'संसार हत्केलामा छ' सन्दर्भ स्रष्टा र डिजिटल वार्ता

- दीपकमणि "दाजुभाइ"

साँधसीमा निकम्मा भएको छ। भूगोल छुट्याउने शक्तिशाली सीमास्तम्भहरू अर्थहीन भएका छन्। पछिल्लो विकास र विज्ञानले मानिसलाई मानिससम्म पुग्न सहज भएको छ। अब कोही पनि टाढा रहेन। कोही पनि नभेटिने, नदेखिने बनेन। सबै सँगै रहे अब। कोही कोहीभन्दा पर छैन। विज्ञानले हामीलाई एउटा हत्केलामा सीमित गरिदिएको छ।

र, संसार हत्केलामा सीमित छ भन्ने कुराको सिर्जनशील प्रमाण हो स्रष्टा र डिजिटल वार्ता। साहित्यकार कृष्ण बजगाईंको यो कृति सर्वथा नयाँ र आधुनिक छ। प्रविधिको भरपूर प्रयोगको परिणतिमात्र होइन यो कृति। यस कृतिले स्रष्टाहरूलाई प्रविधिसँग अभ्यस्त पनि बनाएको छ।

स्रष्टा र डिजिटल वार्ता भिन्न भूगोलमा रहेका नेपाली स्रष्टाहरूको सामूहिक स्वर हो। एउटा यस्तो स्वर जसले भाषा र साहित्यको विकासमा देखिएका चुनौतीहरूसँग सामूहिक रूपमा लड्ने विश्वास देखाएको छ।

यसभित्र समेटिएका २३ स्रष्टाहरूले एक स्वरमा भनेका छन्– हाम्रा रचनाको अनुवाद अहिलेको महत्त्वपूर्ण आवश्यकता हो। भिन्न–भिन्न समयमा लिइएका यी प्रत्येक अन्तर्वार्ताहरूमा एउटै आवाज छ– भाषा साहित्यको विकास र समर्पण।

यतिखेर नेपाली साहित्यमा अनुवादको महत्त्व र आवश्यकताबारेमा निरन्तर चर्चा र चिन्ता हुँदै छन्। अर्थात् यो विश्वसाहित्यमा पुग्ने हाम्रो एउटा बाटो र त्यसको चर्चा बढेकामा हाम्रो खुसी बढेको छ। झन्डै एक सय वर्षको आधुनिककाल व्यतीत गरिसकेको नेपाली साहित्यको परिचय विश्व अभिलेखन शून्य बराबर छ। भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, मलेसिया, फिलिपिन्स, कोरियालगायतका देशहरूमा नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ। तर, नेपाली भाषा–साहित्यको त्यहाँ कुनै गणना नै छैन। नेपाली नेपालीमाझ साहित्यका केही काम र कुरा भए पनि विश्वसाहित्यमा नेपाली साहित्यलाई पुर्यानउन अनुवादको विकल्प छैन। अन्तर्वार्तामा सबै स्रष्टाको आवाज यही छ। सबैले नेपाली साहित्यको अनुवाद अपरिहार्य भएको बताएका छन्। कसरी हामी विश्वसँग चिनिने होला भन्ने प्रश्नको उत्तरमा प्रायः स्रष्टाले अनुवाद भनेका छन्। अनुवादको माध्यमले अघि बढौँ र सबैमाझ चिनिऔँ भनेका छन्। डिजिटल वार्तामा कृष्ण बजगार्इंले नबिराई सबैलाई सोधेका छन्, नेपाली साहित्यलाई विश्व्ामाझ पुर्या उन के गर्नुपर्ला? यसको जवाफमा सबै स्रष्टाको एकै मुख छ– अब हामीलाई अनुवादले मात्र बाहिरी संसारमा पुर्या्उन सक्छ।

स्रष्टा र डिजिटल वार्तामा कृष्णले प्रस्तुत गरेका अन्तर्वार्ताहरू केवल प्रश्नोउत्तर मात्र होइनन्। यी त नेपाली साहित्यको गति, स्थिति र दिशाबोधका बारेमा गरिएको भूगोलहीन गम्भीर चिन्तन र विचार हुन्। यी प्रतिनिधि आवाजले प्रस्तुत गरेको प्रत्येक वाणीलाई अर्थ दिएर सुन्न्ाुपर्ने समय छ। यो दिशानिर्देश्ा र मार्गनिर्देश पनि हो। यो एकप्रकारले अभिमतहरूको सङ्कलन हो। प्रतिनिधि नेपाली स्रष्टाहरूको विचार र चिन्तनको सोलोडोलो उपस्थिति हो। यस कृतिले नेपाली स्रष्टाहरूको चिन्ता र चुनौतीलाई देखाएको छ। समाधानका उपायहरूको खोजी गरेको छ। भाषा–साहित्यको क्षेत्रमा अनुभवीहरूको साहित्यिक दर्शनलाई प्रस्तुत गरेको छ। यसले वर्तमानको स्थितिबोध गराई अब आउने नेपाली साहित्यलाई दिशानिर्देश्ा गर्दछ। भाषाप्रति हाम्रा बुझाइ र धारणाको नवीकरणतिर पनि सङ्केत गरेको छ। प्रस्तुत वार्ताले ल्याएको महत्त्वपूर्ण कुरा हो– डायास्पोराको अवधारणा, व्याख्या र विश्लेषण। एउटा गृहदेशबाट निस्केर, छुट्टिएर, हाँगिएर नागरिकहरू परदेशमा गई बस्ने, त्यहाँ पनि आफ्नो संस्कृतिको बिउ रोप्ने र त्यहाँ परिचयको चिन्ता र सङ्घर्ष गर्ने समुदायलाई डायस्पोरा या डायस्पोरिक कम्युनिटी भनिन्छ। यो वर्तमान विश्व्ासमाजले चलाएको पदावति र विकसित गरेको अवधारणा हो। संसारका प्रायः सबै विश्वविद्यालयमा यसको पठनपाठन, अध्ययन–अनुसन्धान हुने गरेको छ। कृष्णले स्रष्टाहरूसामु नछुटाएको अर्को प्रश्न हो– डायस्पोरा र यसको प्रभावमा भाषा साहित्य।

सामान्यतयाः अन्तर्वार्ता भन्नेबित्तिकै दुई व्यक्तिबीचको वार्तालाप भन्ने बुझिन्छ। तर, यहाँ प्रत्यक्ष दुई व्यक्तिबीच वार्ता भएको छैन। यो वार्ता गराइदिने डिजिटल माध्यम हो इमेल। कृष्णले इमेलमा सोधका प्रश्नहरूको जवाफ स्रष्टाहरूले पनि इमेलबाटै दिएका छन्। तिनै सवालजवाफका क्रममा नेपाली भाषा, साहित्यको वर्तमान स्थिति, चुनौती, विकासका सम्भावना र भविष्यका आवश्यकताहरूको मन्थन भएको छ। समग्रमा यहाँभित्र भेटिने प्रत्येक विचार भाषाको विकासका लागि छन्। साहित्यको विश्वव्यापीकरणका लागि छन्। कृष्णको सफलता भनेको नै यही हो। उनले कसैलाई नभेटी कसैलाई नदेखी पनि कति सजिलै तीक्ष्ण व्यक्तिहरू छनोट गर्न सकेका? तिनीहरूलाई कति सजिलोसँग शक्तिशाली प्रश्नहरू सोध्न सकेका?? फेरि कति सजिलै स्रष्टाहरूले पनि नेपाली भाषाको पक्षमा एक स्वर ओराल्न सकेका? ??

स्रष्टा र डिजिटल वार्ताको अर्को सुखद पक्ष हो– यस कृतिले भिन्न भूगोलमा रहेर पनि स्रष्टाहरू नेपाली भाषाका लागि कति सचेत छन् भन्ने प्रस्ट पारेको छ।

कृष्ण आफैं पनि लेखक हो। उसको लघुकथाहरू नेपाली प्रतिनिधि लघुकथाभित्र पर्छन्। त्यति मात्र होइन ऊ भाषा साहित्यका लागि बेल्जियममा बसेर पनि सक्रिय छ। उसले गरेको योगदानको सर्वत्र प्रशंसा पनि भएको छ। अझ सम्पादनको क्षेत्रमा उसले गरेको विशिष्ट कार्य सबैसामु प्रस्ट छ।

आजको प्रसङ्ग हो, डिजिटल वार्ताको। कृष्णको लेखनका बारेमा पछि कुरा गरौँला। आज डिजिटल वार्ताकै कुरा गरौँ। स्रष्टा र डिजिटल वार्ताका पनि आफ्ना केही सीमाहरू छन्। केही कमजोरीहरू पनि छन्। जस्तो कि धेरै प्रश्नहरू उस्तै र एकै प्रकारका छन्। स्रष्टासँग असम्बन्धित प्रश्नहरू पनि सोधिएका छन्। अझ कतिपय ठाउँमा स्रष्टाको परिचय पनि प्रश्नमा नै सोधिएको छ। जस्तो कि परिचय छुट्टै राखेर प्रश्नहरू गहन बनाउन सकिन्थ्यो। त्यसो त यसले केही स्रष्टाहरूलाई कृष्णले चिनेकै थिएनन् भन्ने पनि प्रस्ट हुन्छ। अनि हामीले माथि उल्लेख गरेजस्तो कृष्णले चिन्दैनचिनी पनि कति विशिष्ट व्यक्तिहरूको छनोट गरेको भन्ने कुराको पुष्टि हुन्छ।

कृष्णको पछिल्लो समय आएको यस कृतिले सबैलाई अगाडि ल्याउने प्रयास गरेको छ। बहुसङ्ख्यक मानिस आफ्नो मात्रै प्रचारमा जुटिरहेको बेला कृष्ण समग्र प्रतिनिधि स्रष्टाहरूको प्रचारमा जुटेको छ। कृष्णको यही प्रयास हामीलाई प्रिय लागेको हो।

कृष्णको यो प्रयासलाई हाम्रो दाहिने सलाम।

साभार: 'घटना र बिचार' साप्ताहिक २३ जुन २०१०

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 9 आसाढ, 2067

लेखकका अन्य रचनाहरु