मोवाइल आतङ्क–२

- छविरमण सिलवाल

हरिबाजे निकै दङ्ग छन् आजकल । छोराले कत्तारबाट पठाएको मोवाइल पाएर । एक हातले धोतीको फूर्को समात्छन्, अर्को हातले मोवाइल । छातालाई कुमको स्टकोटमा भिरेर सिमकार्ड लिन सदरमुकाम निस्किन भए । छिमेकीले सल्लाह दिए नागरिकता पनि बोक्नु । नेपालीहरुको खाटी पहिचान बोकेको नागरिकता यस्तै यस्तै ठाउँमा काम लाग्छ ।

नागरिकताको फोटोकपी सहित फोटो टाँसेर फर्म बुझाएको केहिबेर मै सिमकार्ड हात प¥यो हरिबाजेको । कर्मचारीको सहयोग लिएर सिम एक्टिभ गराए बाजेले । अर्काको घरमा फोन उठाउँन जाँदा जाँदा दिक्क भएका बाजे आज आफ्नै मोवाइल भएकोमा निकै खुशि देखिन्थे । बजैको त झन चुरीफुरी नै बेग्लै ।

जजमानहरुलाई पनि नम्बर दिए । छोरासंग पनि घरैमा बसिबसि कुरागर्न पाए ।

रेडियो पनि यही बज्छ, घडि पनि यहाँ हेर्न मिल्छ भन्दै सबैलाई देखाउँथे । मोवाइल चलाउँन नजान्दा पल्लाघरे कान्छासंग सिकी माग्थे । स्टकोटको खल्तिभित्र मोवाइलमा लोकगीतहरु घन्काउँदै हिड्थे । जो कोहि पनि उनको चुरीफुरी देखेर दङ्ग पर्दथें ।

जजमानहरुको घरमा गइरहनु पर्ने हरिबाजे अचानक एक दिन पिँढीमा नियाउँरो भएको देखियो । कुरा के भएछ भन्दै छिमेकीहरु जम्मा भए । केहि समय पहिलेको चुरीफुरी केही थिएन बाजेको । त्यसै टोलाईमात्र रहन्थे । बजैै हत्त न पत्त फतफताउँदै बाहिर निस्किन र भन्न थालिन के हुनु नि यी बुढाले मोबिल हराएछन् नि ! कसैको नभाको मोबिल ! ‘कस्तो सजिलो भाथ्यो छोरासंग कुरा गर्न यी बूढाले हराई पो दिए ।’ ‘कति कराउँछे यो बूढी मान्छेलाई कस्तो भा’छ कुरा सुरा बुझ्नु छैन खाली प्यारप्यार मात्र गर्छे ।’ हरिबाजे झोँकिएं । अनि के भयो त बाजे हर्केले प्रश्न तेर्सायो ? साँझ झमक्क भै सकेको थियो म जजमानको घरमा काम सकिंदा । घर फर्कन ढिला भैसकेको थियो । त्यहि बस्नको लागी हत्ते गर्दैथिए । पल्लो गाउँमा गएर बस्नको लागी म हिँडे । बाटोमा फोन बज्यो उठाएपनि कुरा हुन सकेन । मेरा पछि पछि केहि युवाहरु आएजस्तो लाग्यो । एकै क्षणमा मेरो बाटो छेक्न पो थाले म बूढो मान्छेलाई किन यस्तो गरेको भन्दा दुई झापड लगाए र मेरो साथमा भएको मोबाइल पैसा सबै लुटेँ । म बर्बाद भए भन्दै बाजे भक्कानिए ।

ए कुरो यस्तो पो रहेछ । यस्तै हो बाजे अब अर्को लिने नि भन्दै सवै आ–आफ्नो बाटो लागें । एकजना बृद्ध भने उनको नजिकमा गएर भन्दै थिए ‘यो मोबाइल चिज नै ज्यानमार रहेछ हरि चिन्ता नगर अब देखि नबोक्नु नै बेस ।’ उनको कुरो सुनेपछि हरिबाजेलाई त्यस बेला बजेको फोनको घण्टी मृत्युको घण्टी जस्तै लाग्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 31 श्रावण, 2067

लेखकका अन्य रचनाहरु