मैले देखेको संसार

- रमेश पल्लव

सपनामा-
उसको र मेरो परिचय
त्यसपछिको भेटघाट
कति आनन्द/कति रमाइलो
मनमनै म आकासिएँ
कल्पनामा डुबुल्की मारेँ
के-के न पाएजस्तो
म साह्रै पग्लिएँ
हिउँ जस्तै ।
विपनामा -
त्यो परिचय कता हरायो कता
न भेटघाट /न बोलचाल
खाली एउटा बिम्ब
आँखाभरि झुल्किने
मनभरि बगीरहने
म साह्रै दन्किएँ
आगो जस्तै ।
त्यसपछि-
सपना र विपनाको युद्ध
हिउँ र आगोको कलह
म रित्तै बाँचिरहे 
गन्त्यव्यहीन यात्रामा
म त्यसै-त्यसै हराएँ
म पटक-पटक बिलाएँ
पर एक हूल मान्छेहरु हाँसिरहेका
अट्टहास - आगोका झिल्का
एकैछिनपछि खरानी
म कता बिलाएँ कता
म कता भास्सिएँ कता
फगत रित्तो परिवेश
स्वार्थी संसार -
बेतालका मान्छेहरु
बाँचेर मरिरहेका छन्
मरेर बाँचिरहेका छन् ।

क्यालिफोर्निया अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु