आफ्नै महाभोजमा सामेल एउटा मान्छे

- हरि अधिकारी

पैतालामा गडेको पुरानो खिलझैँ
शहरको छातीमाथि सवार
ऊ, वीच सडकमा उभिएको छ
ओढेको छ उसले
हाहाकारभन्दा पहिले फैलिने
चीसो चकमन्नताको मैलो च्यादर

मूर्ति चोरिएको रित्तो मन्दिरको
छुचुन्द्रो जत्तिकै कङ्गाल
एक हुल मानिसहरू
जम्मा भएका छन्
उसको महाभोजमा सामेल हुन

समयको झीरले कुरुप बनाएको
अग्लो मन्दिरको गजुरमा
झुण्डिएको छ
उसको रगताम्य अतीत

हुरीको चर्को सुसेली सुनिँदै छ नजिकै
बाढीको उग्र गर्जन उठेको छ नजिकै
उज्यालोको तीखो दंश आइपुगेको छ नजिकै
भर्खरै मरेको बूढो घोडा जस्तै
नितान्त एक्लो ऊ
आफ्नै हस्तित्वमाथि उठेको बडेमानको प्रश्नलाई
सकी न सकी बोकेर
बीच चौबाटोमा उभिएको छ
निरुद्देश्य, निरर्थक र गतिहीन

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 5 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु