बजियाज्यूले बजाउनुभो

- नरनाथ लुइँटेल

हामीकहाँ बजियाहरू धेरै हुनुहुन्छ । कालगतिले केही बजियाहरू अहिले उच्च आसनमा विराजमान हुनुभएको छ । यी विशिष्टखाले बजियाहरूको विरुद्धमा छिसिक्क पनि बोल्नु भनेको आफ्नै मुख पोल्नु हो । झन् बाह्र वर्ष पछि खोलो पनि फर्किएको बेला प¥यो । आयोगको तातो भुतभुतेमा ज्युँदो माछा परे झैँ फत्र्याफत्र्याक पर्न कसलाई मन लाग्छ र भन्या । जमानाले यसरी रङ्ग फेरिरहेको बेला ढङ्ग नपु¥याई बोल्नु सिधै स्वर्गको ढोका खोल्नु हो । त्यसकारण उच्च आशनमा बिराजमान यी बजियाहरूलाई उच्च आदरार्थी प्रयोग नगरी कसैलाई सुखै छैन भने म जाबोको के कुरा ?

नेपाली शब्दकोशले बजियालाई अत्यन्त हेय रूपको अर्थ दिएर महाभुल गरेको छ । यो मुलुकमा बजियाहरूको यस्तो बिघ्न बिगबिगी चल्छ भन्ने परिकल्पना मात्र गर्न सकेको भए बिचरा कोशकारहरूले यस किसिमको अक्षम्य भुल किमार्थ गर्ने थिएनन् । बरू शब्दकोशमा बजियाको अर्थ यसरी प्रस्तुत गर्ने थिए— उच्च–उच्च पदमा विराजमान, सम्माननीय, अति विशिष्ट व्यक्ति विशेषलाई उच्च आदरका साथ गरिने सम्बोधन । धेरै कुरा फेरिँदै गएको वर्तमान परिस्थितिमा जाबो शब्दकोशको अनर्थ लाग्ने अर्थलाई फेर्न कुन आइतबार कुरिरहनुपर्छ र । सामुन्ने पर्नासाथ जसलाई जो कसैले धनुष्टङ्कारे शैलीमा जम्लाहात गर्दै नमस्कार बजाउनुपर्ने बजियालाई गाली गर्ने तागत कोसँग छ हँ ? गाईजात्रे पाराले यस्तो अकल्पनातीत परिस्थिति पैदा भएकामा बबुरा कोशकारहरू छक्क पर्नु अस्वाभाविक हुँदै होइन । अब त शब्दकोशहरूबाट बजिया शब्दको अर्थ सुल्ट्याएर नयाँ संस्करण ननिकाली उनीहरूलाई सुखै छैन । यसतर्फ उनीहरूको ध्यान खिचिइसकेको अनुमान सहजै गर्न सकिन्छ ।

‘बजिया’ शब्दबाट ‘बजाउनु’ क्रियापद बनेको हो वा ‘बज्’ धातुबाटै ‘बजाउ’ हुँदै बजिया बनेको हो ? यसको ब्युत्पत्ति केलाउन अब हाम्रा घागडान भाषाशास्त्री एवम् भाषाविद्हरूलाई पनि हम्मेहम्मे पर्ने भयो । किनभने भाषाशास्त्रमै पि.एच्.डी. पड्काउनेहरूको पनि हुर्मत लिन तयार हुनुहुन्छ अब बजियाज्यू । मेरो मुढमतिले चाहिँ के भन्छ भने जसले बहादुरीपूर्वक बजाउन सक्छ त्यो नै बजिया हो । हाम्रो यो मुलुक परापूर्वकालदेखि नै वीर र बहादुरहरूको कर्मभूमी बन्दै आएको छ । इतिहास साक्षी छ बजाउन कसैले बाँकी राखेको छैन । जो बजाउन जान्दैन, जसले बजाउने प्रयत्न गर्दैन अथवा जो बजाउन सक्दैन त्यो बजिया होइन । बीस वर्षदेखि गौँडो ढुकेर होस् वा बाह्र वर्षसम्म दुलो पसेर होस् मौका पर्नासाथ बजाउन सक्नुपर्छ । यस्तै केही माहिर बजियाज्यूहरूले अहिले स्वादसँग बजाइरहनु भएको छ । कसैले रिस वा आहारिस गरेर केही खालो सर्नेवाला पनि छैन ।

जमाना प्रतिष्पर्धाको हो । बजिया बन्न पनि ठूलो प्रतिष्पर्धाको लडाईं लड्न्ुपर्छ । लडाईं न हो एउटा नढली अर्को उठ्दैन । एउटा नखँदारिई अर्को माथि पुग्दैन । लडाईं भनेको लडाउनु पनि हो । एउटालाई नलडाई अर्को उँभो उक्लनै सक्दैन । यो सब बजाउने खेल हो । खेल नै भएपछि झेल हुन्छ । झेल गर्न जो सिपालु छ उसैले खेल जित्छ । लिगलिगकोटमा दौड जित्ने राजा भए । कोतमा खुँडा चलाएकै भरमा एउटा वीर जङ्गबहादुर भए । उता त्यत्रो लडाईं जितेर पनि जेल परेका भीमसेन थापा खुकुरीले सेरिएर मरे, बिचरा उनी बजिया हुन सकेनन् । कुयँत्रो लागेको इतिहास यही बकिरहेको छ । इतिहास पनि बजाउनसक्ने बहादुर बजियाहरूकै पक्षमा वकालत गर्छ ।

इतिहासका थोत्रा थाङ्ना कोट्याउनतिर मात्रै किन लाग्ने हँ ? बितेका बाह्र–चौध वर्षमै पनि ककसले केके बजाए केके ? कतिले साठीलाखे पजेरोको पाङ्ग्रा बजाए, कतिले तिब्बतबाट दशैँमा आएका सित्तैका च्याङ्ग्रा बजाए । कति पुरुष सांसदले सुत्केरी खर्च बजाए । सत्ता भनेको सत्य नै हो, कतिले बेकाममा भत्ता बजाए । घूसलाई नियमपूर्वकको कमिसन भन्दै बजाए । कुर्सी र टेबुल बजाए । जनता र राष्ट्रको नाममा मादल ठोक्दै लाउडा बजाए, चेज एयर बजाए । कतिले ठेक्का बजाए कतिले पट्टा बजाए । बजाउनु थियो बजाए । आ–आफ्नो मादल बजाए, डम्फू बजाए, नेपालीको पेटमा सारङ्गी बजेको बज्यै छ, कतिले भने कौशीमा सिंहमर्मर बजाए । प्रजातन्त्रको नाम जप्दै तस्करतन्त्रको ढोल बजाए, ढ्याङ्ग्रो बजाए । हामी निर्धा निमुखा जनताको नलिखुट्टा भाँचेर बाँसुरी बजाए । महँगीको तरवारले छाला काढेर खैँजडी बजाए । विकासको तुरही बजाए । स्याबास बजियाहरू, तपाईहरूको पुरुषार्थ बजाउनकै लागि थियो, खुब बजाउनुभयो । बजाउनेले सालीपट्टिका सातपुस्तालाई पुग्ने गरी बजाए । भिनाजुपट्टिका नौपुस्तालाई पुग्नेगरी बजाए । बेलाबेला विरोधको स्वर नउर्लेको होइन, विरोधको स्वर उराल्नेहरूका थाप्लामा कठबाँसका लाठा बजाए, सिटी फुक्दै सडकमा दमदम गोली बजाए । हतकडीको सिक्री बजाए, जेलका फलामे ढोका बजाए । पौरखीहरूको यस्तो पौरखप्रति सम्मान जाहेर गर्दै हामी भने थपडी बजाइरह्यौँ ।

समयले अर्को तुरही बजायो । चिहानबाट लासहरू जुरूजुरू उठे । चानसमा डानस गर्ने सुवर्ण अवसर यही थियो । मरेर दुलामै पुरिएका मुसाहरू दुलाबाट खुरूखुरू निस्किए । उहिलेदेखि बजाउनमा पारङ्गत बजियाज्यूहरू ताल पारीपारी बजाउन थाल्नुभयो । कति त ओल्लो घरको नरे पल्लो घर सरे हुँदै बजाउनकै निम्ति साखुल्ले पल्टिएका पनि देखिए । बजाउनमा सबैको मतो एउटै । बजाउनमा सबैको चोचोमोचो एउटै । बिचरो अख्तियार हेरेको हे¥यै छ, कतिलाई आयोगको मुर्चल उचालेर बजाउँदा छन् । पहिले लाठा बजाउने कतिपयलाई अहिले लाठैले बजाउँदा छन् । पहिले कलिङ बेल बजाउनेले अहिले छिँडीको पुरानै जेल बजाउँदा छन् । बजाइ निकै मापाको छ, कसैलाई पुरानै अ.त.को लौरोले बजाउने योजना बनाउँदैछन् । जमाना नयाँ भएर के भो ओल्ड इज गोल्ड । पुरानै ढाँचा, पुरानै साँचो, पुरानै औजार बढ्ता लाग्ने हुन्छ भन्ने कुरा खली खाइसकेका बजियाज्यूहरूलाई राम्रोसँग थाहा छ । ए हजुर तपाईंहरूलाई सत्र परेको छ, नगदानगद बजाउनुस्, हाताहाती बजाउनुस् । माल मजाको छ, ताल पारीपारी बजाउनुस् ।

यो लखरठ्याक भने बजियाहरूको बजाइ प्रकियाका बारेमा मग्न भएर चिन्तन गरिरहेथ्यो, भान्साकोठाबाट आएको घन्द्रयाङ्ग आवाजले झसङ्ग हुनपुग्यो । भान्सामा रहेको दूध बजिया ढाडे बिरालोले काइदासँग बजाएछ । दूध सिनित्तै बजाइसकेर झ्यालको बाटो हामफाल्ने क्रममा ¥याक कोल्टिदा रित्तो भाँडो भुइँमा बज्रिएछ । धत्तेरी, दूध जति बजिया ढाडेले बजायो, अब आधारातमा उठेर सानी छोरीले घोक्रो बजाउँदा के ख्वाउने खै ? बजियाहरूका बारेमा ब्यर्थको चिन्तन गर्ने लखरठ्याकलाई अर्को चिन्ताले अँचेट्न थाल्यो ।

कलङ्की, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 26 श्रावण, 2067

लेखकका अन्य रचनाहरु