निमित्त

- चंकी श्रेष्ठ ‘अभय’

अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट १०/१२ सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।

महानुभावहरू, म थिएँ एक लोपोन्मुख जङ्गली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले सके दुनियाँकै विरक्त पात्र सावित गरिदिएको थियो । खगेन्द्र थापा मगरको नाम संसारकै होचो मान्छेका रूपमा गिनिज बुकमा लेखाउने प्रयास हुँदैछ । संसारकै सबैभन्दा विरक्त मान्छेका रूपमा मेरो नाम लेखिन सक्छ किसक्दैन ? प्रश्नको सिरूपाते खुकुरी बारम्बार मनको अचानोमा बजि्ररहन्थ्यो ।

समाचारको खडेरी लागेको कति दिन भइसकेको थियो । सम्पादक बारम्बार चेतावनी दिइरहेको हुन्थ्यो, एट लिस्ट डेली एउटा न्युज, विक्ली स्कुप न्युज ।

खासमा मलाई बिट नै यस्तो दिइएको थियो जसबाट नियमित समाचार आउन सम्भव थिएन । अलि दुःखी मनको दोधारकै पनि खेल होला, कैयन् हप्तादेखि म समाचार भन्नलायक समाचार दिन असफल भइरहेको थिएँ ।

'किरण कपाली, के छ आज तिम्रो

न्युज ?' सम्पादकले सोध्यो ।

'सर आज एउटा साहित्यिक कार्यक्रमको न्युज मात्र छ । त्यसैलाई इलाबोरेट गरेर लेखूँ कि ?' भित्रभित्रै काम्दै, बाहिर अलि नरम भएको देखाउँदै मैले भने ।

'ड्याम द साहित्यिक कार्यक्रम ! त्यस्तो न्युजले के हुन्छ ? कसले पढ्छ ?'

'सर........' 'मिस्टर, डोन्ट यु वान्ट टु डु जर्नालिज्म ?'

'सर....'

'लिभ, लिभ राइट नाउ । अ स्कुप न्युज मस्ट बी सबमिटेड बाई टुमारो इफ यु वान्ट टु कन्टिन्यु द जब, ओके ?'

'ओके सर ।'

ओके त भनिदिएँ । यस्तो प्रश्नको निर्विकल्प जवाफ सायद त्यही हुन्थ्यो तर त्यस्तो कुनै समाचार दिमागमा आइरहेको थिएन । म उठेँ, उठ्नैपर्‍यो, युद्धमा उत्रनु छ भने । लगत्तै इन्टरटेनमेन्ट रिपोर्टर कुमारी उपाध्याय भित्र पसिन् । सम्पादक मुसुक्क हाँस्यो । कुमारी 'द भर्जिन' मुसुक्क हाँसी । देख्छु, सम्पादक निकै उत्साहित छ 'भर्जिन'प्रति ।

-ह्वाट डु यु हृयाभ टुडे ?

-सर, झरना थापाको हट इन्टरभ्यु ।

कुमारीले पि्रन्टकपी सम्पादकको अगाडि राखिदिई । सम्पादक मुसुमुसु हाँस्दै पढ्न थाल्यो । अन्तर्वार्तामा एउटा प्रश्न पहिलो सेक्स अनुभवबारे थियो । झरनाले निकै उत्तेजक जवाफ दिएकी थिइन् । सम्पादकले कुमारीप्रति मोहित मुस्कान फ्याँक्यो । कुमारी स्मित मुस्कानसहित अगाडि उभिएकी थिई । सम्पादकले 'एक्सिलेन्ट' भन्दै कुमारीसित हात मिलायो । सम्पादक र कुमारी दुवै खित्खिताएर हाँस्न थाले, जुन सुनेर दुवैको एकैपल्ट हत्यै गरेर हिँडिदिऊँजस्तो घृणाको गोली मनको बन्दुकमा भरिएर आयो ।

म त्यहाँबाट निस्किएँ । हराएको सामान खोज्न निस्केको मान्छेजस्तै समाचार खोज्न निस्किएँ भन्नुपर्ला । भोलिसम्म सम्पादकलाई कुनै एउटा स्कुप न्युज बुझाउनु छ । त्यसो त पहिलापहिला मैले ब्रेकिङ न्युज प्रशस्त गरेकै हुँ, जसको राम्रै चर्चा पनि भएको थियो, मैले भन्नुपर्दा । अरूले नभन्नुमा मेरो दोष छैन । तर सम्पादकले कहिल्यै मलाई प्रोत्साहन दिएन । उसको ध्यान सदैव पेज थ्रीका रिपोर्टरहरूले ल्याएको इन्टरटेनमेन्ट न्युज र ग्लेमरस तस्बिरमा मात्र आकषिर्त हुन्थ्यो ।

म हातमा क्यामरा झुण्ड्याएर हिँडेँ । समाचारसँगै अब तस्बिर पनि खिच्नु अनिवार्य थियो । तस्बिरबाहेक समाचार मात्र बुझाउँदा बारम्बार मैले हप्की खानुपरेको थियो ।

एक मन त लाग्यो- सम्पादक, समाचार संयोजक र चिफ रिपोर्टरलगायत सबैलाई जनही १५/१५ लात्ती हानेर हिँडूँ र नफर्कूं । त्यसो गर्दा भोलिदेखि बेरोजगार बन्न तयार हुनुपथ्र्यो जसको कल्पनाले मात्र पनि मलाई कहाली लागेर आउँथ्यो । परिवारमा मुटुरोगी आमा र किशोरी बहिनीबाहेक कोही थिएनन् । २० वर्षअघि एउटा दुर्घटनामा बाको निधन भएको थियो, जतिखेर म नाबालक थिएँ । एक दिन मर्नु त छँदै थियो, बाँचेको भए यतिञ्जेल उहाँ सामाजिक यातनाले बारम्बार मर्न बाध्य हुनुहुन्थ्यो । दुःखको कुरो, उहाँसँगै एउटा विद्रोहको पनि मृत्यु भएको थियो । मर्दापर्दा लगाइने सबैखाले जातीय परम्परागत काम विद्रोहस्वरूप बाले त्यागि दिनुभयो, जसका कारण हाम्रै समुदायमा उहाँ ध्रुवताराजस्तै एक्लो हुनुपरेको थियो । उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो -होइन, जान्नुमात्र हुन्थ्यो किनभने घरभित्र छिरेर गर्नुपर्ने भएकाले एउटा दलितलाई काम दिन कोही तयार हुन्नथ्यो ) । थोरै जमिन पनि तल्सिङ र दलाल मिलेर हामीलाई मोहियानी भागसमेत नदिई बेचिदिएका थिए । बालाई यदाकदा पाखामा ठूल्ठूला रूख चिरानी गर्ने काम दिइन्थ्यो । उहाँ भयङ्कर फाली भएको जङ्गी आरो तान्नुहुन्थ्यो । यसै क्रममा एक दिन मचान भत्कियो र काठले थिचिएर उहाँको मृत्यु भयो ।

बाको कुरा अब एकादेशको कथा भइसक्यो । हामी गाउँ छाडेर सहर आयौँ । आमाले जसोतसो हामीलाई पढाउनुभयो । अखबारमा म बारम्बार कविता र पाठकपत्र पठाउँथँे । एक पल्ट सम्पादकले सोध्यो, पत्रकार बन्छौ ? त्यसबेला खुसीका कति उडे, बयान शब्दमा कसरी गरूँ ? अर्को आकाश नै चाहिएला जस्तो भएको थियो ।

मेरो लेखनबाट सम्पादक प्रभावित थियो । दुर्भाग्य ! चाँडै नै सम्पादकमाथि 'कु' भयो । उसलाई कर्पोरेट सम्पादक बनाइयो र अर्को युवा सम्पादक नियुक्त भयो । यस प्रक्रियामा सम्पादक पूरै अनभिज्ञ थियो । नयाँ सम्पादकले पदभार ग्रहण गर्ने कार्यक्रममै पुरानो सम्पादकले राजिनामा गर्‍यो ।

नयाँ सम्पादक 'पक्का व्यापारिक' थियो । व्यापारिक भएपछि समाचार र विचारको ठाउँमा एडभर्टोरियल छापे पनि हुन्छ, जुन उसले प्रकाशकलाई ऋण तिरे बराबर हुन्थ्यो । त्यसै सम्पादक बन्न पाइन्छ नत्र ? कतिपय महìवपूर्ण समाचार ऊ डम्प गरिदिन्थ्यो र अर्थ न बर्थका समाचारलाई मुखपृष्ठमा छापिदिन्थ्यो । हालसालै मेरा दुई ब्रेकिङ न्युज डम्प गरिएका थिए । एउटामा मन्त्रीकै संस्था बालबालिका बेचबिखनमा संलग्न भएको भण्डाफोर गरिएको थियो । अर्कोमा मन्त्री स्वयं वेश्यालयबाट भाग्दै गरेको तस्बिरसहितको समाचार थियो । लागेको थियो, यी समाचारले मेरो क्यारियरलाई सफलताको सगरमाथामा पुर्‍याउनेछन् । भोलिपल्ट अखबार हेर्छु, समाचार कतै थिएन । म हिस्स भएँ । सम्पादकले उल्टै थर्कायो, 'लेख्नुअघि सल्लाह गर्नुपर्दैन ? रिपोर्टर भएर के छापिन्छ, के छापिन्न, बुझ्नुपर्दैन ?'

कस्तो समाचार लेख्नुपर्ने हो ? अब त म दुबिधामा पर्न थालिसकेको थिएँ । यो सम्पादक खातिरदारी चाहन्छ जुन मेरो ग्रन्थीमै छैन । जागिर कसरी

जोगिएला ? म यस्तै सोचेर हिँडिरहेको थिएँ । न्युरोड गेटमा एक नवयुवतीसँग बेस्सरी ठोक्किएँ । विनम्रतापूर्वक मैले सरी भनेँ तर त्यसले मलाई 'इडियट' भनिदिई । ओभर बि्रजनिर सडकमा थुप्रै किताब बिक्रीमा राखिएका थिए । महँगो भए पनि त्यहाँ मैले निकोलाई गोगोलको 'ओभरकोट' किनेँ । झुम्पा लाहिरीले 'नेमसेक' मा यसको चर्चा गरेकी छन् जुन पढेपछि लामो समयदेखि म यसको खोजीमा थिएँ ।

सडकमा कपडा, जुत्ता, र सबै सामग्री फिँजाइएका थिए । सोचेँ, सडकमै सबै सामग्री पाइन्छन् भन्नेबारे एउटा समाचार लेखुँ । त्यसका लागि धेरै दुःख पनि गर्नुपर्ने थिएन । त्यसलाई कथा बनाएर रोचक शैलीमा लेखे पुग्थ्यो जसमा म सफलै हुन्थेँ । सोचेँ, डाँका सम्पादकले यस्तो समाचार मेरै अगाडि च्यातेर डस्टबिनमा मिल्काइ दिनेछ । यस्तो भयो भने त मर्नु भएन ?

एक्कासि एउटी केटी भेटिई । आपत् परेको ठानेर कुनै दिन यसलाई मैले एक महिनाको पूरै तलब सापटी दिएको थिएँ, जसका कारण मेरो दैनिकीमा कत्रो हाहाकार मच्चिएको थियो ! उसले केही दिनमै तिरिदिने वाचा गरेकी थिई, पैसा लिएपछि दुई वर्षसम्म देखै परिन ।

मलाई किन हो, त्यसको सामना गर्न अफ्ठ्यारो भइरहेको थियो । त्यसले मेरो पाखुरा समाएर सोधी, 'सञ्चै हुनुहुन्छ ?' सापटी लिएको त यसले तिर्दिन पक्का छ, क्या मीठो बोल्छे भने म त थरहरि भइरहेको थिएँ, कतै फेरि यसले पैसा झार्ने जुक्ति नगरोस् । खल्तीमा केबल तीन सय रूपियाँ बाँकी थियो, जसबाट अझै दस दिन गुजार्नु थियो । कसैले केही मागिहाले हार्न नसक्ने बानीले मलाई डुबाइरहेको थियो । उसले चिया खाने अफर गरी । जरुरी काम छ, भनेर म उम्किएँ र उम्किन सकेकामा आफैँलाई बधाई दिएँ ।

रत्नपार्कमा अनेक जोडी प्रेमवार्तामा मस्त थिए । मानिसहरू राजनीतिक गफ गरिरहेका थिए । बदाम, सुन्तला, चुरोट, चना, दालमोठ बेच्न आउनेहरूलाई मैले निराश पारेर फर्काइरहेँ । एउटी केटी आई । खास राम्री होइन तर आकर्षक थिई । त्यसले भनी, 'जाने हो दाइ ?' म अलमल्ल परेँ । केटी मुसुक्क हाँसी । कुरा बुझियो । त्यसो भए यसले किन मलाई 'दाइ' भनेकी ?

'४५ प्रतिशत कन्सेसन पनि दिन सकिन्छ, विद्यार्थी हो भने', उसले साउतीको स्वरमा भनी, 'अहिलेको चलन !'

'म विद्यार्थी थिएँ ।'

'हुनुहुन्छ भने हुनुहुन्छ भन्ने, मानिदिउँला नि !'

ऊ निराश भएर फर्किँदै थिई । मैले रोकेँ । एक्कासि मलाई ठूलै कुरा फेला परेझैँ लाग्यो । कृपया मलाई गलत नठान्नुहोला । अखबारका लागि यसैसँग नगरबधू-संवाद गर्ने लोभले मनमा पखेटा फिँजायो । सम्पादकलाई मनपर्ने कुरा यस्तै थियो त म के गरूँ ? म केटीको पछि लागेँ ।

र्फकँदा मैले पूरै फिःस दिन चाहेको थिएँ । उसले मानिन किनभने मैले ऊसँग अखबारका लागि अन्तर्वार्ता मात्र गरेको थिएँ । खबरदार नैतिकताका ठेकेदारहरू, देशमा इमान पूरै बाँझो पल्टिइसकेको छैन । त्यो कम्तीमा एउटी वेश्यासँग चाहिँ रहेछ है !

डेरा आइपुग्नै लाग्दा अँध्यारोमा एउटा दृश्यले म अचम्भित भएँ । एउटी स्कुले किशोरीलाई कारले ठक्कर दिएको थियो । किशोरी लडी तर तुरुन्तै उठी । सहारा खोज्दै त्यो मतिर आउँदै थिई, कारले फेरि ठक्कर दियो र टाप कस्यो । केटीलाई उठाएर अस्पताल पुर्‍याउनेतर्फ मेरो ध्यानै गएन । घटनाको सुरुआतदेखि नै मैले १०/१२ सट तस्बिर लिएँ । रगतपच्छे केटी छट्पटाइरहेकी थिई । मान्छे जम्मा भए । प्रहरी आयो । म भने अफिसतिर दौडिएँ । मसँग अब एउटा स्कुप न्युज थियो ।

तस्बिर हेरेपछि सम्पादक खुसी भयो । 'गुड न्युज । राइट अ प्लेफुल स्टोरी । फस्ट पेज बक्स एङ्कर', सम्पादकले भन्यो ।

समाचार लेख्न म कम्प्युटरअगाडि बसेँ । मैले त्यो केटीको हुलिया लिएको थिइनँ । प्रहरी कार्यालयमा सोध्न फोन डायल गरेँ । एक्कासि प्रहरी कार्यालयबाटै मोबाइलमा फोन आयो । फोन अपराध अनुसन्धान शाखाको डीएसपी मेघराज सिलवालको थियो । खबर पाएर म स्तब्ध भएँ । आफैँले खिचेको तस्बिर गहिरिएर हेरेपछि एक्कासि म मूर्तिवत भएँ । मेरो चेत टक्क कतै अडिएको थियो । डेस्क सम्पादक आफ्नो कक्षबाट समाचार छिटो लेखिसक्न मलाई दबाब दिइरहेको थियो ।

बेलैमा अस्पताल पुर्‍याइएको भए घाइते किशोरी बाँच्न पनि सक्थी । अत्यधिक रक्तश्रावले अस्पताल पुग्नेबित्तिकै उसको मृत्यु भएको थियो । कथाको सुरुआतमा एउटा फोटो पत्रकारको प्रसङ्ग उठेको थियो । महाशय, त्यो संवेदनाहीन पात्र -होइन यन्त्र) म थिएँ । विपत्तिका बेला आफन्तलाई देखेर किशोरी सायद मतिर आएकी थिई । म कसरी यस्तो भएँ ? माफ गर्नुस् । एक त्यसबेला अलिअलि अँध्यारो थियो । दुई- जागिर जोगाउने धुनमा म पूरै अन्धो भएको थिएँ । तीन- आफैँले खिचेको तस्बिर मैले राम्ररी हेरेको थिइनँ । यी शब्द आँसुले लेख्दै गर्दा मुटुमा गाँठो परेको कुरा अब तपाईँलाई भन्छु- मारिएकी किशोरी ट्युसनबाट डेरा र्फकँदै गरेकी मेरी आफ्नै बहिनी थिई ।

समाचार लेख्न छोडेर वीर अस्पतालतिर दौडँदै गर्दा सोचिरहेँछु, यस्तो खबर मुटुरोगी आमालाई अब कसरी सुनाउ" ?

मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 10 भाद्र, 2067

लेखकका अन्य रचनाहरु