काच संस्कृति: नाच प्रधानमन्त्री

- लक्ष्मण गाम्नागे

हाम्रो देशमा अहिले का.च. अर्थात् काम चलाउ सरकार छ । काम चलाउबाटै काम चलाउने हाम्रो पुरानो परम्परा वा संस्कृति नै हो । धार्मिक विस्वास, परम्परा र संस्कृतिले नै हामीलाई काम चलाउको अधिकार प्रदान गरेको छ । हाम्रा कर्मकाण्डहरूमा कुनै पनि सक्कली वस्तु उपलव्ध भएन भने कुश वा फूल आदिले काम चलाउन पाइन्छ । काम चलाउन हामी एकदमै खप्पिस छौं । हजारौं रुपैञा पर्ने सिङ्गै गाईको सट्टा गाईको चित्र अङ्कित पाँच पैसा दान गर्दा पनि हाम्रो काम चल्छ ।

काम चलाउ संस्कृति भएको हाम्रो देशमा सरकार मात्रै होइन हाम्रा राजनीतिक दलहरू बीच हुने सम्झौताहरू पनि काम चलाउ हुन्छन् । खान पाइने सम्झौताहरू साँच्चिकै हुन्छन् र तुरुन्त लागू पनि हुन्छन् । खान नपाइने सम्झौताहरू काम चलाउमा परिणत हुन्छन् र तिनीहरूको कार्यान्वयनका लागि अर्को पछि अर्को काम चलाउ सम्झौताहरू हुँदै जान्छन् । दिल्ली सम्झौतादेखि बाह्र बुँदे समझदारी हुँदै भर्खरै सम्पन्न तीनबुँदेसम्मका काम चलाउ सम्झौता र तिनीहरूको कार्यान्वयनको स्थिति हेर्दा ‘एनि हाऊ काम चलाउ’ भन्ने रिमिक्स उखान साँच्चिकै सार्थक भएको देखिन्छ ।

नेताहरूका अडान पनि काम चलाउ हुन्छन् भन्ने कुरा त कसलाई थाहा छैन र ! पहाडजत्रा अडान राख्ने र मट्याङ्ग्रा जत्रा स्वाथ्र्य पूरा हुनासाथ नेताहरूका अडानहरू लडान भएका उदाहरण कति छन् कति । पद वा शक्ति वा सत्ता प्राप्त हुन्छ भने जस्तासुकै अडान पनि छाडेर जता पनि ढल्किने संस्कृति भन्नु नै काम चलाउ संस्कृति हो । हामी हदैसम्म लचिलो भन्नु छौं भन्नु र हाम्रो अडान काम चलाउ मात्रै हो भन्नु एकै हो ।

हाम्रो काम चलाउ सरकारले काम चलाउ बजेट ल्याउन खोज्दैछ । काम चलाउ बजेटमा विकास निर्माणका लागि कुनै रकम हुँदैन रे किनभने कामचलाउ सरकारलाई आफ्नो हित हुनेबाहेक देशको हित हुने गरी त्यस्ता काम गर्ने अधिकार हुँदैन । काम गर्ने अधिकार नभएर पनि पूरै तलवभत्ता खाने अधिकार चाहिँ हुँदोरहेछ । काम चलाउ सरकार भएको बेला आर्थिक वृद्धिका उपायहरू ल्याउन वा बजार नियन्त्रण गर्न पाइन्न रे तर महङ्गी जति पनि बढाउन पाइने रहेछ । रमाइलै हुँदोरहेछ ।

तुलसीको मोठमा राखिएको वर्तमान नेपाल सरकारको सास फुस्स हुन मात्र बाँकी छ । तै पनि यो सरकारलाई, मन्त्रीहरूलाई र प्रधानमन्त्रीलाई काम चलाउ मानिएकै छ । यस्तो बेला नेपाली का.च.संस्कृतिका सबैभन्दा प्रखर का.च. व्यक्तित्व वर्तमान का.च. सरकारका का.च.प्रधानमन्त्रीको सम्झना गर्नु हामी सबैको कर्तव्य हुनेछ । माधव नेपाल नेपालका काम चलाऊ अर्थात् कुशका प्रधानमन्त्री हुन् । कमरेड नेपालको जन्मै काम चलाउका लागि भएको हो भनेर पनि कतिपय मानिसहरू भन्दारहेछन् । मदन भण्डारीको अकस्मात निधनपछि माधव नेपाल एमालेका का.च. महासचिव भएका थिए । एमाले पार्टीको आठौं महाधिवेशनमा पनि उनलाई का.च.वरिष्ठ नेता बनाइएको हो । सम्विधानसभा निर्वाचनमा पराजित भएपछि उनलाई सम्विधानसभाको का.च.सदस्यमा नियुक्त गरियो । काम चलाउ सभासद् भएर सम्वैधानिक समितिको सभापतिमा काम चलाउन खोज्दाखोज्दै अकस्मात प्रचण्डले राजिनामा दिएपछि नेपाल अकस्मात् नै का.च.प्रधानमन्त्री भएका हुन् । उनलाई त्यो बेलादेखि आजैसम्म पनि पूर्ण प्रधानमन्त्री हुन दिइएन । प्रधानमन्त्री भएकै दिनदेखि हरुवा, कठपुतली र अनेक पगरी पहि¥याएर कुशको प्रधानमन्त्री भनियो । विपक्षीले मात्रै होइन आफ्नै पार्टीका नेताहरूबाटै उनलाई प्रधानमन्त्रीबाट खुस्काउने निरन्तर प्रयाश भएबाट पनि उनी का.च.भन्दा मास्तिर चढ्नै सकेनन् । उनी आफैं पनि निर्धक्कसँग काम गर्न सक्तैनथे, किनभने उनलाई दुईदुई ठाउँबाट चुनाव हारेको ग्लानी हुँदो हो मनमा । जेठ चौध गतेको मध्यरातमा भएको तीन बुँदे का.च.सम्झौता पछि त उनी झनै का.च.भए । त्यतिन्जेल त उनी आफूलाई काम चलाउ भएको अस्वीकार गर्दैथिए । तर, राजिनामै दिएपछिको त कुरै भएन, औपचारिक अनौपचारिक सबै प्रकारले उनी साँच्चिकै काम चलाउ भए ।

कमरेड नेपाललाई का.च. प्रधानमन्त्री मात्र भन्दा उनको पूरा परिचय प्राप्त हुँदैन । उनी का.च. मात्र होइन दा.च. प्रधानमन्त्री पनि हुन् । अर्थात् दाम चलाउ प्रधानमन्त्री । आफ्नो काम चलाउ प्रधानमन्त्रित्व कालमा उनले राष्ट्रिय ढुकुटीको दाम ठूलो परिमाणमा चलाएर अनियन्त्रित रुपमा बाँडेको खबर व्यापक रुपमा आएको छ । दाम कमाउने भन्दा दाम चलाउनेमा उनको विशेष दक्षता देखियो ।

हाम्रा का.च.प्रधानमन्त्री नेपाल का.च. र दा.च. भन्दा अझै बढी ना.च. प्रधानमन्त्री हुन् । अर्थात् नाम चलाउ प्रधानमन्त्री । उनले संसारकै सबैभन्दा अग्लो ठाउँ कालापत्थरमा मन्त्रीपरिषद्को वैठक बसालेर आफ्नो नाम संसारभरि चलाए । त्यो बेला बाराक ओवामाले समेत उनलाई चिनेर बोलाएको कुरा हल्लामा आएको थियो । त्यसपछि पनि उनले धेरै नाम चलाउ कामहरू गरेका छन् । पत्रकार देख्यो कि फोटो खिचाउने पोजिशनमा तयार भैहाल्ने उनको व्यक्तित्व । आफैं पनि कुशल फोटोग्राफर । आफूले खिचेका र आफूद्वारा खिचाइएका फोटोहरूको किताबै छपाएका छन् उनले । आफ्ना भाषणहरूका पुस्तक पनि ठेलीकाठेली निस्केका छन् । नाम चलाउका लागि उनले प्रधानमन्त्री भएपछि मात्रै त्यस्ता झण्डै एक दर्जन पुस्तक प्रकाशन गरेर नातेदारहरूलाई बाँडिसकेका छन् । अनि भएनन् त नेपाल नाच.प्रधानमन्त्री ?

काच, दाच र नाच संस्कृतिको यो ताण्डब नृत्य हेर्दा हाम्रो सम्विधानसभाले पनि अबको एघार महिनापछि नेपाली जनतालाई एउटा कुशको सम्विधान दिने हो कि भन्ने लाग्न थालेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 श्रावण, 2067

लेखकका अन्य रचनाहरु