हातको चरा

- ध्रुब मधिकर्मी

सोच्दै नसोचेझैं गरी अचानक केटाकेटीहरूका हातमा एउटा राम्रो चरा प¥यो । रङ्गीचङ्गी प्वाँखहरु भएको त्यो चरा सानो तर मीठो सुसेली हाल्ने र आँखा तान्ने खालको आकर्षणले युक्त थियो ।

केटाकेटीहरू त्यति राम्रो चरा हात परेकोमा खुसीले उफ्रिरहेका थिए । ती चकचके भएर चरालाई पालैपालो हातमा लिएर हेरिरहेका थिए, खेलिरहेका थिए र त्यससित ठट्टा गर्दै चलिरहेका थिए ।

चल्दाचल्दै र खेल्दाखेल्दै चरा तिनीहरुको हातबाट फुत्केर भुर्रर उडिहाल्यो ।
हेर्दाहेर्दै त्यो चरा तिनीहरुको हातबाट पर एउटा हाँगामा गई बस्यो । त्यहाँ अन्य चराहरू पनि थिए । ती चकचके केटाकेटीहरू आफ्नो हातबाट फुत्केको चरालाई लिएर पटक्कै दुःखी भएनन् । बरु त्यसलाई बिर्सेर अब हाँगामा भएको अर्को राम्रो चरा समात्न उफ्रिरहेका छन् ।

ती केटाकेटीहरू मानौँ उफ्रनासाथ कुनै पनि हाँगाको चरा सजिलैसित हात पार्न सकिन्छ भन्ने सोचेर उफ्रँदै थिए ।

तर चरा तिनीहरुको उफ्राइ भन्दा निकै माथि थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 31 जेठ, 2067

लेखकका अन्य रचनाहरु