घोडा

- अगिब बनेपाली

‘ए मुर्ख ! मर्ने विचार छ कि क्या हो ? भाग्, हुलदङ्गा हुँदैछ ।’ साथी फतफताउँदै थियो ।

मानिसहरू रङहिन फुस्रा अनुहार लिएर आआफ्ना परिवार पछि लगाउँदै जाँदै थिए, अन्जान र लक्षहिन बाटाहरूतर्फ । बजार बन्द, सन्त्रास थियो जताततै । ठाउँ ठाउँमा टायर बालिएका अवशेष ! जिन्दगी पो कहाँ देखिन्थ्यो र ! केवल कुँदिरहेका थिए मानिसहरू !

‘के फरक पर्छ र ! कुद्नै जन्मेका हुन् यी सबै......।’

किन किन मलाई लागिरहेको छ— त्यसरी कुँद्नु नियति होइन । मानिसहरू कुँद्दैमा म पनि किन पछि लागूँ ? हो, देशले मलाई नछोएको होइन । चुल्हो मुस्किलले बल्छ । परवार सुकेका छन् । पानी, पँधेरो निचोर्न पनि पाइएका छैनन् । बजारले चिथोरेर आकासमा उड्न थालेको छ । ख्याक झैँ टुलुटुलु हेर्दै छ कुर्सी । म आफ्नो दश नङ्ग्रा खियाएर बाँच्ने परिवेश देख्दिन । मिहिनेत नगरी धर छैन । बन्द, हडताल, चक्का जाँम । बिडम्बना ! पेट बल्न भोक बाधक छ । नानाथरिका विचारले झम्टिन्छन् ।

‘ऐ बीरे ! तँ मर्न अझै बस्दैछस् ? खै भाउजू, बच्चाहरू ? छिटो हिँड् । आइसके तेरा...!’

‘म किन भागूँ ? किन ?’ म पन्छिएँ ।

‘ज्यानको माया छैन तलाईँ ? परिवार छ, सोच ।’

‘भागेर जाने कहाँ ? आखिर जहाँ गए पनि बन्ने त घोडै हौँ हामी ।

मालिक गोरो होस् या कलो ! के फरक पर्छ र ? बस् ....घोडाको नियति !’

मेरो कुराले साथी ट्वाल्ल प¥यो । मेरा आँखामा आँसु थिएन त्यतिखेर । ऊ थुचुक्क बस्यो । कोलाहलपूर्ण स्वर झन् सुनिन थालेको थियो ।

‘सुतेर भोलिपल्ट उठ्दा नेवाः राज्यबाट ताम्सालङका नागरिक बनेका हुन्छौँ । घिमाय् बजाउन छाडेर डम्फु बजाउन सिक्नुपर्छ रे......!’

मेरो कुराले साथी जुरुक्क उठ्यो, आँखा ठूला ठूला उसका । चर्को स्वर सुनिँदै थियो । फालिएका लौरा, इटा, ढुङ्गा ....हाम्रा अगाडि असरल्ल छरिएका थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 31 जेठ, 2067

लेखकका अन्य रचनाहरु