डायस्पोराको मान्छे

- होमनाथ सुबेदी

म थिएँ, अमेरिकामा । हंस नेपाल हुन्थ्यो । हराएको मेरो रूप । डायस्पोराको म दुईवटा काला घोडा चढी निरुद्देश्य मकैबारीभित्र दौडिरहेको थिएँ । मकैबारीमा हरियाली थिएन । सुकेका डाँठहरू ठडिएका थिए । केही पर लोस थियो । पशुहरू चरिरहेका थिए । मलाई लाग्थ्यो– ती वन्यजन्तु थिए । माथिल्लो गराबाट एउटा टाटेपाटे प्रचण्ड बाघ फराल्यो । तल्लो गरामा अर्को बाघ राजाले सिंग थापिरहेको थियो । ती ड्याम्म जुधे । त्यसको नादले मेरा घोडा तर्सिए । म भागें पछिल्तिर मैले ठानेको थिएँ । म र मेरो दोस्रो चाहि घोडा त बाघको जुधाइ काटेर अघि बढे होलान् । पछि फर्केर हेरें । जुधेका बाघ थिएनन । ती त बसाहा थिए । सिंग उनको थिएन । जुरोको थुम्को नै ठोकेर लड्दै थिए । उनको मुन्टो टाङमुनि परे पनि उनलाई प्रवाह थिएन । सायद, उनलाई आफ्नो जीवनको सुरक्षाभन्दा अर्काको जीवनमा असुरक्षा उत्पन्न गर्नुमै आनन्दानुभूति भैरहेको थियो क्यारे । होक्काँ, होक्काँ गरी कराइरहेका थिए । म र मेरो दोस्रो घोडा देखिन तर सायद म नै छाया थिएँ । मैले सुनें एक खित्को हिहिहि हिहिहि । दायाँतिर हेरें ध्वनि थिएन केवल मेरो आफ्नै छायाले मुख बन्द गरेको जस्तो देखें । पूर्व फर्केर हेरें सूर्य थिएन । न उनी मध्यमाञ्चलमा थिए न अस्ताञ्चलमै । यो थियो अमेरिकाको डायस्पोरक दिनको मध्याह्न । मध्यरातमा पनि किन यो छायाले मलाई पछ्याइरहेको छ ? मलाई शंका लाग्यो, कही म नै छाया त होइन ? यो डायस्पोरामा मलाई होइन, छायालाई नै मैले पछ्याइरहेको त छैन कही ? हुन पनि यसो विस्तारै छातीमा छामें । मेरो छाती थिएन ।

यो कथा सुन्नेलाई पनि अजीव लाग्ने । यो कुन नयाँ डायस्पोरिक संसारको जीवन कहानी रहेछ । पात्र ‘फरेन ल्यान्ड’को गति ‘मदरल्याण्ड’को । त्यस बेला तक म फर्केर पुनः वसाहाको जुधाई भएको ठाउनेर पुगिसकेको थिएँ । ऐले त्यहाँ वसाहा थिएनन् थिए पद्मबहादुर मुखिया र चक्रबहादुर जिम्वाल । साझा गौचरन कस्को नाममा दर्ता गर्ने ! को हो त्यसको हकदार ? दुवै पूर्णत आत्म केन्द्रित थिए । एकदोश्राले एकअर्कालाई गालामा झापट दिएर कुटाकुट गरिरहेको थिए । मैले वास्तै गरिन ।

तिनीहरूसित मेरो घोडा तर्सेन पनि । म मैदानको ठूलो गराबाट अगाडि बढेँ ठाडो बाटो काटेर । अ‍ैसेलु र चुत्राका काँडाले मलाई कोतर्दै थिए । स्टार वारमा होमिएको मलाई गोर्खाली खुकुरीको धार देखाएको दृश्य देखेर म खित्का छोडिरहेको थिएँ । मैले घोडाको लगाम नै छोडी दुवै हातले मुख थुनें । त्यो रातमा देख्ने को थियो र ? म जति हाँसे पनि हुन्थ्यो तर म सर्माएँ । सायद म भित्रै पनि यौटा अर्को मानिसले चियाइरहेको थियो क्यारे । किन नहोओस् । मेरो शरिर त डायस्पोरिक अचानोमै परेको थियो ।

वेलगामको घोडा रोकिन्थ्यो कसरी ? त्यो घोडाले गुडायो चारपाङ्ग्रा तीव्र गतिले । उसले मैदानको मकैवारीलाई विमानस्थल बनायो, भन्ज्याङ्ग पार ग¥यो । ऊ थिएन धरतीमा । उसले नदिनाला डाँडाकाँडा सबैलाई नाघेर मैदान बनाइरहेको थियो । मैले यसो आफ्नै शरीरमै मोडिएर हेरेँ । म पनि त्यही घोडैमाथि थिएँ । मलाई लाग्यो–त्यो वाइपङ्खी घोडा रहेछ क्यारे । म किन न खसेको ? के म त्यही हावामा नै जिइरहेको थिएँ ? मृत्युको आकासमा अमरताको झण्डा फहराएर झुण्डिरहेको थिएँ । मैले हेरेँ तल । कोही थिएन । तर यौटा कुकुर भने तत्काल भुक्दै आयो । कुकुरको रग हरियो र पहेलो रंगले रंगिएको थियो । ऊ भुक्थ्यो पक्कै टोक्नलाई । तर दाँत उसका कुडिइसकेका थिए । उसको गलो सुकिसकेको थियो कसैको रगत पिउन नपाएर । म त थिइन त्यहाँ ? मैले त मेरो यौटा प्लाष्टिकको आकृति बनाई त्यसैमा ‘हार्ट इम्प्लान्ट’ गरी पठाएको थिएँ । मलाई टोकेर रगत आउन्नथ्यो । मसित रोएर मेरो आँसु आउन्नथ्यो । म त कस्तो साँच्चै सुख र दुःखबाट मुक्त जीव थिएँ । म त मध्यरातमा भालदेखि कपालको सिउँदो छुदै गर्धनतिर लगेर सुषुम्नामा जडान गरिएको इलेक्ट्रिक स्वप्न रेकर्डिङ कम्प्युटरको एक ग्राफ थिएँ । केवल कोरिएको ..........हिमालको एक टेडोवाङ्गो नाप थिएँ । केवल आकृति मूलक अभिव्यक्ति । को पढ्न सक्थ्यो भाषामा ? विना अनुभूति,विना तीक्ष्ण दन्त पछि विना डायस्पोरिक समालोचनाको चेत गाढ्यो दाँत मेरो गोडामा अनि उडिरहेको घोडामा । मेरो टाउको त हल्लिन्नथियो तर मेरा दुइकानले देखे–यौटा कुकुर टुक्रिएर, हरियो दायाँ पहिलो बाँया, कुुइय्याँ कुइय्या गर्दै छोडेर दाँतै, भागिरहेको थियो । मैले ठूला ठूला ओठ पल्टाएँ अनि एकवार शिर हल्लाएँ–म के गरु ? दुइवटा मात्र दाँत देखाएँ । मेरो मुखबाट घृणा र सहानुभूतिको प्रश्वास एकै मुठो बनेर स्वाट्ट निक्ल्यो–यसमा मेरो के दोष ?

त्यस बेला मैले सोचिन–म मात्र निर्दोष भएर जिउन सकिन्न । म के हुँ । आफैले आफैलाई मात्र पिउन सकिन्न । उसको पनि दोषको दुर्निवारण हुनुपर्छ । आजको कुकुरलाई हामीले मानिस बनाउन सक्नुपर्छ । मेरो यो । मेरो यो ‘प्लाष्टिकको शरीरलाई पनि हात मुख जोर्ने हक दिइनुपर्छ । मेरो थुनिएको मुखलाई पनि जिब्रो फट्कार्ने कला कोरिनै पर्छ । जिब्रो फट्यार्ने कला कोरिनै पर्छ । म यस्तै के के सोचेर किमिचौरको डीलमा उभिएको थिएँ । थिएनन् मेरा घोडा, थिएन कुनै जोडा । हेर्दाहेर्दै कुन बेला परिवर्तन भयो कुन्नि मलाई थाहै भएन ।

किमिचौरको पूरा खेतको फाँट एक रंगशाला बनेको थियो छेउछेउमा असंख्य साना–साना पक्की भवन थिए । म विना टिकेट नै भरखरै भित्र पसेर ठिङ्ग उभिई दशरथ रंगशालामा हेरिरहे जस्तै गरी उभिएको थिएँ । सात पार्र्टीका नेताहरूको भाषण थियो । मलाई अचम्म लाग्यो– कहिले पोखरा मुस्ताङ्ग राजमार्ग बनिसक्यो ? कहिले बेनीबाट यस गाऊविकास समितिका किमिचौरसम्म मोटरेलबाटो चुहिसक्यो ! म थिएँ किमिचौर नै । रंगशाला भित्रै । वाहिर वाशिङ्गटन डी. सीं.को भीडमा कार पार्क गर्ने खाली ठाउँ नपाए जस्तै गरी मानिस घुमिरहेका थिए । डायस्पोराको नेराफेरा भित्रै ।

मैले एकवार आँखा मिचे । रंगशालाको केन्द्रमा हेरे । मलाई शंका लाग्यो मेरो आँखामा कसेर त परको छैन ? दुवै हातले आँखा मिचें । अझै मैले कुनै मल्लयुद्ध भएको देखिन । सिटहरूमा हेरे – सबै रिक्त ! फेरि रंगमञ्चमा हेरें । कोही थिएन , कोरा शून्य ! तडडरररर तालीको ध्वनिले मेरो कान रोपियो – जित्यो दाह्रासिंहले !! प्रचण्डले ! पल्टायो पहलवान नेपालले ! क्राग्रेसको गेमले आकाश गुञ्जियो । मैले फेरि दृढ निश्चय साथ आँखाको परेला माथि खिचेर तीक्ष्ण दृष्टिले हेरें – धत! च ! अझै केही देखिन ! म विस्मित थिएँ ! म हेरिरहेकै थिएँ । दृश्य कुन बेला बदलियो ? म छक्क परें । रंगमञ्चमा कार्तिके धानका वाला झुलिरहेका थिए । कुकुर विरालाका शवले दविएर कुनै कुहिरहेका थिए । थियो यौटा खरानीको थुप्रो ! दर्शक, त्यसलाई धानको रास भन्थे । केन्द्रमा थियो काठको मौलो ! श्रोता त्यसलाई सुनको भन्थे । लेखिएको थियो ‘जीवन–मृत्यु’ । पाठक त्यसलाई ‘जीवन–मुक्त’ भन्थे । बाँसका घाराका लिङ्गाभित्र कोरिएका याजक तर्सिएर मृत्युदेखि खण्डित भैसकेका थिए । दुलही रुन्थिन् । छोराहरू हाँस्थे । सयभाइ छोरा बाँसको घारामा बाबुलाई तेर्साउन झ्याइँकुट्टी पार्दै थिए ।

मैले लामो सास फेरें । एकवार ललाटमा छामे अनि आँखा मिचेर पुनः रंगमञ्चमा हेरें । न त्यहाँ धान्य पर्वत थियो, न त्यहाँ किमिचौरको रंगमञ्च । म झस्किएँ –म पागल त भइन ? मैले म स्वयम्लाई निहारे । त्यो डायस्पोरा पनि हैन । तर म थिएँ अमेरिकामा । केही क्षण हराएँ र झस्किएँ –काया डायास्पोरामा माया नेपालको स्वपिल संसारमा ।

म उही पूर्वीस्थानमा अबोध शालीक जस्तै उभिएकै थिएँ उही रंगशालामा । तर मेरो पेट रित्तो थियो । मैले फेरि तल जमिनमा हेरें । त्यहाँ धानको रास थिएन । न थियो याजकको लाश बरु भोज थियो । असंख्य मानिस त्यो सत्रमा गई टपरी थापेर खादै थिए । म पनि फटाफट झरें । पर गएँ । बाटो भेटाइन । वर आएँ बाटो भेटाइन । फेरि तल माथि यता उता घुमें । सत्रको भोजमा पनि मैले मौका छोप्न सकिनँ । म कस्तो अभागी ! धिर्कार्दै थिएँ । म कति दिनको भोको थिएँ । मैलाई थाहा थिएन । म हराएको थिएँ । त्यो हराएको भन्ने अनुभूति पनि कति दिनदेखि हराइसकेको थियो । म हराएको हराएको मानिस कुन बारले मलाई बाटो छोड्न सक्थ्यो ! हराएरै म कता कताबाट बाटो बिरिएर तलबाट रंगमञ्चमा उक्लें, डायस्पोराबाट फुत्कें । तर त्यस वेलासम्म जुठा टपरीहरू च्यात्तिएका दुनाहरू मात्र त्यहाँ थिए । अर्को ठाउमा गएँ – पेपर प्लेट र पेपर टावेलहरू मात्रै फ्याँकिएका थिए । अर्को ठाउँमा गएँ । त्यो शौचालय रहेछ ! फेरि मैले दोहोराएर सोचें – हरएक प्राणीको मल काउलीमा वा मुलामा हाल्न हुन्छ भने त्यसलाई परिशोधन गरी भोजन बनाउन किन न हुने ? आखिर हुँ त म प्लाष्टिककै । म मा ‘म’ रहेकै के छ र ? मातृभूमि र परदेशबमट बनेको यो डायस्पोरिक चेत मान्छेहरू ‘रोबोट’ वाहेक बचेकै के छ र ?

म सोच्दै थिएँ – हुन त यसो गरे पनि हुन्थ्यो – दुई प्रकारको खाना खाने मानिसको नियम ! यसो गर्दा कम्तिमा म जस्तो निर्वासितले ‘मल’ नै खाएर पनि मानिसको रूपमा केही दिन आयु बढाउन त सक्थ्यो ? मृत्युको बन्द कोठामा जन्मिएको म कति दिन सास फेर्न सक्थें कुन्नि ? पूँजीले नङ्गयाइएको म जे पनि खाना हुने स्वतन्त्रता पाए खुलारूपमा कति मलका थुप्रा तात्तै खाइदिन्थे कुन्नि ? कति रहर होला मातृभूमिमा जिउनुको मलाई । अरूले तच्छण चोइटाइदिए किन हो कुन्नि ? म त्यहाँ छदै थिइन ।

दुई पहाडको वीचबाट बहेको नदीको किनारमा यौटा डायस्पोराको पक्की सडक थियो । ओलो भित्ता पल्लो भित्तामा धुपी र सल्ला हल्लिरहेका थिए । ठन्डीको समय , म नाङ्गै थिएँ । हावाका झोक्काले – दुवै पहाड ममाथि लोटाइदेला जस्तो गरेको थियो । म दुई हातले नाग्लो समातेर विस्तारै उकालोमा पैदल हिड्दै थिएँ । नाग्लोभित्र के थियो कुन्नि ? निक्कै थियो । सेता कोराले ढाकिएको थियो । मेरा हात जत्तिसुकै गले पनि मैले त्यसलाई जमिनमा राख्न हुन्नथ्यो । त्यो कसैलाई देखाउन पनि हुन्नथ्यो । म प्रतिवन्धित थिएँ । कसले मलाई त्यो काम लगायो ? के काम म गर्दै थिए ? त्यो सबै जान्ने हक नै मलाई दिएका थिएनन् । युग गए , तर मेरो त्यो सन्ध्या कहिल्यै वितेन । पल्लो पहाडको, माथिल्लो पहराको ककेरामा एक मानिसले मलाई चियाइरहेको देखिन्थ्यो । त्यो जवान, अधावधिक, पाश्चात्य पोषाकका थियो । नीलो वर्णको कपडाकित ईष्र्यालु दृष्टिले निर्निमेश उधो मुन्टो लगाएर मेरो नाग्लोलाई हेरिरहेको थियो । किन हो कुन्नि ? त्यो गिद्ध थियो कि ? मेरो पूर्खा र सन्तान सबैको शव के त्यही नाग्लोमा थियो ? वा ‘म’ ‘म’ नै त्यसैमा थिएँ ? म हिडिरहेको थिएँ । हिडाइकै लागि यो डायस्पोरामा जिउन अभिशप्त म मलाई धिक्कार दिदै पदयात्रामा नै थिएँ । हिडाइ बन्द नहोला तर यो ईष्यालु आँखाबाट त पार लाग्न सक्थें । मृत्युलाई त अंकमाल गर्नै पथ्र्याे तर यो पहाडलाई त नाघ्न सक्थें ! कसरी युग बदलिएको थियो कुन्नि ? म जत्ति उकालो चढ्थें, पछि फर्केर हेर्दा मेरा पाइतला बेंसीमा नै टाँगिएका पाउथें । म थकित थिएँ । तर ढल्न सक्दैन थिएँ । म पराजित थिएँ तै पनि मैले स्वतन्त्र मुटुको स्पन्दन बन्द गरेको थिइन । निरन्तर अश्रुधारा बहेर सुकी डायस्पोराको मेरो गालामा परेको कलेटी जस्तै पक्की उकालो सडकको यात्रामै म पनि थकित कलेटी परिसकेको थिएँ । किन हो आश मरेर हो कि कुन्नि मेरो रक्तश्राव चाही कहिल्यै बन्द थिएन । म एकाकी, विक्षिप्त मनसा उकालो चढ्दै थिएँ । कहिले नाग्लोेलाई शीरमा राखेर कहिले दुईहातैले उठाएर । कोरालाई हेरी त्रस्त भएर । मृत्यु + ‘ब्याकहोम’ + ‘फ्रन्टहोम’बाट बनेको एक डायस्पोरिक + अनाम मानव बनेर ।

चौतारी आयो । म विसाइ फेर्न चाहन्थें । मैले विसाइ फेर्न हुन्नथ्यो । यो कुरा एक मिनेटको लागि मैले भुलेको थिएँ । अचानक त्यो पिपलको बोट नै ढल्लो । चौतारी रहेन । बाटो सबै भत्कायो, म मात्रैलाई जिउन बाध्य बनाएर । त्यो रुखको भयावह नादले म तर्सिएको थिएँ । ‘मेरो देशै डुब्न थाल्यो । म तर्सिदै म अमेरिकाबाट ह्यात्त नेपाल फरालें । डायस्पोराबाट तल खसे । “धत ! सपनाले पनि मलाई सहन्न !” म सपनाबाट विपनामा खसें ।

म जुरुक्क उठेर कलम समाती उही उकालो लागें । वाशिङ्गटन डि.सी.को जागिरको उकालो । मोर्टगेज अटो र युटिलिटीको पेमेन्टको उकालो । नयाँ स्वप्रिल नेपालको नारा भाडा र भत्ताको उकालो, बि. बि .सी नेपाली समाचारको उकालो । यो मन न परेको ठाउमा बसेको डायस्पोरिक लेखनको उकालो ! परिचय हराएका मान्छेको कथाको उकालो ! कहिल्यै न सकिने ‘द्यौराली’को उकालो !

वुडब्रिज, भर्जिनिया

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 भाद्र, 2067

लेखकका अन्य रचनाहरु