भाषाको सवाल

- हरिहर खनाल

कुनै पनि विषयमा हुने छलफल, तर्क र वितर्कले त्यो विषयको सामाजिक र प्रायोगिक महत्वलाई घटाउने होइन, बरू माथितिरै तान्छ । तसर्थ, समय–समयमा हुने यस किसिमका बहस, छलफल र तर्क–वितर्कलाई सकारात्मक रूपमा नै लिनुपर्छ । नेपाली भाषको प्रयोगको विषयलाई लिएर कान्तिपुरका केही अङ्कहरूमा केही दिन पहिलेदेखि पक्ष र विपक्षमा रमाइलो बहस चल्दै आएको छ । भाषाको प्रयोगका विषयमा मानिसहरूमा जागेको यस प्रकारको अभिरूचिलाई मैले सकारात्मक किसिमले ग्रहण गरेको छु । मेरो यो आलेख पनि त्यही बहसको परिणति हो ।

भाषा आफैमा अपरिवर्तनीय कुरा होइन । हाम्रो समय र समाज दुवै परिवर्तनशील छन् । परिवर्तनशील समाजमा भाषाका प्रयोगहरू पनि समयको गतिसँगै परिवर्तित हुन्छन्, फेरिन्छन् । भाषा आफैमा गतिशील वस्तु हो । एक पुस्ताले प्रयोग गरेको भाषा अर्को पुस्ताले प्रयोग गर्दैजाँदा निश्चित समयको अन्तरमा त्यसमा महत्वपूर्ण परिवर्तन हुन पुग्छन् र पहिलेको पुस्ताले चलनचल्तीमा ल्याइरहेको भाषाको तत्कालको प्रचलित स्वरूपमा पछि गएर प्रष्ट देखिने गरी फेरबदल आइसकेको हुन्छ । यस प्रकारको परिवर्तन हामीले तल्कालै देख्ने गरी एक वा दुई वर्षमा नभै क्रमशः सुस्त गतिमा, थाहा नपाइने किसिमले हाम्रो बोलीचालीमा घुलमिल हुन पुग्छ । लामो समयको फरकमा हामी त्यस किसिमका परिवर्तन र परिस्कारहरू देख्न र अनुभव गर्न सक्तछौँ । उदाहरणका लागि, भानुभक्त आचार्य वा पृथ्वीनारायण शाहका समयमा नेपाली भाषाको जुन बान्की प्रयोगमा थियो ठ््याक्कै त्यस्तै रूप अहिले छैन र हामीले अहिले प्रयोग गर्दै आएको भाषाको स्वरूप पनि केही सय वर्षपछि गएर फेरिने कुरा निश्चित छ । भाषाविज्ञानको क्रमिक विकासको इतिहासका आधारमा हामीले यस्तो निश्कर्ष निकाल्न सक्छौँ ।

हामीले अहिले सरल र सहज किसिमले हाम्रो भाषालाई जसरी प्रयोग गरी आएका छौँ त्यो त्यसरी नै त्यही रूपमा प्रयोग गर्न हाम्रो भावी पुस्तालाई कठिनाई पर्ने छ । शेक्सपियरका समयमा, सोह्रौं सताव्दीमा चलनचल्तीमा भएको अंग्रेजी भाषा र अहिलेका अंग्रेजहरूले प्रयोग गर्ने अंग्रेजी भाषामा धेरै भिन्नता छ ।

समयको गतिसँगै हाम्रा इच्छा, आकाङ्क्षा र ब्यवहारहरू पनि विस्तारै फेरिँदै जान्छन् । हामीसित हिँजो जे थियो त्यसले हामीलाई पुगेन र आज जे छ त्यो पनि भोलिको पुस्तालाई अपर्याप्त हुन जान्छ । त्यसपछि भाषाका प्रयोगकर्ताहरूले आपूmले प्रयोग गर्दैआएको भाषामा स्वतःस्फुर्त रूपमा परिस्कार ल्याउने वा नयाँ कुरा थपेर आफ्नो भाषाको भण्डार वृद्धि गर्ने काम गर्दछन् ।

प्रविधिका क्षेत्रमा भएका अद्भूत आविष्कारहरूले सम्पन्न भनिएका भाषाहरूको क्षमतामा समेत प्रश्नचिन्ह लगाइदिइका छन् । विज्ञान र प्रविधिको द्रुत प्रगतिले हामीले प्रयोग गर्दै आएका भाषालाई कुँजो बनाइदिएका छन् । संसा।मा कुनै पनि भाषा समग्रमा आफैमा पूर्ण छैन । आजको विकसित दुनियाँ एउटा विशाल विश्वग्राममा परिणत भएको छ । मानिसहरूका फरक संस्कृतिहरू, फरक मान्यता र फरक ब्यवहारहरू कतिपय अवस्थामा एकै ठाउँमा उभिनु पर्ने स्थितिमा पुगेका छन् । त्यस्तो मिश्रित प्रकारको संस्कृतिलाई अभिव्यक्त गर्नका लागि कुनै एउटा मात्र भाषा सक्षम छैन । तसर्थ, भाषाका प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसार अरू भाषाका प्रायोगिक तत्वहरूसमेत आफ्नु भाषामा भित्र्याउँछन् । त्यसो नगरी सुख्खै छैन । अंग्रेजी भाषा विश्वका समृद्ध भाषाहरूमध्ये एक हो । तर अंग्रेजी भाषामा पनि अरू भाषाबाट लिइएका शव्दको एउटा गतिलै भण्डार छ । अरू भाषाबाट भित्रिने शव्दलाई उनिहरूले सहज रूपमा अंगिकार गरेका छन् ।

सबै भाषाको ध्वनि पद्धति पनि एकै प्रकारको छैन । आफ्नो मातृभाषामा नभएको ध्वनि उच्चारण गर्न कुनै पनि मातृभाषाको वक्तालाई धेरै कठिनाई हुन्छ । यो स्वाभाविक पनि देखिन्छ । चिनीयाँ भाषामा “र” ध्वनि नभएको हुनाले होला , चिनीयाँ मातृृभाषी वक्तालाई त्यो ध्वनि उच्चारण गर्न निकै कठिनाई हुन्छ र उसले त्यो ध्वनि उच्चारण गर्ने प्रयत्न गर्दा “ल” ध्वनि निकालिरहेको हुन्छ । त्यस्तै अंग्रोजी भाषामा “घ” वा “ध” ध्वनी नभएको हुनाले हुनसक्छ अंग्रेजी मातृभाषा भएका जो कोहीलाई पनि ती ध्वनिहरू उच्चारण गर्न निकै कठिनाई महसुस भएको हामी आभास पाउँछौं । तर त्यो असम्भव भने छैन । निरन्तरको प्रयास र प्रयोगले त्यस्ता ध्वनिहरू पनि प्रयोगकर्ताका नियन्त्रणमा आउँछन् ।

हाम्रो भाषा हाम्रो गौरव हो । हामी यसैमा गर्व गर्छौ । त्यसैमा हामीले हाम्रो पहिचान पनि देख्छौं । तर दिन प्रतिदिन विराट विश्वसित एकाकार हुँदै गैरहेका हामीहरूलाई हाम्रो आफ्नै भाषाको चौबन्धी घेरामा राखेर, त्यसैको सेरोफेरोमा बन्दी बनाएर हाम्रो आजको आवश्यकता पूरा हुन सक्तैन । तसर्थ, अहिलेको विश्वसित एकाकार हुन पनि हामीले अरू भाषाबाट शव्दहरू सापट लिएर हाम्रा विचारहरूलाई निर्वाध रूपमा आदानप्रदान गर्न हामी तयार हुनैपर्दछ । त्यसो नगरी सुख्खै छैन । यदि त्यसो नगर्ने हो भने हामी पछि पर्छौ ।

सुप्रसिद्ध भाषाविद् डा. तारानाथ शर्माको कान्तिपुरको भाषा शीर्षकको लेख प्रकाशित भैसकेपछि एक दिन, उहाँको सतहत्तरौं वर्ष प्रवेशको सुखद अवसरमा उहाँलाई शुभकामना दिनका लागि म उहाँको घर सरश्वती नगर पुगेँ । भेटका अवसरमा मैले उहाँलाई आफ्नो पुस्तक चिनको डायरी उपहार दिएँ । पुस्तक हातमा पर्ने बित्तिकै उहाँले यो डायरी किन लेखेको, दैनिकी नलेखेर ? भनेर मसित सोध्नुभयो । कुरो त राम्रै हो । मैले ठानेँ । घर पुगेपछि, आफ्नो प्रकाशोन्मुख कृति “बेलायतको डायरी” लाई फेरेर “बेलाइती बाछिटा” बनाएँ र भित्र प्रयोग भएका अंग्रेजी शव्दहरूलाई पनि नेपालीकरण गर्ने प्रयत्न गरेँ । तर मैले जति प्रयत्न गर्दा पनि केही शव्दहरूले भने मलाई हायलकायल पारे ।

“न्युरोड, एयरपोर्ट, प्लेन, फ्लाइट, बोर्डिङ्पास्, ट्रान्जिट, इमिग्रेशन, भिसा, पासपोर्ट, सिट नंबर ब्रिफकेश, बलपेन, पेन्सिल, टि.भी., फ्रिज, माइक्रोवेभ, कम्प्युटर, ल्यापटप, पेनड्राइभ, फाइल, फोल्डर, क्यालकुलेटर, फोन, मोबाइल, हार्ड ड्रिङ्क्स्, कोल्ड ड्रिङ्क्स्, अल्कोहल, एयरकन्डिशन, इन्भर्टर, बर्थ डे, किचेन, केक, आइरन, इन्जेक्सन, स्टेथेस्कोप, थर्मामिटर, व्लिडिङ्, इमेल, इगभर्नेस, एक्सरे रिपोर्ट, डेटा, फेसबुक, रिजल्ट, एस्.एल्.सी.,क्लास, स्कुल, कलेज, युनिभर्सिटी, डायरी, रिङ्गरोड, बरण्डा, आदि अनेक अंग्रेजी शव्दहरूले हाम्रो भाषामा जबरजस्त रूपमा प्रवेश पाइसकेका छन् र तिनीहरू हाम्रो जनजिब्रोमा यति मिहिन किसिमले मिलेका छन् कि हामीहरू ती शव्दलाई अब त प्रयोगमा नल्याउने कल्पनासम्म पनि गर्न नसक्ने स्थितिमा पुगिसकेका छौं । सामान्य मानिसहरू पनि यी शब्दहरू सहज किसिमले प्रयोग गर्दछन् र बुभ्mने हैसियत पनि राख्तछन् । माथि उल्लेख गरिएका शव्दहरूमध्ये केही शव्दका राम्रा नेपाली रूपान्तरण भए पनि अल्कोहल, इगभर्नेस, इमिग्रेशन, इमेल, इन्भर्टर, एक्सरे, क्याल्कुलेटर, केक, फेसबुक, बोर्डिङ् पास, थर्मामिटर, बलपेन, ब्रिफकेस, माइक«ोबस, मिनीबस, सिट नंबर, (आशन संख्या होइन),आदि शव्दका यी भन्दा सरल नेपाली रून्तरण हामीसित छैनन् । यिनको नेपाली रूपान्तरण गर्ने प्रयत्न गरियो भने पनि संभवत बुझ्नु पर्ने स्रोताले त्यसको सक्कली अर्थ भन्दा फरक अरू नै केही बुझ्न सक्छ । अंग्रेजीमा लेख्ने नेपाली लेखक सम्राट उपाध्यायले हालै बजारमा आएको उनको उपन्यास “बुद्धज् ओर्फान्स्” मा नेपाली महिलाहरूले आफ्ना साना नानीहरूलाई फकाउने लोली गीत
“आइज चरी काटौँ कान,
लैजा चरी गोशाइथान”
समावेस गरेका छन् । आज हाम्रो ब्यवहारमा आएको अन्तरभाषा प्रयोगको एउटा उदाहरण हो यो ।

नेपाली भाषा सयौं पूmलका थँुगा हामी भनेजस्तै नेपालभित्र र बाहिर, सन्सारको कुनै पनि कुनामा बस्ने नेपालीको साझा संपर्क भाषा (लिङ्वा फ्य्राङ्का) हो । यो कुनै एक जातको मात्र भिन्दै किसिमको मातृभाषा होइन । यसमा हाम्रो राष्ट्रिय गौरवको भावना सन्निहित छ । तसर्थ यसलाई अनावश्क रूपमा अरू भाषाको आक«मणको निसाना बन्न दिनु हुँदैन । तर चोखो बन्ने नाममा समयको आवश्यकतालाई ध्यानै नदिई एकोहोरो दृष्टिकोणको विकास गर्न थाल्यौं भने हामी संसारलाई सही किसिमले बुभ्mने काममा पनि निकै पछि पर्छौं ।
[email protected] gmail.com
कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 27 आसाढ, 2067

लेखकका अन्य रचनाहरु