हवाई राजमार्गको प्रस्ताव

- धीरकुमार श्रेष्ठ

हाम्रा विश्वस्तरीय मापदण्डका अब्बल सडकमा गुडेर कसैले नियत समयमा सहीसाबुत गन्तव्यसम्म पुग्छु भनी सोचेको मात्र छ भने पनि उसलाई ‘सर्वोत्कृष्ट बहादुर पुरस्कार’बाट पुरस्कृत गरे हुन्छ । यसबाट हाम्रा लागि बहादुरीको एउटा नयाँ आयाम थपिनेछ, जसमा विश्वका कसैले दाबी गर्ने साहसै गर्न सक्ने छैनन् । कारण, एक त साँगुरा सडक; त्यसमाथि उबडखाबड यति कि स्प्रिङले भन्दा बढी उफार्दै हाइजम्पको मजा दिने । अर्कातिर लिउन उप्किएका सडकका निःशुल्क धूलाले टेलकम पाउडरको आवश्यकता बिर्साइदिने । यस्तामा कस्ताकस्ता बाइक राइडर होस् कि गाडी ड्राइभर; को सातापुत्लो नउडेर कसको उडोस् ? गाडीको मुखै नदेखेकाहरूको ? अथवा गाडी देख्नासाथ फूलमाला, अबिर र धूपदीप नैवेधले पूजा गर्नेहरूको ?

यस्तामा आफ्ना गल्तीका कारण कहिल्यै दुर्घटनामा पर्दिनँ र भनेको समयमा भनेको ठाउँमा पुग्छु भनेर कसैले सोचेको मात्र छ भने पनि उसले यहाँको ट्राफिक बुझ्न बाँकी छ भन्ने बुझे हुन्छ । उसले बुझ्न बाँकी कुरामा अरू पनि थुप्रै पर्न सक्छन्, त्यसमध्ये केही यी हुन सक्छन् ः आकासे पुल छँदाछँदै जहाँबाट पायो त्यहीँबाट जथाभावी बाटो काट्नेको अधिकारलाई सम्मान गर्दै बचेर अगाडि बढ्नु, पेटीलाई विश्राम गर्न दिएर सडकलाई नै पेटी बनाई पैदल यात्रा गरिरहेका पैदल यात्रीका सडक अधिकारको सम्मान गर्नु, सडककै अधिकांश भाग ओगटेर सडक व्यापारीले निर्बाध उपयोग गरिरहेको मानव अधिकारको रक्षा गर्नु, जथाभावी रोकेर राखिएका सवारी साधनको पार्किङ अधिकारको सम्मान गर्नु, सडकमै सुकाइएका बिस्कुन अधिकारको सम्मान गर्नु, सडकमै दाइँ गर्नका लागि ओछ्याइएका गहुँ कोदो आदि जस्ता अन्नको चिप्ल्याउने अधिकारको सम्मान गर्नु, सडकमा छाडा छाडिएका बस्तुभाउको पशु अधिकारको सम्मान गर्नु, ट्राफिक लाइटको सट्टा ट्राफिक प्रहरी इसाराको सम्मान गर्नु, जथाभावी ओभरटेक गर्दा फेक हुन्न भन्ने ज्ञान पाएका ज्ञानीहरू, जसले नागबेली फन्का मार्दै झन्का छुटाउँछन्; को अनुभवी र पूर्ण ड्राइभिङ कलाको सम्मान गर्नु आदिआदि ।

माथि उल्लिखित अधिकार र कलाहरूको सम्मान गर्न यहाँका स्थल मार्गका लम्बाइ बढाए पनि सम्भव हुन्न । रबर हो र ? तन्काएर तन्किने ? त्यसमाथि वर्षभरि ध्यानस्थ भएर समाधिलीन रहने सडक निर्माता वर्षा लागेपछि फर्सा उचाल्दै हतारहतार ज्ञानस्थ भएपछि त्यसले अल्पायुमै मुक्ति पाइहाल्छ । अब जन्मजन्मान्तर जन्ममरणको बन्धनबाट मुक्त भई परम आत्मामा लीन हुनका लागि खोजेर नपाइने मुक्ति सडक निर्माताले छोटै समयमा दिन्छन् भने कसरी सडकको लम्बाइ बढ्छ ? अनि कसरी हुन्छ सबैको अधिकार र कलाको सम्मान ? हुँदैन । ज्यान गए हुँदैन । जसले जे भने पनि हुँदैन । अनि खोज्न परेन त नयाँ उपाय ? उपाय पनि यस्तो कि कसैको आयमा घाटा नलागोस् । लाग्यो भने बाटामा देखिने तिनीहरूको ताण्डव नृत्यलाई पाण्डवले पनि रोक्न सक्दैन । यो सबैलाई थाहा हुनुपर्ने हो । छैन भने अहिलेदेखि थाहा पाए हुन्छ । बिग्रिने केही हुँदैन बरु सप्रिन्छ नै । यिनै कारण यहाँ स्थलमार्गको सट्टा हवाई राजमार्गको प्रस्ताव गरिएको हो ।

हवाई राजमार्गको निर्माण गर्ने हो भने जाममा लागेको लामदेखि भामभाम समस्या पनि समाधान हुन्छ । यसका लागि पाँच सय फिटभन्दा माथिको आकाशमार्गलाई राजमार्गका रूपमा प्रयोग गर्ने । पाँच सय फिटभन्दा माथिको उचाइलाई जतिओटा चाहियो, त्यतिओटा तहमा बाँडेर सबै किसिमका सवारी साधनका लागि प्रयोग गर्ने । आखिर हाम्रै आवश्यकतालाई विचार गरेर त निर्माताहरूले सडकमा गुड्न सक्नेदेखि लिएर आकासमा उड्न सक्नेसम्मका सवारी साधनको निर्माण गरिदिएका हुन् । यति पनि बुझ्नुभएन ? तिनै सवारी साधन आयात गर्ने र हवाई राजमार्गमा निवार्ध चलाउने । हामी विश्वका सर्वोत्कृष्ट आयातकर्ता हुँदै हौँ क्यारे । के फरक पर्छ ?

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 श्रावण, 2067

लेखकका अन्य रचनाहरु