जुवाडे (ब्यङ्ग्य कविता)

- नरनाथ लुइँटेल

जुटेका छन् जुवाडे त खाल खडा छ
जमेका छन् खालमाथि खेल कडा छ
जित्ने अनि हार्नेहरू देख्दा सराबरी
हारे पनि जिते पनि खेल बराबरी ।

सिङ्गै देश बनाएछौ ओछ्याउने काम्लो
कौडा बने रैती जति जुवाको यो माम्लो
छक्का भनी छाति पिट्दै जुवा चम्केको छ
सत्ता दाउ हात पार्न खाल गम्केको छ ।

मेरो मार्रा भन्छ यौटा अर्को मेरो भन्छ
छ सौ एक मेरै भनी अर्को टाउका गन्छ
जुवाडे ए नेता तिमी देश मार्ने दाउ
तिम्रै जीतबाजीद्वारा बन्यो ठूलो घाउ ।

पाङ्ग्रे पुत्ले रमाएर जुटे च्याँखेधर्ना
खप्पिस छन् बिनापत्तै कौडा पनि चोर्न
घोप्टो कौडा गन्छन् कैले ठाडा पारी–पारी
रन्कारन्की रमिता छ खाल वरिपरि ।

उपद्रो छ कैले भने जुँगा तानातान
आफ्नैभित्र छिर्के मार्दै कैले हानाहान
जितेँ जितेँ भन्दाभन्दै हारेको छ कोही
हार्दाहार्दै सत्ताको तर मारिरेछ कोही ।

भोको पेट मतदाता पखालाले ग्रस्त
जुवाडे चैँ दाउ थापी खालभित्रै मस्त
हार्ने जित्ने, जित्ने हार्ने गर्दै जालझेल
नेता तिमी कति खेल्छौ देश हार्ने खेल ?

कलङ्की काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 7 भाद्र, 2067

लेखकका अन्य रचनाहरु