विस्मय

- मुक्तिनाथ घिमिरे

जिल्ला मालपोत कार्यालय छिर्नुअघि उसले आफ्नो पकेट छाम्यो र ढुक्क भएर अघि बढ्यो । उसलाई जग्गा पास गर्नु थियो र त्यो काम आधा घन्टाभित्रमा सम्पन्न भयो । अनकन, ढिलासुस्ती, माग र आलटालको दिक्दारी उसले खेप्नु परेन । अतिरिक्त एक रुपैयाँसमेत खर्च भएन । ऊ विस्मित बन्यो ।

यातायात व्यवस्था विभाग अञ्चल कार्यालयभित्र छिर्दा ऊ सामान्य मनस्थितिमा थिएन । सवारी साधनको नामसारी गर्ने ध्येयका साथ गएको उसले बीस मिनेटमा सबै काम फत्ते ग¥यो । कर्मचारीको सहयोग, तदारुकता र इमानदारीले ऊ पग्लियो । राजस्वबाहेक अतिरिक्त रकम उसले तिरेन र कसैले मागेन पनि । ऊ विस्मित भयो ।

छोटी भन्सार कार्यालयमा उसको सामान आएको सूचना भन्सार कर्मचारीले दिएपछि ऊ त्यता हानियो । भन्सार कार्यालयमा सामानको विवरण र प्रयोगको क्षेत्र टिपाएपछि उसको सामान विना रोकटोक छोडियो । भनसुनको लेठा उसलाई परेन । सुटुक्क खल्तीमा हात हाल्न कसैले भनेन । ऊ मखलेल भयो । हार्दभावले झन्डै भक्कानियो ऊ र विस्मयमै रह्यो ।

नयाँ नेपाल बनेछ, उसले मनमनै भन्यो । जग्गा पास गर्ने, सवारी साधन नामसारी गर्ने र भन्सारबाट सामान छुटाउने चिन्ताले विचलित बनेको ऊ त्यतिबेला विस्मयमा प¥यो जतिबेला उसलाई बोध भयो अघिका घटना उसले सपनामा देखेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 6 श्रावण, 2067

लेखकका अन्य रचनाहरु