तामाकोसीको तीरमा साहित्य यात्रा

- गोविन्द वर्तमान

दिनेश आचार्यसँग सुनकोसी तरेर खाँडादेवीको मन्दिरतिर उक्लिरहँदा मलाई पहिलोचोटि रामेछाप आइपुगेको अनुभूति भएको थियो । यो ०३६ सालतिरको कुरा हो । शान्त मुद्रामा पूर्वतिर बगिरहेको सुनकोसीको दक्षिणतिर सिन्धुली जिल्ला पर्दछ । त्यही जिल्लाको एउटा गाउँको नाम बोहोरेटार हो । त्यो बोहोरेटार मेरो मावली गाउँ हो । ठुलामामाको माइलो छोरो दिनेश आचार्यसँग बोहोरेटारबाट म सुनकोसी तरेर उत्तरपट्टिको रामेछाप जिल्ला टेक्दै खाँडादेवीको मन्दिर गएको थिएँ । त्यसलाई एक दिनभरिको मज्जाको हाइकिङ भन्न सकिन्छ । किनभने बोहोरेटारबाट एक घण्टा तेर्सो हिँडेर सुनकोसी तरेपछि भिरपानीको छेउबाट आँपचौर हुँदै करिब तिन घण्टा ठाडो उकालो उक्लिनुपर्छ । पहाडको विशिष्ट स्वायत्ततालाई उकालो र ओरोलाले मौलिकता प्रदान गरेको छ । सिन्धुली वा रामेछाप मात्र होइन, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल र तराईको बिचमा हामीसँग उस्तैउस्तै लाग्ने र आफ्नैजस्तो लाग्ने विशाल पहाडहरूको पल्टन गर्वसाथ प्रस्तुत भएका छन् । त्यही प्रस्तुतिको एउटा खण्डमा टेक्दै तिन घण्टाको ठाडो उकालो उक्लिएपछि चिसो कुहिराले ग्वाम्लाङ्ग छोपेको लेकमा हामी पुगेका थियौँ । लेकको सिरानमा सिन्धुली र रामेछाप दुवै जिल्लाका बासिन्दाहरूलाई चुनौती दिँदै खाँडदेवीको मन्दिर ठडिएको थियो । दिनेश र मैले त्यस चुनौतीलाई सम्मानपूर्वक स्वीकार गरेका थियौँ ।

त्यसको तिन वर्षपछि २०३९ साल असोजमा अर्को विशेष परिस्थितिले धकेलिएर ओखलढुङ्गा पुग्ने क्रममा म बोहोरेटारको बाटो हुँदै रामेछाप पुगेको थिएँ । त्यसबेला शान्त सुनकोसीको पुछिघाट तरेर म रामेछाप प्रवेश गरेको थिएँ । पुछिघाटको बाटाबाट रामेछाप जिल्ला प्रवेश गरेपछि आफ्नै जस्तो लाग्ने एउटा ठाडो उकालो मेरो अघिल्तिर उभिएको थियो । सान्नेको उकालो भनिने त्यस उकालाले पैदा गरेको धपेडीलाई म रामेछापको दोस्रो यात्राको एउटा विशिष्ट अनुभूतिको रूपमा सम्झिरहन्छु । त्यो उकालाको थाप्लामा पुगेपछि नेपालको जुनसुकै पहाडी बाटामा पनि उकालो सकिएपछि अनिवार्य रूपले आइपुग्ने ओरालो भेटिएको थियो । त्यो ओरालो एक घण्टा ओर्लिएपछि जब तेर्सो सुरु भयो, तब मैले जीवनमा पहिलोपटक एकदमै नजिकबाट सुनकोसीको भाइजस्तो लाग्ने तामाकोसीलाई देखेँ । तामाकोसी उत्तरबाट दक्षिणतिर बगिरहेको थियो । म पसिनाले निथ्रुक्क भिजेको थिएँ । त्यसबेला दिनको दुई बजेको थियो । मेरो टाउकोमाथिबाट तामाकोसीमाथिको झोलुङ्गे पुललाई छोलाजस्तो गरी एउटा सानो हवाईजहाज मन्थलीको मैदानतिर हुत्तियो । त्यस क्षण मैले अनयास रामेश र मञ्जुलहरूले गाउने गरेको त्यतिबेलाको चर्चित गीत रामेछापका चट्टान र पिठौरीका पातहरूलाई सुनाएँ ः
कोइ त भने जहाजमा हरर
कोइ त भने पसिना तरर
हाम्रो नेपालमा ... !
तामाकोसीमाथि टाँगिएको थोत्रो झोलुङ्गे पुल तरेपछि रणजोर खोलाको बगरैबगर मन्थलीको मलिलो मैदानमा पुगको थिएँ । मन्थली पुग्दा त्यतिबेला मैले सम्झिएकामध्ये भरतराज शर्मा मन्थलीय र जगदीश घिमिरे अग्रस्थानमा थिए ।

यसपालि जगदीश घिमिरेको निम्तामा साथी नारायण ढकालसँग म तेस्रोपटक रामेछाप पुगेँ । रामेछाप जिल्ला टेकेको मात्र होइन, सदरमुकाम मन्थली पुगेँ । हामी पुराना सम्झनाहरूलाई सहयात्री बनाएर नेपालथोकको बाटो हँदै मन्थली पुग्यौँ । नेपालथोकदेखि दुम्जा, झाँगाझोली, बोहोरेटार, मूलकोट, घुमाउने चैनपुर, खाल्डे चैनपुर, रजगाउँ, मुगीटार हुँदै मन्थली पुगेका थियौँ ।

हामी रामेछाप साहित्यिक महोत्सवको निम्ति २०६५ पौष २४ गते मन्थली पुग्यौँ । चर्चित पुस्तक अन्तर्मनको यात्रामा जगदीश घिमिरेले तामाकोसी सेवा समितिको बारेका बृहत् चर्चा गर्नुभएको छ । पुस्तक पढेपछि उहाँको पहलमा खुलेको त्यो संस्थाको बखान केही बढी भएको मलाई अनुभव भएको हो । पुस्तकको विषयमा मैले स्वयं जगदीश घिमिरेलाई यही प्रतिक्रिया सुनाएको थिएँ । मन्थली पुगेपछि तामाकोसी सेवा समितिको वास्तविकतासँग केही चिनजान हुनेछ भन्ने आशा थियो । त्यस संस्थाले मन्थली र त्यस वरिपरिको भेगमा गरेका कामहरूको यथार्थलाई मैले आफ्नो अपेक्षा अनुरूप अर्थबोध गर्न पाएँ । त्यहाँ उक्त संस्थाले खानेपानीको समस्यालाई राम्ररी समाधान गर्न सकेको देखियो । निम्न वर्गका मानिसहरूले त्यही संस्था अन्तर्गतको सहकारीकाट सहज रूपले ऋण प्राप्त गरेका रहेछन् । यी दुवै कुरा पहाडी जीवनको विकटताको विपक्षमा सकारात्मक योगदान बनेका देखिए । त्यस यथार्थभन्दा अझ अग्लो स्वरूप त्यहाँ सञ्चालित सामुदायिक अस्पतालले ग्रहण गरेको रहेछ । तामाकोसी सेवा समितिले निर्माण र व्यवस्थापन गरेको त्यस अस्पतालबाट मन्थली र त्यस वरिपरिका रामेछापका बासिन्दाहरूले स्वास्थ्योपचारको सुविधा प्राप्त गरेका छन् र तामाकोसीको निरन्तर प्रवाहजस्तै त्यस क्रमको निरन्तरता जारी छ ।

भौतिक रूपमा मन्थलीबाट उहिल्यै राजधानी सहर काठमाडौँ पुगेर त्यहाँको फराकिलो शैक्षिक वातावरणमा उच्च शिक्षा हासिल गरी विकसित राष्ट्रहरूमा समेत अनेक सुयोगले पहुँच निर्माण गर्न सफल जगदीश घिमिरेले जन्मभूमि मन्थलीप्रति दर्शाउनुभएको दायित्वचेतलाई मैले अुनमोदन गरेँ । यही विषयलाई पौष २४ गतेको चिसो साँझमा तामाकोसी सेवा समितिको अतिथि गृहको आँगनमा बालिएको आगाको राप वरिपरि जम्मा भएका साहित्य, चित्रकला, रङ्कर्मी र पत्रकारिता क्षेत्रका स्रष्टाहरूमाझ मैले सार्वजनिक प्रस्तुति गरेँ । केही मित्रहरूको दृष्टिमा यो अलि बढी सकारात्मक टिप्पणीजस्तो ठहरियो । तर नेपालका गैरसरकारी संस्थाहरूका सम्बन्धमा थोरै मात्र भए पनि जानकारी पाएको हुनाले तासेसलाई अन्य गैससको तुलनामा प्रशंसनीय मान्न मलाई कुनै अपत्ति भएन ।

मित्र नयनराज पाण्डे आजको समयमा एक जना शाक्तिशाली आख्यानकार हुन् । उनी मन्थली यात्रामा आख्यानकारभन्दा वृत्तचित्र निर्देशकका रूपमा पैmलिएका थिए । पौष २५ गते बिहान थुप्रैलाई जस्तै उनले मलाई पनि मुभिक्यामेराको अघिल्तिर उभ्याए । नयनको निर्देशन अनुरूप क्रन्दन चापागाईले प्रश्न गरेका थिए : तपाईं जगदीश घिमिरेलाई कस्तो लेखकको रूपमा लिनुहुन्छ ?

आफ्नो अनुहारलाई क्यामेराको अनुहारतिर फर्काएर मैले भनेँ — जगदीश घिमिरे सामान्यभन्दा माथिल्लो स्तरका साहित्यकार हुन् । उनको रचनामा अन्यायविरुद्ध न्यायचेतना पाउँछु । नेपाली समाजलाई सूक्ष्म निरीक्षण गरेर त्यसको यथार्थलाई प्रक्षेपण गर्ने प्रयत्न उनमा देखिन्छ । त्यसैले उनी सामान्यभन्दा माथिल्लो श्रेणीका स्रष्टा हुन् ।
नयनको क्यामेरालाई भनेजस्तै मैले आमपाठकहरूलाई भन्नुपर्छ — जगदीश घिमिरेको निमन्त्रणालाई त्यही कारणले स्वीकार गरेको हुँ ।

नेपाली साहित्यको नाममा नेपाली समाजको अनुपस्थिति भएको प्राणहीन साहित्य लेख्ने साहित्यकारहरू बग्रेल्ती छन् । स्वैरकल्पना, आधुनिकता वा उत्तरआधुनिकताजस्ता शब्दका अर्थहरूको तेजोबध गर्दै बकबास लेखिरहेका त्यस्ता साहित्यकारहरूले नेपाली साहित्यको मूल सडकलाई नै प्रदूषित पारिरहेका छन् । नेपाली आलोचना क्षेत्र यस्तो कुरूप दृश्यको केवल मूक साक्षी बनिरहेको छ । तर जगदीश घिमिरेको साहित्यमा नेपाली समाज उपस्थित छ । नेपाली मानिस र तिनका गाउँ तथा सहरहरू उपस्थित छन् । त्यसैले नारायण ढकाल र गोविन्द वर्तमानले जगदीश घिमिरेको निमन्त्रणालाई पदयात्रामा समेत रूपान्तरण गर्न सकिने देखेपछि हामी त्यता हिँड्यौँ । बीपी राजमार्गको नेपालथोकदेखि सुनकोसीको तीरैतीर छ घण्टा र त्यसपछि सुनकोसीको झोलुङ्गेपुल तरेर उत्तरपट्टि तामाकोसीको तीरैतीर तिन घण्टा पदयात्रा गरेपछि हामी मन्थली पुगेका थियौँ । फर्कंदा पनि हामीले त्यही बाटो त्यसरी नै तय ग¥यौँ । फरक के थियो भने जाँदा हामी दुई जना मात्र थियौँ, फर्कदा शब्द र वनस्पति विज्ञान दुवैमा उत्तिकै ज्ञान भएका मित्र कृष्णमुरारी भण्डारी समेत थपिएका थिए ।

साभार:मूल्याङ्कन

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 16 आसाढ, 2067

लेखकका अन्य रचनाहरु