फेसबुकबाहिर

- टङ्क उप्रेती

फागुनको सुरू बेला न्यानो घामको रापिलो तेजमा आनन्दित छु । काठमाडौँबाट भाग्न लागेको चिसो । विदाको दिन । व्यस्त जीवनबाट मिलेको सानो अवकास र पत्रपत्रिकाको साथ । एउटा म्यागेजिन पल्टाउँदै थिएँ, अचानक भेट भयो युवराज नयाँघरेसँग 'फेसबुकमा फत्तेमाया' शीर्षकको 'ननफिक्सन' रचनामा, पढेँ ।

सुरूमै लेखिएको छः

'हराएका मान्छे भेटिए भटाभट ।

हो, थुप्रै मान्छेहरू हराएका थिए । हृदय र शरीरहरूहराउने क्रम बढिरहेथ्यो । हिजो आज ती भेट्दै छु । विस्तारै विस्तारै । सूचनाको जालोले नबेरिएको घर रहेन । खबरको अँगालोबाट अलग्गिएको पिँढी अछुतो रहेन । .....

म त उसलाई बूढो हुलाकीका स्वाँस्वाँमा खबर पर्खिरहेथेँ, ऊ आइसकेछ फेसबुकमा !'

कत्रो खुसी व्यक्त गरिएको छ यहाँ ! हराएका मानिसहरु भटाभट भेटिएको हर्ष ! भेटिँदैछन् शरीर र हृदयहरु क्रमिक रूपमा फेसबुकमा । फेसबुक निश्चित रूपमा क्रान्ति हो-सामाजिक सञ्जाल निर्माणमा । अनुभूति, विचार र मानसिक अवस्थाको अनौपचारिक रूपमा तत्काल सञ्चारित गर्ने प्रभावकारी पुल बनेको छ यो । लहिरिएका छन् यसका तरङ्गहरूमा खुसी, विरक्ति, दिक्दारी र उत्तेजना , प्रेम, वियोग, मिलन र मनोदशाका अनन्त अन्तर तहहरू !

धन्यवाद दिन मन लाग्छ अमेरिकी रक्षामन्त्रालयलाई जसले आर्पा प्रोजेक्टबाट बनायो कम्प्युटर सञ्जाल सन् १९६० मा र सलाम गर्न मन लाग्छ टीम बर्नेसलाई जसले आविष्कार गरे विद्युतीय अभिलेखलाई जोड्ने एचटीएमएल भाषा सन् १९९१ मा । यिनै आधारमा उभिएको फेसबुकमा भेटिँदैछन् हराएका मानिसहरू ।

सोच्न पुग्छु- को भेटिन्छन् ?

अझ, को भेटिन्छन् फेसबुकमा ?

भेटिनलाई हराउनु पर्छ । हराउनलाई स्पष्ट रूपमा देखिने गरी अस्तित्वमा रहनु पर्छ । पहिचान हुनु पर्छ प्रस्ट-स्पष्ट विशेषताहरु सहितको । हेर्छु- म बाँचेको समाज, जुन बनेको छ पहिचानविहीनहरूको समष्टिमा । निरन्तर चलिरहेको छ- सङ्घर्ष र विष्फोट भएको छ क्रान्ति । तर प्राप्त हुन सकेको छैन पहिचान । यिनै पहिचानविहीनहरुको निधारबाट बगेको छ रगत र त्यही रगतमा टेकेर उभिएका छन् स्तम्भ र सालिकहरू । यी निर्जीव स्तम्भ र सालिकहरू चिन्तित छन् आˆनो पहिचान हराउनेमा न कि आधारभूमिको पहिचान स्थापित गर्नमा । यिनकै कृतिम र कुटिल मुस्कानले अपहरित गरेको छ-साधारण मानिसको पहिचान ।

म साधारण मानिसको बीचमा उभिएको छु, जो कहीँ अभिलेखित छैनन् राज्यका अभिलेखहरूमा, जो कहीँ भेटिएकै छैनन् र जसको अस्तित्व स्विकारिएकै छैन कहिल्यै । त्यसैले ती हराउने सम्भावना नै छैन र नहराएकाहरू भेटिने झन् कुनै सम्भावना नै रहँदैन । जसको पहिचान नै छैन, उनीहरूसँग हराउने योग्यता पनि हुँदैन । हेा, फेसबुकमा धेरै क्षमता छ स्पेसको, लचकता छ, निकटता छ, सूचनाको स्थायित्व छ, अन्र्तक्रियात्मक छ । तर कसका लागि छ त्यो ? बारम्बार यही प्रश्नका नङ्ग्राले कोपरिरहन्छ मेरो अनुहार ।

कसलाई भेटे नयाँघरेले फेसबुकमा ?

'काम खोज्दै जानेहरू हराएका थिए लन्डनतिर । कामको भारले छोपिएका थिए सिड्नीतिर । दामको भोकले बिलाउँथे न्यूयोर्कतिर । नोटको बोझले अल्भिmएका थिए बेइजिङतिर ।

ती सबै भेटिन्थे फेसबुकमा ।'

पेरिस, टोकियो वा सियोल पनि हुन सक्छ भेटिनेहरुको ठेगाना र भेटिएको हुन सक्छ काठमाडौँमा । कहिल्यै भेटिएको छैन धादिङ तोपलाङका वीरबहादुर तामाङलाई रासायनिक विषादी रोक भनेर चिच्याएका फेसबुकमा । बाजुरा सपाटाका नरे बि.क. आउँदैनन् फेसबुकमा ज्वरोले सतायो- प्यारासिटामोल पाइएन भन्न । ओलाङचुङगोलाबाट चरन घटेकोले चौँरीपालन सङ्कटमा पर्‍यो भन्न पासाङ कहिल्यै फेसबुकमा आउन सकेनन् । उदयपुर मुसहरीबाट जंकु सदा घुस दिने पैसा नभएर छोरीको नागरिकता पाउन नसकेको व्यथा लेख्न सक्तैनन् फेसबुकमा ।

पहिलेदेखि नै सूचनाको पहाडले थिचिएका 'मेट्रोपोलिटन सेन्टर' का वासिन्दाहरू मात्र भेटिने गरेका छन्— त्यो सामाजिक सञ्जालमा । जो सूचनाको आँधीको खतरामा छन् ती मानिस नै छन् फेसबुकमा पनि ।

निरक्षरहरु छैनन्, भोकाहरू छैनन्, आवाजविहीनहरू छैनन्, किनारीकृतहरू छैनन्, दबाइएकाहरू छैनन्, वञ्चितहरू छैनन्-फेसबुकमा ।

नयाँ शताब्दीमा प्रविधिले ठूलो फड्का मारेको छ र लिएर हिँडिरहेछ अनुमान नै लगाउन नसकिने नयाँ अज्ञात प्रदेशतिर संसारलाई । प्रायः हरेक दिन आविस्कार भइरहेछ नयाँको । यसको वेगले घिसारी रहेछ संसारलाई, उदारीकरण, भूमण्डलीकरण र मानवीय तिव्र प्रवाहहरुमा । 'कन्ट्राˆलो' उत्पन्न भइरहेछ । कमजोर र विकाशशील मुलुकहरू बाट शक्तिको केन्द्रतिर आˆना कुराहरू भन्ने । प्रविधिले ल्याएको एक अवसर त हो यो पनि तर यस्तो अवसर फेरि पनि ती दुरदराजका पहिचानविहीनहरू का लागि बन्न सकेको छैन ।

नयाँघरेले आˆनो संस्मरणमा लेखे-

'एउटै थालमा भात खानेहरू भेटिन्छन् । एउटै पीङमा लठारिनेहरू भेटिन्छन् । एउटै पाटीमा अक्षर कोर्नेहरू भेटिन्छन् । एउटै उखु दुईतिर चुस्नेहरू भेटिन्छन् । एउटै सिरानीमा दुईतिर बाँडेर सुत्नेहरू भेटिन्छन् ।

फेसबुकमा यी सबै अनुहार भेटिन्छन् पटक-पटक ।' उनले इमानदारीपूर्वक आफूले भेटेका मानिसहरू का बारेमा लेखेका छन् । हो फेसबुकमा भेटिने भनेका भात खान पाउनहरू हुन्, भोकाहरू भेटिँदैनन् त्यहाँ । पीङमा लठारिनेहरू , अक्षर कोर्नेहरू र उखु चुस्नेहरू मात्र भेटिन्छन् त्यहाँ । त्यसैगरी फेसबुकमा भेटिनेहरू सिरानीमा सुत्ने अवसरमा बाँचेकाहरू हुन्-घरबारविहीनहरू होइनन् । र तिनलाई कसले भेट्छन् ? फेसबुकमा भेट्नेहरू पनि भात खाने, अक्षर कोर्ने, उखु चुस्ने र सिरानीमा सुत्नेहरू ले नै हुन् । 'फेसबुकमा यी सबै अनुहार भेटिन्छन् पटक-पटक' तर बाँकी अनुहारहरू कहिल्यै भेटिँदैनन् फेसबुकमा ।

आधासरो मानिसहरू निरक्षर छन् देशमा । एक तिहाइ मानिसहरू छन्- चरम भोकमरीमा । नदी किनार र जङ्गलमा गुजुल्टिएका छन्, लाखौँ लाख घरबारविहीनहरू । सरकारी तथ्यांक भन्छ- दुई प्रतिशतभन्दा कम मानिस मात्र साक्षर छन्-सूचना प्रविधिमा ।

अब कसरी आउन सक्छ फेसबुकमा आममानिसहरू को अन्तहर्ृदयको वेदनायुक्त झन्कार वा स्वणर्ीम सपनाका कोपिलाहरू ? स-साना अनुभूति पनि अपडेट गरिन्छ फेसबुकमा । आˆना अनुमान र पूर्वाभासहरू बाक्लै हुन्छन् त्यहाँ र इच्छुकको प्रतिक्रिया पनि पोष्ट गरिन्छ । तर औषधी गर्ने खर्च जुटाउन नसकेर रुकुमका एकै परिवारका तिनजनाले रुखमा झुण्डिएर गरेको सामूहिक आत्महत्याको पूर्वाभाससम्म भएन त्यहाँ । तिनका समस्या, बाध्यता, पीडा, छटपटि, संवेग र मनोदशा कहिल्यै आउन सकेनन् फेसबुकमा । मानवीय इतिहासकै कलंक र राज्यको चरम गैरजिम्मेवारीपना प्रतिबिम्बित हुने यो र यस्ता कैयौँ दूरदराजका घटनाहरुबाट बेखबर छ फेसबुक ।

'मेट्रोपोलिटन सेन्टर' तिर हराएका केही मानिसहरुको सञ्जालमा आबद्ध भएपछि 'बाहिरै छ ठूलो नेपाल Û' भनी निष्कर्ष निकाल्नेहरुले पहिचानविहीन साधारण मानिसहरुको फेसबुक बाहिरको वास्तविक संसारलाई साँचो अर्थमा कहिल्यै बुझ्न सक्लान् त ?

यो गम्भीर प्रश्नले मलाई अहिले पीडित बनाएको छ ।
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 श्रावण, 2067

लेखकका अन्य रचनाहरु