प्रशंसा

- कृष्ण बजगाईं

बत्तिसै लक्षणले युक्त श्रीमती पाएको भन्दै ऊ दंग परेको थियो । यसै खुशीयालीको बहाना बनाएर साथी भाइलाई घरमा खानपीनको लागि बोलायो ।

“मेरी श्रीमतीले राजनीति पनि गरेकीछे ।” उसले कुराको शिलशिला अगाडि बढायो ।

“कुन पार्टीको ?” एउटा दाह्रीवाल जँड्याले सोध्यो ।

“यसले बेस्सरी पढेकी छे । यो शिक्षित नारी हो ।”

“ए” कलेजमा पढाउने जँड्याले टाउको हल्लायो ।

“ब्यापार व्यावसाय पनि गर्न जानेकी छे ।”

“साक्षात लक्ष्मी पाउनु भएछ”– ब्यापारी जड्याँले दम दियो ।

“अति राम्री पनि छे मोरी ।”

“हो त नि” –हिरो जस्तो लाग्ने जड्याँले ¥याल काढ्यो ।
० ०

“पार्टीको कुरा गर्नुछ भनेर अस्ति हाम्रो घरमा आएको दाह्रीवालले बोलाएको छ । म जाउँ है” –यति भनेर ऊ निस्की ।

“शिक्षाका बारेमा गफगाफ गर्नु पर्ने छ भनेर हाम्रो घर आएको त्यो प्रोफेसरले बोलाएको छ । भेट्न जान लागेकी”–यतिमात्रै सुन्न सक्यो उसले ।

“ब्यापार–कारोवारको कुरा गर्नु छ भन्थ्यो त्यो तपाईंको साथी” –त्यसलाई भेट्न...... यो भन्दा बढी सुन्नै चाहेन । कान बन्द गर्यो उसले ।

हुँदा हुँदा एक दिन चक्लेटे ठिटोले मोटरसाईकल पछाडि राखेर हुँइक्याउँदै गरेको देख्यो ।

त्यसको केही दिनमै उसकी श्रीमती एकाएक हराई ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 32 आसाढ, 2067

लेखकका अन्य रचनाहरु