सम्झौता

- हरिप्रसाद भण्डारी

गाउँमा दुईजना पुरेत थिए— गङ्गाधर र दुर्गादत्त । दुवैजना एकअर्कोको रिस गर्थे र सधैं झगडा गरिरहन्थे । यदाकदा बाटामा भेट हुँदा पनि आँखा तरेर हिँड्थे ।
गाउँमा एउटा जजमानले सप्ताह गर्ने भए । गङ्गाधर मुल पुरोहित बने ।

सप्ताहमा राम्रो आम्दानी हुने कुरा दुर्गादत्तलाई पनि थाहा थियो । सर्वश्व लुट्ने भयो गङ्गेले भनेर निरास भए ।

आफूलाई पुरेतमा नियुक्त नगरेको भए पनि सामान्य निम्ता त थियो नै । ‘के के लाँदोरैच बज्याले हेरौं न’ भन्ने विचारले उनी पनि यज्ञस्थलमा गए ।

गङ्गाधर मच्ची मच्ची पुराण वाचन गरिरहेका थिए । श्रद्धालु भक्तजनहरू यज्ञकार्यमा मस्त थिए ।

दुर्गादत्त नजिकै गएर बसे । गङ्गाधरको फुर्ती देखेर उनको मुटु चरक्क चर्कियो, तैपनि सो पीडालाई दबाएर राखे, व्यक्त गरेनन् ।

अरू सबै त ठीकै थियो, यज्ञ मण्डपमा रहेको एक थुप्रो कपास देखेर उनलाई अचम्म लाग्यो । ‘यज्ञमा यत्रो कपास दान गर्न त पर्दैन, के ग¥यो हँ गङ्गे बज्याले ?’ उनले मनमनै भने । ‘यो पक्कै यसको ठग बुद्धिको कमाल हुनुपर्छ ।’ उनले निष्कर्ष निकाले । ‘पख, तेरा आन्द्राभुँडी बाहिर ननिकाली किन छोडुला र ।’ गङ्गाधरसँग बदला लिने उपयुक्त मौका यही हो भन्ने लाग्यो उनलाई ।

एक्कासि दुर्गादत्तको आगमन र कपासको थुप्रोमा उनले हेरेको एकोहोरो हेराईले गङ्गाधरको मन आत्तियो । ‘पापीले बित्यास पार्न सक्छ ।’ उनले मनमनै निष्कर्ष निकाले ।

यज्ञ कार्यलाई एकैछिन् स्थगित गरेर गङ्गाधर आसनबाट उठे र ‘ओ हो ! गुरु पाल्नुभएछ, नमस्कार’ भन्दै दुर्गादत्तलाई हातमा समाएर एकान्त स्थानतिर लगे ।
'हेर्नोस् न यस्तो जाडो छ । घरमा सबै सिरक फाटेका छन् त्यसैले । हल्ला नगर्नोस्, बरु आधा आधा बाढौँला नि हुन्न ? कहिले कसलाई पर्छ, कहिले कसलाई । बाहिर बिरोधीजस्तो देखिए पनि यस्ता काममा मिल्नुपर्छ, नत्र दुबैलाई घाटा पर्छ ।' यसो भन्दै आफ्ना कलेटी परेका दाँत देखाएर गङ्गाधरले हाँस्ने प्रयास गरे । दुर्गादत्त केही बोलेनन् ।
फर्केर यज्ञमण्डपमा आएपछि गङ्गाधरले चर्को आवाजमा भने— “ए को छ हँ भित्र ? लौन यहाँ पण्डितजी पाल्नुभएको छ । एक टपरी पर्साद अनि घिउ र मह मिसाएको दूध ल्याउनुप¥यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 जेठ, 2067

लेखकका अन्य रचनाहरु