अर्ति

- कृष्ण बजगाईं

“खबरदार ! लोग्ने मान्छेलाई आँखा उठाएर हेर्लिस !” मेरी हजुरआमालाई उहाँको बुबाले भन्ने गर्नु हुन्थ्यो रे ।

“बिचार गरेस ! लोग्ने मान्छेसँग नारिएर हिँड्लिस ! आफ्नो मात्र होइन सारा परिवारको इज्जतको ख्याल गर्नु !” मेरी आमालाई उहाँको बुबाले भन्ने गर्नु हुन्थ्यो रे ।

“होस गरेस ! कलेजमा दायाँ बायाँ गर्लिस । केटाको हात समाएर घुम्लिस । हाम्रो परिवारका मर्यादाको ख्याल गर्नु !” मेरी दिदीलाई बुबाले सम्झाउने गर्नु हुन्थ्यो ।

“खबरदार ! केटीसँग हात समातेर घुम्लिस ! बरु केटासँग अँगालो मारेर घुम् केही भन्दिन ।” म छोरीलाई हरेक दिन सम्झाउँछु ।

र पटक पटक छोरालाई अर्ति दिन्छु –“होस गर !” बरु जुनै जातको केटीसँग घुमफिर गर, बिहे गर । तर केटालाई अँगालो मारेर घुम्लास !”

जमाना के आयो ? मेरा छोराछोरीले तिनका छोराछोरीलाई भविष्यमा के अर्ति देलान ?

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 8 भाद्र, 2067

लेखकका अन्य रचनाहरु