ।
धर्के जुकाले छोडेका डौंठे निगुरो फ्राइ गरेर,
अर्गानिक बासना छोडिरहेको छु ।
बोन्साइ टिम्मुरका पातहरु सुँघेर,
गाउँको पुराण साक्षी बकिरहेको छु ।

मेरो टोलमाः
कठपुतली मान्छेहरुः
लाशको लिलाम घटाघटमा,
मलालीहरु प्रतिस्पर्धा गरिरहेछन् ।
अघोरी बाबाको माला लगाएर,
मूर्दाको शिकार गरिरहेछन् ।
विशाक्त प्रसान्त फिँजाएर,
श्रीखण्डको झाडी बगाइरहेछन् ।
आकाशको छाला खुइल्याएर,
वर्षाको घैला सुकाइरहेछन् ।
हिमालका बुर्काहरु च्यातेर,
मस्तले टायरको नसा तानिरहेछन् ।
महान दुव्र्यसनीहरु,
मानव अधिकारको लागि धरती डढाइरहेछन् ।

मेरो टोलमाः
मान्छेलाई गर्व छः
लुटी खान पाएकोमा,
दासताको वाक स्वतन्त्रता खेल्न पाएकोमा,
आलोचना शास्त्रको दीक्षान्त लिन पाएकोमा,
बत्तीका पुतली भएर,
सभ्यताको साइनाइडमा लाश हुन पाएकोमा ।

तर
मान्छे आत्मलज्जित छः
आफैंले गरिखानु परेकोमा,
आफैंलाई आत्मसम्मान गर्न नजानेकोमा,
कस्तुरी भएर काशी घुम्नु परेकोमा,
आफैं ईश्वर भएर पनि,
स्वर्गमा नर्क ओछ्याएर सुत्नुपरेकोमा ।

यी गुराँसका वन र,
सिस्नुका झ्याङ्गहरु पछि हुत्याउँदै,
विचारका गोलाइहरु उक्लिँदै,
शताब्दीको हर्न बजाएर,
मनको महाभारततिर उडिरहेछ
मेरो गाडी ।

दोलखा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 30 भाद्र, 2067

लेखकका अन्य रचनाहरु