विडम्बना

- कृष्णप्रसाद भण्डारी

दलबहादुर वि.क. दर्ुगम पहाडी जिल्लाको बासिन्दा हो । खेती किसानी गरेर ज्याला मजदुरी गर्दा मात्र एक मुठी सास अल्झाउन सकिन्छ । गाउँमा विकास आयो भनेको सुन्छ ऊ । दलबहादुरको गाउँमा चुनावी हल्ला छ अहिले । नेताहरू प्रचारप्रसारमा घुमेका देख्छ ऊ । उसकै गाउँको चौतारमा भोट माग्ने नेता भाषण गर्छन्- "मलाई जिताउनुभयो भने यहाँ स्कुल, अस्पताल, बिजुली, बाटो, पुल सबै बनाइदिन्छु । कसैले दुःख गर्नुपर्दैन, अकालमै मर्नुपर्दैन, खाद्यान्न सङ्कट हुनेछैन, नुन-मट्टतिेल सबथोक व्यवस्था गर्नेछु । नेताको भाषण सुनी दलबहादुर घर जान्छ । आफ्नी स्वास्नी र छोराछोरीलाई नेताले गरेको बाचा सुनाउँछ । भोलिपल्ट अर्काथरी नेता गाउँमा आएर त्यही चौतारोमा समानता, भेदभावरहित समाज र मुक्तिका बारेमा बखान गर्छन् ।

उसले नबुझे पनि यी दुवै भाषण सुन्छ । चुनाव सकियो । कसले जिते कसले हारे उसलाई हेक्का भएन, भोट चाहिं उसले दिएको थियो दर्ुइघण्टा टाढाको बुथमा गएर । बर्खा लागेपछि गाउँमा एक्कासि महामारी फैलियो । कामको चटारो परेकै बेला उसको १२ वर्षो छोरालाई हैजाले भेट्यो । धामी झाँक्री लगायो- छोरो बिसेक भएन । बिरामी छोरो बोकेर दलबहादुर स्वास्थ्यचौकी पुग्यो, त्यहाँ डाक्टर थिएनन् । छोरालाई बिमारले धेरै चापिसकेछ । झाडा-पखाला कसैगरी रोकिएन । ऊ छोरो बोकेर जिल्ला अस्पताल गयो । डाक्टरलाई देखायो । डाक्टरले पर्ुर्जी लेखिदिएर- "जीवनजल किनेर खुवाउनु, यहाँ पाइँदैन" भने । स्वास्थ्यचौकी जाँदा डाक्टर छैनन् अस्पताल आउँदा ओखती छैन । दलबहादुरको छोरो ३ दिनपछि ओखती खान नपाई मर्‍यो । छोरो बचाउन नसकेकोमा आफूलाई धिक्कार्दै ऊ भन्छ- यस ठाउँमा बन्दुक, बारुद आउँछ तर किन ओखती आउँदैन । धरान, सुनसरी 
 

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु