तँ असती !

- होमनाथ सुबेदी

म कुनै घना सहरी वस्ती भित्रभित्रै कुनै पथ खोजिरहेको थिएँ । टुटेफुटेका कौसी ममाथि झन्डै खसेका थिएनन् । गल्ली अँध्यारोले पुरिएको थियो । हुन त मेरो कुनै खास र निवासको खोज थिएन, त्यस नगरीभित्र । बरु बाहिर निस्कने द्वारकै खोजमा म भौतारिएको थिएँ कि जस्तो लाग्यो । बाहिरको हरियो चौर कैदीले आफूलाई थुनी बार बनेर उभिएका निर्दयी लौह छडीहरू भित्रबाट बाहिर देखेजस्तै गरी देखें– सायद कही कुनै भागमा गल्लीबाहिर पनि थियो क्यारे ! हुनु नै झन् मेरा लागि दुःखको कारण भएको भनौं वा दुःख झेल्नुको कारण नै मात्र मेरो हुनुको त्यहाँ आभाष भइरहेको थियो । म वास्तवमा एउटा भ्रमको सहरमै हराएको थिएँ । एउटा विकसित ‘सिटी’ मै अविकसित थिएँ ।

म अहिले हरियो चौरमै छु, तर यो पनि हरियो छैन, नत्र किन मेरो कारले यो दोबाटो पार गर्न सक्दैन । चौबाटोमा उभिँदैमा समस्याको समाधान हुन्न नि ! विकल्पको वरण गर्ने स्वतन्त्रता मिल्दैमा मात्र मानिसले तृप्ति त पाउन्न, बरु उसलाई सही जसमा प्रकाश पनि होओस्, त्यो छान्न सक्ने क्षमता पनि प्राप्त हुनुपर्छ । मसँग केही छैन तर पनि म बामे सर्न खोज्छु, के मेरो यही प्रयास नै बेचैनीको कारण हो ? टाढा होइन, दुई मिटर अगाडि मात्रै एउटा बत्ती देखेको छु, तर त्यो छाम्न सक्दिनँ । मैले चाहेको छु त्यो मसँग भएर पनि चुम्न सक्दिनँ । म भौतारिएर हिँडिरहेको थिएँ । सायद देख्नेले यो दिमाग बिग्रेको मानिस हो– भन्दा हुन् । उनलाई के थाहा, अनजानमै मभन्दा उनी झन् सडेको दिमाग लिएर हिँडेका छन् । कम्तीमा म त मेरो विपत्मा मतिको पुनरावलोकन गर्छु । खोइ ! उनमा त्यो दृष्टिक्षमता पनि ? भन्छु, यी सबै खाली मेरो मनलाई चित्त बुझाउने तरिका मात्रै थिए ।

म बेचैन विपिङ्ग अरूको छायाँमा हिँडिरहेको थिएँ । चौर हरियै थियो । बाटो खुलै थियो । क्षितिजमा स्वागतम् नै सर्वत्र टाँगिएको थियो, हिँडेर पनि म झोक्रिएको थिएँ । किन झोक्रिनुको कारण पनि झोक्रिनु नै थियो । सायद मैले यस्तै निरुद्देश्य यात्राका लागि नभएको ईश्वरबाट अभिशााप पाएको थिएँ । मेरा मनमा यस्तै कुरा खेलिरहेका थिए । कुरा केही पनि थिएनन् । एउटा आफन्तबाट दूरी, डायस्पोराको मनोवेग मात्र । परिवेश डायास्पोराको आत्मचेत सार्वभौम व्याधिकीय लक्षण मानवको ।

अचानक मेरी स्वर्गीय पितामही उपस्थित भइन् । माथिल्लो हरमा सेतो अम्बर... तल्लो भागमा नील गगन...वृद्ध भए पनि चम्किलो...हंसमुख...उनी भुइँमा भएको कुम्लो उठाएर मतिर आइन् । बाटो थिएन, गोरेटो हो त्यो पनि अदृश्य केवल भाव संवेद्य मात्र लाग्थ्यो । हुन् वा होइनन् म पनि शंकाकै महलभित्र रमाएको थिएँ । अचानक अर्को दिशाबाट ‘रश्मी’ आयो । त्यो रश्मी सूर्य रश्मी होइन, त्यो मानव हो...एक नवयुवक करिब २१ वर्षको बालक भन्न मिल्दैन, न त त्यो मानिस हो । बालाजुबाट सर्दीका मध्याह्नमा नुहाइ–धुवाइ गरेर घाम ताप्न त्यो रूखको छहारीमुनिबाट निक्लेर आएको हो कि जस्तो लाग्यो । ऊ मेरो नजिकै आइपुग्न के पाएको थियो– मेरै साथी हो त्यो, तर उसको मुख खुलेको थिएन न मेरो बरु मेरी पितामहीले भनिन्–
के यो तिम्रो छोरा हो ?

‘उनले दोहो¥याइन्– के यो तिम्रो छोरा हो ?’ म विवाहित मानिस । अझै मेरा सन्तान भएकै छैनन् । कसरी यो मेरो साथी छोरो हुन सक्छ ? मैले मलाई नकार्न खोजें । निषिद्ध दृष्टिले पितामहीलाई हेरँे तर उनको अनुहारमा कुनै परिवर्तन थिएन । जे भए पनि हाकाहाकी एक साथीलाई उनले छोरो भनिदिन नहुने । उसलाई र मलाई त केही फरक पर्दैन थियो तर जब उसकी आमाको प्रश्न आउँथ्यो संकट त त्यहाँनेर पो थियो त के ऊ मलाई त्यो गाली दिन त सक्दैन– जो मातासित मैथुन क्रिया गरेको आक्षेप लगाई जथाभावी भन्ने गरिन्छ । जुन शब्द म यहाँ सम्झन पनि अश्लील ठान्छु । यो त मेरो सोचाइ हो । पितामहीले जे भनिन्– त्यो के केही सत्य नै बनेर मलाई चिहाइरहेको होस्– कसलाई के थाहा ? हामी जीवित छौं त्यसैले सामाजिक वन्धनले गला घोडेर मरेका छांै । पितामही स्वर्गे भइसकिन् । उनलाई यो सुथरीले बाँध्न सक्दैन । त्यसैले मुक्त अभिव्यक्ति गरिहोलिन् । सर्वदा मुक्त अभिव्यक्ति सत्य नै हुन्छ भन्न सकिन्न । तर मुक्त अभिव्यक्तिको प्रकृति चाहिँ सत्यमै प्रतिष्ठित हुनु चाहिँ स्वाभाविक पक्कै हो । त्यसैले त मेरो मुटु हल्लिएको थियो । त्यो नव युवकले आएर मेरो गला पक्रेको थिएन तर पक्रेको थियो नत्र किन म त्यति भीरु बनेर अवाक उभिएको थिएँ । किन पितामही त्यत्ति धेरै विश्वस्त थिइन् ! केही क्षण पहिले मसँग बाटो थिएन । ऐले चौतर्फी पथ खुला छन् तर म अचल छु । यो केको विवशता हो ! त्यो छाम्न पनि सकिन ।

म मुक्त...शश्यश्यामला धरतीमै उदास दिलले...अगति...शालिक बनेर उभिरहें । पितामही थिइन्, थिएनन्...युवक साथी मुर्मुरिएको थियो वा छँदै थिएन । ‘के सोचेहोला उसले ? के मलाई मेरो अवचेतनले कही कुनै अदृष्ट...अस्वीकृत...निषिद्ध...तर कटुसत्य काम–भावनाको शिकार बनाइसकेको छ ? छैन ? मेरो नव वधु भनौ वा प्रौढ वधु छँदाछँदै मेरो यो उनी माथिको अन्तः प्रेरणा कहाँबाट आयो । के उनै हुन् पितामही उनै नारी हुन् – स्रष्ठा, धारयित्री, सहभोक्ता...रक्त मांससहित वासनाकी प्रतिमूर्ति...प्रेमपिन्ड...म कुन यो यौन दुराचार ...अराजक जिज्ञासामा बटारिएको छु ? प्रश्नको युद्धले नै मैले आफूलाई अगाडि बढाउने कोशिस गरेँ तर मलाई थाहा थिएन– अनुभूति भयो– मेरा दुवै चरण गोहीले पक्रिसकेका रहेछन् । म अवाक्...जडवत्...संत्रासमा द्रष्टव्य भएर पनि लोप भएँ । सिल्ली सासले पोलेर माग्न खोजँे तर चिप्किएका पाउ उक्किएनछन् । म सोत्राम्म परेर छटपटाउन थालें । डायसोराको कर्कलाको पातमा पानी छचल्किएका जस्तै रक्त–विर्य उम्लिन थाले । अगतिको निषेध र गतिको विकल्पको वरणको खोजमा तँ असती † बने होलास् डायास्पोेरामा विवाहको सपना देख्दा । युद्धको बेलामा युद्ध नै गर्न छोडेर वेद कसले पढ्छ र ? तँ असती ऐले भन्छु डायास्पोरामै पनि स्याटल भै सके पछि केही शान्तिको सास फेर्न पाएर ।
अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 15 श्रावण, 2067

लेखकका अन्य रचनाहरु