अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनको सन्देश

- व्याकुल पाठक

अनेकौं उतारचढाव तथा बाधाव्यवधानको सामना गर्दै अघि बढेको नेपाली भाषासाहित्यले अहिलेको एक्काइसौं शताब्दीसम्म आपूmलाई विकसित, परिमार्जित गर्दै एउटा समर्थ र जीवन्त भाषाको रुपमा विश्वसामु उभ्याउन समर्थ भएको छ । नेपाली भाषासाहित्यको यो शक्ति वृद्धिमा अनेकौं भाषासेवी एवं साहित्यकारहरुले योगदान पु¥याएका छन् । भाषासाहित्य समृद्ध र शक्तिशाली हुनका लागि वाङ्मयको विकास मात्र भएर पुग्दैन, त्यसका लागि चाहिन्छ भाषाको देशदेशान्तरसम्म विस्तार, विदेशीहरुले समेत उक्त भाषालाई अपनाउने अवस्था र सम्बन्धित मुलुकमा त्यसको प्रयोग ।

भाषासाहित्य विकासका यी मापदण्ड त्यसै पू्रा हुन सक्दैन । त्यसका पछाडि सरकार, भाषासाहित्यसँग सम्बन्धित संघसंस्था तथा भाषासेवीहरुको प्रयास एवं पहल सन्निहित हुन्छ । अहिले नेपाली भाषासाहित्यको विश्व मानचित्रमा जुन स्थान र अवस्थिति छ, त्यसका पछाडि पनि यिनै कारक तत्वले काम गरेको छ । नेपाली भाषाको विकासक्रमको सक्रिय कालखण्ड करिब एक सय वर्षमा यसको उचाइ जहाँ पुग्नुपर्ने हो, त्यसमा सन्तुष्ट हुने अवस्था भने छैन । भाषासाहित्यको समृद्धि र विस्तारको गति धीमा हुनुमा विभिन्न कारण रहेका छन् ।

नेपाललाई भाषिक र सांस्कृतिक एकीकरण गर्ने जस पाउने आदिकवि भानुभक्त आचार्य र उनको कार्यलाई जनसमक्ष ल्याएर अनि आफैं पनि साहित्यसिर्जना, साहित्य मण्डलीको स्थापना तथा प्रकाशनको माध्यमबाट सक्रियता देखाइरहने युवाकवि मोतीराम भट्ट नेपालीका कहिल्यै नबिर्सने चम्किला तारा हुन् । अँध्यारो युगमा चिराग बालेकाले भानुभक्त—मोतीराम नेपाली भाषासाहित्यमा छुटाउनै नहुने नाम भए पनि त्यसपछिका युगमा पनि यस क्षेत्रमा मरिमेट्ने मनीषिहरुको कमी छैन । पत्रपत्रिका, पुस्तक प्रकाशन, विद्युतीय सञ्चार माध्यमको स्थापना, विद्यालय, विश्वविद्यालयमा नेपाली भाषाले पाएको स्थान, विभिन्न संघसंगठन मार्फत स्वदेश एवं विदेशमा भएका गतिविधि, पुरस्कारहरुको स्थापना निरन्तर भइरहेका छन् । यिनै क्रियाकलापको एकमुष्ठ उपलब्धि अहिलेको नेपाली भाषासाहित्यको स्थानले दर्शाइरहेको छ ।

यसै पृष्ठभूमिमा २०६६ साल नेपाली भाषासाहित्यको क्षेत्रमा विशेष उपलब्धिपूर्ण वर्ष हुन पुगेको छ । नेपाली भाषासाहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी परेको यो वर्षभरि देवकोटा शताब्दीकै सेरोफेरोमा विभिन्न कार्यक्रमहरु भए । केही सरकारी र धेरैजसो निजीस्तरमा खुलेका संघसंस्थाहरु देवकोटा शतवार्षिकीलाई महोत्सको रुप दिन वर्षैभरि जुटिरहे । देवकोटा शतवार्षिकीकै सेरोफेरोमा अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनको समेत आयोजना राजधानी काठमाडौंमा गरिएको थियो । नेपाली भाषासाहित्यको इतिहासमा पहिलो पटक भएको यस किसिमको सम्मेलनको महत्व वर्तमानमा त छँदै छ, यसको प्रभाव र उपलब्धि अनन्त कालसम्म रहिरहने धारणा भाषासाहित्यका मर्मज्ञले व्यक्त गरिरहेका छन् । भाषासाहित्यको उन्नति, विकास एवं प्रवद्र्धनका लागि सम्मेलन तथा गोष्ठीहरुको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण विगतमा भएका राष्ट्रियस्तरका साना, मझौला अनि बृहत् सम्मेलनहरुले देखाइसकेका पनि छन् ।

इतिहास पल्टाउने हो भने नेपाली भाषासाहित्यको क्षेत्रमा राष्ट्रिय स्तरको पहिलो सम्मेलन २००४ सालमा भएको पाइन्छ । जहानिया राणा शासनको उत्तराद्र्धमा एकतन्त्रीय शासन निभ्ने बेलाको उज्यालो जस्तो अझै कडा रुपमा प्रस्तुत भइरहेको बेला नवयुवक साहित्यकारहरुले आँट गरेर र बुद्धि पु¥याएर सम्मेलनलाई सफल गराएरै छाडेका थिए । केदारमान व्यथित, हृदयचन्द्रसिंह प्रधानले ठूलो बुद्धि पु¥याएर शिक्षा विभागका डाइरेक्टर जनरल मृगेन्द्रशमशेरका छोरा साहित्यकार जगदीश शमशेर राणालाई पनि सम्मेलन आयोजक कमिटीमा राखरेर कूटनीतिक किसिमले प्रथम साहित्य सम्मेलनलाई ऐतिहासिक बनाएका थिए । ६२ वर्षअघि भएको त्यस सम्मेलनमा सहभागी कविसाहित्यकार अब थोरै मात्र जीवित छन् तर त्यसको प्रभाव अहिलेसम्म पनि परिरहेकै छ । त्यतिबेला सम्मेलन आयोजना हुन नसकेको भए र लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी जस्ता साहित्यको युग निर्माताले कविता र विचार व्यक्त गर्न नपाएका भए नेपाली साहित्यले अहिलेको स्थितिमा आउन अझै कैयौं दशक कुर्नुपर्ने हुन सक्थ्यो ।

त्यस बेलाको साहित्य सम्मेलनले अहिलेसम्म दिशानिर्देश गरेझैं २०६६ सालमा भएको अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनले पनि मुलुकभित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अबको कैयौं दशकसम्म दिशानिर्देश गर्ने निश्चित छ । प्रथम राष्ट्रिय कवि सम्मेलनका लागि व्यथित र प्रधान जेलनेल र सर्वस्वहरणसम्मको जोखिम मोलेर सक्रिय भएका थिए भने पहिलो अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनका लागि परिस्थित फरक भए पनि कठिन यात्रामा सहभागी भएका थिए नइ अर्थात् नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई । पूर्णकालीन रुपमा साहित्य सेवामा होमिएको यो जोडीले नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय सम्मेलन सफल बनाउन केके पो गरेन π ‘राजावादी’ को आरोपमा विवादमा तानिएका यो जोडीका लागि गणतन्त्रको शुरुवाती वर्षमा माओवादी, कांग्रेस, एमाले, मधेसवादी दलहरुसँग समन्वय गरी बजेट जुटाउन अनि सबै पक्षलाई सहभागी गराउन सजिलो अवश्य थिएन । तर मोदनाथ प्रश्रित, खनूप्रुदे रामबाबू, जगदीशशमशेर राणा, सत्यमोहन जोशी, गोविन्द भट्ट, भद्रकुमारी घले, नरहरि आचार्य, शान्ता श्रेष्ठ, श्यामप्रसाद शर्माआदिको यस सम्मेलनप्रति गहिरो समर्पण थियो । त्यसैले नेपालमा अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलले मूर्त रुप लिन सकेको हो ।

नइ जोडीलाई नेपाली भाषासाहित्यमा दीर्घकालीन महत्व राख्ने सम्मेलन आयोजना गर्ने आँट र साहस त्यसै उत्पन्न भएको होइन । अवकाश प्राप्त कर्मचारी, उद्योगीव्यापारी अनि केही धनाढ्यका निश्क्रिय पुँजीलाई साहित्य सेवामा ल्याउने काममा यो जोडीले सफलता पाएको थियो । त्यसकै परिणाम हो नइ प्रकाशन, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान, बालकृष्णा सम फाउन्डेसन, लेखनाथ पौड्याल काव्यसभा, त्रिमूर्ति निकेतन आदि । यी संस्थामार्फत नेपाली वाङ्मयको विकास, विस्तार एवं वाङ्मयसेवीहलाई यथोचित सम्मान र पुरस्कार दिने कामलाई पनि यो दम्पतीले निरन्तरता दिइरहेको छ । दाताको नैतिक वचनबद्धताले दीर्घ रुप लिन नसक्दा नइद्वारा अग्रसरता लिइएका कतिपय चर्चित पुरस्कारहरु सुसुप्त पनि भए । तर पनि यो जोडी आफ्नो यात्रामा थाकेको भने देखिएन । फेरि नयाँ दातालाई रिझाएर नेपाली भाषासाहित्य र वाङ्मयसेवीलाई उकास्न नइ समर्पित भई नै रहेको छ । त्यही तत्परताको लहरो तानिदै नइ प्रकाशनको आडमा त्रिमूर्ति निकेतनमार्फत अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन जस्तो बृहत् कार्यक्रम सहज रुपमा नेपालमा सम्पन्न भयो ।

सञ्चार क्रान्तिले विश्व नै एउट गाउँमा परिणत भइरहेको अहिलेको अवस्था र अध्ययन तथा रोजगारीका लागि नेपालीहरु विश्वभरि पैmलिने अनि उनीहरुबाट ती स्थानमै पत्रपत्रिका एवं अनलाइन माध्यमबाट नेपाली भाषासाहित्यको सेवा गर्न रुचि देखाइरहेको अवस्थामा अब नेपाली भाषासाहित्य नपुगेको देश पाउन मुस्किल भइसकेको छ । कहाँकहाँ नेपाली भाषासाहित्यको स्थिति के छ, त्यहाँ के कति साहित्य सिर्जना भइरहेका छन् भन्ने पत्ता लगाउने काम निकै दुरुह हो । नेपाली भाषासाहित्यले स्पष्ट आकार र पहिचान बनाइसकेको प्रमुख १३ वटा देशका प्रतिनिधिलाई सम्मेलनमा आमन्त्रण गरी बहस गराउनु सम्मेलनको महत्वपूर्ण पक्ष रहनगएको थियो । नेपाल, भारत, पाकिस्तान, चीन, म्यानमार, हङकङ, रुस, जापान, जर्मनी, बेलायत, अमेरिका, युएई, बेल्जियमका प्रतिनिधिबाट ‘नेपाली साहित्य ः हिजो, आज र भोलि’ विषयमा प्रस्तुत गरिएका कार्यपत्रले विगत, वर्तमान र आगतको नेपाली भाषासाहित्यबारे बुझ्न बुझाउन मद्दत पुगेको महसुस गरिएको थियो ।

महाकवि देवकोटा शताब्दी महोत्सव तथा अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन तयारीका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार थियो भने सम्मेलन नजिकिंदा त्यो सरकार विघटन भई एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकार बनिसकेको थियो । यसबाट पनि आयोजकलाई सरकारबाट सहयोग र सहभागिता जुटाउन हम्मे परेको बुझ्न गाह्रो पर्दैन । महोत्सवका अध्यक्ष मोदनाथ प्रश्रित र सम्मेलनका संयोजक सत्यमोहन जोशीसमेतको समर्पणबाट धेरै विघ्नबाधा पनि सहज हुन थाले । त्यसमाथि जस्तोसुकै परिस्थितिमा पनि आप्mनो अभियान सफल पारेरै छाड्ने दृढ संकल्पित नइ जोडी नरहरि आचार्य, मोहन वैद्य ‘चैतन्य’, मनीषा कोइराला, खनुप्रुदे रामबाबु प्रसाई, जीवा लामिछानेको न्यानो साथ र आत्मीय सहयोग लिएर सम्मेलनलाई कोसेढुंगा बनाउन समर्थ भयो । हरेक युगमा एउटा राजनीतिक विचारमा अटल भएर पनि साहित्यको उन्नति, समृद्धिका लागि सबै पक्षसँग हातेमालो गर्नसक्नु र उनीहरुको सहयोग लिन सक्नु नइ जोडीको अनौठो खूबी रहेको छ ।

सम्मेलनको मध्यतिर नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको निधनले मुलुक शोकमा डुब्न पुग्यो । त्यसले सम्मेलनका सहभागीहरुलाई पनि खल्लो महसुस गरायो तर पनि सम्मेलनलाई निर्विघ्न जारी राखिएको थियो । प्रधानमन्त्री माधवकुमार नेपालद्वारा उद्घाटन गर्ने हिसाबमा सम्मेलनको तयारी थियो । तर प्रधानमन्त्री उपस्थित नहुँदा प्रधानमन्त्रीबाट सहभागीहरुका लागि दिइएको रात्रिभोज पनि सम्मेलनको आयोजकले रद्ध गरिदिएको जानकारी दिइएको थियो ।

इतिहासमै पहिलोचोटि भएको यस किसिमको सम्मेलनमा केही कमी कमजोरी हुनु अनौठो होइन । यसै परिवेशमा केही पक्षहरुबाट नइ जोडी निक्कै आलोचित पनि बने । तर आलोचनाबाट नइ जोडीलाई नडराउन प्रथम राष्ट्रिय सम्मेलन २००४ सालका आयोजकमध्ये एक अनि प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन २०६६ सालका पनि प्रमुख सहयोगी वरिष्ठ साहित्यकार जगदीशशमशेर राणाले भनेका थिए, ‘हात्ती चल्दै जान्छ कुकुर भुक्तै गर्छ ।’

वास्तवमा काम गर्ने मान्छेकै विरोध हुन्छ । तर काम गर्नेका लागि त्यही विरोध र अडचन पनि ऊर्जा बन्छ । त्यसैले ऐतिहासिक महत्व राख्ने अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन हुन सकेको हो । यो विषय नेपाली भाषासाहित्यको इतिहासमा युगौंसम्म स्मरणीय हुनेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 16 भाद्र, 2067

लेखकका अन्य रचनाहरु