उत्कृष्ट लघुकथाहरुको सग्रहः रोडम्याप

- छविरमण सिलवाल

आधुनिक आख्यान सिद्धान्तकै कथा सिद्धान्तको मान्यता अनुसार लघुकथाको अवधारणा विकसित भएको पाइन्छ । छोटो समयमै आजका मान्छेको कथात्मक सन्तुष्टि दिने उद्देश्य राखेर लघु आकारका कथानै लेख्ने भनेर लेखिएका छोटा मिठा कथाहरुलाई नै लघुकथा भनिन्छ । यस विधाको सिर्जना छुट्टै विधागत पहिचान र छुट्टै अस्तित्वबाट आरम्भ नभई आधुनिक कथा लेखनकै प्रयत्न र सूक्ष्म आख्यानको सोंचबाट विकसित हुँदै आएको मानिन्छ । यसरी यस विधाको प्रयोग गर्ने निकै सर्जकहरु लागि परेका देखिन्छन् । आजको विधुतिय सञ्चार माध्यमको तीव्रतम विकास घटनासंगै वदलिएको मानविय जीवनशैली, समयको अभाव र अस्तव्यस्त जीवनका विचमा पाठकको रुचि एवम् सौन्दर्य अनुभूतिसंग एकाकार हुने विशेष गुण भएकै कारणबाट अहिले लघुकथाको लोकप्रियता निकै वढेको अनुमान लगाउँन सकिन्छ ।

लघुकथाको आरम्भ विन्दु यहि हो भनेर किटान गर्न सकिने तथ्य अहिलेसम्म फेला पर्न नसके पनि अन्य भाषामा लघुकथाको उद्भवको आधारमा नेपाली लोक साहित्यमा प्रचलित लोककथा वा किस्सा नै आधुनिक लघुकथाका पृष्ठाधार हुन भन्न सकिन्छ । जे जस्तो भए पनि लघु आकारमा लेखिएका छोटा तिखा, चोटीला र कथाहरुलाई नै हामीले लघुकथा भनेर बुझ्ने गर्दछौँ । आजको नेपाली साहित्यको यस विधाले निकै ठूलो फड्को मार्न सफल रहेको छ । नेपाली साहित्यमा यस विधामा निरन्तर रुपमा कलम चलाउँने स्रष्टाहरु निकै कम रहेका छन् । जो जति रहेका छन्, हालका दशकहरुमा लघुकथा लेखनमा उल्लेख्य मात्रामा सर्जकहरु रहेपनि गुणस्तरीय लेखनमा कमि रहि आएको अनुमान लगाउन सकिन्छ । यसै माँझमा विदेशमा रहेर पनि नेपाली भाषासाहित्यलाई निकै माया गर्ने स्रष्टा हुन कृष्ण बजगाईँ । केहि वर्षदेखि समकालिन साहित्य डट कम बेब पत्रिका संचालन गर्दै आएका बजगाईँको नेपाली भाषा साहित्य प्रति निकै ठूलो योगदान रहेको छ ।

आजकलको वढ्दो प्रविधिसंगै मान्छेको व्यस्तता र छोटो छरितो रचना प्रतिको आजको पाठकको आकर्षणका कारणले आजकल लघुआकारका रचनाहरु लोकप्रिय भइरहेका छन् । समकालीन नेपाली साहित्यमा कृष्ण बजगाईँको उपस्थिति विगत केहि समय देखि सशक्त देखिएको छ । नेपाली लघुकथा क्षेत्रमा पछिल्लो समयमा निकै सशक्त र प्रभावपूर्ण लघुकथाहरु देखिएका छन् बजगाईँका ।

२०४१ मा कविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गरेका बजगाईँका ‘यन्त्रवत’(लघुकथासंग्रह–२०६४) र ‘हिउँको तन्ना’(हाइकुसंग्रह–२०६६) ‘स्रष्टाहरुसंग डिजिटल कुराकानी’(अन्तर्वार्ता संग्रह–२०६६) र प्रस्तुत कृति ‘रोडम्याप’ लघुकथासंग्रह प्रकाशित भएका छन् । अन्तराष्ट्रिय नेपाली साहित्य सामाजसंग सम्बद्ध कृष्ण बजगाईँले ‘समकालीन साहित्य डट कम’ वेब पत्रिका लगायत धेरै पत्रिका र पुस्तकको सम्पादनसमेत गरेका छन् । लिटरेटरी जर्नालिजम अवार्ड(सन्२००९) र देवकोटा शताब्दी सम्मान(२०६६) पुरस्कार/सम्मानहरुबाट समेत सम्मानित लघुकथाकार/साहित्यकार कृष्ण बजगाईँ विदेशमा रहेर पनि साहित्य साधनामा निरन्तर लागिरहने क्रियाशील स्रष्टाका रुपमा देखिएका छन् ।

विदेशमा रहँदा पनि नेपाली राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, साहित्यिक आदी विविध क्षेत्रमा देखिएका विसंङ्गतिहरु देखेर उनको मन खिन्न छ र यी तमाम विसङ्गतिका ठाउँमा उनी सङ्गति चाहन्छन् भन्ने कुरा उनका लघुकथाहरुले देखाउँछन् । डायस्पोरिक जीवनशैली बाँचेर पनि डायस्पोरिक चेतनाबाट पृथक यससंग्रह भित्रका लघुकथाहरुले नेपाली जीवन र समाजकै यथार्थ चित्र उतार्छन् लघुकथा मार्फत ।

‘रोडम्याप’ भित्रका लघुकथाहरु लघु आकारप्रकारका छोटा र छरिता छन् । घटना, विषयवस्तु र प्रस्तुति अत्यन्त रोचक, घोचक र गयात्मकताले भरिपूर्ण छन् । नेपाली राजनीतिमा देखापरेका विकृतिप्रति तिखो व्यङ्ग्य प्रहार गर्न सफल छन् । ध्वंसात्मक राजनीति गर्ने प्रवृतिप्रतिको तीब्र व्यङ्ग्यहरु उनका कथाहरुमा भेट्न सकिन्छ । नातावाद कृपावाद नेताहरुका कमाउवृत्तिप्रतिको यथार्थ चित्रण, जातिय र भाषिक विखण्डनको दुष्प्रवृतिप्रति व्यङ्ग्यहरु पनि उनका कथाहरुमा भेटिन्छन् । विविध शिर्षकहरुमा रहेका ६२ ओटा लघुकथाहरु ‘रोडम्याप’ संग्रहमा पढ्न सकिन्छ । डायस्पोराको व्यस्त र यान्त्रिकी जीवनमा लघुकथा लेखन तथा पढन साहित्यप्रतिको उनको लगाव निकै उच्च रहेको पाइन्छ, यस संग्रहका लघुकथाहरु पढ्दा । यसरी समग्र रुपमा हेर्दा बजगाईका लघुकथाहरु समाजमूखि साहित्यको पक्षमा रहेका छन् । साहित्यले समाजलाई परिवर्तमात्र नगरेर त्यहाँ भएका यथार्थ कुराहरुलाई त्यहि समाज समक्ष पस्कनु हो र समाजलाई मार्गनिर्देशन गर्नू पनि हो । यस अर्थमा उनका यी कथाहरु निकै उपयोगी रहेका छन् । ‘लघुकथाले संङ्क्षिप्त रुपमा समाजका विसङ्गती, विडम्वना, राजनीतिक एवम् प्रशासनिक भ्रष्टाचार, घातप्रतिघात, शोषण, अन्याय, अत्याचार र असमानतामाथि प्रहार गर्ने गर्दछ । तिनैमाथिको कथात्मक प्रहार र विरोधको कला नै लघुकथा हो ।’ भन्ने सुन्दर विचारहरु संम्प्रेषण गर्दै लघुकथालेखनको क्षेत्रमा एउटा अलग्गै पहिचान बनाउँन सफल छन् बजगाईँ । भविश्यमा अझै उत्कृष्ठ संग्रहहरुको आशा गर्न सकिन्छ बजगाईँसंग ।

साभारः जनप्रहार साप्ताहिक, २२ जुन २०१०

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 9 आसाढ, 2067

लेखकका अन्य रचनाहरु