उत्तरआधुनिक बबन्डर

- लक्ष्मण गाम्नागे

घरजग्गा कारोबार, आवास योजना, बैदेशिक रोजगार, बैंक वा वित्तिय संस्था, पाठ्यपुस्तक छपाई, स्कूल–कलेज वा अस्पताल इत्यादि व्यवसायबाट त्यस क्षेत्रमा लगानी गर्ने उद्योग व्यवसायीहरू निकै छिटो सम्पन्न भएजस्तै हामी साहित्यको खेतीमा लागेका मानिसहरूलाई पनि छिटो नाम कमाई गर्न कुनै विशेष ‘वाद’ वा ‘आन्दोलन’ को खेती गर्नुपर्नेरहेछ भन्ने कुरा म भर्खरै बुझ्दैछु । नेपाली साहित्यमा अहिले फस्टाएको मुख्य खेती उत्तरआधुनिकता हो । तर, एउटा कुरा चाहिँ मैले अझै बुझेको छैन । यो उत्तरआधुनिक भन्ने विचार जो छ यो साहित्यमा मात्रै हुन्छ कि समाजका अरु क्षेत्रमा पनि ? हामीले प्रत्यक्ष र तिब्र रुपमा भोगिरहेका अनेकौँ नयाँ, अनौठा र मनोरञ्जक घटना एवं परिदृष्यलाई उत्तरआधुनिक बबन्डर भन्न पाइन्छ कि पाइँदैन होला ? यस्ता विषयमा चाहिँ किन कसैले वहस नगरेका होलान् ? किन कोही विद्वानहरूले यस क्षेत्रमा वादविवाद छेडेर तहल्का नमच्चाएको होला ? ‘समाजमा उत्तरआधुनिकताको प्रभाव’ विषयमा वहस चलाएर गरिखाने कोही विद्वान हुनुहुन्छ भने लौ कस्सिनुहोस् है । छिपिछिपे चर्चा भने मै पनि शुरु गर्दिन सक्छु ।

हामी उत्तरआधुनिक राज्यव्यवस्थामा छौँ । हाम्रो सत्ता वा सरकार पनि उत्तरआधुनिक छ । उत्तरआधुनिक राज्यसत्तामा जनताको मत जित्नु पर्दैन । बन्दुक पड्काएर, लट्ठी ठट्टाएर, तर्साएर वा भाटा बजाएर सत्ता प्राप्त हुन्छ । सरकार बनाउन, मन्त्री–प्रधानमन्त्री हुन पनि चुनाव जित्नुपर्र्दैन । अलिकति तिकडम र खड्यन्त्र गरे पुग्छ । उत्तरआधुनिक राज्यव्यवस्थामा नेता वा जनप्रतिनिधिहरूले कामै नगरे पनि अथवा खुलमखुला काम वहिस्कार गर्ने घोषणा गरेर पनि तलव भत्ता खान लाज मान्नु पर्दैन । यस्तो राज्यव्यवस्थामा जति ठूलो भ्रष्टाचारी उति ठूलो सम्मान प्राप्त हुन्छ । जति बढी हठ गर्न सक्यो उति ठूलो पद प्राप्त हुन्छ । मर्नु त सबैले पर्छ, तर उत्तरआधुनिक राज्यव्यवस्थामा इमानदारहरू खान नपाएर मर्छन्, बेइमानहरू धेर खाएर मर्छन् । उत्तरआधुनिक राज्यव्यवस्थाको कर्मचारीतन्त्रमा पनि उत्तरआधुनिकता र पुरातनपन्थ बीच घमासान संघर्ष जारी छ । पुरातनवादी कर्मचारीहरू पुरातन ढङ्गका ढड्डा र पोकापुन्तुराहरूमा पोको परेर काम गरिरहेका भेटिन्छन्, उत्तरआधुनिक कर्मचारीहरू कम्प्यूटर नामको उत्तरआधुनिक भाँडोमा अनेक उत्तरआधुनिक लीलाका दृष्यहरू हेरेर मस्ती मारिरहेका हुन्छन् ।

समाजमा उत्तरआधुनिकताको प्रभाव यति गहिरोसँग परेको छ, त्यसको प्रमाण मेरा साथीहरू पनि हुन् । चारपाँच वर्ष अघि सँगसँगै शहर पसेर एक रात सुन्धाराको गन्धे लजमा सँगै बास बसेर छुट्टिएका हामी मध्ये पुरातनपन्थी बेकुफ म आजसम्म डेरामा डल्लो परेर निस्सासिइरहेकोछु, उत्तरआधुनिक मित्रहरू ६÷६ महिनामा गाडी परिवर्तन गर्दै उत्तरआधुनिक भवनहरूमा फ्वाँफ्वाँ निदाइरहेका छन् ।

उत्तरआधुनिक विद्यालयहरूले मच्चाएको बबन्डरको कुरो गर्नैपर्दैन । अरु धेरै व्याख्या गर्नुभन्दा पनि उत्तरआधुनिक स्कूलका उत्तरआधुनिक गुरु र उत्तरआधुनिक चेलीहरूलाई उत्तरआधुनिक भट्टीहरूमा उत्तरआधुनिक आशनमा पुलिसले रङ्गेहात फेला पारेर बेलाबेलै सार्वजनिक गरिरहेका घटनाले त्यतातिरको उत्तरआधुनिक प्रगतिको झलक दिन्छ । स्कूलको उत्तरआधुनिक प्रगति हेर्न उत्तरआधुनिक डान्स रेष्टुरेन्ट, कन्सर्ट वा नाइटक्लबहरूतिर गए भइहाल्छ ।

यातायातका क्षेत्रमा पश्चिमा देशहरूले नगरेको प्रगति हामीले गरेका छौँ । हाम्रा बस र ट्रकहरू उत्तरआधुनिक झोल पदार्थ पिएका उत्तरआधुनिक ड्राइभरहरूका साथमा सडकपेटीमा हिँडिरहेका बटुवा, पसलमा चिया पिएर बसिरहेका वा किनमेल गरिरहेका मानिसहरूलाई कच्याक्क पार्छन् र उत्तरआधुनिक मृत्यु प्रदान गर्छन् । मृत्यु पनि उत्तरआधुनिक ? हो, मृत्यु पनि अचेल उत्तरआधुनिकतामा प्रवेश गरिसकेको छ । कदाचित् कुनै दुर्घटना भएर कसैको मृत्यु भयो भने उसको दाहसंस्कार पुरातन प्रंकृयाबाट हुँदैन । सडकमा चक्काजाम, गाडीहरूमा तोडफोड, आगजनी, धर्ना, बन्द इत्यादि अनेक हर्कत हुन्छन् र अन्तमा उत्तरआधुनिक मृत्युवरण गर्ने उत्तरआधुनिक लाशले पाँच–दस लाख क्षतिपूर्ति कमाइ छाडेर मात्रै यमलोकतिर प्रस्थान गर्छ । उस्तै परे ऊ सहिदमा दर्ता हुन्छ । उत्तरआधुनिक सहिद । देशमा अचेल सवारी साधनहरूका कारण निरन्तर यस्ता उत्तरआधुनिक स्वर्गारोहणहरू भइरहेका छन् । हिजोआजको प्रगति हेर्दा हाम्रा उत्तरआधुनिक बस वा ट्रकहरू सडकबाट पेटी हुँदै घरका माथिल्ला तलाहरूतिर चडेर ओछ्यानमा सुतिरहेका मानिसलाई पनि उत्तरआधुनिक मृत्यु प्रदान गर्न थाल्ने पो हुन् कि भन्ने आशा पलाउन थालेको छ ।

म यस्तै विभिन्न उत्तरआधुनिक घटनाबारे घरमा समाचार नामको थोत्रो कार्यक्रम हेर्न प्रयाश गरिरहेको हुन्छु, छोराछारीहरू संसार छाडेर आकास, पाताल, व्रह्माण्ड वा अन्तरिक्ष विषयका अनेक तिलस्मी चलचित्रहरू हेरेर मलाई उल्लू बनाइरहेका हुन्छन् । त्यस्ता चलचित्रको उत्तरआधुनिक चमत्कार हेरेर मेरो उत्तरआधुनिक छोराले हात मात्रै तीनपटक भाँचिसकेकोछ ।

छोराको कुरा आउँदा म मेरो छोराको उमेरमा दुईवटा खोला र घनघोर जङ्गल पार गरेर एक्लै स्कूल गएको सम्झन्छु । तर म मेरो उत्तरआधुनिक छोरालाई हरेक बिहान जम्मा ३०० मिटरको दुरीमा रहेको स्कूल पु¥याउन आफैँ जान्छु । हामी पो एकदर्जन छोराछोरी थियौँ त, झुत्रे, झाम्रे, सिँगाने, छेरौटी, नसे, ध्वाँसे इत्यादि । यो त एक्लो छोरो त्यो पनि उत्तरआधुनिक । आठ वर्षको फुच्चे केको उत्तरआधुनिक भन्ने प्रश्न पनि उठ्न सक्छ । तर ऊ छ नै उत्तरआधुनिक, म के गरुँ ? उत्तरआधुनिक खाद्य पदार्थहरूको नियमित सेवनले चाउचाउका सिन्का आकारका हात, कुरकुरे साइजका नलिखुट्टा, फ्रुटी कलरको अनुहार र कम्प्यूटर र टेलिभिजन जस्ता उत्तरआधुनिक भाँडाहरूले नियमित रसस्वादन गरी चिजबल आकारमा परिणत गरिदिएका आँखा भएको साँच्चै उत्तरआधुनिक छ ऊ । उसलाई सडकको भित्तापट्टिबाट हातमा च्याप्प अँठ्याएर लैजानुपर्छ । यसको कारण पनि उत्तरआधुनिकतासँग ट्याप्पै जोडिएको छ ।

उत्तरआधुनिक युवाहरू उत्तरआधुनिक वाइकमा बडो बेगवान गतिमा ओहोरदोहोर गर्छन् यो सडकमा । तपाईलाई थाहै होला, उत्तरआधुनिक आकारका वाइकका ह्यान्डिल कि त अर्नाका सिङ आकारका हुन्छन्. कि त बहर गोरुका जस्ता लिँडे परेका । जङ्गली अर्ना पनि खतरा, नदाएका बहर पनि खतरा । यस्ता वाइकको पुच्छर आकाशतिर फर्केको हुन्छ र मुन्टो जमिनतिर जोतिएको । भिडन्तका लागि तयार जोदाहा साँढे जस्तो । यो सडकमा सिधा हिँड्न जान्दैन । नागबेली परेर विद्युतीय गतिमा बत्तासिन्छ । त्यस्तो वाइकका माथि सवार उत्तरआधुनिक सारथीले या त कचौरा आकारको हेल्मेट लगाएको हुन्छ, यात बडेमानको डरलाग्दो । हेल्मेटको अनुहार देखिनुपर्ने भागबाट चुल्ठो निस्किएर हावामा उडिरहेको हुन्छ । त्यसमाथि पनि उत्तरआधुनिक युवती डडाल्नामा टाँस्सिएकी रहिछ भने त यसमा सवार उत्तरआधुनिक युवाहरू खतरनाक सर्कसवाज झैं भएका हुन्छन् । सर्कसवाजको सन्तुलन नखल्बलिउन्जेल उत्तरआधुनिक वाइक देख्ता जिरिङ्ग जिरिङ्ग आङ् फुलाउने मात्रै हो । तर सन्तुलन बिग्रियो भने...!? सम्झिँदै आङ सिरिङ्ग हुन्छ ।

बच्चाहरू स्कूल लैजाने बाटोमा उत्तरआधुनिक गतिमा हुइंकिने ती वाइकका भयले छोरालाई त्यसरी च्याप्प पारेर समात्नु परेको हो । शुरुशुरुमा छोरालाई नसमाती स्कूल लैजाँदा वाइकको हावाले हानेर ऊ निकैपटक भित्तातिर उछिट्टिएको छ । एकपटक उसले त्यस्तै एउटा वाइकको हावाले लडेपछि उठेर धुलो टक्टक्याउँदै भनेको कुराले नै वास्तवमा मलाई समाजमा उत्तरआधुनिकताको प्रभाव विषयमा चिन्तन् गर्न मन लागेको हो ।

पछारिएर उठेपछि उसले मलाई सोध्यो– ए बा ! त्यो अङ्कलले पछाडि बसेकी दिदीलाई कलेज लगेको कि हस्पिटल ?

उसको कुरा सुनेर म एकछिन त जिल्ल परेँ । उसको प्रश्नको अर्थ बुझेपछि मैले भनेँ– पहिला कलेज आउँछ, त्यसपछि अस्पताल आउँछ र त्यसपछि आर्यघाट पुगिन्छ । यी तीन ठाउँमध्ये यिनीहरू जहाँ पनि पुग्न सक्छन् । यो कुरा सर्कसको सन्तुलनमा भर पर्छ ।

कदाचित् त्यो गतिको वाइकले छोयो भने हामी बाबुछोराको इहलीला ठाउँकोठाउँ समाप्त हुँदैन त ? त्यसैले म उसलाई बडो यत्नसाथ समात्ने गर्छु । मैले अठोट गरेको छु, आफ्नो त जिन्दगी यस्तै पुरातनपन्थमा गइगो, यो छोरोलाई जोगाउनुपर्छ र उत्तरआधुनिक युगको पूरापूर उपयोग गर्न छाड्नुपर्छ । मर्नैपरे मै मरिजाउँला, त्यसैले म छेऊपट्टिबाटै हिँड्छु । मरिहालियो भने मेरो मृत्यु पनि यसै खेर जाने छैन । अकालमा मरियोस् मात्रै न, मेरा नातेदार, छिमकी, टोलबासी र साथीहरूभाइहरू साथमा टायर, सलाई र ढुङ्गामूढा लिएर उत्तरआधुनिक आन्दोलनका लागि तत्पर छँदैछन् । एउटा सन्तान चाहिँ जोगाउनैपर्छ ।

यसरी सामाजिक उत्तरआधुनिकताको डेन्जरस भुमरीका बिचैबिच मेरो र मेरो परिवारको यात्रा जारी छ । जसरी समाजिक उत्तरआाधुनिकताको बबन्डरमा परेर म हुस्सुमा हराएको बटुवा जस्तो भइरहेकोछु, त्यसैगरी साहित्यमा आएका अनेक वादविवाद, बिचार आन्दोलनहरूको भुमरीमा आफ्ना यस्तै थोत्रामोत्रा लेखरचनाहरू कुन वाद वा आन्दोलन वा लेखनमा पर्दाहुन् भनेर ठम्याउन नसकी म सधैं रणभुल्लमा पर्नेगर्छु । हेर्छु एकसेएक नामी लेखकहरू एउटा न एउटा आन्दोलनमा लागेका छन्, नयाँनयाँ सिद्धान्तहरू निकालेका छन्, वहसमा उत्रिएका छन्, वादविवादमा भिडेका छन्, पाखुरा खैंचिएका छन्, घाँटी सुकाएका छन्, जुत्ता खियाएका छन्, माला लगाएका छन्, खादा ओडेका छन्, चर्चामा आएका छन् ।

माक्र्सवाद, माओवाद, जनवाद, फ्रायडवाद, तरलवाद, ठोसवाद, झर्रोवाद, खरोवाद, यौनवाद, रङगवाद, तरङ्गवाद, भरङ्गवाद, लीलावाद, फिलावाद, समुच्चयवाद, एकलवाद, भयवाद, आतङ्कवाद, भैंसीवाद, बोकोवाद, छाडावाद, भाडावाद, मूर्तवाद, अमूर्तवाद, छाँयावाद, मायावाद, तरलवाद, ठोसवाद, पूर्व र पश्चिम आधुनिकतावादको पत्तो नभई आएको उत्तरआधुनिकतावाद, पहिलो र दोश्रो आयामको चर्चै नभई आएको तेश्रो आयाम आदि इत्यादि अनेक वाद र आन्दोलनहरूमाझ म बबुराको लेखन कुन वादी होला ? ( कसैको नयाँ वा पुरानो कुनै वाद वा आन्दोलन छुटेको भए क्षमाप्रार्थी छ ु) म कुरो बुझ्नै नसकेर साँच्चै रणभुल्लमा परेको छु ।

म जस्ता रणभुल्लमा परेका लेखकहरू नेपाली साहित्यमा कति होलान् ? ओहो ! रणभुल्ल भन्दा एउटा कुरा याद आयो । साहित्यमा ‘रणभुल्लवाद’ कसैले प्रतिपादन गरेको छ कि छैन होला ! नगरेको भए त म नै साहित्यमा रणभुल्लवादको प्रतिपादक पनि हुनसक्छु नि । म मात्रै यसरी गुमनाम भएर बस्नु भन्ने के छ ! लौ, त्यतैतिर पो लागौँ कि क्या ।

साहित्यमा प्रचलित अनेक वाद, वादविवाद, अभियान र आन्दोलनहरू नबुझेर रणभुल्लमा परेका साथीहरू हो, लौ अब हाम्रो पालो । मैले घोषणा गरेँ, म रणभुल्लवादको प्रवर्तक, प्रवक्ता र व्याख्याता । छिट्टै नै तपाईँहरूलाई सूचना गरेर एउटा कार्यक्रम राखेर रणभुल्लवादको घोषणा गर्नेछु । चियासमोसा खान आउनुहोला ।
रणभुल्लवाद– जिन्दावाद !

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 6 आसाढ, 2067

लेखकका अन्य रचनाहरु