स्रष्टा वार्ताः डिजिटल वार्ता

- ऋचा भट्टराई

स्रष्टा र डिजिटल वार्ताको अन्र्तवार्तामा स्रष्टा जगदीश घिमिरे भन्छन् ‘राम्रो रचना राम्रो लाग्छन् – जुन विधाको भए पनि ।’ हो पनि विधा जुनसुकै भएपनि कृति रुचिपूर्ण भएपछि मनपराईहाल्छन् पाठक । तर कृतिमा केही नयाँपन थप्न सकियो भने अझ बढी कुतुहल र उत्सुक हुन्छन् पाठक यसलाई पढ्न । यही सिद्धान्तलाई अपनाएका छन् सम्पादक कृष्ण बजगाईंले, भर्खर निस्केको उनको कृति ‘स्रष्टा र डिजिटल वार्ता’ मा । प्रत्यक्ष कुराकानीबाट नभई सूचना प्रविधिको देन ‘इमेल’बाट विश्वभरि छरिएर रहेका नेपाली स्रष्टासँग गरिएको वार्तालापलाई यो कृतिमा उनले समेटेका छन् ।

इमेल फ्रेन्ड्ली स्रष्टाहरुसँग मात्र गरिएको यो डिजिटल वार्तालाई नेपाली साहित्यको आयाममा एउटा नवीन प्रयोग नै मान्दा हुन्छ । यसैक्रममा इमेल पहुँच वा ज्ञान नभएका कयौं बरिष्ठ स्रष्टालाई छुटाउनु परेको स्विकारेका छन् सम्पादकले । तर उनले जुन तेइस स्रष्टालाई चुनेका छन् वार्ताका लागि, यो छनौटमा बुद्धिमता अपनाएका छन् – विबिध विधा, रुचि, परिवेश र बिशेषता बोकेका व्यक्तित्वलाई छानेर । अनुसन्धानमा ख्याति कमाएका नेपालका कमलमणि दीक्षितदेखि अमेरिकामा बसोबास गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक होमनाथ सुवेदीसम्मका विचार छन् यो कृतिमा । भाषा विज्ञान, राजनीति, साहित्यका वाद, आयाम एवं सिद्धान्त, साहित्यिक पत्रकारिता र अनुवाद जस्ता भिन्न बिधाका बिशेषज्ञका अभिव्यक्ति भएकैले यो कृतिलाई यी भिन्न क्षेत्रका पाठकले मनपराउन सक्छन् ।

अन्य यस्ता पुस्तकहरुजस्तो उमेर वा ‘वरिष्ठता’ का आधारमा नभई वर्णानुक्रमअनुसार मिलाईएको छ स्रष्टाहरुलाई, जसले गर्दा स्रष्टाको नाम खोज्न सहज भएको छ । सुरुवातमै छ कमलमणि दीक्षितको अन्र्तवार्ता, खरो र प्रष्ट । प्रश्नको उत्तर दिदाँ थाहा नपाई–नपाई बनावटी उत्तर दिनुभन्दा आफू ‘सो बिषयको बिज्ञ नभएको’ उत्तर दिनसक्ने साहित्यकार देखेर आनन्द लाग्छ । यस्तै स्पष्ट र सटिक विचार प्रस्तुत गर्छन् कृष्ण धराबासी पनि, कृतिमा प्रश्न अनुसार सबैभन्दा सान्दर्भिक उत्तर उनैका छन् । लीला लेखनसम्बन्धी उनको दृष्टान्तले त एउटा लेखकै काम गर्छ ।

यस्तै लेखकै स्वरुप दिने अन्र्तवार्ता छ गोविन्दराज भट्टराईको पनि, खासगरी उत्तरआधुनिकता र डायस्पोराबारे अलमलमा रहेका पाठक अनि बिशेष गरी विद्यार्थी र शोधकर्ताका लागि यस बिषयको पर्याप्त बिश्लेषण यहाँ पाइन्छ । ‘डायस्पोरिक साहित्य दुईवटा गरामा जरा टेकेर पलाएको रुख हो, त्यसबाट फलेका फल’ भन्ने सरल र स्मरणगोग्य उदाहरण पनि दिएका छन् उनले । तर यो उत्तर दिने क्रममा पूर्वप्रकाशित रचनालाई बिनापरिमार्जन अन्र्तवार्तामा हाल्ने उनको कार्य भने अब्यावहारिक र अपरिपक्क देखिएको छ । यस्तै समयसापेक्ष र जानकारीमूलक अभिव्यक्ति पाइन्छ माधबप्रसाद पोख्रेलका उत्तरमा, अहिले आम पाठकमाझ नेपालका भाषा–भाषिका बारे व्याप्त भ्रमलमई सच्याउने प्रयत्न गरेका छन् उनले ।

कृतिभरि आफ्ना उत्तरमा स्रष्टाहरुले प्रस्तुत गरेका छन् थुप्रै जानकारी, धारणा, व्यक्तिगत जीवनका पाटा र आफ्नो दख्खल भएका विषयसम्बन्धी अभिव्यक्ति र सुझाव । स्रष्टाको बोलाइ र लेखनशैलीमा मौलिकता भएजस्तै इमेल लेखनमा पनि एउटा बिशेषता छ हरेकको । उदाहरणका लागि, धीरकुमार श्रेष्ठका उत्तरमा विनयशीलता पाइन्छ भने नरेन्द्रराज प्रसाईंकोमा आत्मकेन्द्रितता । मोमिला र नगेन्द्रराज शर्मासँगका वार्तामा बहाब, रुमानीपन र लयात्मकता झल्किन्छ । साहित्यिक पत्रिकाको स्थापनाबारे शर्माले भनेका छन्, ‘घाम–पानी भनिनँ, जाडो–गर्मीको परवाह गरिन, भोक–तिर्खा, परिश्रम र पसिनाको कुनै हिसाब राखिनँ– लागिरहें एकोहोरो ।’ आक्कलझुक्कल देखा पर्ने यस्ता सरल स्वीकारोक्तिले आत्मीयता बढाउँछन् पाठक र स्रष्टाबीच ।

अर्को उदाहरण छ मधुवन पौडेलको, उनले नेपाली साहित्य जगतमा धेरै कथा नरचिएको तथ्यलाई स्विकार्दै भनेका छन्, ‘कथा लेखन वास्तबमा धेरै धैर्य चाहिन्छ । यदाकदा जबर्जस्ती गरेर लेखिएका कथाले पछि गएर आत्मग्लानि पनि अनुभव गराउँछन् ।’ यसैगरी युवराज नयाँघरेको ‘निर्बन्ध उडान नै निबन्ध हो’ भन्ने व्याख्या होस् वा हरिहर खनालको नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन ‘राम्रा नेपाली रचनालाई अंग्रेजीमा अनुवाद गरेर त्यसको ब्यवस्थित बजार संयन्त्र विकास गर्ने’ सटिक सल्लाह होस्, साहित्य जगतका लागि अत्यावश्यक तत्वहरु पनि भेटिन्छन् यो कृतिमा ।

तर यो कृति पढ्दाखेरी खट्किने र चित्तै नबुझ्ने पनि कैयौ पाटा छन् । सर्वप्रथम त यसमा सोधिएका कतिपय प्रश्न नै कमजोर र अमिल्दा किसिमका छन् । स्रष्टा यी प्रश्नको आफ्नै बुझाइअनुसार उत्तर दिन बाध्य छन् । अन्य प्रश्नमा भने प्रश्नकर्ताले आफ्नै मत व्यक्त गर्न खोजेका छन् । जस्तै ज्ञानु पाण्डेलाई सोधिएको एक प्रश्न यसरी सुरु हुन्छ । ‘हाम्रो समाजमा समालोचक भन्ने बित्तिकै एउटा पुरुष छवि अगाडि आउँछ ।’ र त्यसपछि त प्रश्नलाई प्रश्नकर्ताकै कल्पना माने हुन्छ । उनी भूमिका बान्छन्, तपाईं समालोचना जस्तो चुनौतिपूर्ण क्षेत्रमा प्रवेश गर्दा अवश्य नै सुरुका दिनमा विभिन्न अप्ठ्यारा बेहोर्नु परेको थियो होला । एक त यो प्रश्नमा अन्तर्वाताकारले आफ्नै उत्तर सुरुमै थोपरेका छन्, त्यसमाथि यसको ब्याकरण पनि अशुद्ध छ ।

फेरी अर्को प्रश्नमा प्रश्नकर्ताको प्रयास उनकै बुझाइ अघि सार्ने प्रयास गरेका छन्, यसो भनेर त्यसक्रममा अस्तित्ववादी दर्शनबारे तपाईंले अध्ययन गर्नु भएको छ । यो प्रश्नको सुरुवात पनि केही नमिलेजस्तो लाग्छ, अहिले नेपालमा दोसल्ला, सम्मान तथा पुरस्कारको व्यवसाय बढेको छ भन्छन् । सबैभन्दा बेतुकको र केटाकेटीलाई सोधिने जस्तो प्रश्न भेन यही छ, जुन निकै पल्ट दोहर्याइएको छ, तपाई आफ्ना सन्ता र सिर्जनामा कसलाई बढी माया गर्नुहुन्छ ?

प्रश्नको बेढंगीपनपछि अर्को त्रुटी भएको छ संयोजनमामा पनि । वार्ताकारले हरेक स्रष्टालाई सोध्ने प्रश्न र उनीहरुबारे प्रदान गरेको जानकारीमा कुनै एकरुपता वा सामन्जस्य छैन । कुनै स्रष्टाका सम्पूर्ण प्रकाशित कृति र सम्मान सुरुको परिचयात्मक अनुच्छेदमा समेटिएको छ भने कसैलाई भने प्रश्न सोधेर चार पेजसम्मको झिँझोलाग्दो उत्तर लम्याइएको छ । झिँझोलाग्दो यसर्थमा कि पाठकलाई यस्ता सामान्य जानकारी पाउन मनलागे उनीहरुले साहित्यकार परिचय कोष नै पल्टाउँछन्, त्यस्ता सूचना समेटेर ठाउँ ढाक्नुभन्दा संक्षिप्त परिचय दिएर लेखकका थप विचार नै समेट्दा पाठकप्रति न्याय हुन्थ्यो ।

यसैगरी एउटा प्रश्नबाट अर्कोमा अनियन्त्रित रुपमा फालहाल्ने प्रवृत्ति पनि कृतिमा देख्न पाईन्छ । हुन त लेखकले इमेलबाट गरिएको वार्ता भएको हुनाले यस्ता कमजोरी हुन सक्ने औंल्याएका छन् तर इमेलको सुविधा अघि पनि पत्राचारमार्फत अन्तर्वार्ता लिइन्थे र तिनले पनि यस्ता समस्याको सामना गर्नु पर्दथ्यो । त्यसैले इमेलबाट संकलन गरिएको भन्दैमा यस्ता कमजोरी माफ गरिहाल्नु पर्ने आवश्यकता छैन । एउटा प्रश्नमा स्रष्टालाई पुरस्कारका बारे त्यसको बिस्तृत विवरण नै समावेश नगरी अर्को प्रश्नमा नेपाली भाषाको कुरा गर्दा अवश्य पनि अस्वाभाविक अवस्था सिर्जना भएको छ ।

बजगाईंले भविष्यमा पनि यस्तो वार्ताको संग्रह प्रकाशित गर्ने इच्टा ब्यक्त गरेका छन् जुन सराहनीय छ । उनको यही कृतिले नेपाली साहितयमा एउटा नौलो छाप छाडेको छ , इन्टरनेटकै सहायतामा कृति तयार गरेर इनटरनेटमै सोको विमोचन गराएर । तर प्रयोग र नयाँपनले मात्र कृति लोकप्रिय भइरहन सक्दैन । त्यसको लागि विषयवस्तुले पाठकको मन जित्न सक्नुपर्छ । यही सरल तथ्यलाई स्विकारेर अब आउँदा कृतिमा नौलो र पठनयोग्य सामाग्रीको सन्तुलन मिलाउन सके बजगाईंका कृति चर्चित हुने नै छन्, जगदिश घिमिरेकै शब्दमा राम्रा पनि हुनेछन् ।

साभारः नागरिक दैनिक


प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 आसाढ, 2067

लेखकका अन्य रचनाहरु