भूमिकाको भुमरी

- लक्ष्मण गाम्नागे

मनमा उमि्रने तीन न तेह्रका तरङ्गहरूलाई कागजका पानामा उतारी टोपल्ने आफ्नो नानीदेखि लागेको बानी । अठार-बीस वर्षको उखरमाउले उमेरमा प्रेमका तर्कनाहरू खुब उमि्रँदारहेछन् मनमा । त्यो बेला कवितात्मक शैलीका थुप्रै प्रेमपत्रहरू लेखियो । त्यस्ता शैलीका प्रेमपत्रकै कमालले कविता नामकी केटीलाई जीवनसाथी बनाउन सफल भएको गोप्य कुरा पनि आज खोलिदिएँ । उमेर अलि छिप्पिँदै गएपछि र साथीभाइहरूले भटाभट किताब निकाल्दै विमोचन गर्दै समोसा खुवाउँदै गरेको देखेपछि मलाई पनि किताब निकालौँनिकालौंँ भएर आयो । पुरानो बक्सा छान मार्दा एउटा किताब निकाल्न पुग्ने प्रेमकविताहरू भएको जस्तो लाग्यो । एक साँझ कुखुराको आधा किलो मासु ल्याएर अनेक मरमसला र भएभरको सीप लगाएर मीठो पारेर पकाइवरी आफ्नी धरमपत्नी धनकुमारी -कविता त पिरेम पर्दाको नाम मात्रै पो रहेछ ) लाई पेटभरि खुवाएँ । उनी अत्यन्त प्रसन्न भइन् । त्यही मौकामा मैले अनेक भूमिका बाँधेर अन्त्यमा एउटा कविताको किताब छाप्ने आफ्नो पुरानो घिडघिडो रहेको कुरो सुनाएँ । बूढीले प्रसन्न चित्तले सकारात्मक जवाफ दिएपछि मैले भोलिपल्ट बिहानै कविताहरू लगेर कम्प्युटरमा घान हाल्न लगाएँ ।

किताब छापेर विमोचन गरेर ठूलाठूला लेखक/समालोचकलाई बोल्न लगाएर मारामार दाम पनि उठाउनुपर्छ, नाम पनि कमाउनुपर्छ भनेर बूढीलाई हुसुसुस्स हौस्याएँ । उसले पनि हौसिएर किताब छाप्न कानको टप खोलेर खत्रक्कै मेरो खल्तीमा खसाइदिई किताब बेचेर दोब्बर पारेर फिर्ता गर्ने शर्तमा । मैले दोब्बर होइन, तेब्बर पारेर फिर्ता गरौँला भनेर धक्कु लगाएँ । कवि मन त हो, भावनामा बग्दाबग्दै बूढाबूढी मिलेर किताब बेचीबेची घडेरी जोड्नेसम्मका योजना बनाइएछ त्यो साँझ । घडेरी किन्ने ठाउँका विषयमा निकै चर्काचर्की नै पो परेछ बाइ लाजैमर्नु Û

पुस्तकको डिजाइन तयार भयो । लेखक- सुन्दरे साइँलो । प्रकाशक- धन्यकुमारी । सङ्ख्या- पाँच सयप्रति । मूल्य- व्यक्तिगत रु २०।- संस्थागत रु.२००।- इत्यादि फूलबुट्टाका कर्महरू सकेपछि पो बूढीले झल्याँस्स पारी । पुस्तकको अगाडि कुनै ठूलाबडाको भूमिका नराखी तिम्रो किताब कसले पढ्छ ? किताब यस्त्ाो राम्रो, उस्तो मौलिक, मुटु हल्लाउने, भक्कानो फुटाउने इत्यादि भनेर लेखिमाग्नुपर्‍यो नि कसैसित, भनेपछि ज्या है Û भन्दै म परेँ प्रकाशक धन्यकुमारीकै शरणमा ।

अब समस्या पर्‍यो भूूमिका कसलाई लेखाउने ? त्यसको समाधान पनि उसैले निकाली । उसको साथीका बा चल्तीका कवि थिए श्री बुद्धिविलास बजगाईं । प्रत्येक कवि गोष्ठीको प्रारम्भदेखि जलपानसम्मै आफ्नी धरमपत्नीसहित पूरा समय ढुक्कसँग बसिदिने भएकोले गोष्ठीहरूमा मान्छे भर्नुपर्‍यो भने आयोजकले उनैलाई एक नम्बरमा बोलाउँथे । तिनै अद्वितीय प्रतिभालाई भूमिका लेखाउँ न त भनेर एकदिन म बूढीका पछिपछि बुद्धिविलासज्यूूको घरतिर लागेँ ।

त्यस्त्ाा महान् कविलाई प्रत्यक्ष भेट्न पाउँदा मेरो हर्षको सीमा रहेन । अझ उहाँले हाम्रो वचन भुइँमा खस्न नपाउँदै भूमिका लेखिदिने कुरा गर्दा त विश्वास नलागेर मैले आफैँलाई चिमोटेर पनि हेरेँ । मेरो पाण्डुलिपि थन्क्याएर कविजीले दराजबाट छानेर पातलापातला आठ/नौवटा किताबहरू मलाई दिनुभयो । कविता, कथा, निबन्ध, समालोचना, व्यङ्ग्य, सवाई अनेक विधाका पुस्तक । जडीबुटीबाट नपुङ्सकताको उपचार, तन्त्र विद्याबाट सम्पत्ति कमाउने काइदा, आदि अनेक विधा र उपविधाका १५ पाने, २० पाने किताब । पुस्तकहरू पाएर म दङ्ग । ती महान् व्यक्तित्वका कृतिहरू लिएर हिँड्नै लाग्दा कविजीले भन्नुभो- 'बाबु किताबको जम्मा दुई सय भो । बाबु छोरीकी साथीका लोग्ने पर्नुभएछ, एक सय पचास मात्रै दिनुभए हुन्छ । बोक्नुभएको छैन भने भरेभोलि छोरीका हात पठाइदिनु होला । ढिलो भयो भने चाहिँ पूरै लाग्छ नि ।' उनले छोरीलाई पनि अह्राए 'नानी, बाबुले पैसा दिनुहुन्छ, ले है Û फेरि एक पैसा मास्लिस् नि Û'

कविजीका कुरा सुनेर भाउन्न होला जस्तो भो । त्यो बेला एक सय पचास रुप्या भनेको आफ्नो तलबको एक चौथाइ हुन्थ्यो । बूढीका अनुहारतिर हेरेँ । ऊ औँसीको रातजस्ती भइछे । महिना चौपट । हस् हजुर भन्नुबाहेक हामीसँग उपाय थिएन । चुपचाप लाग्यौँ बाटो । घर पुग्ने बेलामा बूढीले 'बूढाको भूमिका भएपछि पक्कै पनि पुस्तक राम्रो बिकिहाल्छ, फिक्री नगर बूढा, किताब बिक्री गरेर उठाउँला' भनेपछि मैले पनि चित्त बुझाएँ ।

पैसाको जोहो गरेर तीन दिनपछि कवीजीकोमा गएर पुस्तकको दाम भुक्तानी गरी भूमिका लिएर हतारहतार घरतिर लागेँ । के लेखेका होलान् त मेरो बारेमा भन्ने जिज्ञासाले मन त्यसैत्यसै उडिरहेको थियो । अति उत्साहले होस हराउला जस्तो भइरहेको थियो । घर पुगेँ, बूढीलाई बोलाएँ र भूमिका पढ्न थालेँ ।

दस पानाको भूमिका लेख्नुभएको रहेछ कविजीले । दुई पाना कविजीको पुख्र्यौली, जन्म, अध्ययनका बारेमा, तेस्रो र चौथो पानामा कविजीको आफ्नै साहित्य लेखनको भूमिका, पाँचौँदेखि सातौँ पानामा उनकै विभिन्न वाद र दर्शनमा लेखिएका प्रयोगात्मक कविताहरूको चर्चा । त्यसपछि साहित्यमा बुद्धिविलास सिद्धान्तको व्याख्या र केही अन्य वाद र वादीहरूको आलोचना । दसौँ पानाको पुच्छारको अनुच्छेदमा मेरो नाम लेखेर उदीयमान कविको उत्तरोत्तर सफलताको कामना गर्दै शुभआशीष । भूमिका खत्तम ।

म मरेँ । भुतुक्कै भएँ । पसिना खलखली आयो । भित्रैदेखि काम छुटेर आयो । बूढीको वाक्य बस्यो, बोल्नै छाडी । बेच्न लैजान ठीक्क पारेका कानका टप कानमै लगाई र चुपचाप भान्सातिर पसी । बेलुका मैले पुस्तक नछाप्ने बिचार बूढीलाई सुनाएँ । बूढीले उदास स्वरमा 'आँटिहालियो, जे होला छापौँ' भनेपछि पुस्तक छपाइमा गयो भोलिपल्ट ।

दस पाना भूमिका, दुई पाना आफ्नो भनाइ र बीस पाना कविता गरी ३२ पानाको कवितासङ्ग्रह छपाइ गर्न र विमोचन गर्न बूढीका टपमा अफिसबाट दुई महिनाको पेश्की थप गरी काम फत्ते भयो । जे भए पनि किताब निस्कियो । हामी आफ्नै सन्तान जन्मिएको जस्तो खुसी भयौँ । तुरुन्तै पास्नीको व्यवस्था गरियो । पास्नीमा पनि उनै कविजीले एक घण्टा प्रवचन दिए । अर्का एक जना समीक्षकले कविजीको भूमिका र मेरा प्रेम कविताको उछितो काढेर गर्नसम्म आलोचना गरेर मलाई टाउको निहुराएको निहुराएकै पारिदिए । यसरी मेरो पहिलो कृतिको असामयिक मृत्यु भयो । ती मृत किताबका लाशहरू घरतिर, ससुरालीतिर र अफिसतिर बाँडेर बेलाबेलै डेरा सर्दा हुनसक्ने झमेलाबाट हामी मुक्त भयौँ ।

मलाई भन्दा पनि मेरी बूढीलाई जुवा हारेजस्तो भएछ । ऊ दिनरात छट्पटाउन थाली । दिनदिनै कान छाम्न थाली । बाँकी रहेको तिलहरी उसलाई भारी बोकेजस्तो भयो । मलाई केही लेख्न किचकिच गरेको गरेकै गर्न थाली । मैले पनि लौ खा त भनेर एउटा उपन्यास लेखिदिएँ । यसमा चाहिँ भूमिका उसकै बालाई लेखाउने हामीले पहिल्यै निधो गर्‍यौँ । ससुरा बा पनि साहित्यमा गहिरो रुचि राख्ने र बेलाबेला लेख्ने पनि गर्थे । उनले मेरो बढाइचढाइ गरेर मलाई माथि चन्द्रमा छेउछाउ अन्तरिक्षमा उभ्याएर भूमिका लेखिदिएछन् । मेरो आगमनले डा. ध्रुवचन्द्र गौतम सङ्कटमा पर्नसक्ने कुरा भूमिकामा लेखिएपछि म डरले हरियो भएँ । मैले यसो नगरौँ बूढीभन्दा ऊ मान्दै मानिन । प्रकाशन खर्च मैले बेहोर्नुपर्ने हो भने त्यसै गरौँ । 'हल्लाले त हो नि संसार खाने' भनेपछि जे पर्लापर्ला भनेर त्यो भूमिकासहित किताब छापियो ।

विमोचन कार्यक्रममा समालोचकले लोग्ने लेख्ने, स्वास्नी छाप्ने, ससुरो भूमिका लेख्ने र मूसो भएर पहाडसँग जोरी खोज्ने भनेर मलाई उडाउनुसम्म उडाए र झोलामा दुई-तीन प्याकेट अतिरिक्त खाजा कोचेर उनी बाटो लागे । त्यो किताब पनि भुस । बूढीको रहलपहल गहना पनि ढुस....ल हेर्नोस् है ।

मेरी बूढी ज्याद्री नै हो, त्यति गर्दा पनि बूढालाई डिभोर्स गरेर आफ्नो बाटो लाग्नुको सट्टा बजारमा हास्यव्यङ्ग्यको राम्रो भाउ छ त्यो लेख, परेको म बेहोरौँला भन्दै कस्सिइ । तिमीबाहेक यो दुनियाँमा खुसी पार्नुपर्ने मेरो अर्को को छ र भन्दै म पनि लागेको लागेकै गरेँ । बूढीले लेखेको लेखेकै गर्न लगाउँदा लगाउँदै मलाई पनि साँच्चिकै लेख्ने लत लाग्यो । अलिअलि गर्दागर्दै पत्रपत्रिकाले रचनाहरू छाप्न थाले । एसो नाम पनि पो गाईगुई चल्न थाल्यो । यसैक्रममा मैले एउटा हास्यव्यङ्ग्यको पुस्तक तयार गरेँ.....ल हेर्नुस् है Û

फेरि हलो भूमिकामै पुगेर अड्कियो । कसलाई लेखाउने ? केही साथीहरूसँग सरसल्लाह गरेपछि बानेश्वर निवासी प्रसिद्ध साहित्यकार हाँस्येन्द्र्रराज औडेललाई एकचोटि अनुरोध गरौँ भन्ने सल्लाह भयो । ठूलै मान्छेको भूमिका राख्नुपर्छ र किताबभित्रका कमीकमजोरी ढाक्नुपर्छ । यसो गर्दा पुस्तक बिक्री पनि राम्रो हुन गई प्रसिद्धि प्राप्त हुन्छ भन्ने निष्कर्ष हामी बूढाबूढीले निकाल्यौँ । बूढाको बानी व्यहोरा थाहा नभएकोले उनकोमा सिधै जान धक लाग्यो । ठूला मान्छेका घरमा समय नलिई जान पनि मिलेन । त्यसै भएर एक बिहान आँट बटुलेर औडेल सरको मोबाइलमा फोन हानेँ । उताबाट फोन उठेपछि धकाइधकाइ आफ्नो परिचय दिँदा औडेल सरले तिमीलाई चिन्छु नि भनेको सुन्दा म त्यसैत्यसै खुसीले उम्लिएँ । सरले चिन्छु भनेपछि आँट बढेर आयो । मैले पनि आफ्नो हास्यव्यङ्ग्यको पुस्तकका लागि भूमिका लेखिदिनुहुन्थ्यो कि भनेर आग्रह गरेँ । मैले आफ्नो कुरा पूरा भनिनसक्तै उनले 'ए, के भो त, लेखौँला नि Û' भनेपछि मेरा खुट्टा भुइँमै रहेनन्.... ल हेर्नोस् है Û

मैले उहाँलाई भेट्ने समयका लागि अनुरोध गरेँ । उहाँले भन्नुभयो, घरमा नआउनू । म उतै आउँछु । मलाई सरले कुरा बुझ्नु भएनछ कि जस्तो लाग्यो । मैले किताब पढिदिनुपर्नेर्े र भूमिका लेखिदिनुपर्ने कुरा दोहोर्‍याएँ । उहाँले प्रस्टै भन्नुभयो, मैले कुरा बुझिसकेँ ।

उहाँले आउँछु भनेको कुरा नपत्याएर मैले उहाँको घर पुग्ने बाटो सोधेँ । उहाँले दोहोर्‍याएर भन्नुभयो, 'घरसम्म किन दुःख पाउँछौ, म आफैँ आउँला ।'

म छक्क परेँ । उहाँ आफैँ आएर पुस्तक लिएर जाने हुनुभयो । यस्त्ाा अग्रज पनि हुँदारहेछन्, जो हामीजस्ता आलाकाँचा सिकारु लेखककोमा आफैँ आएर पाण्डुलिपि लिएर लगेर पढिदिने र भूमिका लेखिदिने । यो कुराको खुसीले मलाई रातभरि निद्रा लागेन । मैले कुनै गलत मान्छेलाई पो फोन गरेँ कि Û टेलिफोन नम्बर गल्ती पो टिपेँ कि बा बूढाले मलाई उडाएर त्यसो भनेका पो हुन् कि भन्ने शङ्का पनि लाग्यो तर त्यस्तो होइन रहेछ । भोलिपल्ट बिहानै हाँस्येन्द्र सरको फोन आयो । बेलुका ६ बजे भत्क्यापुलको मुखमा भेट गर्ने सल्लाह भयो ।

आज मेरो मन साह्रै उद्वेलित भयो । पुस्तकबाहेक अर्थोक केही सोच्नै सकिनँ । अफिसबाट बेलुका छिट्टै घर पुग्ने, पुस्तकको पाण्डुलिपि लिएर भत्क्यापुल पुग्ने र औडेल सरलाई भेटेर पाण्डुलिपि दिने । उहाँले तीन दिनभित्रमा पढिसकेर भूमिकासहित फिर्ता दिने । सम्झेर म आतुर भएँ । अफिसबाट निस्कनै लाग्दा हाकिमले बिहानै जिम्मा लगाएको काम तुरुन्तै सक्नुपर्ने कुरो गरे । लौ फसाद Û गर्नै पर्‍यो । काम सक्ता पौने छ बज्यो । सँगै घर फर्किन नयाँ सडक, वायु सेवा निगम छेउमा बूढीले पर्खेको एकघण्टा भइसकेको थियो । उनको फोन पटकपटक काटिसकेको थिएँ ।

छोटा दिन भएकोले साँझसाँझ पर्न लागिसकेको थियो । त्यसमाथि काठमाडौँको सदाबहार लोडसेडिङ । अझ त्यहीँमाथि लगाइरहेको चश्मा फुटेकोले थोरै टाढा पनि नठम्याउने पुरानो चश्मा । निर्धारित क्षेत्रमा बूढीलाई नदेखेपछि फोन गर्न थालेको, मरिगए फोन लाग्दैन । बेलाबेला बल्लतल्ल फोन जान्छ, मान्छे बोलेको बाहेक सबै स्वरहरू सुन्न पाइन्छ । स्याँस्याँ र सुँसुँ, फाँफाँ र फुँ फुँ गर्छ । कहिले खोला कराएजस्तो, कहिले चराचुरुङ्गीको चिरबिरजस्तो, कहिले भीडको कल्याङ्मल्याङ् ध्वनि । कताकता नेपथ्यमा मूर्दावाद-मूर्दावाद भनेको जस्तो पनि लाग्छ । कहिले साइरन बजेको जस्त्ाो, कहिले हुरीबतास चलेजस्तो । बूढी कहाँ पर्खेर बसेकी छ भन्ने पत्तो लगाउन सकिएन । घर लाने मान्छे नभएर स्कुलमा छोरो पर्खिरहेको थियो । ऊ पनि रुन थाल्यो होला । छ बजेर उतै लाग्यो समय । 'नेता र आपत् एक्लै आउँदैनन्' भन्थे, हो रहेछ ।

म लगातार बूढीलाई मोबाइल हान्दै थिएँ । अचानक हाँस्येन्द्र सरको फोन आयो ।

'एइ भा टिँ तिमी स्याँ काँ ?' उताबाट तिमी कहाँ छौ भनेको जस्त्ाो लाग्यो । मोबाइलमा यत्तिको कुरा बुझिनु ठूलै उपलब्धि जस्तो लाग्यो मलाई । मैले आफ्नो बेलिबिस्त्ाार लगाएर उहाँलाई एकैछिन पर्खिन अनुरोध गरेँ । मैले ढिलो हुन गएकोमा क्षमाप्रार्थर्ी छु पनि भने । म बोल्दाबोल्दै बीचैमा मोबाइलमा घण्टी बज्न थाल्यो । म चकित भएर मोबाइलमा हेरेँ । कहिले काटिएछ कहिले । मैले फेरि फोन उठाएँ । उताबाट कड्केको आवाज आयो - 'मलाई.. गुडगुड.. हाँ.. न्वाउने..खोला.. टिँ.. टिँ..नारामा.. टिँ.. खाएर तिमी स्याँ...होरीमा जाने ? यो कुन् टिँ.. रिका हो ?'

'म श्रीमती हराएर खोज्देैछु ।' मैले भने. । 'भेट्नेबित्तिकै लिएर आउँछु ।' उताको कुरा नबुझे पनि मैले आफ्नो पूरो कुरो राखेँ । कुरो पास भयो कि भएन थाहा भएन, मोबाइल चेट् । बीचैमा बूढीको नम्बर पिलिकपिलिक गर्न थाल्यो । हतार हतार उठाएँ ।

'स्याईँयँ..सुइँसुइँ, क्यार्र, झरररर्र म जङ्गलमा छु' बूढीले भनी । बाँकी केही बुझिएन ।

लौन बूढीको दिमाग खुस्कियो कि क्या हो । कुन जङ्गलमा किन गई त्यो ? कतै मलाई कान्छी ल्याउन पाउने कानुनी वातावरण त बनाइन ? मलाई शङ्का लाग्यो । वास्तवमा हामी नेपालीहरूलाई बौलाहा बनाउनमा हाम्रा नेताहरू, मन्त्रीहरू, हाम्रो सडक, ट्राफिक, विद्युत्, खानेपानी जस्तै मोबाइल टेलिफोनको पनि महìवपूर्ण भूमिका रहेको छ । मैले मोबाइललाई मोटरसाइकलको हृयाण्डिलमा ठोकठाक पारेर हेलोहेलो गरेँ । उताबाट बाघ कराएको जस्तो घ्यार्रघुर्र आउँदै थियो, मैले हत्तपत्त सोधेँ- 'कुन जङ्गलमा ?'

बूढीले भनी- अँ ट्याम चिर्रचुर्र चिँ चिँ ङ्गल, स्याई..गुडगुडगुड गुडुडुडु कि घुर्र एरौँ ?

टेलिफोन काटिएको वा नकाटिएको थाहै नभई बीचैमा हाँस्येन्द्र सरको घण्टी बज्यो । सरले दिक्क मान्दै भने- टिँ....टिँ....टिँ...कुलुङ...लुङ ..लुङ...लुङ...अँ.. एँ...। ..इम्रो ..आब ..मी ..र्फइर्ँ ..मिका ..ख । ...न्छेलाई टिँ. टिँ यस्तो दुख...टिँ...।' स्याँ...।

सर रिसाए कि जस्तो लागेर फकाउँदै भनेँ- 'सर, बूढी हराएर खोज्दैछु । भेट्टाउनेबित्तिकै लिएर आइहाल्छु । पुस्तकको प्रकाशक नै भेटिइनन् भने भूमिका आवश्यकै नपर्लाजस्तो छ । भूमिका चाहिने भएछ भने म भोलि आउँछु । सरलाई दुःख भयो, क्षमा पाउँ है सर Û'

सर उताबाट पनि कड्किँदैरहेछन्- 'ति.. टिँ.. श्री.. टिँ...ती.. टिँ ..ति.. टिँ.. नै.. टिँ ..आख । म.. टिँ.. एँ ..टिँ.. । सुइँयँ.. सिरिरिरिरिरि ।'

सरसँग थप कुरा गर्न खोज्दै थिएँ मोबाइल काटिइसकेछ । फेरि घण्टी बज्यो । मैले हत्तपत्त उठाएर सोधीहालेँ- 'तिमी कुन् जङ्गलमा ? रातिउँदो किन जङ्गल

गएकी ? स्यालले लैजाला ।'

उताबाट जवाफ आयो- 'बाबाको खुस्कियो कि क्या हो ? म त घरमै छु नि । के भनेको जङ्गल र सङ्गल ।' तारवाला फोनको कुरा राम्ररी बुझियो ।

म हस्रङ्ग भएँ । छोरीले घरबाट पो गरेकी रहिछे । 'ए नानी मामुलाई फोन गरेर म न्यूरोड गेट छेउमा छु भनिदेऊ त । हामी त बिचल्लीमा पर्‍यौँ' भनेर फोन राखेँ । यतिकैमा झापाबाट बुबाले फोन गर्नुभएछ । आत्तिएको स्वरमा बुबाले सोध्नुभयो- 'बुहारी भेट्टइिर् त ?'

लौन के फसाद हो यो ? यो सञ्चारको विकासले संसारलाई साँघुरो बनायो भन्थे, हो रहेछ । एकघण्टा पनि भएको छैन मान्छे हराएको खबर घरमा पुगिसकेछ । म जिल्लिँदै गर्दा बुबाले चिन्तित हुँदै भन्नुभयो- 'जमाना खराब छ । कसैले अपहरण पो गर्‍यो कि Û जान्ने भएर पुलिसलाई फोन गर्लास् र फान्दामा परिएला । बरु फिरौती कति माग्छन्, मलाई पनि खबर गर्नु । ऋणसिण खोजौँला । खोजेर के भेट्टाइएला र अब । अपहरणकारीको फोन पर्खेर बस्नु । फोन आएपछि मलाई पनि जानकारी गरा है । कस्तो जमाना आयो ।'

कुरा सुनेर त्यो जाडोमा पनि म पसिनै पसिना भइसकेँ । डरले शरीरमा काँडा उमि्रए । लगत्तै छोरीले फोन गरेर सूचना गरी- 'मामूको त मोबाइल स्वीच अफ छ ।'

लौ मार्‍यो । बुबाले भनेको कुरा सत्य नै हो कि क्या हो । लोकतन्त्रमा यस्ता घटना बराबर भइरहेका छन् । म विचलित भएँ । अब कता जाने ? प्रहरी सेवामै रहेका भान्जाले पनि कताबाट थाहा पाएछन् । उनले पनि पुलिसलाई खबर नगर्नु है झन् बित्याँस पर्छ भन्न थाले ।

यो एकान्तमा बेहोस भएर ढलेँ भने कसैले उद्धार नगर्ला भन्ने लागेर सडक किनारातिर बूढीलाई कतै देख्छु कि भन्दै आँखा तन्काउँदै म घरतिर लागेँ । चश्माले आज बढी नै धोका दिइरहेको थियो । अगाडि हिँडिरहेका महिलाहरूजति सबै आफ्नै श्रीमती हुन् कि जस्तो झझल्को लाग्दै बीचबीचमा रोकिँदै घर पुगेँ ।

घरमा छिर्न नपाउँदै छोरीले झपारी- 'खोई त मामु ? मामु जमलमा पर्खिएर बसिराख्नुभएको छ रे । फोन गर्नुभएको थियो । नलिई आउनुभयो कि क्याहो ? भाइलाई पनि स्कुलबाट सरले भर्खर ल्याइदिनुभयो । बाबा त एक्लै पो आउनु भएछ ।'

ए Û अपहरणमा परेको होइन रहेछ । मैले ढुक्कको सास फेरेँ । लौ म गइहालेँ । भन्दै म फनक्कै फर्केर लागेँ जमलतिर । बूढी पत्ता लागेको खुसियालीमा म पचास किलोमिटर प्रतिघण्टाको वेगमा बाटो लागेँ । म सोझै जमल पुगेर यताउति आँखा लगाउँदै थिएँ । फेरि बुबाको फोन आयो । बुबाले भन्नुभयो- 'बुहारी फेला परिछन् । ढुक्क लाग्यो । अबदेखि अलि विचार गरेर घर बाहिर पठाउनु ।'

बूढी पक्कै घर पुगिछ भन्ने लागेर म पनि घरतिर हान्निएँ । नभन्दै बूढी घर आइपुगिछ । उसको आक्रोशको मैले डटेर सामना गरेँ । यो सब हुनुमा मेरो नभई मोबाइल टेलिफोनको गुणस्तरीय सेवाको हो । मैले उनलाई सम्झाएँ । निकै लामो कसरतपछि उनलाई सम्झाउन म सफल भएँ ।

उनीसँगको वार्ताबाट थाहा भो, मोबाइलबाट आउने भाषा र हामीले बुझ्ने भाषामा निकै फरक हुँदोरहेछ । प्रविधिमा आएको यो आश्चर्यजनक प्रगतिले भाषामा पनि ठूलो फरक ल्याएछ । मोबाइलमा जङ्गल भनेको हामीले जमल बुझनुपर्नेरहेछ । यो ज्ञान प्राप्त भएपछि हामी बूढाबूढी मिलेर साँझ बूढी, म र हाँस्येन्द्र सरका बीच भएका कुुराकानीलाई नेपालीमा अनुवाद गर्ने प्रयास गर्‍यौँ । त्यस अनुसन्धानको निचोड यस्तो निस्कियो ।

'मलाई गुडगुड हाँ न्वाउने खोला टिँटिँ नारामा टिँ खाएर तिमी स्याँ....होरीमा

जाने ? यो कुन् टिँ रिका हो ?' भन्ने आवाज मोबाइलबाट आयो भने हामीले त्यसलाई 'मलाई गनाउने खोला किनारामा पर्खाएर तिमी चाहिँ दोहोरीमा जाने ? यही हो

तरिका ?' भनेर बुझ्नुपर्ने रहेछ ।

'स्याइँयँ..सुइँसुइँ, क्यार्र झरररर्र म जङ्गलमा छु' भन्नाले 'म जमलमा छु' भन्ने बुझ्नुपर्नेरहेछ ।

'अँ ट्याम चिर्रचुर्र चिँ चिँ ङ्गल, स्याई..गुडगुडगुड गुडुडुडु कि घुर्र एरौँ ?' भन्नाले 'म ट्याम्पो चढेर सिनामङ्गल लागौँ कि के गरौँ ? भन्ने बुझनुपर्नेरहेछ ।

'टिँ......टिँ....टिँ.....कुलुङ...लुङ ..लुङ... लुङ...अँ.. एँ...। इम्रो आब मी र्फइँ मिका ख । न्छेलाई टिँ टिँ यस्तो दुःख.....टिँ.....।' स्याँ..। अर्थात् 'म गएँ । तिम्रो किताबमा तिमी आफैँ भूमिका लेख । मान्छेलाई यस्तो दुःख दिने ?'

'ति टिँ श्री टिँ.ती टिँ ति टिँ नै टिँ आख । म टिँ एँ टिँ । सुइँयँ सिररिरिरिरि ।' अर्थात् 'तिम्री श्रीमती तिमीसँगै राख । म गएँ ।'

यसरी मोबाइल नामको उत्तरआधुनिक भाँडोबाट उत्पन्न हुने अनौठा आवाज र सङ्केतहरू बुझ्ने क्षमता आफूमा अचानक आएकोमा आज मेरो खुसीको सीमा नै रहेन । अब मलाई कुनै डर भएन, त्यो भाँडोले जस्तासुकै हास्यास्पद आवाजहरू निकालोस् म सहजै बुझ्नेछु । दूरसञ्चार कम्पनीहरूले मलाई मोबाइल भाषा विशेषज्ञ वा अनुवादकमा नियुक्ति गर्लान् भन्ने म आशा पनि गर्छु ।

नयाँ भाषाको अनुवाद त गरियो तर उता भूमिकाकार औडेल सर रिसाउनुभएकोमा आफूलाई ठूलो पछुतो भयो । त्यत्रा बडा मान्छेलाई भूमिका लेखाउने अवसर यो मोबाइलका ठाँडाले गर्दा उम्कियो । अब कुन मुख लिएर फेरि उनीकहाँ जानु । म आफैँले उनलाई भेट्ने आँट गरिनँ । साथीहरूसँग सल्लाह गर्दा औडेल सर कति डिग्रीसम्म रिसाउनुभएको छ पत्ता लगाउने निर्णय भयो । त्यसपछि एक जना साहित्यकार साथीलाई सिआइडीमा नियुक्त गरी मैले पनि त्यो दिनको घटनापछिका सरका गतिवधि र मप्रतिको उहाँको धारणा पत्ता लगाएँ ।

त्यो दिन औडेल सर मलाई नभेटेपछि रिसले रन्थनिएर नजिकैको क्याफेमा पस्नुभएछ । क्याफेमा पसेर के खानुभयो त्यो त थाहा भएन तर रिसको झोँकमा वारिपारि पर्खाल लगाएर प्रवेश निषेध गरिएको भत्केको पुलबाट जोरजुलुम गरेर पर्खाल नाघ्न खोज्ने हुँदा चिप्लेर नराम्रोसँग पछारिनुभएछ । जसोतसो उठेर दुई पाइला अघि बढ्नासाथ कुनै गिलो पदार्थमा जुत्ता चिप्लिई भ्वाङबाट छिरेर पुलमुनि अड्कनुभएछ । उहाँले गुहारगुहार गरेर कराउँदा बटुवाहरूले 'घिच्ने बेलामा आँखा देखिनस्, अपत्ती धोकेर आइस्, उल्टै गुहार माग्दोरहेछ ।' भनेर दुत्कारेछन् ।

औडेल सर पुलमुनि झुण्डिएर जीवनको अन्तिम सास लिँदै हुनुहुन्थ्यो-उहाँ सोच्तै हुनुहुन्थ्यो आज यहीँ समाप्त भइयो भने पनि यो पुलको मुखमा मेरो एउटा अर्धकदको शालिक त राख्लान् नि । साहित्यको सेवामा यत्रो वर्ष बिताइयो । हात गलेर थामिनसक्नु भएपछि हात छोडिहाल्नुअघि अन्तिम आशा गर्दै फेरि 'गुहार' भन्नुभयो । उहाँको भाग्य, त्यसैबेला लेखक महानन्दरामजी घर फर्किदै गर्नुभएको रहेछ । उहाँले त्यो आवाज सुनेर हेर्दा पुलमा मान्छे झुण्डिएको । उहाँले गाली गर्दै भन्नुभएछ- थुक्क अधम् Û आत्मघाती Û किन यसरी मर्न लागिस् ? मर्नै मन भए अलि टाढा एकान्तमा गएर मर्थिस् नि Û तँलाई मेरै घर नजिक आएर मर्नुपर्ने Û'

'ए भाइ Û म हाँस्येन्द्र औडेल । त्यो पापी सुन्दरे साइँलाले गर्दा चिप्लिएर खसेको हुँ । आत्महत्या गर्न खोजेको होइन । मलाई बचाऊ मात्रै न, मैले त्यो सुन्दरेलाई जानेको छु ।' भनेर उहाँ चिच्याएपछि महानन्दरामजीले बल्लतल्ल उहाँलाई माथि तानेर पारि पुर्‍याउनुभएछ । पारि पुर्‍याउँदा पो थाहा भएछ औडेल सरको निधारमा फलामको तारले काटेर रक्ताम्मे । लुगाहरू दुर्घन्धीमा दलिएर हेरिनसक्नु । त्यो गति देखेपछि महानन्दरामजीले घरमा लगेर नुहाइधुवाई गरेर जानुस्भन्दा पनि सर नटेरी घर जान्छु भनेर बाटो लाग्नुभएछ ।

लोकतान्त्रिक नेपालको राजधानी । लोडसेडिङले अन्धकार साँझ । थरथरी काम्दै दायाँबायाँ कतै नहेरी राजेन्द्र भण्डारीलाई पनि उछिन्ने म्याराथुन गतिमा भीमसेनगोला हुँदै बानेश्वरस्थित निवासमा औडेल सरको प्रवेश । उहाँ घरमा छिर्दाछिर्दै भित्रबाट 'के गनायो' ? भन्ने कटुवाणी श्रवण, त्यो पनि आफ्नै धर्मपत्नीको । सरको छाती भरिएर झण्डै गहबाट आँसु बहाव । आँगनमै पाँच बाल्टी पानी मगाई एक डल्लो पूरै साबुनले घोटेर स्नान । स्नानको क्रममा पनि त्यो सुन्दरेलाई...भन्दै दाह्रा किटकिट । आज उप्रान्त कुनै आउरेबाउरे लेखकले भन्दैमा जान्ने भएर भूमिका लेख्न पुस्तकको पाण्डुलिपि लिन आफैँ आउँछु नभन्ने प्रतिज्ञा । लगाएका सबै लुगा घर बाहिर सोझै कन्टेनरमा अन्तिम संस्कार गरी बल्ल घरमा प्रवेश अनुमति । सुत्ने बेलामा तेल तताएर मालिस । भोलिपल्ट टिटानस विरुद्धको सुई । यसै विषयमा एउटा व्यङ्ग्य लेख्ने अठोट ।

मेरो पुस्तकको भूमिका लेख्न सरले पाउनुभएको त्यो हण्डर र दुःख देखेर-सुनेर म साह्रै भावविहृवल भएँ । त्यसपछि मैले उहाँलाई फेरि भूमिकाका लागि अनुरोध गर्ने आँटै गर्न सकिन र अर्कै एक जना लेखकलाई भूमिका लेखाएर पुस्तक छपाएर बाँडीवरि पनि सकेँ ।

ओहो Û औडेल सरको हातमा मेरो

पुस्तक पुग्यो कि पुगेन होला ? सोधौँ भने सरले मोबाइलमा भन्नुहोला- 'तेरो गुडगुडुड ताब टिँटिँटिँ अइँ टिँ आख् आपी !' अर्थात् 'तेरो किताब तैँसँग राख् पापी !'
मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 32 आसाढ, 2067

लेखकका अन्य रचनाहरु