प्रेम, माटो र जनताका शब्दशिल्पी

- राजा पुनियानी

"म उसलाई चिन्थें/ उ अहिलेसम्म खारेज भएको छैन मभित्र /…युद्धले दैला र पर्खालहरू ध्वंस गऱ्यो/ शहर एक मुट्ठी खरानी छ/ सबै लुगाहरू धुला भए/ उ मभित्रै छ।"

˜फुटबलर म्याराडोना र मेस्सीले अर्जेन्टिना चिनाए। क्युबा चिनाए क्रान्तिकारी चे ग्वेभारा र फिदेल कास्त्रोले। चिली चिनाए कवि पाब्लो नेरुदाले। यी ल्याटिन अमेरिकी राष्ट्रहरूमा जङ्गल, टापु, पहाड, वृष्टि र समुद्री हावाजस्ता नैसर्गिक सच्चाइ समाज र जीवनका अभिन्न हिस्सा हुन्। प्रकृति र सङ्घर्ष त्यहाँ समाजकै पर्याय हुन्। जीवन पर्याय हो श्रम र साहसिकताको। यी जब्बरे राष्ट्रहरू सम्झौतापरस्त छँदै छैनन्। चिलीले सारा विश्वलाई नेरुदाको रूपमा एक यस्तो कवि उपहार दिएको छ, जसले टापुदेखि टमाटरसम्मको कविता लेखे। जसले प्रेमदेखि क्रान्तिसम्मको कविता लेखे। जसले खरो भाषामा भावनालाई लेखे भने कोमल भाषामा आक्रोशलाई लेखे। उनी थिए एक जोशिला कवि। जुझारु कवि। तिनले त्यसै एक हजार पृष्ठ कविता (र त्यति नै गद्य) लेखेनन्। तिनमा थियो दक्षिणी वृष्टिको असीम ऊर्जा। तिनीभित्र थियो सङ्घर्षरत जनताको सपना।

˜"विश्व पानी छचल्किरहेको ग्लास हो" भन्ने नेरुदाको प्रेमबोध कति व्यापक, सर्वव्यापी र उदार थियो, त्यो यस कवितांशबाट स्पष्ट हुन्छ- "अपव्ययी दैलो खोल/ आफ्नो हृदयमा/ अन्धोपनको गाँठो खोलिन देऊ/ र उड्न देऊ त्यसलाई/ आफ्नो र मेरो रगतसँगै/ सारा संसारमा।" 'प्रश्न' कवितामा तिनको प्रेम अभिव्यक्ति- "प्रिये, एउटै प्रश्नले तिमीलाई तबाह गरिदिएको छ/ म फर्किएको छु तिमीकहाँ/ काँढादार अनिश्चिततासाथ/…तिमीलाई म चाहन्छु सरल-सीधा/ बाटोजस्तै, तलवारजस्तै।" प्रेमको ऱ्याडिकल र पराकाष्ठा अभिव्यक्ति- "आफ्नो केशमा सयौं मान्छे लिएर आऊ/ हजारौं मान्छे स्तन र पाउहरूमाझ लिएर आऊ/ आऊ डुबेका मान्छेहरूले भरिएको नदीजस्तै।" प्रेममा निहीत विरक्ति पनि- "बालुवामा टहलिँदै मैले तय गरें तिमीलाई छाड्ने"।

˜तुना माछा, लुगा, टमाटर, मकै, नुन, रोटी, रक्सी, पानी, मेज, कुर्सी, इस्त्री, कविता, शब्द, ढुङ्गा, पहाड, विरह, प्रेम, यौन, महिला, मृत्यु, जङ्गल, चरा, कुकुर, बिरालो, पेङ्गुइन, वृष्टि, समुद्र, टापु, मौरी, समुद्रीलहर, नाविक, रहस्य, जनता,...सूची लमिँदै जान्छ नेरुदाले लेखेका समृद्ध कविताहरूका विषयलाई एक-एक गर्दै टिप्नु हो भने। यति विविध, व्यापक र विस्तृत विषयभूमिमा काव्यिक विचरण गर्दा तिनी समाजशास्त्र, भाषा, संस्कृति, जनचेतना, दर्शन, राजनीतिदेखि पनि टाढिँदैनन्। तिनको शब्दगत वैविध्य र भावगत फैलावटको धुरी भने सधैं जनता। यसो र तिनको विश्वजनीन लोककेन्द्रिक वैविध्य नै तिनको अनन्य-अनुपम-अतुलनीय (नजस्तै) काव्यिक-व्यक्तित्वको ओज भइदिन्छ। विषय-मुद्दाको विविधताले गर्दा तिनका कविता पढ्दै गर्दा एकरस अनुभव गर्नु पर्दैन। साधारणीकृत भाव-बौद्धिकताले गर्दा तिनका कविता पढ्दा बल लगाउनु पर्दैन। नेरुदाको काव्यिक लोककेन्द्रिकता बढ्दो सामाजिक आत्मकेन्द्रिकताको विरोधमा उभिएको अटब्बे आह्वान हो। नेरुदाका कवितामा पाइने ल्याटिन अमेरिकाली हावा-माटो-पानीको मानसिक 'क्षेत्रीय गन्ध' आजको उदार देखिने (सङ्कीर्ण) 'ग्लोबलाइजेशन'-को उत्तेजक पर्फ्युमलाई टक्कर दिन सक्षम छ।

˜जति नै प्रकृतिको कुरा लेखे पनि तिनले मान्छेको मूलभूत समस्या, स्थिति र अस्तित्वलाई अभिव्यक्त गर्न भुलेनन्। जति नै प्रेमका फन्तासी लेखे पनि सङ्घर्षको सच्चा कथा हाल्न भुलेनन्। तिनी 'सुदूर'-को आकर्षणले मोहित भए तर तिनका पाउ जमीनमै थिए। न त परे कुनै रोमान्टिकताको अल्झोमा, न रहस्यवादको जालोमा। सधैं जनताको दुख-दर्दले छोइए। जनताको मुटु र सपनालाई छोए। जनताको चित्रकारी नै गरे शब्द र भावका छिनोले इतिहासको पत्थर कपेर। नेरुदा त्यसैले 'जनकवि'। विश्वचर्चित लेखक गाब्रिएल गार्सिया मार्क्वेजले नेरुदाबारे यसो भनेका छन्, "कुनै पनि भाषाका-बीसौं शताब्दीका-महान् कवि"। अवहेलित, पददलित, शोषित-उत्पीडित मजदुर-किसानजस्ता आम मान्छेको आवाज भइसकेको थियो तिनको कविता। बाह्र वर्ष लगाएर तिनले 'क्यान्तो जेनेरल' (सामान्य गीत) लेखे। सर्वोत्तम ल्याटिन अमेरिकी महाकाव्य मानिने यो कृति सन् 1950-मा प्रकाशित भयो, जसमा तिनले अद्भुत काव्यकला प्रयोग गरे।

˜ एकसाथ कवि, राजदुत, शरणार्थी, राजनेताजस्ता विविध व्यक्तित्व वहन गरेकाले नेरुदाको कवित्व पनि बहुमुखी छ। जीन फ्राङ्कोको शब्दमा नेरुदा यस्ता एक विराट कवि हुन् जसले आफ्ना कविताद्वारा शीशा, काठ, मेज, कुर्सीजस्ता ठोस चीजबीजको चारैतिर खडा मौन पर्खालहरू भत्काउने उत्कण्ठा व्यक्त गर्छन्। कविता सोझो लेखे। सरल लेखे। सोझो भाषामा, सरल संरचनामा तिनका बहुविध कविता विश्वस्तरीय, उच्चस्तरीय र लोकप्रिय छन्। सरल लेखेर कसरी उत्कृष्ट कविता गर्नु, त्यो हामीले नेरुदाबाट सिक्नुपर्छ। तिनी यस्ता उत्कट मूल्य खोज्न चाहन्थे, जसको कुनै विकल्प हुँदैन। दैनन्दिन जीवनका विषयवस्तुको अनौठो काव्यिक कैरन गर्ने कला तिनमा थियो। तिनका फुर्तिला कविता संसारभरिकै मानवमाझ एक सामान्य सूत्र स्थापित गर्न खोजिरहेका हुन्छन्। तिनको माटो र हावाको कुराले हामीलाई तिनका कविता पढ्न, बुझ्न र अनुभव गर्न रोक्ने होइनन्। तिनको क्षेत्रीय प्रसङ्ग सङ्कीर्ण छैन। त्यो छ विस्तृत, उदार र सार्वभौमिक। त्यसैले नेरुदालाई पढ्दा लाग्छ, आफूभित्र चुपचाप उभिरहेको कोही बोल्नथालेको छ। चलमलाउन थालेको छ।

˜सामान्य परिवारमा सन् 1904-मा जन्मेका नेरुदाले बाल्यकाल दुखमा बिताए। तेह्र वर्षको हुँदा पहिलो कविता लेखे। 1920-को दशकमा तिनी बारसेलोना, रङ्गुन, कोलम्बो, जाभातिर राजदुत भएर गए। यस कालमा तिनले एकाकीपनको अऩुभव गरे। अस्तित्ववादी भावधाराका कविता लेखे। साम्प्रदायिक फासीवादी र रिपब्लिकनहरूमाझ लागेको स्पेनी गृहयुद्धमा तिनले भूमिगत रूपमा गणतन्त्रको रक्षार्थ सचेत एवं सजग काम गररिहे। फासीवादीको लक्ष्यमा रहेका रिपब्लिकनहरूलाई देश छाड्न सघाएकोले तिनले नोकरीबाट हात धोए। अभिन्न कवि-नाट्यकार मित्र फेदेरिको गार्सिया लोर्कालाई गृहयुद्धमा हत्या गरिएपछि तिनी दुखी भए। झन् भए खरो 'जनताका कवि'। तिनी निर्वासित भए। 71-मा नोबेल पुरस्कार दिइयो। आत्मकथा 'मेमोइर्स' (स्मृतिहरू) सिद्ध्याएपछि 73-मा यी जनकविले अन्तिम श्वास फेरे। नेरुदाको जन्म दिन 12 जुलाई।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 भाद्र, 2067

लेखकका अन्य रचनाहरु