कहाँ जाने...?

- नारायण तिवारी

‘दाइ ! जाउँ, जाउँ, जाउँ......!’

‘ल ल ल जाउँ !’

एक हुल मानिसहरू हल्ला गर्दै आए । टोलकै मानिसहरू थिए । मैले विनम्रतापूर्वक सोधेँ— ‘होइन हौ, कहाँ जाने हो ?’

‘ल दाइलाई थाहा छैन ? प्रभु दाइले कुटाइ खायो नि !’

‘त्यसो भए हुल बाँधेर कहाँ जाने त ? जसले कुट्यो उसैलाई गोद्न जाने कि पुलिस कहाँ उजुरी हाल्न जाने ?’ म असमन्जस्यमा परेँ— ‘कहाँ जाने ?’

आफू शान्तिप्रेमी मानिस, कसैले कुटाई खानु बेठीक भएको ठाने पनि कुटाईको बदला कुटाई ठीक होइन भन्ने लाग्यो । ‘कुटाइको बदला कुटाइ गर्न जाने हो भने नजाउँ । पुलिसमा उजुर गर्ने भए जाउँ न त जाउँ ।’ भन्दै बिस्तारै फुसफुसाउँदै र सबैभन्दा पछाडि बिस्तारै पाइला चाल्दै म पनि हुलमा सामेल भएँ । ‘आखिर टोल र टोलबासीको कुरा हो । भोलि अरू कसैलाई पनि सहयोग आवश्यक पर्न सक्छ ।’ मेरो मन यसै भनिरहेको थियो ।

हाम्रो हुल मूल सडक निस्कने गल्ली तर्फ मोडिएपछि फेरि डराइ डराइ सोधेँ— ‘होइन, कहाँ जाने होला ?’

‘के हतार गरेको दाइले पनि ? पर्खिनुस् न थाहा पाइहाल्नुहुन्छ नि कहाँ जाने भनेर ।’ एक जना अगुवा करायो ।

‘कि गोद्न जाने हो ? त्यसो हो भने त म बूढोखाडो मान्छे सक्दिन है ।’

‘आ, दाइ पनि ! दाइलाई हाम्रो विश्वास छैन कि क्या हो ? मारपिटमा लैजाउँला त ?’

उसको कुरा सुनेपछि अल्ली साहस आयो । ‘गोद्न होइन रहेछ क्यारे’ भन्ने लाग्यो ।

‘पुलिसमा रिपोट लेखाउने हो त ?’

‘आ, यो दाइ त । कति हडबड ग¥या, पर्खिनुस् न पर्खिनुस् । थाहा पाइहाल्नुहुन्छ नि ...।’

केही समयमै हाम्रो हुल मूल सडमा विस्कियो । मूल सडकमा हुल के पुगेको थियो थाहा पाई त हालेँ नि— यो हुलले गर्न खोजेको के रहेछ भन्ने कुरा !
सबै युवाहरूले शक्ति प्रदर्शन गर्न थाले । चल्दै गरेका गाडी रोकियो । गाडीका सिसा फोरिए । टायर बल्यो । ‘अब बन्द, हाम्रा माग पुरा नभएसम्म यो सडक बन्द ।’ भीडबाट आवाज आयो ।

म सबै भन्दा पछिल्तिर, भरिसक्के त्यस हुलको म हुँदैन है भन्ने पाराले उभिएर चर्तिकला हेरिरहेँ । ‘दुनियालाई दुःख दिएर एक जनालाई न्याय दिलाउनेसोचिरहेँ यो कुन तरिका हो !’ भन्ने लाग्यो ।

नारा लागिरहेका थिए — ‘प्रभु दाइलाई कुट्ने माथि कार्वाही गर ! प्रभु दाईलाई सहिद घोषणा गरेर उहाँलाई दश लाख क्षतिपूर्ति देऊ............ !

यो नारा लगाउनेलाई उसकै साथीले हका¥यो— ‘मोरा ! प्रभु दाइ कहाँ मोरेको छ र सहिद भनेको ? क्षतिपूर्ति मात्रै दे भन् न ।’

नारा लगाउने सच्याएर चिच्यायो— ‘प्रभु दाइलाई क्षतिपूर्ति दे ! प्रहरी प्रशासन मूर्दावाद !’

म अमिलो मन लिएर सुटुक्क आएकै बाटो फर्किएँ ...।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 जेठ, 2067

लेखकका अन्य रचनाहरु