सहिदकी आमा (?)

- डा. रविन्द्र समिर

‘आमा ! तपाईँको छोरो देशका लागि महान् सहिद बन्नुभयो । उहाँको सपना हामीले साकार पार्नेछौँ ।’ बुढेसकालको एक मात्र सहारा छोरालाई समतामूलक समाज निर्माण गर्नको लागि भनेर जनयुद्धमा जबरजस्ती लिएर गएको मान्छेले थप्यो, ‘तपाईँ हाम्रो क्रान्ति तथा पार्टीकी आमा हुनुभयो, तपाईको भरणपोषण हामीले गर्नेछौँ ।’

वार्ता, आन्दोलन अनि चुनावबाट पार्टी सत्तामा गएको समाचार पँधेरोमा सुनेपछि उनको मुहारमा धेरै वर्षपछि मुस्कान फर्कियो ।

समय बित्दै जाँदा उनको गरिबी, रोग, भोक, शोक, असुरक्षा र उपेक्षा बढ्दै गयो । उही शासनशैली, भ्रष्टाचार, नातावाद, कृपावाद एवम् मौषमअनुरुप रङ फेर्ने छेपाराहरूको दबदबाले आशाका किरणहरू धूमिल हुँदै गए ।

अचानक उनलाई दमको रोगले च्याप्यो । उपचार गर्ने खर्च थिएन तसर्थ उनले संरक्षण, खान र भोट दिएको मन्त्रीलाई भेट्न बाख्रो बेचेर राजधानी पुगिन् ।

मन्त्रीलाई भेट्न कहिले पार्टी कार्यालय, कहिले मन्त्रालय त मन्त्रीनिवास चहार्दाचहार्दै उनको पैसा सकियो, दमले झनै च्याप्यो ।

‘बाबु ! म सहिदकी आमा हुँ । उपचार गर्न र सुखदुख साट्न आएकी छु, मन्त्रीसँग भेट गराइदेऊन !’ दर्जनौँ पटक पुकारा गरे पनि उनले मन्त्रीलाई भेट्न सकिनन् । मन्त्रीनिवासबाट आएको बँदेल, हरिण तथा कालिजको मासुको बास्नाले उनको भोको पेट मडारियो ।

‘मन्त्रीबाबु ! मलाई चिन्नुभयो ?’

ख्याउटे, झुसिला तथा फटेका मैला कपडामा देखिइरहेकी आमैले कपाल रङाएको, मोटो, चिल्लो, छोए दाग लाग्ने सुटमा सजिएको तथा उनको छोरालाई सुराकी गर्ने तथा झूटा मुद्दा लगाउनेहरूको हूलसँगै चिल्लो गाडीतर्फ लम्किएको मन्त्रीलाई अनुमानको भरमा चिनिन् ।

‘म भोजमा जाँदै छु, केही समस्या भए मेरो पि.ए.लाई भन्नू !’

सामन्ती रवाफ र औपचारिक जवाफले मर्माहत भएर उनी भुइँमा लडिन् ।
‘को बूढी हो यो ? यसलाई कसले छिर्न दियो, साला ! कबाफमा हड्डी.... यहाँबाट गलहत्याएर बाहिर निकाल ।’

झ्याइँकुटी पार्नेमध्ये एउटाले सोध्यो, ‘तपाईँ को हो ?’

उनले अन्तिम वाक्य बोलिन्, ‘म आतङ्ककारीकी आमा हुँ ।’

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 जेठ, 2067

लेखकका अन्य रचनाहरु