जनवादी साहित्य र उत्तरआधुनिकताको शहरतिर एक दृष्टि

- बिर्ख छेत्री "क्रान्ति"

क. निबन्ध परिचय
यो एक पुड्के निबन्ध । निबन्धको सग्लो अङ्ग नभएको, उत्तरआधुनिक निबन्ध । हुन त सपाङ्ग नहुँदैमा के उत्तरआधुनिक भन्नु ! राहु–केतु निबन्ध ।

जनवादी साहित्य र उत्तरआधुनिकताको शहरतिर एक नजर । हिजोआज गाउँघरका मान्छेहरुको आँखा र पाइला शहरतिरै छन् । तिनकै मनसंग अढेस्सिएर यो एक नजर पनि शहरतिरै, निकै परबाट । परबाट देखियो सिमेन्टका अग्ला र बाक्ला जंगलले बनेको शहरको आकृति, तर छर्लङ्ग देखिएन त्यसभित्रका रंगीन कोठा, दुर्गन्धी चूला र त्यहींभित्रका सुन्दर संगीतहरु ।

यो निबन्ध दर्शन, शास्त्र, सिद्धान्त, इतिहासको फेदमा अडिएको वा टुप्पामा सिउरिएको छैन । छ, देखे–सुनेका र केही भोगेकामध्ये सम्झनाको तालमा तरङ्गिरहेका अनुभूतिका मन्द छालहरुको केही थोपा मात्र । सर्वसाधारणले गाउँ–शहर, बाटातिर बोल्दै आएका केही संवादका टिपोटमात्र ।

ख. जनवादी साहित्य
प्रगतिवादीहरुले भन्दै आएको जनवाद मानवतावाद हो, राष्ट्रवाद हो, राष्ट्रिय मानवता वा मानवीय राष्ट्रियता हो? जनवादको डोरी अन्तर्राष्ट्रिय लिंगाहरुमा मात्र कस्सिएको हो भने राष्ट्रियताको नसा कमजोर हुनुको मूल कारण नै त्यही हो । राष्ट्रियताको घेरोमा जनवाद विपन्नवाद मात्र हो भने त्यही नै हाम्रो वर्ग विभाजनको औपचारिक रेखा हो । यो परिभाषाले विपन्नहरुलाई सधैं राष्ट्रवादी र सम्पन्नहरुलाई सामन्ती, शोषक, शासक मात्र देख्ने गर्छ । यस्तो धरातलमा उभिको बेला प्रगतिवादीहरुलाई राष्ट्रगान, राष्ट्रिय झण्डातिर आँखा र मन पु¥याउनु लाज र अपमानवोध भएर आएको जस्तो देखिन्छ । त्यस्तो मनोदशामा जनवाद र राष्ट्रवाद थाङ्गनाका पुतली मात्र बन्छन् । यो विचार तिम्रो विचारसंग कति प्रतिशत घुलमेल हुनसक्छ?

जनवादी साहित्य हुनको लागि जुनै लेखकले भए पनि जनताको विषय लेखिएको हुनुपर्ने वा कम्युनिष्ट पार्टीमा आवद्ध लेखकले लेखेको जन विषय हुनुपर्ने? कुन जनताको के विषय, कसरी, कसले लेखेपछि जनवादी साहित्य बन्ने ?

नेपाली माटोमा लहराइरहेका देउसी, क्यारोल, इद, बुद्ध जयन्ती, चण्डी पूर्णे आदि नाचगानबाट लुकेर त्यसैमा छारो हान्दै प्रगतिवादीहरु कुन ग्रहको जनवादी साहित्य ग्राफिटङ गर्न लागिरहेका छन्? विग्रहको?

अभ्यास
माक्र्सले अध्ययन गरेका पूर्वीय दर्शन, खास गरी हिन्दू अध्यात्मबारे गरिएका पुस्तकको सूची र त्यसमाथि गरिएका विशेष टिप्पणीहरुको सन्दर्भ सूची तयार गर्नुहोस् ।

विश्वसूचीमा कम्युनिष्ट पार्टीमा आवद्ध भएर र भइकन जनवादी स्रष्टामा स्थापित भएका कर्ता र कृतिको सूची तयार गर्नुहोस् ।

जनवादी कर्ता र कृति नभनिएका तर विश्व प्रसिद्ध बनेका लेखक र कृतिहरुको सूची तयार गर्नुहोस् । तिनका प्रसिद्धिका कारणहरु खोज्नुहोस् ।

नेपालको सन्दर्भमा जनवादी, प्रतिक्रियावादी र मध्यमार्गी भनिएका कर्ता र कृतिहरुको सूचि तयार गर्नुहोस् । तिनको लोकप्रियताको मत सर्वेक्षण गरी स्तरीकरण गर्नुहोस् ।

माथिका परिणाम हेरी सकेपछि तपाइँले बुझ्दै–बुझाउँदै आएको जनवादी र गैर जनवादी साहित्यबारे के नयाँ अनुभूति भयो ? एउटा निवन्ध छाप्नुहोस् । एउटा अन्तक्र्रिया चलाउनुहोस् ।

नेपाली जनवादी साहित्यमा पछिल्लो प्रसंग चलिरहेछ – जनयुद्धकालीन साहित्यको । जनयुद्धकालीन साहित्य के हो? तपाइँको मिल्दोजुल्दो धारणा तलका वैकल्पिक उत्तरहरुमा गलत चिन्ह (*) लगाउनुहोस्ः

अभ्यास
जनयुद्धको अवधिमा रचिएका सबै साहित्य

जनयुद्धको पक्ष, विपक्ष वा दुवै विषयबस्तु समेटिएका साहित्य

जनयुद्धमा संलग्न भएका व्यक्तिहरुले रचेको साहित्य

जनयुद्धमा संलग्न व्यक्तिहरुद्वारा रचित जनयुद्ध पक्षधर साहित्य

माथिका उत्तर छानिसकेपछि के अनुभूति भयो ? एउटा निबन्ध छाप्नुहोस् । एउटा अन्तक्र्रिया चलाउनुहोस् ।

ग. उत्तरआधुनिकताः पढ्दा–सुन्दाको सम्झना
यो धनी देशले गरीबमाथि शासन गर्ने तार्किक हतियार हो । यो मानवता विरोधी छ । यसले शोषित जनताको आक्रोशलाई मानवअधिकार, वातावरण संरक्षण, जातीय, क्षेत्रीय विभाजनतिर केन्द्रित गरिरहेको छ ।

प्रगतिशीलहरुले यसको बहसलाई हटकेक बनाइरहेका छन् । तर उनीहरुको (उत्तरआधुनिक) समकक्षमा आउने स्तरीय कृति सिर्जना नगरी आमसञ्चारलाई आफ्नो हितमा उपयोग नगरी सफलता हात लाग्दैन । परम्परागत माक्र्सवादी शब्दावलीको रटाइबाट मात्र त यसको एउटा त्यान्द्रो गलाउन पनि सकिँदैन ।
संकुचित भएर पार्टी साहित्य, पार्टी समालोचना र निर्देशित लेखनमा मात्र लागेर हामी शास्त्रीयतावादी बनिरह्यौं भने त उत्तरआधुनिकता हामीमाथि हावी हुने निश्चित छ ।

यसले बहुसाँस्कृतिक, बहु–धार्मिक, बहुजाति तथा बहुभाषी समाज निर्माण निम्ति महत्वपूर्ण सैैद्धान्तिक योगदान दिएको छ ।

यो साहित्य अतिरिक्त कला, संगीत, नृत्य, दर्शन, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, मनोविश्लेषण, विज्ञान, न्याय आदि ज्ञान–विज्ञानका सबैजसो क्षेत्रमा पिंmजिएको छ ।

विषय र प्रयोगको अत्यधिक विविधता र नवीनता यसको एउटा विशेषता हो ।
प्राविधिक संस्कृतिको कारण अन्तर्राष्ट्रियता वैयक्तिक पँहुचभित्र सीमित हुँदै गएकाले यसले ग्रामीणीकरणको सोचलाई अघि सारेको छ ।

जसलाई हामी वास्तविक भन्छांै त्यो पनि वास्तवमा वास्तविक हुँदैन ।
कुनै पनि सत्य स्थिर, निश्चित र शास्वत हुँदैन, सन्दर्भ अनुसार परिवर्तन भइरहन्छन् ।

बहुलतावाद, बहुकेन्द्रियतावाद, नवअग्रसरता, प्राविधिक संस्कृति, निम्न संस्कृतिलाई महत्व दिनु यसका बिशेषता हुन् ।

वेद लेखिनुअघि र डेरिडाको पूर्वजन्मभन्दा धेरैअघि झुसिलकीरा पुतलीमा विनिर्माण भइसकेको थियो ।

उत्तरआधुनिकता कुनै वाद वा सिद्धान्तको चश्मा नलगाई संसार जस्तो छ त्यस्तै देख्ने, भोग्ने र लेख्ने प्रकृयाको शुरुवात हो ।

आधुनिकतावादले संसारलाई समानीकरणको (homogenous) एउटै सिरक ओढाउन खोज्यो र आफूले प्रिय ठानेको सिद्धान्तले संसार जित्नुपर्छ भन्ने मान्यता राख्यो ।

विकासशील आर्थिक, सामाजिक, साँस्कृतिक परिवेशका लागि उत्तरआधुनिक अवधारण सहयोगी छ ।

यो युग पाठकको युग हो ।

अभ्यास
उत्तरआधुनिकताको पक्ष र विपक्षमा लेखिएका पुस्तक र फुटकर रचनाहरुको सूची तयार गर्नुहोस् । सूचीमा प्रकाशन संख्या, पृष्ठसंख्या, पाठकको पक्ष–विपक्ष संख्या र कारणबारे नमूना मत सर्वेक्षण गर्नुहोस् ।

नेपाली कम्युनिष्टहरु सर्वहारावादी सत्ताको नाराबाट कसरी सर्वदलीय सत्ताको नालामा फड्किए? मुख्य दलहरुको एक–एकवटा प्रमुख कारणहरु खोजी गर्नुहोस् ।

तपाइँ नेपाली साहित्यमा उत्तरआधुनिकताको समर्थक, विरोधी कि मध्यमार्गी ? कसरी यो मोडमा पुग्नुभयो, तलका तथ्यहरु खुलाउनुहोस्: ।

क. तपाइँले पढेका पुस्तक, रचना, सुनेका प्रवचनका शीर्षकहरु र प्रस्तोताहरुको सूची तयार गर्नुहोस् ।

ख. तिनका कुन भनाइबाट कसरी प्रभावित हुनुभयो मुख्य बुँदा टिपोट गर्नुहोस् ।

प्रगतिशीलहरु जसको लागि साहित्य सिर्जना गर्दै छन् तिनका केही प्रतिनिधि पात्रसँग भेट गरी ती रचनाहरु सुनाउनुहोस् । सोध्नुहोस् तिनले के बुझे ? के पाए? यसपछि के सोच्न लागे?

माथिको परिणाम हेरिसकेपछि तपाइँलाई के अनुभूति भयो ? एउटा नमूना निबन्ध छाप्नुहोस् । एउटा अन्तत्र्रिmया चलाउनुहोस् ।

घ. स्व–मूल्याङ्कन
यो निबन्ध बार्गेनिङको । बटम लाइन ‘निबन्ध’ पद पाउनुपर्छ भन्ने माग । मागको आत्मविश्वास यसरी बढ्योः

लोकसेवा लड्नुपर्ने पद सडक आन्दोलनबाटै स्थापित हुनथाल्यो ।

राष्ट्र, अन्तर्राष्ट्र, मानवताका लागि सचेततासहित जोखिम उठाएर त्यही कामको अग्निमा होमिएर प्राप्त गर्ने ‘शहीद’ को अमूल्य पद काठमाण्डौ चक्रपथको साझा बसमा देखाउने विद्यार्थी आइडी जस्तै सुलभ हुनुपर्छ भन्ने माग बढ्न थाल्यो ।

राष्ट्र सञ्चालक सांसदहरुको पद कार्यलय सहयोगीको जागिरभन्दा निकै सुलभ हुनथाल्यो । कार्यालय सहयोगीका लागि न्यूनतम आधार– नेपाली नागरिक, साक्षर, मानसिक सन्तुलन ठीक भएको, कुनै फौजदारी मुद्दामा नमुछिएको, निश्चित उमेरभित्र रहेको निर्धारण गरियो । तर सांसदको लागि यी न्यूनतम मापदण्ड पनि खुल्ला गरियो ।

मलाई लाग्यो, उसोभए मैले यसलाई निबन्धको पदस्थापना गर्न किन बार्गेनिङ नगर्ने? यसको लागि त आन्दोलनकारी कर्मचारीलाई जस्तो पेन्सन व्यहोर्नु परेन, कोटा शहिदको जस्तो उपादान छुट्याउनु परेन । नेपालमा प्रधानमन्त्रीको स्वर्णकालीन चुनावमा जस्तो अनिश्चित पटक उपस्थित हुनुपरेन । यसले कुनै जातीय, क्षेत्रीय, लिंगीय, धार्मिक, सांस्कृतिक अखण्डताको बर्खिलाप गर्ने देखिएन । मात्र पाठकले एकपटक मत दिए पुगिहाल्यो । यसले ‘निबन्ध’ पद किन नपाउने?

यो पुड्के निबन्धलाई कतिपय पुराना निवन्धकारहरुले टिपोट भन्लान् । दक्षिणपन्थी वा प्रतिक्रियावादी सूचीमा राखिएका केही अग्ला टाउकाहरुले हल्का टाउको पनि हल्लाउलान, आफ्नै पक्षधरताजस्तो बुझेर । जनवादी लेखकहरुको गोलमेचमा यस्तो प्रतिक्रिया आउलाः

यो जनवादी साहित्यको विभीषण हो

यो जनवादी लेखकहरुको स्लो पोइजन हो

यो आत्मरतिको लोरी गायन हो

यो यतिखेर उठ्नुपर्ने कुरा उठेको छ (यहींबाट प्रगतिशील उत्तरआधुनिकताको एउटा प्यानल उभिन सक्छ ।)

ङ. निचोड
माथिका सबै अभ्यासहरुको उत्तर साथमा नलिइ यो निबन्धमाथि बहस थाल्नु सडक आन्दोलनबाटै एसएलसी पास गर्नु जस्तै हुन्छ । त्यसर्थ उत्तरहरु बोकेर आउनुहोस, आत्मीयताको पाँचतारेमा घण्टौँ योग गरौं । तपाइँ सडक आन्दोलनबाटै एसएलसी गर्न चाहनुहुन्छ भने यो पुड्के निबन्धविरुद्ध जति खरो आलोचनामा उत्रिनुभो, यसले उति प्रचार–प्रसार र बजार पाउँछ । जति तटस्थ बस्नुभो उति पाउला फेर्ने समय पाउँछ । जति नजिकिनुभो उति जरा तन्काउँदै माटो पाउँछ । जति नियन्त्रण र निषेध गर्नुभो बरवृक्ष जस्तै सिद्धान्त र संगठनमा छिप्पिदैँ जान्छ । तपाइँ के गर्ने ?

टाढाको दृश्य
देख्छु, प्रगतिवादी आँखाहरु उत्तरआधुनिकताको चाकतिर थुकेर गालातिर चुम्बन गरिरहेका छन् । उत्तरआधुनिकताको चिम्नी अग्ला आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, बौद्धिक भवनहरुमाथि ठडिएको छ । गरीब झोपडीहरु त्यसको धुवाँभन्दा निकै तल छन् । जनवादी साहित्यको पारिजात धुवाँ–धुलोले कक्रिरहेको छ ।

हेर्छु, असत्यहरु असत्यताको सत्य रहेछन् । सत्यहरु समयको बोट र तर्कको डालीमा बहुरंगी फुल्दारहेछन् । यो घामपानीको समय छ । आऊ, हामी एकछिन भए पनि इन्द्रेणी सत्यको दृश्यहरु हेरौं ।
(यो अभ्यासमूलक निबन्ध हो -लेखक)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 16 भाद्र, 2067

लेखकका अन्य रचनाहरु