डिएनए रिपोर्ट

- वासुदेव गुरागाईं

रविमान बसको कन्डक्टर बनेको धेरै साल भइसकेको थियो । तथापि उसले आजसम्म यस्तो घटना व्यहोरेको थिएन । ऊ एकनाससँग दायाँबायाँ नहेरी इन्स्पेक्टरले सोधेका प्रश्नको जवाफ दिँदै थियो,— ‘हो, इन्स्पेक्टर सा’प ! यी सबै बसभित्र मरेका मान्छेका लाश हुन् ।’

‘कहिले मरेका ?’ इन्स्पेक्टरले प्रश्न थपे ।

‘हिजो दिउसोको कुरा हो ।’

‘कहाँ जाँदै थिए यी ?’ इन्स्पेक्टरले फेरि सोधे ।

‘यिनीहरु नेपाल यात्राका लागि छुटेको गाडीमा चढेका हुँदा सायद त्यतैतिरको यात्रामा थिए ।’ रविमानले केही अनुमानित जवाफ दियो ।

इन्स्पेक्टरले फेरि सोधे,— ‘यिनीहरु कसरी एकसाथ भेला भएर यो गतिमा पुगे त ?’

‘त्यही त अनौठो छ’ इन्स्पेक्टर सा’प । बस नेपाल यात्राका लागि चौबाटोमा यात्रु पर्खेर रोकिइरहेको थियो । यी मध्ये कोही कताबाट आए, कोही कताबाट । बस हिँड्ने तरखर गर्दै थियो । यी सबै एकसाथ ठेलमठेल गर्दै बस चढे ।

‘अनि ?’ इन्स्पेक्टरले थप जिज्ञासा राखे ।

‘बसमा खाली सिट थुपै्र थिए । पछाडिका सिटमा कोही बस्न मानेनन् । अगाडि एउटा मात्र सिट थियो । त्यो सिट अरुभन्दा अलि विशेष खालको पनि थियो । त्यसैका लागि यिनीहरुबीच झगडा भयो । ख्यालख्याल गरेका होलान् भनेर अरु यात्रु हेर्दै थिए । झगडा साँच्चैको रहेछ । मारपिट चल्यो । कोहीभन्दा कोही कम देखिएनन् । आखिर लड्दालड्दै यी सब मरे ।’ रविमानले हतारहतार सबै बेलिबिस्तार लगायो ।

अनुसन्धानका क्रममा ती लाश पोस्टमार्टमका लागि लगियो । डाक्टरले तिनको चिरफार गरे । कुटपिटबाट मृत्यु भएको निष्कर्ष निस्क्यो । अरु पहिचान केही खुलेन । अनुसन्धानले थप डिएनए परीक्षण खोज्यो र भयो पनि ।

यो परीक्षणपछि डाक्टरले रिपोर्टमा प्रस्टसँग लेखिदिए,— ‘यी सबै लाश अलग–अलग राजनीतिक विचारधाराका निकै प्रतिबद्ध सदस्यका हुन् । यी कोहीभन्दा कोही कम देखिएनन् ।’

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 श्रावण, 2067

लेखकका अन्य रचनाहरु