ढोकाको मृत्यु

- ठाकुर बेलवासे

जुन दिनदेखि इश्वर ढोकासहितको
कोठामा बस्न थाल्यो
त्यस दिनदेखि ढोका मर्यो ।

ढोका सँगसँगै
मान्छेको विश्वास
आस्था पनि मर्यो
मात्रर् इश्वर भ्रम बाँचिरहृयो
चौकोसभरि ठिङ्ग उभियो अहङ्कार
भुल्न नहुने
ढोका शान्ति हो
इश्वर युद्ध हो
हरेक मान्छे द्वन्द्व बाँचेको छ
ढोकाको अवशेष मात्र बाँकी छ ।

मृत ढोका खुल्ला छोडिराखेको छ
सम्झन्छु
विश्वास भनौँ मान्छे
आगमन-प्रत्यागमन हुन्छ
ढोकाबाटै ।

मैले ढोकामा
भरि गाग्रो
फूल, जमरा स्वागत गरेँ
बादल बनेर मान्छेहरू
इश्वर बोकेर मान्छेहरू
ढोकाभित्र छिरेरहे
उनीहरू
न मान्छेको चर्चा गर्छन्
न इश्वरको ।

मैले एकजना पनि मान्छे
ढोकाबाट आवत-जावत गरेको देखिनँ
ढोका सधैँ भीड भइरहृयो ।

ढोका झुन्ड्याएर लासमा
खुल्ला ढोकाको गरुड-पुराण
पढिरहेछ
देश चलाउने सरकारहरू
कुनै गल्लीभित्र
कुनै पुरानो भूकम्प पीडित घरको
छिँडीमा बसेर
आकाशको कुरा गरिरहन्छन्
र सडक कर्फ्यू लगाएर
सडकको कुरा गर्छन् ।

म ढोकासँगै अलग्गिएको
इश्वरको अहम्
ढोकासँगै चपाइएको मानवीयता
ढोकासँगै चिरिएको संस्कार
हेरेर कहालिएको छु
ढोका त उज्यालो हुनुपर्ने
ढोकाबाट अँध्यारोको मुस्लो
मतिर बढ्दै गरेको छ
म ढोका भएर
ढोका उभिन खोजेको छु ।

प्रत्येकले आ-आफ्नो ढोकामा
समय हत्या गरिरहेका छौँ
अब कसले कसरी गाउला
ढोकाको गीत ।

समय मारेर र्
इश्वर जन्माउने
समाज
ढोकाको हत्यामा अग्रसर छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 5 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु