इर्ष्या

- सन्जु बजगाईं

बाह्र बर्ष भएछ । शास्त्रमा भने जस्तो, तपस्या गर्ने हो भने पुर्णतः फल प्राप्त हुन्छ । तर फरक भैदियो । उसको बाह्र बर्षे समयावधि कुहिराको काग जस्तो । नोकर्नीको दर्जामा ल्याईएकी थिई । आजसम्म दर्जा उही छ । उसको दर्जा बाहेक धेरैथोक परिवर्तहरु भए । समग्रमा भन्नु पर्दा सम्पूर्ण समय नै बदलिएको छ ।

घरमा धुमधामको भोज थियो ऊ आईपुगेको दिन । निम्तालुहरुको भीड थियो । बडेमानको केक काटिएको थियो । उसले पनि केकको एक टुक्रा र भोजका अन्य परिकार खाएकी थिई । अब फेरी अर्को धुमधामको भोज हुनेवाला छ । बर्षौपछि ।

सुवर्णको भोली बिहे छ । उसलाई भने हेक्कै रहेन यसरी समय बितेको । रेल दौडाई छ दैनिकीको । यथार्थतः ऊ जीवन्त रेल हो । रोकिनुपर्ने ट्रयाक नं. तोकिएका छन् । पिठ्युँमा झुण्ड्याईएका कामका डब्बाहरु लिएर ओहर दोहर गर्नु नै उसको दैनिकीमा पर्छ । आजपनि दिनभरको कामको चटारो छिनालेर मध्यरातसम्म दुलहाको मालाको दुवो केलाउन भ्याई । थकान रोक्न असमर्थ उसले अन्तत लामो हाई काढी । “रमिताले सुत्न गए हुन्छ अब बिहान चाँडै उठ्नु ।” अफिसर्नीले आदेश र अनुमति एकै पटक दिईन् । अफिसर्नी आदेशको पर्याय हुन् ।

हतारहतार...................., भ¥याङ्गका खुड्किला ओर्लिई । ढोका खोलेर भित्र पसी । यहीं छ उसको संसार । दश बर्षकी हुँदादेखि पाएकी उसले यो सानो कोठा । बाह्र बर्ष कटिसकेका छन् यसैभित्र ।
“शुभरात्री साथी हो ! म आउन अलि ढिलो भो ।” सम्बोधन गर्छे उसका निर्जीव हितैषीहरुलाई ।
सधैजस्तो जवाफ मिलेन । न कुर्सी बोल्यो न भित्ताहरुले साउती मारे । न त बलिरहेको चीमले आँखा झिम्कायो । सबले तिरस्कार गरे । सुम्सुम्याउन सक्नेगरी ठडिएका यी भित्ताहरु र छुनसक्ने गरी फिजारिएको यो सिलिङ्गभन्दा नजिकको उसको को नै छ र वर्तमानमा ? उसका हरेक निद्रा निदाउँदाका पहरेदारहरु ।

“ए भित्ताहरु हो ! आजको रात सकिना साथ भोलिको प्रभातमा सुवर्ण बेहुलो बन्दैछ ।” उसले सुनाई ।

भित्ताहरुका कान हुन्छन् भनेको सत्य हुनुपर्छ । यीनका कानहरुसँग सबै डराउँछन् । भित्ताहरुले कुरा बुभ्ने गर्छन् । यही नदेखेको सत्यसँग उसलाई हरेक रात साउती मार्न मन लाग्छ ।

“उसो भए तँ पनि जन्ति जाने भईस् त ?” केहीबेरको पर्खाईपछि नाकै छेउको भित्तोले मुख फर्कायो ।

“उल्लु ! म कसरी जन्ति जान्छु ?” भित्तोलाई चिमोट्छे ।

“त्यसो भए तँ दुलही भित्राएपछि ढोका छेक्छेस् ?” ढाड पछिल्तिरको भित्तो बोल्छ ।

“म ढोका कसरी छेक्न सक्छु ? सुवर्णले मलाई बहिनी मान्छ र ?” ऊ थप्छे ।

“छोड यी बेतुकका तर्कहरु । यथार्थत तँ सुवर्ण खोसिएको महशुस गरिरहेकी छस् ।” अन्तिम भित्तो मनको कुरो थाहा पाए झैं बोल्छ ।

“तँ दोषी भित्तो बोलिरहेको छस् । खोसिनको लागि पहिले आफूसँग हुनुप¥यो नि !” बिमति जनाउँछे ।

“के गर्छेस त तँ ? बाईस बर्षकी भईसकिस् । बाह्र बर्षदेखि आफुले आफैलाई बिभेद गर्दै ल्याएकीछस् ।” दाहिनेतिरको भित्तो अलि बढी नै राग ओकल्छ ।

“बिभेद मैले किन गर्नु ? त्यसका लागि अरु नै काफी छन् । तँ अन्जान नहुदोहोस् ।” ऊ बोल्छे ।

धमिलो चिम झपक्क निभ्छ । लोडसेडिङ्ग छ हिजोआज । अन्धकारभित्र घमासानले रुमलिएको मध्यरात कटाउन मुश्किल छ । मध्यरातसँग डराउन उसकी आमाले सानैमा सिकाएकी । मध्यरात भएपछि भुतले खाजा खाने गर्छ अरे । के थाहा त्यो भुतको भाँडोमा आफु पर्ने हो कि?

“मेरी आमा पनि कस्ति ! दिनमा देखिने भुतको डर कहिल्यै देखाईनन् । यस्ता कयौ भुतहरु दिउँसै खुलेआम हिडिरहेका छन् । तिनलाई के थाहा त्यो गाउँको कोप्चोभित्र ।”अँध्याँरोभित्र आफ्नी आमाको धमिलो आकृति ! ऊ अपवाद कहाँ हुन सक्थि र ?

“रमिता ! निर्दोष भएर भनुँ भने सुवर्णको बिहे त भ्रम हो । यो घरकी अदृष्य बुहारी तँ होस् । कलिलै भित्रयाईएकी ।” भित्तो मलिन भएर बोल्छ ।

“आखिर मदनसाबले आफ्नो छोरोको बिवाह धुमधामले रमितासँग गरिदिदा के हुन्थ्यो त ?” अर्को भित्तो बोल्छ ।

सत्य हो यो । रमिताले यस घरको कुना–कुनालाई जति नजिकबाट छोएकी त्यति त अफिसर्नीले पनि छोएकी छैनन् । कसलाई के मन पर्छ, कसका लुगाफाटा मैलिएका छन्, कुन बिस्तरको तन्ना बदल्नु पर्ने हो, कसलाई बिसन्चो छ इत्यादीको अन्दाज अफिसर्नी लगाउँदिनन् । सबै उसैले गर्नुपर्छ । बेईमानी गर्न मन मान्दैन उसको ।

“उसो भए यस घरकी बुहारी हुन केले रोक्यो त मलाई ?” जिब्रो रोक्दा–रोक्दै फुत्किन्छ ।
“तेरो सामाजिक हैसियतले ।” कुर्सी चँुईकिन्छ ।

“मेरो ईमान्दारीता, सुन्दरता, शहनशीलता अनि मभित्रको क्षमताको केही मुल्य छैन त ?” प्रश्न तेस्र्याउँछे ।

“छैन । किनकी तेरा बाबुआमा कुनै बिकट गाउँमा मकैको ढिडो नुनसँग चोबेर खाने गर्छन् अनि हरदिन हाड घोटेर पनि बिसन्चोमा मल्हमपट्टी लगाउन असमर्थ छन् । त्यसैले ।”माथितिरको सिलिङ्ग बोल्छ ।

“जसले जे खाएपनि उदेश्य त जीवन जीउँनु हो नि ।” ऊ भन्छे ।

“होईन ।” ढोका मुख खोल्छ ।

सिलिङ्गको चिम पुनः बल्छ । घण्टा झिमिक्क बितेछ ।

++++++++

बिहानैदेखि घरमा चहल–पहल छ । रङ्गीएका र ठाँटिएका निम्तालुहरुको भीड छ ।
“रमिता सुवर्णको चियाको कप पु¥याईदे त ।” अफिसर्नी च्याँठिईन् ।

“हस् ।” सधैं झैं जवाफ दिन्छे ।

उसले चियाको कप टक्राएको यो पहिलो पटक होईन । घडीले बिहानको सात नबजाउँदै घरका सबैले चिया पाईसक्थे । फेरी–फेरी परिकार पकाएर ख्वाउने उसको सौख नै हो । तर आजको चिया टक्राईमा हिजोका दिनमा जस्तो सामीप्यता भेट्न सकिरहेकी छैन । खेदिए जस्तो, लत्याईए जस्तो अचम्मको भान भैरहेछ । हिजोसम्म कसैले आफ्नो नस्वीकारे पनि आफ्नै हुँ र आफ्नै हुन् भन्ने भ्रमित रेखाले डो¥याएको थियो । आज शायद यो रेखा कुनै विन्दुमा गएर रोकिएको छ या त्यसले दिशा बदल्दै छ । सत्यतः रमिता सुवर्ण टाढिएको महशुस गरिरहेकी छ । नजिक्याउने उसँग सामथ्र्य र संयन्त्र दुवै छैन । सामाजिक दुरी र संरचना हो यो । यस्तै चलिआएको छ यहाँ । नोकर–चाकर, राजा–रैती, ठुलो–सानो, धनी–गरीब ! अचम्मको छ संरचना । पहिले मान्छे त्यसपछि अन्यकुराहरुले महत्व राख्नु पर्ने प्राकृतिक नियमहरुलाई पैतालामुनी कुल्चिएर हिड्दाको गन्तब्य आखिर माटोमै समाहित भएर टुङ्गिन्छ । थाहा छ सबैलाई । तर श्वाप्रश्वासले साथ दिउन्जेल कसैले एकमात्र भावी सत्यलाई स्वीकार्न सक्दैनन् ।

भारी मनले हलुङ्गो चियाको कप बैठकमा ठाँटिएर बसेको सुवर्णलाई टक्रयाई । मुस्काएर धन्यवाद दियो उसले पनि सधैझै । फरक छ ऊ अरुभन्दा । मान्छेको सम्मान गर्नु पर्छ भन्ने कुरा कुन समाजबाट सिकेको हो उसले, रमितालाई थाहा छैन । तर सुवर्णले सधै उसको कर्मको सम्मान गरेको छ । दुर्भाग्य सम्मान एउटाले मात्र गरेर संरचना बद्लिनेवाला छैन । ‘नोकर्नी’ हुनुको हैसियतले उसको अस्मिता बिना मुल्यको बस्तु जस्तो भैरहेको छ । उसका ईच्छा, चाहनालाई बुभ्ने मान्छेको दृष्टिकोण सस्तो छ ।

संझिन्छे– दुई दिन अगाडि घर छेउको पसलेले बोलायो र भन्यो –“भोली मेला घुम्न जाने हो सय रुपैयाँ दिन्छु ।”उसले आँखामा आँखा जुधाएर मौन जवाफ फर्काई । निरीह पीडा पीउनु बाहेक केही बिकल्प छैन उसको । दश बर्षको उमेरदेखि चिया र चिनीको पोको बोकाएर पठाउने पसलेले अन्त्यतः आफुभित्रको पशुत्व देखाएर छोड्यो ।

पसले मात्र अपवाद होईन । कैयौै भेटेकी छ उसले । आँखा उघारेर आकाश हेर्न मुश्किल छ यहाँ । छाती फुलाएर सास फेर्न गाह्रो छ । निराकार खुम्चिएर, गुम्सिएर बाँच्ने संझौता जन्मिदै भएको छ उसको । वास्तवमा आफ्नो नाम रमिता जस्तै ऊ स्वयं रमिता हुनेगर्छे । तर एकातिर सोम शर्माको जस्तो सपना पनि कहिलेकाहीं जीन्दगीको पाटो बन्न पुग्छन् । अर्को तिर एक पटक मात्र कुद्ने जिन्दगीको रेललाई भने समयमा समात्न नसक्दा पश्चाताप हुने निश्चित छ । उसको त्यो रेल कुद्नै लागेको छ । छुट्नै लागेको छ ।

बिहेको बाजा बज्न थाल्यो । आँगन माथिको आकाश धुनहरुले मुग्ध भयो । बेहुलो दौरा–सुरवालमा सजियो । अफिसर–अफिसर्नीले टीका लगाएर सगुन ख्वाए । घोडामाथि सवार भएर दुलहा अन्मियो एउटी नारी आकृति अपनाउनलाई । उसले आँखा तन्काईरही । जन्तिको लस्कर अदृष्य हुदैगयो ।
++++++++
झिमिक्क सन्ध्या नहँुदै बाजा बजाउँदै जन्ति फर्किए । झपक्क सजिएकी दुलहीलाई विधिवत् भित्रयाए । सासु–बुहारीको चुल्ठो जोडाजोड भयो । छोट्याएर काटेको कपाल भएकी बुहारीको अफिसर्नीले खोजेजस्तो लरक्क चुल्ठो थिएन । गुट्मुट्याएर बनाएको जुरोभित्रबाट कपालको एक त्यान्द्रो झिकेर चुल्ठो जोडिदिए । दाईजोमा आएको सरसामानको लामो लस्कर भने आँगनभरि थियो ।

केहीदिन नबित्दै दैनिकीमा परिवर्तन भएको महशुस हुनथाल्यो रमितालाई । उसलाई लाग्यो अफिसर्नीले कामको वर्गीकरण गरिन् शायद । अथवा नयाँ दुलही असल खालकी परिन् । यत्तिका बर्षदेखि सन्चो–बिसन्चो नभनिकन घरका काम भ्याई–नभ्याई उसैले सिध्याउनु पथ्र्यो ।

“एकाएक भ्याउनु पर्ने कामको सूचीमा कटौति !” ऊ हर्षित भई ।

“दुलहीको मन कोमल जस्तो छ ।” अन्दाज लगाई ।

“पढेलेखेकी मान्छे ! पक्कै अफिसर्नी जस्ति छैनन् ।” दुलहीछेउ आफ्ना भावना पोख्न मिल्ने अर्को अड्कल काटी ।

मन पनि फुरुङ्ग भयो उसको । बन्द पिंजडा एकपलका लागि नै किन ? खोलिदिए जस्तो । नयाँ दुलहीलाई साथी झैं, दिदी या बहिनी पाएझैं भान भो । अपेक्षा बढ्न खोजे । हिजोसम्म कताकता सुवर्ण टाढा भएको महशुस गर्ने मनलाई बेईमान देखि । अन्त्यत दुलही नै नजिक लागिन् उसलाई ।

हर्षित मनले निद्रा पर्न भाँजो हाल्छ भन्छन् । दिनभरको ब्यस्त समय सकेर सुत्न लाग्दा निन्द्रा परेन उसलाई यो रात । सिलिङ्गको चिम निभाई । ढोका ढक्ढकायो कसैले । उठेर चिम बालि । अफिसर्नी रहिछन् ।

“मैले टेरासको बत्ति निभाएकी छु ।” टेरासको बत्ति ननिभेमा अफिसर्नी रमितालाई यसरी नै ब्युँझाउन आईपुग्थिन् ।

“बत्ति निभेको छ ।” अफिसर्नी भित्रै पसिन् ।

“तँलाई अर्काको घरमा कत्ति रुँगेर बस्नु भन्ने लागेको भए अब आफ्नो खुशी गर्नु । दुलहीले सबै सम्हाल्न सक्छु रमितालाई छोडिदिए हुन्छ भनेकी छन् ।” अफिसर्नीले पहिलो साथै अन्तिम कुरो खोलेर निस्किईन् । ऊ बन्चरोले चोईट्याउने मुढो झैं नीर्जिव खडा थिई । उसका वरिपरी दुलहीका र अफिसर्नीका शंकालु आँखाहरुले स्वयंभुका आँखालाई चुनौति दिईरहेका थिए । ती नारी शंकालु आँखाहरु तिनका कालो मनभित्रबाट बिनाकारण संचालित पक्कै थिएनन् । उसले स्पष्ट बुझी ।
ब्रसेल्स, बेल्जियम

साभार: मिर्मिरे मासिक २०६७

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 12 भाद्र, 2067

लेखकका अन्य रचनाहरु