पत्याउँदा पत्याउँदै(ब्यङ्ग्य कविता)

- लक्ष्मण गाम्नागे

यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण
पञ्चायती व्यवस्था हो भने ।
हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं ।
हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले
र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।

यिनीहरूले हामीलाई
हाम्रो सम्पूर्ण दुर्भाग्यको कारण
राजतन्त्र हो भने ।
हामीले फेरि पत्यायौं ं
र राजतन्त्र विरुद्ध लड्यौंं ।
हेर्दाहेर्दै यिनीहरू
कहिले राजाको बाहुलीमा नाम चढाउन गए
कहिले पाउमा दाम चढाउन गए ।

यिनीहरूले
सम्विधानसभा
नयाँ नेपाल बनाउने कडी हो भने ।
देशमा चमत्कार गर्ने जादुको छडी हो भने ।
त्यो पनि हामीले मान्यौ
र भोट हालेर यिनीहरूलाई छान्यौं ।
हेदौहेर्दै यिनीहरूले
सम्विधानसभालाई डान्स रेष्टुरेन्टमा ढाले
र मात्तिएर नाङ्गा नाङ्गै नाच्न थाले ।

यिनीहरूले हामीलाई
धर्म भनेको अफिम हो भनेर पढाए ।
हामीले पत्यायौं र मन्दिरहरू भत्कायौं ।
पुरेतहरूका जनै चुँडाल्यौं
र झाँक्रीका ढ्याङ्ग्राहरू फुटाल्यौं ।
ज्योतिषीहरूका घुँडा फुकाल्यौं
र पूजारीहरूका लँगौटी उता¥यौं ।

हेर्दाहेर्दै हामीलाई मन्त्रदान गर्ने यी गुरुहरू
हनुमानचालिसा पाठ गरेर
मन्त्री हुने जपना गर्न थाले ।
मसानबाबाहरूका खुट्टाको पानी अचाएर
शक्ति हत्याउने सपना देख्न थाले
हुँदाहुँदा यिनीहरू सत्ता आरोहणको लालसामा
भैंसीको पूजा गर्न थाले
भैंसीको ।
यिनीहरूले हामीलाई फिलिमले विकृति ल्याउँछ भन्दै
सिनेमा हलमा आगो झोस्न लगाए
र हेर्दाहेर्दै यिनीहरू आफैं
राम्रा राम्रा फिलोइनहरू छानेर
फिला जोडेर नाच्न थाले ।

हामीलाई भातको राजनीति चाहिएको थियो
यिनीहरूले जातको राजनीति लिएर आए
हामीलाई मनको राजनीति चाहिएको थियो
यिनीहरूले लिङ्ग र स्तनको राजनीति लिएर आए

हाम्रो सिङ्गो जीवनलाई नरकतिर धकेलेर
यिनीहरूले स्वर्ग भोगे ।
नेपाल आमालाई ब्रह्मनालमा सुताएर
वाकसको चावी खोसे र राष्ट्रिय ढुकुटी लुटे ।
हामीलाई थाङ्नामा सुताए यिनीहरूले
र पिसाव फेरे हाम्रा सपनाहरूमाथि ।
यसरी यिनीहरूले बारम्बार हामीलाई लत्याए
हामीले यिनीहरूलाई बारम्बार पत्यायौं ।

यिनीहरूलाई पत्याउँदा पत्याउँदै
हाम्रा बराजुहरू भोकै मरे ।
बाजे बज्यैहरू नाङ्गै मरे ।
यिनीहरूको आश गर्दागर्दै
हाम्रा बाबुआमाहरू रोगैरोगले थला परे ।
यी चौथो लिङ्गी नेताहरूकै अकर्मन्यताले
हाम्रा कति भाइहरू
विदेशी भूमिमा बन्धक भएर रोइरहेका भेटिए ।
कति जिउँदै गाडिए, कतिका घाँटी रेटिए ।
कति हाम्रा छोरीचेलीहरू
उतै बलात्कृत भए, कति मारिए ।
कति छोराहरूले
घरको छाना टाल्न किड्नी काटेर बेचे
कति आमाहरूले
भोकको ज्वाला सहन नसकेर
नावालक छोराछोरी सहित
खोलामा हाम फालेर आत्महत्या गरे ।

तर, अहँ !
यी दुईखुट्टे टमीहरूको पुच्छर
(कुकुरै भन्न खोजेको होइन )
जति वर्ष ढुङ्ग्रामा हाले पनि
कहिल्यै कहिल्यै कहिल्यै नसोझिने रहेछ ।
यी दुईखुट्टे डङ्कीहरूलाई
(गधा भनेर कसरी भन्नू !)
जति धोए पनि
कहिल्यै कहिल्यै कहिल्यै गाई नबन्ने रहेछन् ।

त्यसैले आउनुहोस्,
आउनुहोस् !
यो नागरिकसभामा एउटा अन्तिम घोषणा गरौं
कि अन्तिम एकपटक
फेरि हामी तिमीहरूलाई पत्याइदिँदैछौं
अन्तिम मौका
कि ए ढाँटका खानीहरू हो !
नयाँ नेपालको हवाई सपना नदेखाओ हामीलाई
सिङ्गापुर र स्विट्जरल्याण्डका जुवाडे गफ
नसुनाओ हामीलाई
लौ, यो गरिब राष्ट्रको
अरबौं रुपैया खाएको पाप पखाल्न
एउटा सम्विधानको किताव मात्र
बनाएर देखाओ हामीलाई
तिमीहरूको मृत्युमा
हामीले खुशी मनाउनुअघि
नयाँ दिल्लीले थाहै नपाई
कम्तिमा एउटा सरकार बनाएर देखाओ हामीलाई ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 भाद्र, 2067

लेखकका अन्य रचनाहरु