कविता लेखन र आजीवन प्रतिपक्षमा कवि

- विक्रम सुब्बा

१। विभिन्न विषय र विधाहरुका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधाहरु मध्ये एक विधा हो । यसका पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । यो छुट्याउँन नसके र कविताका प्राविधिक शब्दहरू छानेर प्रयोग गर्न नसके कविताले “कविता”को स्वाभाव गुमाउँछ ।

२। कवितामा ‘विषयवस्तु’ ढुकढुकीका रुपमा आउँछ । त्यो “विषय”का पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविले आफ्नो विषयवस्तु अनुसारका प्राविधिक शब्दावली पनि छानेर प्रयोग गर्नु पर्छ । अर्थात, कविताका ‘प्राविधीक शब्दावली’हरू र ‘विषयवस्तु’का प्राविधिक शब्दावलीहरूको सन्तुलित छनौट र संयोजन गर्न नसके कविताले आनुहार गुमाउँछ ।

३। कविता कुनै ‘शव्द’ वा ‘वाक्य’बाट सुरु हुन्छ र कुनै ‘शव्द’ वा ‘वाक्य’मा पुगेर टुंगिन्छ । अर्थात ‘श्री’ र ‘शुभम्’को एक लम्बाईमा कविले ‘कविता’ रोप्ने, स्याहार्ने, फुलाउँने, फलाउँने, पकाउँने र वाली उठाउँने काम तमाम गर्नु पर्दछ । मतलब, कहाँबाट उठान गर्ने, कुन ठाउँमा कवितालाई उत्सर्गमा पुर्‍याउँने र कहाँ कविताको बैठान गर्ने? यसको तर्कसंगत तर्जुमा कविले गर्नु पर्दछ । सामान्यतया ‘थालनि’, विचको ‘बहाव’ वा भावनागत बाढीझैँ लाग्ने ‘आरोह अवरोह’, कविताले छुन खोजेको ‘उचाई’ र ‘अन्त्य’ अरु कुनै कविले भन्दा भिन्न किसिमले गर्न नसके कविताले छुट्टै शैलीगत पखेटा हाल्दैन । ‘थालनि’, विचको ‘बहाव’, ‘उचाई’ र ‘अन्त्य’हरूको अन्तरसम्बन्धित तादत्म्यता स्थापित गर्न नसके कविताले एउटा बग्दो नदीलेझैँ ‘लयात्मक’ ध्वनीहरूको संगीत उत्पादन गर्न सक्दैन ।

यहाँ, छन्द कविता र गद्य कवितामा के फरक छ भनि हेर्नु पनि जरुरी छ । छन्द कविता लेख्दा छन्दले कति अक्षरी शब्द चाहियो सो माग्छ र कविले अक्षरहरू गन्ति गर्दै राख्दै गरे भइगयो । तर, गद्य कवितामा त्यो सुबिधा कहाँ छ र? हरेक कविले कविताको कुन हरफ कति लामो हुने आफैँले निर्णय गर्नु पर्छ । कविताका हरफको लम्बाईचौडाईमा कति अक्षेरी कुन कुन शब्दाहरूको सृंखला तैयार गर्ने पनि कविले नै सोच्नु पर्दछ । मलाई लाग्छ, यहीँनिर धेरै कविहरु फितलो निर्णयको सिकार भएर हैरान हुन्छन् ।

४। शब्द र वाक्यहरूको हार्मोनाइजेशन कविताको अर्को सांगितीक पक्ष हो । अर्थात, कुन कुन शब्दहरू राख्ने र कुन शब्द अघि र कुन शब्द पछि राखेर वाक्यलाई संगठीत गरे कवितामा तालहरु बज्न थाल्छन् र ‘लय’ र तालले गर्दा कर्ण सुस्वादु हुन सक्दछ? भन्ने बारे पनि कवि पारखी हुनु पर्दछ । नत्र, कविता र निवन्ध उस्तै उस्तै हुन पुग्दछन् । यसमा पारख हासिल गर्न नसके कविता ढुकढुकी बिहिन मुटुको पार्थिव शरिरजस्तो हुन्छ ।

यहाँ, छन्द कविताभन्दा गद्य कविता लेख्नु गाह्रो हुन्छ भन्ने कुरालाई पनि मनन गर्न सकिन्छ । छन्द कविता लेख्दा कुनै एउटा छन्द छानेपछि 'लय' त्यसैले सृजना गरिदिन्छ । कविले अक्षरहरू छन्दले मागे जति गणना गर्दै आपुर्ति गरे भइहाल्छ । तर, गद्य कवितामा त्यो सुख-चैन हुँदैन । हरेक कविले आफ्नै लय सृजना गर्नु पर्दछ । संभवतया यहीँनिर हो धेरै कविहरु फेल हुने पनि ।

५। ‘मिथ’को प्रयोगलाई कवितामा अत्यन्तै शक्तीशाली प्रविधीका रुपमा लिइन्छ । ‘मिथ’ र ‘कविता’ले नै रामायण प्रभावशाली सृजनाका रुपमा रहन सकेकोछ । नत्र तात्कालिन समाजमा अरु पनि ‘मिथ’ थिए होलान् । अर्थात, कवितामा ‘मिथ’को कुसल प्रयोग हुन सके ‘जादु’ चल्छ नत्र ‘कविता’ र ‘मिथ’ दुवै दुर्घटनामा पर्छन् । जस्तो कि प्रविधी (गाडी) चलाउँन नजान्नेले चलाए दुर्घटना भएर ज्यान जान्छ । कवितामा दुर्घटना भए कवि त बाच्दैन नै कविता पनि सखाप हुन्छ र पाठकका समयको निर्ममता पूर्वक दुरुपयोग हुन्छ ।

‘मिथ’ एउटा ‘पोयो’, कविले सम्प्रेषण गर्न खोजेको ‘सन्देश’ अर्को पोयो र कविताको ‘लयपक्ष’ अर्को पोयो भएर बाटिएको ‘तीन’ पोये चुल्ठो जस्तो बुन्न नसके कविता ‘कविता’ बन्दैन । बरू कवितालाई मिथले किचिदिन्छ । र, कुनै लोक कथाको एक सामान्य आख्यानजस्तो हुन पुग्छ ।

६। कविताको लम्बाइ पनि एउटा महत्वपूर्ण कुरा हो । फुटकर कविता कति लामो वा छोटो हुनु पर्छ? भन्ने कुरा विषयबस्तु र शैलीमा भर पर्दछ । स्थुल विषय लिए कविता लामो हुने नै भयो । सानो विषय लिए तिक्खर किसिमले कविता छोटो हुन सक्दछ । यो कविको निर्णय शक्तीमा पनि भर पर्ने विषय हो । कोही स्थुल विषय छान्छन् त कोही सानो तर सुहाउँदिलो विषय समात्छन् र सम्प्रेषण गर्दछन् । समान्यतया फुटकर कविता ५-७ हरफदेखि डेढ पेजभन्दा लामो नहोस् भनि ठान्छु । त्योभन्दा लामो भए त्यसलाई फुटकर नभनेर ‘लामो कविता’ भन्न सकिँदो हो । मेरो विश्वास - एउटा फुटकर कविताले छोटो र सान्दर्भिक विषय लिएर गहिरो र तिक्खर कविता बन्नु पर्दछ । लामोमा भन्दा छोटोमा सम्पूर्ण कुरा अँटाउँन सक्नु पनि कविताको नभइनहुने विशेषता हो ।

७। कविता कहाँ फल्छ त? मेरो विश्वास – कविताको स्रोत जीवन नै हो । अर्थात, कविले भोगेको दु:ख-सुख, माया-मोह, मिलन-विछोड, घृणा-प्रेम, रिस-राग, आलोचना र संश्लेषण, आदि । कविले जीवनका विभिन्न पाटाहरू जिउँनु पर्दछ । कविले घरको काम, अफिस वा कमाउँने ठाउँको काम र समाजका समेत केही जिम्मेवारीहरू लिनु पर्दछ । उसले साथी-भाइसँग हाँसो र ख्याल ठट्ठा देखि लडाइँ-झगडा र फेरि सम्झऔताहरूबाट पनि गुज्रिनु पर्दछ । कहिले मलामी त कहिले जन्ति र कहिले असार पन्ध्र त कहिले पर्यटक, कहिले अनुसन्धाता त कहिले विद्यार्थी भएर अनेक कुरा ग्रहण गर्नु पर्दछ । उसले अनुभवि मानिसका अनुभवहरू (पुस्तक) पढनु वा सुन्नु पर्दछ । उसले नयाँ नयाँ ठाऊँमा घुम्ने र नयाँ नयाँ मानिसहरूसित सम्बाद गर्ने गर्नु पर्दछ । अर्थात आफ्ना प्राविधिक र समाजिक दुवै शीपहरू कविले चलाएर आफ्ना गतिबिधीहरू सञ्चालन गर्नु पर्दछ । यसै सिलसिलामा कविताहरूसँग कविको भेट हुन्छ । कविले ‘कविताहरू’ मध्ये छानेर मनपरेको ‘कविता’लाई अभिलेखिकरण गरेर सबैका खपतका निम्ती राख्ने हो । कतिपय कविहरु कविता खोज्न ‘गोष्ठी’ धाउँछन् । तर कविता त्यहाँ मात्र खोजे अधुरो हुनेछ । नयाँ नयाँ कविता त जीवनकै सुख-दु:खमा फल्ने हो र जीवनकै अनुभवहरूबाट कविता सृजना गर्नु पर्दछ भनि ठान्छु ।

८। अब कुरा प्रतिबद्धताको । जीवनमा जसको पनि थुप्रै कार्यहरु हुन्छन् । ती कामहरूको प्राथमिकता तोक्ने आफैले हो । जस्तै व्यापारीले आम्दामीलाई प्रथम प्राथमिकतामा राख्दो हो । सरकारले आफ्नो कुर्सी बचाउँने कामलाई पहिलो प्रथमिकतामा राख्दो हो । प्राथमिकता अनुसार नै स्रोतको बाँड-फाँड हुने गर्छ । स्रोत भन्नाले समय, चिन्तन, मनन् र आर्थिक स्रोतको लगानी हो । जसले कवितालाई प्राथमिकताको १ नंबरमा राख्छ वा दुइ नंबर वा ३ नंबरमा राख्छ त्यसै अनुसार उसले स्रोत पनि छुट्याउँछ । अर्थात, जसले कविताको लागी सबैभन्दा राम्रो स्वास्थ्यको राम्रो मुडको राम्रो समय लगानी गर्छ भने उसले कवितालाई राम्ररी प्रथमिकतामा राखेको ठहर्छ । यसो गर्दै गए राम्रो कविता पनि जन्मन्छ । तर सबैभन्दा राम्रो समय, उर्जा र मुड अन्तै कतै लगाउँनेले कसरी राम्रो कविता लेख्ला? त्यसैले उसका कविता उसकै प्राथमिकता अनुसार बस्ने नै भए । अर्थात उच्च प्राथमिकतामा राख्नेले राम्रो कविता लेख्ने र मध्य वा निम्न प्राथमिकता दिईएकाले सोहि स्तरको कविताले लेख्ने नै भए । कुरा तीतो होला तर सत्य यही हो ।

९। कतिपय कविले ‘यो मेरो कविता आजै विहान लेखेको…’ भनेर वाचन गरेको पाइन्छ । कविले ‘कविता’लाई धेरैदिन देखि मनमा खेलाएर आज लिपीबद्ध गरेको हो भने पनि आजै कविता लेखेर आजै सुनाउँने हतारो किन? जसरी आफ्नो बच्चाको जन्म हुँदा बा-आमाले रगत, राल, सिँगान, फोहरहरू धोई-पखाली गरेर, केही सुहाउँदिलो वस्त्र ओढाएर मात्र समाजलाई देखाउँछन् त्यसै गरी कवितालाई पनि जन्मिसकेपछि केही ‘धोइपखाली’ गरेर वा (कलाको भाषामा) पलिस गरेर समाजको सामु देखाउँनु राम्रो हुन्छ । लेखिसक्ने बित्तिकै हरेक कविलाई आफ्नो कविता ‘सान्दार’ लाग्छ, बिछट्टै ‘गजबको कविता लेखेँ’ जस्तो लाग्छ । लाग्नु पनि पर्छ । किनभने यही खुशीले त कविता र कविको नाता अमर भएकोछ । तर, यो उमंगको क्षण हो । बच्चा जन्मिने बित्तिकै आमालाई लाग्ने ‘उमंग’को क्षण जस्तो क्षण हो । भर्खर बच्चा जन्मेको बेला आमाले बच्चा मात्र देख्छ । बच्चाको जीउभरिका फोहरहरू देख्दैन । जब उमंगको पहिलो आँधि कम हुँदै आमाको मनस्थिती नर्मल अवस्थामा आउँछ त्यसपछि मात्र उसले बच्चाको जिउको फोहोर देख्न थाल्छ । त्यसैगरी, कविले पनि आफ्नो कविता लेखिसक्ने बित्तिकै त्यहाँ कुराहरू दोहोरिएको, बिम्ब र प्रतीकहरू उचित किसिमले नपरेको, मिथकको प्रयोग अति भएर कविता दुर्घटनामा परेको, शब्द छनौट र वाक्य गठन नमिलेको, आदि केही देख्दैन ।

कवि पनि ‘उमंग’को मनोगत बाढीबाट नर्मल जीवनमा उत्रनु पर्छ । त्यसको लागी केहि समय लाग्छ । जस्तै: एक-डेड दिन वा एक हप्ता वा एक महिना, आदि । यसरी समयको अन्तरालमा नर्मल जीवनको अवस्थामा कवि उत्रेपछि के हुन्छ? कवि अब कवि मात्र होइन, एक पाठक हुन्छ, एक विश्लेषक हुन्छ, कविताको अविभावक हुन्छ । उ अलि पागलपन सवार भएको ‘कवि’ मात्र हुन्न बरु उ वुद्धि विवेक समेत लगाएर सोच्ने हुन्छ । भावनामा बहकिने मात्र नभएर तर्कसंगत कुराहरु समेत गर्ने सान्सारिक हुन्छ । कविताका पाठकहरु ९० प्रतिशत सान्सारिक नै हुन्छन् । त्यसैले कवि जब नर्मल र सान्सारिक अवस्थामा आएपछि कवितालाई ‘सान्सारिक’ मानिसका खपतका निम्ती के ‘बढी’ हुन्छ र के ‘कम’ हुन्छ भनि सोच्न थाल्छ र त्यसै अनुसार कवितामा शब्द, बिम्ब, प्रतिक, मिथक, रुपक, वाक्य, कविताको वहाव र सिलसिला मिलेको नमिलेको हेर्न थाल्छ । नमिलेको ठाउँमा शब्द, बिम्ब, प्रतिक, मिथक, रुपक, वाक्य, कविताको वहाव र सिलसिलाहरू मिलाउँन थाल्छ । यसरी कविता पालिस गर्नु पर्छ र जब नर्मल अवस्थामा पनि कविता राम्रो लाग्छ तब केही मन मिल्ने कवि साथीहरुलाई सुनाएर कवि साथीहरुको थप सुझाव समेतलाई ध्यानमा राखेर फेरि खिप्नु पर्छ । त्यसपछि बल्ल गोष्ठीमा सुनाउँने वा प्रकाशन गर्नको लागि तैयार भएको कविता मान्न सकिन्छ । कतिपय कवि कविता लेखिसकेपछि प्रकाशनको लागि आतुर हुन्छन् । कविले प्रकाशनको निम्ति होइन कि कविता राम्रो बन्यो कि बनेन भनेर चिन्ता गर्नु पर्छ । राम्रो कविता लेख्न सके प्रकाशनको दु:ख हुँदैन ।

साथी: दुनियामा हरेक ‘साथी’ एक शसक्त ‘प्रतिस्पर्धी’ पनि हो । कविका लागी पनि आफ्नै कवि साथी, ‘साथी’ मात्र नभएर कविता लेखनको अखाडामा एक बलियो ‘प्रतिस्पर्धी’ पनि हो । तर दुश्मन होइन । Professional Jealousy दुनियाको जुनसुकै मानिसमा हुन्छ र यो हुनु पनि पर्छ । बजारमा कविता गइसकेपछि जुनसुकैको कविता अन्य कविहरूको कविताहरुसँग प्रतिस्पर्धा गर्न बध्य हुन्छ । दुनियामा बजार यति "क्रुर" हुन्छ कि अरु सबै कविको कवितासँग तपाइँको कवितालाई दाँजेर हेरिदिहाल्छ, मुल्यांकन गरिदिहाल्छ । तपाइँको कवितालाई 'माया गरेर' वा 'विशेष छुट दिएर' उसले हेर्दैन । जुन कविता खरो उत्रन्छ त्यही चल्छ । खरो उत्रिनको लागि आफ्नो कवितालाई राम्ररी पलिस नगरी बजारमा लगे, कमजोर ठहरिन्छ । कमसल माल गनिन्छ । कमसल माल गोदाममा कुहिन्छ । गोदाममा कुहिएको "माल"को के काम?

दुई घटना हेरौँ –
(१) अर्नेष्ट हेमिङवेले The Old Man and The Sea लेखे । त्यसलाई पुन: लेखे । कहिले मोटो, कहिले पातलो, कहिले ठिकैको पुस्तक भयो । यसरी उनले पटक पटक पुस्तकलाई लेख्दै जाँदा २०० पल्ट पुन: लेखन् गरेछन् । त्यसपछि बल्ल उनलाई चित्त बुझ्यो र प्रकाशन गरे जुन मानव सभ्यताकै एक साहित्यक उपलब्धी र सम्पदाको रुपमा कालजयी भएर रहेकोछ ।

(२) खलिल गिब्रानले “The Prophet” लेखे । लेखेको कुरा सबैभन्दा पहिले आमालाई पढेर सुनाएछन् । उनको आमाले – 'यो निक्कै राम्रो छ । तर यसलाई अहिले नै प्रकाशित नगर । जीवनका सबै किसिमका पाटाहरू भोग, अनुभव गर र अनुभवको आधारमा फेरि यसलाई पटक पटक सच्याउ वा पलिस गर । चित्त नबुझेका शब्द फाल । सुहाउँदो नयाँ शब्दहरू थप । जब कृती तिम्रो चित्त बुझ्ने किसिमको हुन्छ अनि मात्र यसलाई प्रकाशन गर्नु ।' आमाको सुझावमा १७ वर्ष लगाएर, जीवनका अनुभवहरुको आधारमा गिब्रानले पुन:लेखन गरिरहे, पलिस गरिरहे र चित्त बुझ्दो भएपछि मात्र छापे । अहिले त्यो मानव सभ्यताको साहित्यमा एक Master peace मा गनिन्छ ।

यी दुइ कृतीहरूको अब मुल्य नै छैन । अमुल्य छन् । यसरी आफ्ना कृतीलाई महान धैर्यका साथ निरन्तर सुधारी रहने, निखारी रहने हेमिङवे र गिब्रानको कार्यजस्तो कार्यलाई नै पूर्वीय भाषामा 'कर्म योग' भन्ने गरिन्छ । 'कर्म योग' गरेपछि मात्र महान सृजना वा 'महान कार्य' सम्भव हुन्छ । साहित्य सृजनाको कार्य पनि महान कार्य हो र यसमा पनि 'कर्म योगी' भएर जो लागेको हुन्छ उसैले अमर सृजना समाजलाई दिन सक्छ ।

अर्थात, साहित्य वा कविता लेख्नु भनेको कलासँग खेल्नु हो । ‘कला’ हतारमा उजागर हुने कुरा होइन । हतारमा त केही टिपोटहरु मात्र तैयार होलान् वा टिप्पणी मात्र लेखिएला । ‘टिपोट’ वा ‘टिप्पणी’ कविता होइन, साहित्य होइन, कला होइन त्यो त सिरिफ कच्चा पदार्थ हो, नबिर्सियोस् भनि टिपोट गरेको । कच्चा पदार्थलाई साहित्य वा कविता भनेर प्रस्तुत गर्नु कला नबुझ्नु हो । कविता भनेको खारिएर निकालेर पनि पलिस गरेर आँखै लोभ्याउँने, त्यसैत्यसै मनै जित्ने हीरा-मोती जुहारत हो । ‘कला’को निम्ती काम गर्न समर्पित भएर लागेपछि समय लिएर मिहिन किसिमले 'कर्म योगी' भएर मिहिनेत गर्नेले मात्र जित्छ । जो हल्का फुल्का किसिमले कलामा लागेकोछ र नक्कलझक्कल मात्र गर्छ भने उसको साहित्य वा कविता क्षणिक हुन्छ । कालजयी भएर धेरै दिन टिक्दैन ।

मूर्तिको कुरा , जस्तै: एउटा मूर्तिकारले एउटा रुपरंग विहीन तर मूर्ति बन्न सक्ने संभावना भएको ढुंगालाई खोला किनारबाट उठाएर ल्याउँछ । घन र छिनोले लाखौँ पटक हानेर, ताछेर, खिपेर, घोटेर, सुहाउँदो गरी अलि-अलि रंगाएर, केही गहना र वीणा समेत समाउँन हातम दिएर एउटा ‘सरस्वती’को मूर्ति बनाउँछ । तब गुरुहरूले त्यसलाई ढुंगा होइन ‘सरस्वती’ भनि विद्यार्थीलाई ढोग्न लगाउँछन् । विद्यार्थीहरू भक्तिसाथ त्यो ढुंगाबाट बनेको मूर्तिलाई सरस्वतीका रुपमा पुज्दछन् । काँचो ‘ढुंगा’बाट ‘सरस्वती’ बनाए जस्तै ‘शब्द’ र 'भाव'हरूको कच्चा पदार्थलाई दिमागको मेसिनामा हालेर कलात्मक ‘संयोजन’, वाक्यहरूको सिपयुक्त ‘गठन’ले पकाएर एक विछट्ट नयाँ सृजना गर्दै ‘कविता’ बनाउँने कलाकारिता हो कविता लेख्नु पनि ।

१०। माथि (२।)मा “कविता लेख्दा ‘विषय’लाई कविताको ढुकढुकीका रुपमा कविले लिन्छ” भनेको छु । “विषय”को ‘स्थुल’ र ‘सुक्ष्म’ रुप हुन्छन् । अर्थात मोटामोटी रुपमा कवि आफुले कुन कित्तामा उभिएर लेख्ने? भन्ने कुरा कविको आफ्नो ‘अडान’ वा ‘जीवन दर्शन’सँग सम्बन्धित हुन्छ भने कविले रचना गरेका विभिन्न कृतीहरूमा फरक फरक किसिमले त्यसैको सुक्ष्म रुप पेस हुने गर्छ । जस्तो कि सेक्सपीयरले '…मानिसले भाग्यले गर्दा होइन बरु मानिस आफैले गर्ने गल्तिले गर्दा दु:ख पाउँछ । त्यही भएर साहित्य (नाटक) पनि दु:खान्त हुनु पर्छ । र, यसले दर्शकलाई पनि गहिरो छाप पार्छ…।' भन्ने आफ्नो दृष्टिकोण आफ्ना नाटकहरूमार्फत प्रक्षेपण गरे । यो जुनसुकै साहित्यकारले पनि गरेको छ । चाहे त्यो हलन्त बहिस्कार आन्दोलन गर्ने होस् वा झर्रोवादी होस् वा तेस्रो आयामेली होस् वा राल्फा होस् वा अश्वीकृत जमात होस् वा बुट पालिसवाला होस् वा तरलवादी होस् वा सडक कविता क्रान्ति होस् वा सृजनशील अराजकता वा भयवादी वा रंगवादीले होस् उसले संसारलाई र जीवनलाई हेर्ने वा बुझ्ने एउटा दृष्टिकोण बनाउँछ र त्यसै अनुसार साहित्य वा कविता लेख्छ । घोषित रुपमै मेलै पनि ‘कवि आजीवन प्रतिपक्षमा बस्नु पर्छ‘ भनेकोछु । यो मेरो ‘दृष्टिकोण’को स्थुल रुप वा अडान हो । यही मेरो स्थुल अडानको संरचना (Broader framework) मा बसेर म कविता रचना गर्दछु जुन मेरो विषयका ‘सुक्ष्म’ रुप हुन् । ‘दृष्टिकोण’को ‘सुक्ष्म’ पक्षलाई संप्रेषणीय, सुस्वादु, ग्रहणीय, बनाउँनका निम्ती आवश्यक न्यूनतम तत्वहरूको उचित सम्मिश्रण चाहिन्छ । ती तत्वहरूका बारेमा मैले माथि बुँदागत (१ देखि ९) रुपमा प्रष्ट राखेको छु । यसरी दृष्टिकोणको ‘स्थुल’ घेराभित्र रहेर ‘सुक्ष्म’ किसिमले पेस हुने कविता लेखन कार्य गर्नु पर्दछ भन्ने म ठान्दछु ।

११। 'कविता' र 'समाज परिवर्तन/रुपान्तरण' को सम्बन्ध कस्तो हुन्छ? भन्ने कुरामा पनि कविहरू प्रष्ट हुनु पर्दछ । साथै आफ्नो 'सृजना' कुन किसिमको 'उत्पादन' हो र त्यसका 'उपभोक्ता' को हुन्? यो कुरा कविले ठम्याउँनु पर्छ । सबै कविता सबैको लागी हुँदैनन् । जस्तै: लोक छन्दमा लेखिएको कविता सरल भाषामा गाउँदै सुनाउँने भएकोले आम जनसमुदायमा समेत राम्ररी सम्प्रेशण हुन्छ र त्यसले तिनै स्रोताका हृदयमा छाप छोड्छ । त्यही समुदायमा वौद्धिक वा दार्शनिक गद्य कविता सुनाउँदा चाहेजस्तोगरि संप्रेशित हुँदैन र स्रोताका हृदयमा छाप छोड्न सक्दैन । जबकि त्यही वौद्धिक कविता वुद्धिजिवीहरूमाझ सुनाए राम्रो छाप छोड्छ ।

माथिको आम जनसमुदाय र वौद्धिक स्रोताहरूको कुरालाई आधार मानेर अब 'कविता' र ''समाज परिवर्तन/रुपान्तरण"को अन्तरसम्बन्धलाई हेर्ने हो भने प्रष्ट हुनेछ । मजदुर, किसानहरू वा स्रमजिवी अन्य वर्ग र तप्काका समुदाय आफ्नै जीवनका असंगत प्रणालीहरुका विरुद्ध आफै आन्दोलनमा सामेल हुन तैयार हुन्छन् वा आन्दोलित भइरहेका हुन्छन् । त्यसैले यो वर्गका आन्दोलन वा जीवन परिवर्तनका निम्ती लेखिने कविता समाजमा व्याप्त वेथितीहरूका बारेमा प्रष्ट पार्दै समाज परिवर्तनको उद्देश्य समेत दर्शाएको सरल, सोझै बुझिने कविता रचे र सुनाए त्यसले आन्दोलितहरूलाई थप उर्जा दिन्छ ।

तर, वौद्धिक समुयदायका स्वाभावको कुरा गर्ने हो भने, ऊ समाजका अन्य सबै वर्गको लागि पनि चिन्तित हुन्छ र तिनको जीवनमा परिवर्तन हुनु पर्दछ भनि ठान्दछ । साथै आफ्नै (वौद्धिक) समुदायलाई पनि नराम्रो असर गर्ने वेथितीहरूको परिवर्तनका निम्ती पनि ऊ लेख्छ र बोल्छ । त्यसैले वौद्धिक समुदायको खपतका निम्ती उल्लेखित दुबै पक्षलाई ध्यान दिएर कविता लेखिनु पर्दछ । दुबै किसिमका समुदायमा 'परिवर्तन' जरुरी छ भन्ने धारणा निर्माण गर्न कविताले मद्दत गर्ने हो ।

कवि पनि आन्दोलनहरूमा संगै हिँड्न सक्छ तर आधारभूत रुपमा हेर्ने हो भने कविले जुलुसमा मानिसहरू निस्कनु अघि नै कविता मार्फत उर्जा दिने काम गरिसकेको हुन्छ । र, कवि पनि जुलुमा सामेल हुँदा कविको रुपमा होइन कि एक नागरिकको रुपमा सामेल भएको हुन्छ । एक अध्येताका रुपमा सामेल भएर थप कविताको विषयवस्तु खोजिरहेको हुन्छ । अर्थात १) कविता आफैले परिवर्तन गर्दैन तर परिवर्तनका निम्ती तैयार हुन सम्पूर्ण जनसमुदायलाई मानसिक खुराक प्रदान गर्दछ । २) वौद्धिक वर्गकै निम्ती र वौद्धिक वर्ग मार्फत समाजमा परिवर्तन गराउँनका निम्ति धारणा बनाउँने काममा पनि कविले मद्दत गर्दछ । ३) कविता सृजना गर्ने कवि (सर्जक) एक नागरिकका हैसियतले आफ्नै हकहितका निम्ती आफै पनि संघर्षमा सामेल हुन्छ । ४) कविले जहिले पनि जीवन वा संघर्षमा अनेक डोबहरूमा कविताको खोजी गरिरहेछको हुन्छ ।

अर्थात, इलेक्ट्रोनिक ईन्जिनियरले तैयार गरेको 'स्टेण्ट'लाई लिउँ । इलेक्ट्रोनिक ईन्जिनियरले 'स्टेन्ट' (मुटुको कोरोनरी आर्टरीमा ब्लकेज हुँदा राख्ने सुक्ष्म नली) बनाए । त्यसलाई मुटुको डाक्टरले ब्लकेज खोल्न मुटुको नसामा लगेर राखिदिन्छ । तर फायदा हुन्छ मुटुको रोगीलाई । त्यस्तै कविले कविता लेख्छन् । समाज परिवर्तनका निम्ती काम गर्न लागेका मानिसले कविता पढ्छन् र 'समाज परिवर्तन त गर्नै पर्ने रहेछ' भन्ने कुरा कविताबाट पनि 'अनुमोदित' भएपछि उनीहरू झन लागी पर्छन् । यसरी उनलाई समाज परिवर्तनका निम्ती लाग्ने उर्जा हासिल भएर काम गर्दै गएपछि समाजमा परिवर्तन आउँछ । यसरी हेर्दा कविताले नै परिवर्तन गर्ने होइन । बरू परिवर्तनकामी मानिसलाई परिवर्तन गर्ने कार्यमा अझ लागी रहन उत्प्रेरित गर्ने हो । परन्तुमा समाजका व्याप्त बेथितीहरूमा सुधार आउँछ जसले समाजका सबैलाई फायदा हुन्छ । यसरी कविताले पनि परिवर्तनका निम्ती धारणा निर्माण गर्ने प्रकृयामा नियमित थोर बहुत योगदान गर्दछ । कविले पनि 'म कहाँ योगदान पुर्‍याउँदैछु' भनि प्रष्ट भएर कविता लेखेन भने कुहिरोको काग हुन्छ ।


आजीवन प्रतिपक्ष किन?
कवि हुनु भनेको ‘वाल सुलभ आलोचक’ वा 'प्रशंसक' हुनु हो । मन नपरेको कुरालाई निस्पक्ष किसिमले आलोचना गर्ने र मन परेको कुरालाई प्रशंसा गर्ने । जस्तै: सुन्दर फुल देखे कवि फुलको प्रशंसा गर्न थाल्छ । तर फुल नजिकै तैनाथ काँडाको घोच्ने नियतमाथि कवि आलोचना गर्छ । यसो गर्नसके मात्र कविता निश्छल हुन्छ । निश्छलता कविताको अर्को सुन्दर रुप हो । अर्थात कविले जहिले पनि कसैले नदेखेको कुराहरुको सन्धान गर्नु पर्छ र प्राप्त नतिजाहरू उजागर गरेर समाजलाई देखाइदिनु पर्छ । किनभने, कवि एक सुक्ष्म अनुसन्धाता पनि हो जुन अनुसन्धानका नतिजाहरूका आधारमा राम्रा वा नराम्रा के के भइरहेछ भन्ने कुराको निर्क्यौल गर्दछ र नराम्रोप्रति प्रहार गर्दै कवितात्मक रुपमा आलोचना लेख्दछ र आलोच्यलाई सुधार्न पर्ने कुराहरु बारे थाहा दिन्छ ।

समाजमा सबैले राम्रै काम गरिरहेकोछु भनि ठान्छ र आफ्नो कुरा सबैलाई राम्रै लाग्छ पनि । तर अन्जानमा गल्ती, कमी-कमजोरीहरू भइरहेका हुन सक्छन् । त्यो देखाउँने काम इमान्दारीपूर्वक कविले गर्नु पर्दछ । समाजमा योजनाबद्द रुपमा केही अपृय कामहरू भईरहेका हुन सक्छन् । कसैले बदनियतपूर्वक नराम्रो काम गरिरहेका हुन सक्छन् । त्यो कुरा उजागर गरेर पनि कविले कविता लेख्नु पर्छ । यो नै उसको परम कार्य हो । यही अडानका आधारमा मैले महाशक्तीको बदमासीलाई उदाङ्गो पारेर ‘परेवा र चील’ लेखेको छु, दक्षिण अफ्रिकाको अवस्थालाई उजागर गरेर ‘जोवर्गका जेब्राहरु’ लेखेकोछु, सिंगै काठमान्डु आफैमा एक तानाशाह (प्रणाली) भएर बसेको छ भन्ने कुरा प्रष्ट पारेर ‘काठमाण्डु साहाब’ लेखेकोछु । यी केही उदाहरण मात्र हुन् । अर्थात, म जहिले पनि ‘स्थापन’पक्षको विरुद्ध ‘प्रतिपक्ष’मा बस्दै आएकोछु र आजीवन रहनेछु । विगत कोट्याउँने हो भने राजाले थालेका पञ्चायती व्यवस्थाको बेला सो व्यवस्थाको आलोचक भएर ‘सगरमाथा नाङ्गै देखिन्छ’ कविता रचेँ । पशुत्वलाई मनुष्यत्वले जित्ने सन्देश राखेर ‘सुम्निमा पारुहाङ’ (मुन्धुमकाव्य) पनि लेखेँ । राजाको निरंकुसता बढदैजाँदा ‘दरवार भत्किरहेछ’ कविता रचेर सुनाएँ । अझ गणतन्त्र प्राप्तीका निम्ति ‘गनतन्त्रको खेती’ कविता रचेर गणतन्त्र कविता आन्दोलनमार्फत साथीहरुसँग ठाउँठाउँमा कवि सुनाउँदै हिँडेँ । गणतन्त्रलाई सँस्थागत गर्नु पर्छ नत्र मुलुकमा आउँन लागेको गणतन्त्र फेरि गुम्न सक्छ भन्ने आशयले ‘किताब’ कविता लेखेँ । यसरी मैले प्रतिपक्षमा बसेर पनि लेख्दै आएकोछु । यस किसिमको कविताले मात्र घर, समाज र राज्य संचालकहरूलाई, उनले आफैँ नेदेखेका वा जानी जानी गरेका बदमासीका विरुद्ध नाङ्गोझार पार्न सकिन्छ र समाजका निम्ती सभ्य र सुसँस्कृत हुने बाटो प्रसस्त हुन्छ भनि ठान्छु ।

नेपालमा गणतन्त्र सँस्थागत गर्ने संविधान बन्ने प्रकृया चलिरहेकोछ । के त अब? प्रतिपक्षमा बस्ने कविको काम सिद्धियो? होइन, प्रतिपक्षमा बसेको कविको काम सिद्धिँदैन । बरू उसले सुक्ष्म रुपमा सँस्थापन पक्षका हानिकारक पवृत्तिलाई नियाल्नु पर्छ र त्यस्तो प्रवृत्ती विरुद्द कविले कविताको तरवार उठाएर प्रहार गर्नु पर्दछ । मेरा कविताको काम हो घर, कार्यालय, समाज र राज्य संरचनाले दिमागमा भरेर राखेका नकारात्मक अवधारणाका विरुद्ध लड्नु । यति सम्म कि मै भित्रका कतिपय जीवन वा समाज विरोधी प्रवृत्ति विरुद्ध लड्न मलाई नै पनि मद्दत गर्नु पर्छ मेरो कविताले । यो लडाइँ त गणतन्त्र आएपछि मात्र होइन जीवनभर नै लडिरहनु पर्छ मैले । म यही अडानका साथ आजीवन लेखिरहन चाहन्छु । जसका दुइ उद्देश्य छन् । १) सँस्थापन पक्षलाई पृष्ठपोषण, र २) सँस्थापन पक्षको नकारात्मक कार्यबाट प्रभावितहरूको हक स्थापनाको आन्दोलनलाई उर्जा थप्नु ।

कविता कत्ति नै मानिसले पढ्छन् र? तर जतिले पढ्छन् तिनले मेरो कविताबाट निरन्तर सामाजिक रुपान्तरणको गतिशील प्रकृयामा अझ गति थप्ने स्रोत वा उर्जा पाउन सकुन् । मानव सभ्यताको प्रतेक युगमा कविताको यो एक धारको रुपमा रहँदै आएको पनि हो । जसले मानिसलाई दिनदिन अझ सभ्य र सुसँस्कृत बन्न मद्दत गरिरहन्छ । कविता मार्फत आफु पनि समाज परिवर्तनको महान यज्ञमा आफ्ना कविताहरूको चरु समर्पित गर्दै म प्रतिपक्षको सदावहार आन्दोलनमा थुप्रै कविहरूसँग आजीवन सामेल रहनेछु ।
(कविता लेखन कविकै अनुभव)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 श्रावण, 2067

लेखकका अन्य रचनाहरु