तिम्रो तस्विर

- जय छाङ्छा

भित्तामा टाँगिएको तिम्रो तस्विर
फूलजस्तो
साधुजस्तो
साँच्चि नै नरिसाउने/नबिझाउने
आनन्दको क्षणजस्तो
मोहनीको खानीजस्तो
भित्तामा टाँगिएको तिम्रो तस्विर ।

कोइलीको कुहुकुहु आवाजजस्तै
श्रुतिमधुर तिम्रो बोली
टेपरर्ेकर्ड बजाउँदै
घरिघरि सुन्नेगर्छु
सम्झनालाई उन्ने गर्छु
विरहलाई धान्ने गर्छु
नरिसाउनू है मेरी प्रिय
बचत खाता खोलेरै भए पनि
बिछोडलाई जम्मा गरेको छु
नदीहरुको मुहानजस्तो
भित्तामा टाँगिएको तिम्रो तस्विर ।

अचम्मै छ आजकल मलाई
बिनसित्तिमा दुख्ने गर्छ
तन दुख्छ/मन दुख्छ
खोई ! के भन्ने र मेरो हजुर
कहाँ दुख्छ/किन दुख्छ
बीमा गर्न पाए हुन्थ्यो
अदृश्य या पीडा र बेमौसमका यादहरुको
लजाएर धकाएर केही नभनी बस्ने गरेको छु
सम्झनाको प्रधान कार्यलय
भित्तामा टाँगिएको तिम्रो तस्विर ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु