बन्द

- जितेन्द्र मल्ल

प्रसव वेदनाले ग्रसित मेरी श्रीमतीलाई बोकेर एम्बुलेन्स एकनासले हुइकियो । मेरो घरमा नयाँ युगले पदार्पण गर्दैछ, मख्ख थिएँ म । "छोरो या छोरी ? नाम के राख्ने ? भबिस्यमा के बनाउने ?" आदी इत्यादी बिषय विगत केही दिन देखिका "हट केक" थिए मेरो घरमा ।

एम्बुलेन्सको ब्रेकले मलाई कल्पनाको सागरबाट बाहिरिन वाध्य गरायो । "जिन्दावाद ! मुर्दावाद ! हाम्रो माग पुरा गर !............................... "

गन्तव्यमा पुग्न नपाएका साधनहरुको जमातलाई छिचोल्दै आएका यी चर्का नाराहरुले एम्बुलेन्सको साइरन र मेरी श्रीमतीको चिच्याईलाई विलिन गराइरहेका थिएँ । ड्राइभर बाहिर निस्केर अनुनय गरिरहेको थियो आन्दोलनकारीहरु सित, म पनि पुगें बिन्ती गर्न, "ईमर्जेन्सी छ हजुर, कृपया हामीलाई जान दिनुस् !!"

"ल ल साथी हो, एम्बुलेन्सलाई जान दिउँ । "

एउटा बोल्यो । "हो हो, एम्बुलेन्सलाई जान दिउँ !!"

अर्कोले थपेपछी केही राहत महसुस गरें । एकजना अघी बढेर भन्यो, "यदी यो एम्बुलेन्सलाई जान दियौ भने त हाम्रो 'बन्द'को औचित्य नै रहेन नि । कसैलाई पनि छाड्न हुन्न साथी हो ।" अर्कोले सही थप्यो ।

निराशा एकातिर, आक्रोश अर्कोतिर, फर्कें बन्द खुल्ने प्रतिक्षामा । एकाएक मेरो श्रीमतीको मुहारमा चमक आयो, मलिन स्वरमा अन्तिम शब्द भनिन्- "मलाई माफ गर, मैले नयाँ युगलाई जन्म दिन सकिन् । " सोचें, धिक्कार होस् यो 'बन्द'को जस्ले मेरो खुशीको मुहान नै बन्द गरायो !!

अर्को दिन, मेरो आक्रोशको ज्वालामा घिउ थप्ने काम गरे बिभिन्न दल, संगठनहरुले । "यो कुरालाई यसै छाड्नु हुन्न, हामी जवाफ अवस्य दिनेछौ ।" मैले केही सोच्न नपाउँदै, एउटाले भन्यो, "दुइ दिन नेपाल बन्द !"
पहिलो दिन, टायर बालिए, कैयन् भौतिक संरचना ध्वस्त पारिए । दोस्रो दिन, पहिलो दिनका कृयाकलापहरु दोहोरिए । अर्को घटना, एउटा एम्बुलेन्स आएर हामी सामु रोकियो । एकजना मानिस निस्केर अनुरोध गर्दै थियो, "हजुर मेरो छोरो सार्है बिरामी छ, हामीलाई जान दिनुस् । बेलैमा अस्पताल नपुर्याए मेरो सर्वस्व लुटिन्छ । "

यो त्यही मान्छे थियो, जो अस्ति चिच्याएर भनिरहेको थियो, "यदी यो एम्बुलेन्सलाई जान दियौ भने त हाम्रो 'बन्द'को औचित्य नै रहेन नि । कसैलाई पनि छाड्न हुन्न साथी हो ।"

तलकोट, डोटी, हाल: दुबइ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2067

लेखकका अन्य रचनाहरु